इलाम, अझ मैले जानेको मेरो फिक्कल यहाँका किसान र श्रमिकको भाग्य हो जस्तो लाग्छ। यहाँ मौसमैपिच्छे केही न केही त आम्दानीको स्रोत बनिहाल्छ।
यसरी आलु र इस्कुसै बेचेर, अलिअलि चिया बेचेर, दूधै बेचेर र अन्य सागसब्जी बेचेर मनग्गे पैसा यहाँका किसानले कमाएका भने होइनन्।
जीविका चलाउन पुगेको हो र यहाँ जीविका चलाउनु भनेको खान पुर्याउनु, छोरा छोरीलाई साक्षर बनाउनु र आफ्नो जीवनस्तर अलि अलि सहज बनाउनु हो। र जीवनस्तर सहज बनाउनु भनेको आफ्नो घरमा आवश्यकता अनुसार एउटा एउटा इँट्टा थप्दै जानु, एउटा एउटा चिज जोड्दै जानु आदि पर्छन्।
झ्याप्पै ठूलो आँट्ने ठूलो धन हुँदैन। यतिसम्म कि घरका झ्याल यसपालि बन्छन्, दुई चार साल प्लास्टिकले थाम्छन् अनि मात्रै सिसा हाल्ने दिन आउँछ।
श्रम गर्दाको आनन्दमा र किसान हुनुको गौरवमा यहाँका मान्छे खुसी छन्। यहाँका भीरपाखा जति रमाइला देखिन्छन् उति नै घुँडा खिएको पनि हुन्छ ता पनि डाँडाकाँडामा बिताएका ज्यानहरू, आरुका अमिला फलहरूका लागि उफ्रेका ज्यानहरू सजिलै गल्ने वाला होइनन्।
केही वर्षयता खाद्य बालीको उत्पादन फिक्कलमा धेरै कम देखेको छु। सायद यो समस्त पहाडी क्षेत्रको कथा हो। पहिले जस्तो कोदो, मकै आदि छैनन्। यी बालीहरूलाई अन्य नगदे बालीहरूले ओघटेको छ।
इस्कुस, काक्रा, आलु, चिया आदि नै आम्दामीको राम्रो स्रोत बन्ने कारणले कोदो, मकै आदि विस्थापित हुन पुगेको जस्तो लाग्छ।
अझ दूध बेच्ने पारामा घाँसको खेती पो बढेको छ। धान त पहाडमा पानी अड्याउन गाह्रो भएकाले नै होला धेरै देखिँदैन।
अब खाने अन्नका लागि नै यहाँका किसान आत्मनिर्भर नभएपछि यहाँका किसानलाई नै कति सम्मको संकट आउला भनेर अहिलेको अवस्थाले झल्काउँछ।
गाउँसम्मै महामारी आयो भने त सबैलाई सोतर बनाउँछ होला। अरू केसम्म हुन्छ मैले अनुमान पनि गर्न सकेको छैन। तर महामारी आएन भने पनि यसरी संसारै ठप्प भइरहँदा हामीसँग खाने चामल चाहिँ अबको एक दुई महिनामा हुँदैन। अलि अलि भएको धानको खेत सकेर नगदे बालीमै निर्भर हुन पुग्नुको सबैभन्दा ठूलो पश्चताप हुनेछ।
त्यसपछि चियाको खोस्टा उसिनेर भुँडी बटारिँदा गौरव ठान्ने यिनै भिर पाखालाई हेर्दै मान्छेले आफ्नो पुर्पुरो ठोक्छन् जस्तो लाग्छ।
अहिले पनि हाम्रो काम ठप्प भएको त छैन। इस्कुसलाई माँच लाएपछि पनि हामी ढुक्क छैनौं, माँच मुन्तिर मकै गोड्न भ्याइ नभ्याइ छ।
बोराका बोरा इस्कुसलाई झापाका ठाउँहरू बुधबारे र चारआलीतिर भारतका व्यापारीहरूलाई बेचेर बोराका बोरा चामल ल्याउने दिन गयो जस्तो सबैलाई लागेको छ तसर्थ मकैको बिउ रोपिने पुरानो चलन फर्किएको छ।
