गायक प्रकाश दूतराज र उनको लोकब्यान्डले पोखरामा सांगीतिक प्रस्तुति दिने भएको छ।
बडादसैंको अवसरमा आयोजना हुन लागेको ‘दसैं फेस्ट २०८३’मा ‘दूतराज प्रकाश एण्ड लाइनअप’ले प्रस्तुति दिने भएको हो। औपचारिक घोषणापछि यो ब्यान्डको पोखरामा दोस्रो कार्यक्रम हुनेछ। म्याग्दीको बेनीमा औपचारिक घोषणासँगै ब्यान्डको पहिलो कार्यक्रम भएको थियो।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलको संयुक्त आयोजनामा असोज २४ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा ‘दसैं फेस्ट’ आयोजना हुँदैछ। ‘दूतराज प्रकाश एण्ड लाइनअप’ले फेस्टको दोस्रो दिन अर्थात् असोज २५ गते प्रस्तुति दिने भएको हो।
प्रकाशका ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘मनमाया’लगायत गीत स्रोता तथा दर्शकमाझ चर्चित छन्। पोखराको कार्यक्रममा उनी र उनको ब्यान्डले चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
फेस्टको दोस्रो दिन नै विद्यालयस्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना हुनेछ। देशका विभिन्न स्थानका १८ विद्यालय सहभागी हुने प्रतियोगितामा नेपाली मौलिक लोकसंस्कृति तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।
‘संगीत, संस्कृति र नृत्यलाई एउटै मञ्चमा’ भन्ने अवधारणासहित आयोजना हुने फेस्टमा नेपाली मौलिक कला, संस्कृति, नृत्य तथा संगीतलाई प्राथमिकता दिइएको जनाइएको छ।
पहिलो दिन असोज २४ गते ‘डान्सिङ सुपरस्टार’ आयोजना हुनेछ भने मन्त्र, तृष्णा गुरूङ एण्ड द कोल्याब र टुकीले सांगीतिक प्रस्तुति दिनेछन्।
अन्तिम दिन असोज २६ गते स्थानीय ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ।
