भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलाई भने पक्राउ गरिएको छैन।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शुक्रबार गरेको निर्णय अनुसार पूर्वआइजिपी खापुङ तत्काल पक्राउ नपर्ने प्रहरीले जनाएको छ।
प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई पक्राउ गरेको हो। दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लग्ने भनी शुक्रबारको मन्त्रिपरिषद निर्णयसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो। आयोगको प्रतिवेदनले ओली र लेखकसँगै पूर्वआइजिपी खापुङलाई समेत ज्यानसम्बन्धी कसुरमा अनुसन्धान एवं अभियोजन गर्न सिफारिस गरेको थियो।
आयोगले ओली, लेखक र खापुङ तीनै जनाका हकमा उक्त सिफारिस गरेको भए पनि मन्त्रिपरिषदको निर्णय अनुसार दुई जनालाई मात्र पक्राउ गरिएको हो।
बालेन सरकारको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक नेता र सुरक्षा अधिकारीहरूलाई छुट्टाछुट्टै व्यवहार गर्ने गरी निर्णय गरेको थियो।
मन्त्रिपरिषदले 'सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी त्यसले पेस गरेको सिफारिस बमोजिम गर्ने र अन्यका हकमा जाँचबुझ आयोगले सिफारिस गरेबमोजिम कार्यान्वयन गर्ने' निर्णय गरेको थियो।
नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेले मन्त्रिपरिषद निर्णय बमोजिम कारबाही अघि बढेको बताए।
'मन्त्रिपरिषदको निर्णय अनुसार कानुन बमोजिम प्रतिवेदन कार्यान्वयन गर्न लाग्छौं,' उनले सेतोपाटीसँग भने, 'सुरक्षाकर्मीको हकमा पनि निर्णय अनुसार नै हुन्छ।'
उनले सबैलाई संयम अपनाउन र कानुन पालना गर्न पनि अनुरोध गरे।
एक प्रहरी अधिकृतले पनि अब अरू कोही पक्राउ पर्ने सूचीमा नरहेको बताएका छन्।
'पूर्वआइजीबारे मन्त्रिपरिषदको निर्णय अनुसार अध्ययन समिति गठन भई त्यसले सिफारिस गरेबमोजिम हुनेछ। पूर्वसिडिओको हकमा पनि त्यही लागू हुने देखिन्छ,' उनले भने।
प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जरूरी पक्राउ पुर्जी दिएको छ।
जाँचबुझ आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर, दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न किटान भएको कसुरमा २५ दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ।
ओली र लेखकलाई आइतबार जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्नुपर्नेछ।
लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।