बजारमा गएर दुई चार किलो नयाँ सब्जी पाउन मुश्किल छ भनेर जङ्गलको सिस्नो टिप्ने रहर बाध्यता भएर पुनः हुर्किएको छ।
अहिले दूध बन्द भएको १ महिना बितिसक्यो। हाम्रो गाउँमा दैनिक रूपमा १, २ लिटर देखि ९०, १०० लिटरसम्म दूध एकै घरबाट विक्री हुन्थ्यो। त्यही दूधबाट आएको पैसाले गाईलाई दाना पानीको व्यवस्था हुन्थ्यो।
अब दैनिक रूपमा ४० देखि ५० को दरले खपत हुने त्यत्रो दूध पानी सरह भएको छ र अन्ततः गाई वस्तुलाई खुवाउने दाना पानी घटेको छ। घाँसको भरमा उभिएका छन् ती पशु र ५० लिटर दूध उत्पादन हुने घरमा १५ लिटर दूध उत्पादन हुन थालेको छ । यस्तो गणित देख्दा त गाई तेल पेल्ने मेशिन जस्तो लाग्छ। गाई वस्तु खस्केपछि फेरि १५ बाट ५० लिटर दूध निकाल्न त गाह्रै हुन्छ।
फेरि दूधका धेरै परिकार धेरै छिटो पनि बिग्रिन्छन् र बनाउन पनि धेरै झन्झट हुन्छ। तसर्थ अधिकांश साना किसानको दूधको व्यापारले तारा देखाएको छ।
हाम्रो घरमा निजी रूपमा डेरी सञ्चालन गर्न भनेर झण्डै एक वर्ष पहिले घिउ निकाल्ने मेसिन र दूध तताउने ठूलो भाँडो ल्याएका थियौं। त्यो सपनानै बनिसकेको थियो। दूध खेर जाने भएपछि कहिल्यै नचलाएको मेसिन कुनै अनुभवबिनै आफैंले जोडेँ। त्यसको कथा लामो छ।
घिउ निख्रिने भएपछि तल्लोघर, माथ्लोघर गर्दै दूध बटुलिन थाल्यो। सबैले घिउ आफैंले लिएर जानु हुन्छ र बाँकी पातलो भएर निस्किने दूध हामी घरमै तताउछौँ र दूध फटाएर छुर्पी बनाउछौँ। घिउको मात्र खपत भयो भने झण्डै दूधको आधा घाटा पूर्ति हुन्छ। राख्न त हामीले सकेजति घिउ निकालेर राखेका छौं तर कहिले हो कुन्नि यी घरैपिच्छेका भाँडाहरूमा भरिएका घिउले दाम पाउने।
छुर्पीको कुरा गर्दा राम्रो बनाउन सर्वप्रथम अनुभव चाहिँदो रहेछ जुन हामीमध्ये कसैसँग छैन। सबै दुलो परेका छन् तर चपाउँदै छौँ। केवल हामीले दूध खेर जान दिएका छैनौँ।
कसैले दूध नदुहेर बाछा बाछीलाई सबै छोडिदिन्छन् अरे। फेरि बाछा बाछी हुर्केपछि त गाई दुहुनै पर्यो नत्र थुनिलो भएर गाई पूरै बिग्रिने डर हुन्छ। कसैले दूध दुहेर सुँगुरलाई दिन्छन् अरे।
दूध बिक्री नभएपछि गाईको बिक्री हुने पनि भएन। अब दाना पानीको अभावमा, पैसाको अभावमा, गाईलाई बेच्छु भन्दा पनि सुख छैन, कि त सित्तै लैजा भन्नु पर्छ ।
चियाको कुरा गर्दा, यो चियाको मौसम हो । प्रत्येक चियाको बोटमा हप्तैपिच्छे चिया टिपिन्थ्यो। तसर्थ चिया टिप्ने श्रमिक, किसान, व्यापारी र कारखानाको लागि यो मौसम व्यस्त मौसम बन्थ्यो।
तर यसपालि चिया प्रशोधन गर्ने कारखानामा चिया प्रशोधन गर्न गाह्रो भएको छ किनभने चियाको निर्यात ठप्प छ। त्यसमाथि कारखाना सञ्चालन गर्ने विद्युत बाहेक अन्य इन्धन (कोइला आदि) को चरम अभाव हुने देखिन्छ।
