ऊ र म दुवै आफूलाई संसारको केन्द्र सम्झन्छौँ। हामीलाई देख्दा कहिलेकाहीँ सूर्यलाई पनि लाज लाग्छ होला, 'म केन्द्र हुँ कि तिमीहरू?' हामी दुवैको भ्रम एउटै छ, 'अरू सबै यस्तो-उस्तो, म मात्र राम्रो।'
ऊ चाहन्छ दुवैको अगाडि फैलिएको आकाशको नीलो रङ पनि उसैको नाममा दर्ता होस्। म चाहन्छु त्यो नीलो रङ मेरो स्वामित्वमा परोस्। जस्तो ऊ, त्यस्तै म। हामी दुवैको मनमा उचाइ नाप्ने मेसिन लुकेको छ।
अरूको घर, अरूको गाडी, अरूको जागिर, अरूको सम्भावना, अरूको हाँसो, अरूले पोस्ट गरेको एउटा सेल्फी सम्मलाई नापेर हेरिन्छ, 'मेरो भन्दा उसको ठुलो कसरी?'
ऊ र म दुवैको त्यो मेसिन रातदिन एकै काम गर्छ। तिम्रो कमाइ कति? मेरो भन्दा धेरै? तिम्रो बच्चा कति राम्रो पढ्छ? मेरो भन्दा राम्रो? तिम्रो प्रमोसन आएछ? मेरो किन आएन? ऊ विदेश गएको छ, म पनि जानुपर्ने हो कि?
सबैभन्दा रमाइलो त के छ भने, हामी दुवैलाई लाग्छ जगतको सबै कुरा मेरो समयमा हुनुपर्छ। तुलसी रोप्यो भने बिहानै फूल फुल्नुपर्छ। पढाइ सुरु गरेको दुई महिनामै जीवन सफल हुनुपर्छ। बच्चा जन्मिएपछि दुई वर्षमै ‘जिनियस’ प्रमाणित हुनुपर्छ।
ऊ २५ मै धनी भयो रे, म ३० सम्म पनि किन भइनँ?
उसले २८ मै पढेर सक्यो, मैले ४० सम्म पनि किन सकेको छैन?
ऊ २० मै अमेरिका पुग्यो, म ३० मा पनि किन यहीँ छु?
मानौँ कि, हामीलाई लाग्छ जीवनको घडी एउटै कारखानामा बनाइदिएको हो र सबैले एकै समयमा घण्टी बजाउनै पर्छ।
कसैको भाग्य २० वर्षमै चम्किन्छ, कसैको ४० मा। कसैले २५ वर्षमै परिवार बसाल्छ, कसैले ४५ पुगेर मात्र साथ भेट्छ। कसैले ३० मै कमाइको सगरमाथा चढ्छ, कसैले ५० पुगेर मात्र बाटो भेट्छ। तर ऊ र म दुवैलाई एउटा गलत विश्वास बसालिएको छ। सफलताको समय एकै हुन्छ। कसैले छिटो गरे असह्य हुन्छ। कसैले ढिलो गरे हाँसो उठ्छ।
हामी दुवैको मनमा एउटै रोग छ, 'आफूभन्दा अरू ठुलो हुन हुन्न।' तर हामीले एक पटक आकाश हेरेर सोचेका छैनौँ कि, यति ठुलो आकाशमा कसैको उचाइ कसरी नापिन्छ? नाप्ने काँटा पनि छैन। नाप्ने आँखा पनि छैन। नाप्ने शक्ति त झनै छैन। तर पनि ऊ र म दुवै लागिपरेका छौँ, अरूलाई नाप्न।
प्रकृतिको सत्य के हो भने, यो आकाश न उसको नाममा दर्ता छ न मेरो। यो पृथ्वी हाम्रो ‘जीवनकाल’ अनुसार चल्ने कुरा हैन। कोही २० मा सफल हुन्छ, कोही ४० मा। तर आकाशले कसैको उचाइ कम-बढी नाप्दैन।
हामी दुवैले बिर्सिएका छौँ कि, २० वर्ष अघि संसारको सबैभन्दा सुन्दर मानिएको मानिस को थियो? सबैभन्दा धनी को थियो? सबैभन्दा चर्चित को थियो? ती सबै कहाँ गए? कहाँ हराए ती नामहरू? हामी याद सम्म गर्न सक्छौँ? हामी समेत २० वर्षपछि कहाँ हुने हो? तर अहिलेको हामी आफ्नै समयलाई शताब्दी झैँ ठुलो ठानिरहेका छौँ।
