यसरी कुरेर बसेको थिएँ म उसलाई मानौँ हामी ‘लङ डिस्टेन्स रिलेसनशिप’ मा छौँ अनि ‘कहिले भेट्ने अब’ भन्ने प्रश्नकोको कुनै उत्तर थिएन। फोनमा फोटो त हेर्थेँ। ल्यापटपको वालपेपरमा पनि उसैको फोटो थियो। तर आँखै अगाडि हेर्ने मौका चाहिँ कहिले जुर्ने हो भन्दै दिन गनेर बसेको महिनौँ भएछ।
श्रावणमा इच्छाएको कुरा पूरा हुन्छ रे भन्छन्। हो कि क्या हो जस्तो लाग्यो। एक हप्ताअघि अचानक एउटा अवसर जुर्यो। ओहो! कसरी भनौँ कस्तो लाग्यो? ठ्याक्कै आफ्नो क्रसको घरबाट बिहेको कुरा आएको जस्तो भयो मलाई त।
नाइमाको गाडीको एक्सपो हुँदै रहेछ भृकुटीमण्डपमा। त्यही भेटिन्छ भन्ने लागेको थियो तर पक्का भने भएको थिएन। अनि आशा पनि त मरेको थिएन। बिहानको त्यस्तै ११ बजेको थियो कि! खचाखच मान्छे। कोही क्यामेरा, कोही माइक। म चाहिँ हातमा फोन, लक स्क्रिनमा प्रेस कार्डको वालपेपर, अनि झोला बोकेर हिँड्दै थिएँ।
स्टल नै स्टल, मान्छे नै मान्छे। कता खोज्ने होला त! हरेक स्टलमा हेर्दै गएँ। मनले भने उसैलाई खोजिरहेको थियो। एक्कासि आँखाअघि भएको स्टलमा पुग्यो अनि पाइला टक्कर अडियो।
मुटुको आरपिएमले डाँडा काटेको पत्तै भएन। आँखालाई कहिले देखूँ भइसकेको थियो।
‘आजको दिन त राम्री भएर आउनु पर्छ नि। चट्ट ब्लेजर-स्लेजर लगाएर। यो विद्यार्थी जस्तो सर्ट–प्यान्ट लगाएर के आएकी,’ मनमनै आफैलाई गाली गरेँ त्यहाँ आउनेहरूको सुट देखेर। ‘कन्फिडेन्स’ अलि डगमगायो। कुनामा गएर उभिएँ।
कुरिरहेको क्षणको पालो आयो। तेस्रो नम्बरमा उसको पालो आयो। यति आतुर थिएँ कि अगाडि नै गएर उभिएँ ताकि उसले पनि सबैभन्दा पहिला मलाई नै देखोस्। जसरी मैले उसलाई देख्नेछु। कस्तो लुगा, कस्तो जुत्ता सबै बिर्सिए। भिडियो लिन मोबाइलमा क्यामेरा रेडी गरेँ।
१० सेकेन्डपछि पर्दा उघ्रियो। आँखै अगाडि थिइन् उनी। श्वास घाटीमै अड्केको जस्तो भयो मलाई त। यत्रो महिनादेखि कुरेको। केटी हेर्न आएको केटो जस्तै अवाक् परेँ म त। ऊ भने चट्ट मेहेन्दी कलरमा पनि कति राम्री देखेकी। साज–शृङ्गार केहीमा कमी नाइँ। एकदम रूपवती अनि गुणवती पनि। हिन्दी फिल्ममा हिरोइन देखेर हिरो मक्ख परे जस्तै मक्ख परेँ म पनि।
भीडको गुनगुन सुरु भयो।
‘हेर्दा त गज्जबकै हो तर अलिकति केही भन्दिनुस् न यसबारे? के के छन् फेअतुरेस? ब्याट्री कति टिक्छ? कति छ माइलेज? कति छ प्राइस?’ एक जनाले सोध्नु भयो।