यस्तोमा कारखानाले चियाको परिमाणलाई नियन्त्रण गर्न धेरै राम्रो स्तरको चिया मात्रै प्रशोधन गर्न खोजेको छ। राम्रो स्तरको चियाभन्दा चियाको मुना, दुई पात एक सुइरो भन्ने बुझिन्छ।
राम्रो स्तरको चिया मात्रै पेल्ने निर्णय सुन्दा त राम्रै सुनिन्छ तर दुई पात एक सुइरो भएको चियाको मुना सदा सम्भव हुँदैन। कहिले भनेजस्तै हुन्छ, कहिले फक्रिहाल्छ। सयौं केजी चिया आउने बगानमा यसरी केलाएर टिप्न सजिलो पनि हुँदैन। र चिया टिपेन भने पनि चियाको बोटै बिग्रिन्छ। अब मुना थोरै भयो भन्दै कहिले कलिलो चिया पनि कारखानाले फर्काउँछ। कहिले भने चिया धेरै भयो भन्दै आधा चिया कारखानाले लिन्छ र बाँकी फर्काउँछ।
केही दिनअघि हाम्रो ४५ किलो अग्र्यानिक चिया कारखानाबाट फर्केको थियो जुन घरैमा माड्यौँ र सुकायौँ। ७ किलो जति कम्ता राम्रो सुख्खा चिया बनेन। आज फेरि १०४ किलो फर्केको छ तर हामी हत्तु भएका छौँ ।
चिया टिपेको रोज तिर्दा खल्लो हुने भयो। म घरका साना अङ्कहरू लेख्दै गर्दा तल काकाको एकैदिन १५०० किलो चिया मलमा मिसाएको सम्झदै छु । यस्ता अमिला भोगाइहरू धेरै सुनिन्छन् ।
चिया घरमै बनाउन सजिलो पनि छैन, माड्नु पर्यो, सुकाउनु पर्यो अङ्कलाई मात्रै विचार गर्दा पनि, १५०० किलो चिया माड्न दुई चार जोडा हातलाई कति समय लाग्ला ? कहाँ राख्नु, सानो कोठामा अँट्छ ?
कारखानाले चिया नै नटिप भनेको भए त आशा एकैचोटि मथ्र्यो होला तर यहाँ त कारखानाप्रतिको आशा नमरोस् भन्दा पनि बिस्तारै बिस्तारै मर्दै छ जुन धेरै कठिन अवस्था भएको छ। ता पनि चिया टिप्ने समयमा नै यस्तो भएपछि दुई चार किलो भए पनि कारखानाले लिइदिन्छ कि भनेर कारखानको मुख ताक्नु परेको छ जुन किसानको स्वाभिमानसँग पनि कतिपय बेलामा त जोडिएको जस्तो लाग्छ ।
र अर्को कुरा, कारखानाले प्रशोधन गरेको चिया उसले विक्री गर्न सक्यो भने बल्ल किसानको रकम तिर्ने अरे। अब, झण्डै प्रति किलो १५ रुपैयाँ चिया टिप्ने श्रमिकलाई तिरेर चिया टिपाउँदा किसानले बिक्री भएको चियाको रकममा पनि कुनै भरोसा पाएनन् भने ? अझ, प्रति किलो १५ जोड ढुवानी खर्च घाटा भयो भने के गर्ने होला ?
अहिलेकै अवस्था लम्बिने हो भने अर्को पालि पक्कै दुई चार कान्ला चिया उप्काइन्छ र मकै छरिन्छ, कोदो छरिन्छ। खाद्य बालीले पुनः यहाँका नगदे बालीहरूलाई ओगट्नेछ।
अन्ततः अन्नकै दुःख त हुने छैन तर त्यो जीवनस्तर जस्लाई पैसाको लिस्नु लगाउनु पर्छ त्यो बढ्ने छैन। सायद साक्षरता पनि कम हुनेछ र यो पनि मान्न सक्छौं कि हामी त्यो समयमा फर्कने छौं जुन कम्तीमा ४ दशक अघि नै भोगिएको थियो।
सकभर विकराल दिन चाहिँ देख्न नपरोस्।