एक अर्कालाई देखेर ऊ र म दुवै हाँस्छौँ, फेरि रिसाउँछौँ, फेरि जल्छौँ। एक-अर्कालाई देखेर जसरी मुसाले बिरालो देखेपछि शरीर सुभिन्छ, त्यसै गरी हाम्रो मन भित्रैबाट सुभिन्छ।
हामी दुवैको समस्या एउटै छ, आफ्नो मन मात्र सुन्ने र अरूको आवाजलाई पृष्ठभूमि स्वर ठान्ने। हामी चाहन्छौँ आकाश छुन तर अरूको पिँध कुल्चेर। हामी सोच्दछौँ कोही नहोस्, म मात्रै होऊँ। हामी दुवैको मनमा एउटा ईर्ष्याको मैनबत्ती छ, जसलाई निभाउन न त हामीले पानी प्रयोग गर्छौँ न त हावा। बरु, अझै तेल थप्छौँ।
यति व्यापक आकाश छ, उड्न सबैलाई ठाउँ छ। तर ऊ र म दुवैको मानसिकता यस्तो छ कि, 'सिङ्गो आकाशको हरेक बादल ममै घुमोस्। हरेक हावा ममै चलोस्। ऊ उडेको देख्नुभन्दा म नउडे ऊ पनि नउडोस्।' म पनि उसलाई नचाहेर शुभकामना दिन्छु। ऊ पनि मलाई हेरेर भन्छ, 'जति राम्रो भए पनि, अलि त्यति राम्रो नहोस्।'
एउटा गीत छ '…ममा पनि जलन छ, उसमा पनि जलन छ'। तर कुरा जलनको मात्र होइन। कुरा त्यो जलनले बनाएको धुवाँको हो। धुवाँले दुवैको आँखामा पर्दा परेका छन्। उसले मलाई शत्रु देख्छ, म ऊलाई प्रतिस्पर्धी।
ऊ र म दुवै एउटा महत्त्वपूर्ण कुरा बिर्सन्छौँ, सबैको आफ्नै समय हुन्छ। फूलले पनि आफ्नो मौसम खोज्छ। पानीले पनि आफ्नो बाटो आफैँ बनाउँछ।
म कहिलेकाहीँ भन्छु, 'किन यति जलन?' ऊ पनि भन्छ, 'किन जल्छस्?' तर उत्तर हामी दुवैको हातमा छैन। उत्तर हाम्रो समाजको मानसिकतामा छ। हामीले बाल्यकालदेखि नै तुलना सुनेका छौँ, ‘उसको छोरा यति पढ्छ। उसको छोरी त यसो गर्छ। उसको घरमा त यस्तो छ। उसको मान्छे त यस्तो छ।'
तिमीभन्दा ‘ऊ’ को नाम धेरै पटक सुनेपछि मैले आफूमा उसलाई देखेको छु र उसले मलाई। तसर्थ हामी दुवै तुलना नगरी बस्नै सक्दैनौँ।
ऊ र म दुवैको मनमा उस्तै तरङ्ग छ। बाहिर हाँसिएका, भित्र खिइएका। बाहिर शान्त, भित्र अशान्त। हामी दुईको भित्री मन एक-अर्काको सफलताको समाचार सुन्दा अचम्मै कोल्टे फेर्छ। एकातिर ‘वाह!’ भन्छ, अर्कातिर ‘किन?’ भन्छ।
उसले बगैँचा सजायो भने म भित्र सोचिरहेकै हुन्छु, ‘कर्जा लिएर सजाएको त होला नि’। मैले पर्खाल रङ्गाएँ भने ऊ भित्र बोलिरहन्छ, 'देखाउनलाई मात्र त होला नि’।
उसको र मेरो स्वभाव गज्जब छ। खुसी देखाउँदा शंका गर्छौँ, दुःख देखाउँदा प्रसन्नता पाउँछौँ। सफलता सुनाउँदा आँखा खुम्च्याउँछौँ, असफलता सुनाउँदा मन फुलाउँछौँ।
मलेसियादेखि मेलम्ची, टेक्ससदेखि टेकु जता पुगे पनि हामी फरक हुन सकेका छैनौँ। मानिस उही, मन उही, जलन उही। मभन्दा अगाडि नपुगोस् भन्ने उसको चाहना। उसलाई पछि पार्न सकूँ भन्ने मेरो चाहना।
बस्, यसरी नै चलेको छ उसको र मेरो जिन्दगी। तर किन? उसले पनि उत्तर खोजोस् म पनि खोज्नेछु।