अलिकति सास त फेर्न देऊ। भर्खर त आएकी छिन्। हे प्रभु! ठ्याक्कै केटाको परिवारले केटी देख्ने बित्तिकै प्रश्नको वर्षा गरेको जस्तो लागिरहेको थियो मलाई त।
‘नाक– नक्सा त ठिक छ तर हाँसेर देखाऊ त नानी। हिँडेर देखाऊ। बोलेको सुनौँ न! खाना बनाउन आउँछ? तिमिले बनाएको चिया हो यो? के के गर्छ्यौ? अनि काम? घर सम्हाल्न सक्छ्यौ?’ उफ्! यस्तै भनेको जस्तो सुन्दै रहेको थिएँ, मेरो दिमागमा चाहिँ।
अरू अरू प्रश्नको बाढी नै हान्दै थिए। म भने उसलाई ‘हेलो!’ भनेर ‘ह्यान्डशेक’ गर्न पुगेँ। कसम, ढाँटेको हैन— नाइमाको अटो एक्स्पोमा पर्दा उघ्रिने बित्तिकै उसलाई ‘हेल्लो’ भन्दै स्पर्श गर्ने पहिलो व्यक्ति नै म हो। उसले पनि हेल्लो भनेको जस्तो लाग्यो मलाई, किनभने झिलिमिली बत्ती उतिखेर नै बल्यो।
छेउमा एक जना सेल्सकै मान्छे हुनुन्थ्यो। प्राइसिङ कति राख्नु भएको छ भनेर सोधेको, ‘मात्र ५७ लाख’ भन्नुभयो। ‘मात्र! कति सस्तो’ भनेर भन्न चाहिँ तर आफ्नो कथा आफैँलाई मात्र थाहा छ। यस्तो फोटो खिचेजस्तो गरी गाडी अगाडि गएर उभिएँ। टोलो पारेर हेरिरहेँ एकछिन। आँखै अगाडि उभिए पनि एक कदम अगाडि भए पनि हामी बिचको दूरी ५७ लाखको थियो। झन् तलब र गाडीबिच त सिङै दुइटा ‘जिरो’ को फरक। क्या मनै खिन्न भयो। ‘दाइजो’ मा कुरा नमिलेको जस्तो पो भयो यो त। ‘गिफ्ट’ भन्छन् क्यारे आजकाल त।
‘कम्ता कुरेको थिएँ मैले नेपाल कहिले आउँछ होला भन्दै। आमै! प्लेनमा पाइलट बस्ने ककपिट स्टाइलमा बनेको गाडी हाँक्दै सरर गुड्ने रहर थियो। प्लेन नै उडाएको जस्तो फिल हुन्थ्यो होला। त्यो स्टेरिङ ह्विल हाँक्दै ड्राइभ गर्न पाए त झन् गज्जब। स्क्रिन भएको गाडी, त्यसमाथि इलेक्ट्रिक।’
एउटा फोटो खिच्न मन थियो गाडीसँग। झन् भित्र बसेर स्टेरिङ ह्विल समातेर पृथ्वी नै आफैँको कन्ट्रोलमा भएको महसुस गर्न मन थियो। तरा गाडीले नै गाली गर्छ जस्तो लाग्यो यस्तो अनि ‘एक दिन चढौँला’ भन्दै फरक्क फर्किएँ।
‘तर त्यो एक दिन कहिले आउँछ? यस्तै भनेको होइन र प्रेसको नाम खास ‘डिप्रेस’ हुनुपर्ने भनेर। महिनौँ तलब नआउने अनि छोड्यो भने त झन् त्यही पैसा पनि नपाइने डर। सबै साथीहरूको कथा उस्तै। यसरी त गाडी त के, मोटरसाइकलको चक्का किन्ने पैसा पनि हुँदैन। गाडी कहिले किनूँ मैले?’
यस्तै यस्तै सोच्दै सोच्दै ४–५ पाइला मात्र चालेको थिएँ, अग्नि ग्रुपका एमडी क्याबिनेट श्रेष्ठसँग ठ्याक्कै आँखा जुध्यो- ५ सेकेन्डको लागि। यो गाडी यहाँ ल्याउने वहाँ नै त हो त!
