भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, लामो समयदेखि मन पराउँदै आएको संगीत अनि सबैलाई एकै ठाउँमा बाँध्ने नेपालीपन। दुबईको आधुनिक ‘दी एजेन्डा’ हलमा आइतबार नेपथ्यका लोकरक गीत गुञ्जिँदा दृश्य यस्तै थियो।
इन्टरनेट सिटीस्थित हलमा आयोजित कन्सर्टमा दुबईमा रहेका नेपालीसँगै आबुधाबी, सारजहाँ र रस अल खैमाबाट समेत दर्शक पुगेका थिए। नेपथ्यको संगीतसँगै उनीहरूले नेपालीपनको एउटा साझा उत्सवसमेत मनाए।
'संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,' कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले भने, 'कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ।'
आइस हकी खेलिने कभर्ड हलमा यसअघिका कन्सर्ट गर्दै आएको नेपथ्यले यसपटक भने पहिलोपटक 'दी एजेन्डा' रोजेको थियो। हलको प्रोडक्सन विभागका प्रमुख साहबाज ओमरका लागि पनि नेपथ्यको प्रस्तुति विशेष रह्यो।
'नेपथ्यको सानदार प्रस्तुतिले यो वर्ष हाम्रो इभेन्ट सिजनको सुरूवातै भव्य भयो,' उनले भने, 'स्वयं ब्यान्डकै पनि हामीबाट थप अपेक्षा भए फेरि स्वागत गर्न इच्छुक छौं।'
घडीले कार्यक्रमको समय औंल्याउनासाथ दर्शकले भरिएको हलमा प्रवेश गरेका गायक एवं ब्यान्डका अगुवा अमृत गुरूङले ‘कोशीको पानी’बाट प्रस्तुति सुरू गरे। त्यसपछि सुरू भएको दर्शकको उत्साह र जोस अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’सम्मै कायम रह्यो।
गीतसँगै अमृतले प्रवासमा रहेका नेपालीका सुख-दुःख र मातृभूमिसँगको सम्बन्धका कुरा पनि गरे। प्रकृतिले हिमाल, पहाड र उर्वर तराई दिएको धनी देश भएर पनि मरूभूमिमा परिश्रम गर्न आउनुपरेको नेपालीको बाध्यताप्रति उनले थकथकी व्यक्त गरे। आफ्नो मातृभूमिलाई परेको बेला मनले चाहेअनुसार सहयोग गर्न पनि उनले दर्शकलाई अभिप्रेरित गरे।
मणिपाल युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन अध्ययनरत वन्दना थापाका लागि भने नेपथ्यको कन्सर्ट एउटा सांगीतिक कार्यक्रमभन्दा माथिको अनुभव बन्यो।
'नेपथ्यको कन्सर्ट हेर्नु संगीतको आनन्द लिनु मात्र नभई सिंगो नेपाल र नेपालीपनकै उत्सव मनाउनु जस्तो हुन्छ,' उनले भनिन्, 'जसको सम्झना बाँचुन्जेल रमाइलो बनेर मनमा बस्छ।'
अर्की दर्शक सुर्जना कार्की पनि पहिलोपटक नेपथ्यको प्रत्यक्ष दर्शक बनेकी थिइन्।
'कन्सर्टबाट जति अपेक्षा गरेको थिएँ, त्योभन्दा निकै बढी सन्तुष्टि महसुस गर्दै छु,' उनले भनिन्, 'पहिलोपटक नेपथ्यको दर्शक बनिरहँदा गीतसँगसँगै नेपालीपनको पनि यति आनन्द लिन पाइन्छ भन्ने सोचेकी थिइनँ।'
नेपथ्यका गीतले नेपाली दर्शकलाई मात्र होइन, नेपाली संगीतसँग जोडिन थालेका विदेशीलाई समेत तानिरहेको देखियो। त्यसको एउटा उदाहरण थिए पाकिस्तानको लाहोरबाट दुबई आएका तन्नेरी आतिफ असलम।
स्थानीय आयोजकले कन्सर्टअघि दुबईका दर्शकमाझ नेपथ्यका गीत आफ्नै स्वरमा रेकर्ड गरेर पठाउने प्रतिस्पर्धा चलाएका थिए। आतिफले 'रातो र चन्द्रसुर्जे' गीत आफ्नो स्वरमा रेकर्ड गरेर पठाए र पुरस्कृत भए। त्यसैबापत उनले कन्सर्ट हेर्नुका साथै अमृत गुरूङसँग व्यक्तिगत भेटघाट गर्ने अवसरसमेत पाए।
'मञ्चबाट यति धेरै ऊर्जा प्रवाह गराउने कन्सर्ट मैले आजसम्मै अनुभव गरेको थिइनँ,' आफ्ना गीतहरू टिकटकमा राख्दै आएका र पछिल्लो समय नेपथ्यका गीत पनि सुन्न थालेका आतिफले भने, 'अमृत गुरूङको प्रशंसा सायद मेरा शब्दले मात्र सम्भव नहोला।'
नेपथ्यको दुबई यात्रामा लामो समयदेखि ब्यान्डलाई पछ्याउँदै आएका दर्शक पनि थिए। आबुधाबीबाट सात जना साथीको समूह बनाएर पुगेकी भक्तपुर सूर्यविनायककी ब्युटिसियन कोपिला तामाङले यसअघि चार वर्ष र सात वर्षअघि दुबईमै भएका नेपथ्यका कन्सर्ट पनि हेरेकी थिइन्।
'सधैंजस्तै म मात्र होइन, हामी सबै साथी नेपथ्य अनुभव गरेर असाध्यै रमाएका छौं,' उनले भनिन्।
ललितपुरबाट दुबई पुगेर १० वर्षदेखि विमान परिचारिकाका रूपमा काम गरिरहेकी नमुना वाद्यकारका लागि पनि कन्सर्टको अनुभव संगीतमा मात्र सीमित रहेन। दुई घण्टाको कन्सर्टपछि घर फर्किसकेर पनि आफू नेपथ्यकै गीत सुनिरहेको उनले बताइन्।
उनका अनुसार कन्सर्टमा संगीतसँगै व्यवस्थापनका मिहिन प्रयासले दिएको उत्कृष्टताको अनुभूति पनि गर्न पाइएको उनको भनाइ थियो।
दुबईको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
दुबईको सांगीतिक साँझपछि नेपथ्य अब काठमाडौं फर्किंदैछ। ब्यान्डले यही असोज २४ गते शनिबार कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा प्रस्तुति दिने तयारी गरेको छ। त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
त्यसपछि भारतको सिक्किमसहित नेपालका विभिन्न छ सहरमा प्रस्तुति दिने ब्यान्डको योजना छ। यही वर्ष अस्ट्रेलियामा पनि नेपथ्यको शृंखलाबद्ध सांगीतिक यात्रा हुने प्रारम्भिक जानकारी ब्यान्डले दिएको छ।
तस्बिरहरूः दिपित राज/नेपालय


