पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। पछिल्ला तीन वटा निर्वाचनमा पराजय भोगेका पुकारले यस पटक काठमाडौं– ४ बाट जित हात पारे।
काठमाडौं– ४ बाट यसअघिका तीन वटा निर्वाचनमा कांग्रेसका गगन थापा विजयी भएका थिए। तर यस पटक गगन मनोनयनको ठिक अगाडि निर्वाचन जित्दै आएको क्षेत्र छाडेर सर्लाहीबाट चुनाव लडे।
पुकारका अनुसार निर्वाचनअघि रास्वपाका कोही नेता काठमाडौं– ४ बाट उम्मेदवार बन्न तयार थिएनन्। त्यो बेला आफू पनि उक्त क्षेत्रबाट चुनाव उठ्न नचाहेको पुकारले बताए।
सेतोपाटी पडकास्ट 'द न्यू गार्ड' मा उनले भने, 'अघिल्लो पटक निर्वाचन लडेको र दुःख गरेको क्षेत्र काठमाडौं–१ थियो। त्यसमाथि तीन पटक चुनाव हारिसकेको थिएँ। काठमाडौं–१ जित्ने पक्का जस्तै थियो। तर तीन–चार दिनअघि रन्जु दर्शना काठमाडौं–१ बाट उठ्ने कुरा भयो।'
त्यसपछि पुकार कैलाली जाने कि, जन्मेको ठाउँ डोटी जाने वा मुगु, जाजरकोट र धादिङ जाने पनि कुरा भयो। काठमाडौं–४ भने गगनको क्षेत्र भनेर कसैले आँट नगरेको उनले बताए।
'मलाई २०७९ सालमा पनि सो क्षेत्रबाट लड्न प्रस्ताव आएको थियो। कुमार बेनले मलाई तिमी पक्का जित्छौ, उठ भन्नुभएको थियो,' उनले भने।
कोही उम्मेदवार बन्न तयार नभएपछि पुकारले चुनाव लड्ने निर्णय गरे।
माघ ५ गतेसम्म गगन थापाले सर्लाही जाने निर्णय सार्वजनिक गरिसकेका थिएनन्। गगन त्यहाँबाट उठ्ने सम्भावना कायमै थियो।
'एमालेका राजन भट्टराईले क्षेत्र छाडिसकेको अवस्था थियो,' पुकारले भने, 'रवि दाइ (लामिछाने) सँग कुराकानी भएपछि मैले त्यहाँबाट चुनाव लड्ने निर्णय गरेँ।'
पुकारले एउटा सर्त पनि राखे — रवि लामिछाने र बालेन शाह प्रचारमा आउनुपर्छ।
उनले काठमाडौं–४ बाट उठ्नुअघि रवि लामिछानेसँग भएको संवाद सुनाए।
'पुकार, हामी लड्न आएको हो। हामीले २०८४ को तयारी गरेका थियौं। यो २०८२ को चुनाव जेनजीको हो है। हामीले केही कम्प्रमाइज गर्नुपर्छ, जिद्दी गर्नु हुँदैन,' रविका भनाइ उद्धृत गर्दै उनले सुनाए, 'यो चुनाव पुस्ताका लागि हो।'
उनले अगाडि भने, 'मलाई पनि उहाँले प्रधानमन्त्री पद त्याग्नुभयो भन्ने लाग्यो। त्यसपछि मैले लड्ने निर्णय गरेँ।'
उनले माघ ६ गते उम्मेदवारी दर्ताअघि भएका छलफलका प्रसंग पनि सुनाए।
'बालेन झापा–५ बाट लड्ने हुनुभएको थियो। हामी आत्तिएका थियौं। काठमाडौं–२ मा जानुपर्छ भन्ने हाम्रो कुरा थियो। हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले नै नजिते समस्या हुन्छ भन्ने कुरा थियो। उहाँका लागि महोत्तरीको कुरा पनि भयो। तर सुरूदेखि नै उहाँले जेनजीका लागि साँचो श्रद्धाञ्जली भनेको भइसकेको प्रधानमन्त्री रोकेर हुन्छ भन्नुभयो।'
यिनै विषयमा पुकार बमसँगको पडकास्ट पूरा सुन्नुहोस्ः