‘अस्ति शार्क ट्याङ्कमा हजुरले त्यो पोतेको बिजनेस गर्ने उद्यमीलाई सपोर्ट गर्नु भएको कस्तो खुसी लाग्यो। थ्यांक यु भन्छु भन्ने बिचार थियो कुनै दिन कतै कार्यक्रममा भेटेको बेलमा। तर अहँ! जति दुखी भयो त्यति नै मेरो दिमागमा मिम जस्तो खुराफात चल्छ।
त्यो ५ सेकेन्डमा म ५ वर्षको बच्चा भइसकेको थिएँ जसले शपिङ मल घुम्न जाँदा आफूलाई एकदमै मन पर्ने खेलौना देख्छ अनि आमालाई तानेर पसल लगेर ‘मामु, मलाई त्यो गाडी चाहियो’ भन्दै ग्वाँग्वाँ रुँदै पसलमा लडिबुडी गर्न थाल्छ। अनि आमालाई गाडी किनिदिन करै लाग्छ। हो, यो ५ सेकेन्डमा म त्यही ५ वर्षको बच्चा भइसकेको थिएँ। अनि त्यही बच्चा जस्तै ‘क्याबिनेट अंकल, बिइ६ चाहियोss मलाई पनि बिइ६ दिनु न,’ भन्दै भुईँ मै थचक्क बसेर हात खुट्टै छोडेर ग्वाँग्वाँ रुँदै थिएँ।’
‘तोइट्! नकरा। बेइज्जती,’ मेरा बाको आमाले यस्तै भन्थिन् मलाई। दिमागमा त्यही बज्यो। फरक्क फर्किएँ अनि उठाएँ गाडीको ब्रोशर र भिजिटिङ कार्ड। झोलामा हालेँ अनि ‘चल्दिया’। अरू स्टल हेर्दै हेर्दै निस्किएँ। जिन्दगीमा आजसम्म केही मन परेर पनि खाली हात फर्केको शायद आजै मात्रै होला।
‘ला, पैसै छैन! क्र मात्र छ। फेरि अर्को खर्च। उफ्!’ यस्तै भन्दै बाइक बोलाएँ अनि निस्किएँ।
आँखाभरि बिइ६ नाचिरहेको थियो। चक्रपथको जाममा बाइक रोकियो। छेउमा अमेरिकाको झन्डा फहराइरहेको थियो। कति बजेछ भनेर घडी हेर्न फोन निकालेँ, अगाडि चेन्ज गरेको प्रेस कार्ड वाला वालपेपर देखेँ। झनक्क रिस उठ्यो। ग्यालरी खोलेँ र पहिलेको वालपेपर राखेँ।
वालपेपरमा एउटा केटी पानीमा जेट स्की गर्दै छे, पानीमा जेट स्की गरेको कि बादलमा भन्ने हुन्छ झट्ट हेर्दा। त्यसमा ‘आइ एम अ विनर’ भनेर सुनौलो अक्षरमा लेखिएको छ। ‘आशा’ भन्ने चीज कति ठुलो हुने नि! त्यसपछि लगातार ५ दिन नै त्यो एक्स्पोमा गएँ। अन्तिम दिन भने चट्ट ब्लेजर पनि लिएर गएँ।
गाडीमा बस्ने धोको त थियो तर साँच्चिकै किन्न आउनेहरूको लाइन नै थियो। नाइमामा सबैभन्दा धेरै भीड त्यही बिवाइडी अनि महिन्द्रामा थियो। त्यसैले कन्टेन्ट बनाउन लागेको भन्दै गाडीसँग कति धेरै फोटो खिचेँ। प्रेस मिटमा भेटिनु भएको नयाँ साथी ‘सदिच्छा’ ले खिचिदिनु भएको। कम्ती धेरै ‘थ्याङ्क यु’ भनेँ वहाँलाई मैले।
घर आउनासाथ सबै सामाजिक सञ्जालतिर त्यही फोटो लगाएँ ‘म्यानिफेस्टिङ बिइ६’ भन्दै। थाहा छ, मलाई यो पृथ्वीमै सबैभन्दा मन पर्ने मान्छे जाकिर खानले भन्नु भएको- हैसियतभन्दा ठुलो सोच राख्नु पर्छ रे। भगवानले सुन्नुहुन्छ रे अनि कुन दिन ‘तथास्तु’ भनिदिनु हुन्छ रे।
अहिले त मैले स्वघोषित ‘विनर’ भएर वालपेपर फेरेँ। के थाहा, कुनै दिन भगवानले पनि ‘तथास्तु’ भनिहाल्नु हुन्छ कि! अनि म पनि किनौँला मबाट महिन्द्रा बिइ६, मबाट मर्सेडिज...।