हाम्रो जीवन कहिलेकाहीँ कति छिटो–छिटो दौडिरहेको हुन्छ। न विद्यालयका गति पक्रन पाइन्छ, न घर–परिवारका परिवर्तन। सबै कुरा आफ्नो तालमै चलिरहन्छ। तर यसैबिच कहिलेकाहीँ एकाएक यस्तो मौका आउँछ जसले फेरि एउटा समय, एउटा ठाउँ अनि एउटा क्षणलाई अनन्त सम्झनामा परिणत गरिदिन्छ।
हामी तीन भाइ देवांश, सिजन र प्रनिस— यस्तै क्षणका खोजीमा बस्थ्यौँ। धेरै ठुलो सपना, ठुलो लक्ष्य, ठुलो महत्त्वाकांक्षा हामी मध्ये कसैको थिएन। ठुलो हुँदै जाँदा मानिसहरूको खुसी सानो हुँदै जाने रहेछ। साना–साना कुरा, साना रमाइला पल, साना भेटघाट त्यही नै हाम्रो जीवनको सबैभन्दा ठुलो खुसी थियो।
म देवांश, कृषि पढ्दै थिएँ। सिजन काठमाडौँमा बसेर बिसिए पढ्दै थियो। ऊ प्रायः कोठा र कलेजमा घुम्थ्यो। कहिलेकाहीँ रिस र थकानले भरिएको आवाजमा फोन गर्दै भन्थ्यो, ‘ब्रो, काठमाडौँले त थकाइ खुवाउँछ, घर आउन मन लाग्छ।’ उता प्रनिस, जो कहिलेकाहीँ हामीभन्दा टाढा देखिन्थ्यो तर मनले सधैँ नजिकै। ऊ फिलिपिन्सबाट पाइलट कोर्स सकेर नेपाल फर्किसकेको थियो। दसैँ नजिकिँदै थियो। गाउँभरि हर्ष, रंग, परम्पराले रङ्गिएको वातावरण।
यही बिचमा एउटा विचार आयो- ‘दसैँ अगाडि कतै घुम्न जाने हो कि?’ मैले सहजै भनेँ।
सिजनले मोबाइल चार्जमा लगाउँदै भन्दै थियो, ‘हैट, कता घुम्छन्? काठमाडौँमा त चोक घुमेर पनि थाकिन्छ।’
प्रनिसले त्यसै मुस्कान हान्यो, ‘जहाँ गए पनि हामी जानु भनेको घुमाइ नै हो नि ब्रो। टाढा जानै परेन, घर नजिकै कतै जाऊँ।’
यही कुरा हुँदै जाँदा निर्णय बन्यो गोरखाको अजीरकोट अवस्थित ‘भच्चेक बजार’ जाने। सामान्यतया हामी बिहान गएर बेलुका फर्किने घुमाइ गर्ने। आज यसैको अर्को संस्करण तर यस पटक केही फरक, केही विशेष।
बिहान सबेरै उठेँ। पड्के चप्पल, हल्का झोला, पानीको बोतल र चाहिएको भन्दा बढी उत्साह लिएर म घरबाट निस्किएँ। सिजन र प्रनिस दुवै नजिकै थिए। हामी तीन भाइ एक ठाउँ हुँदा समय भन्ने कुरा अस्तित्वहीन हुन्थ्यो। हामी हिँड्दै थियौँ। कहिले भविष्यका कुरा, कहिले अनावश्यक हाँसो, कहिले त अनावश्यक बहस पनि।
सिजनले आफ्नो बिसिएको स्ट्रगल सुनाउँथ्यो, ‘हेर ब्रो, कोड लेख्नुभन्दा त खेत जोत्न सजिलो लाग्छ मलाई।’
मैले हाँस्दै भनेँ, ‘आऊ, कृषि पढ्न। खेत–बारीले त अल्गोरिदम माग्दैन।’
त्यसमा प्रनिसले थप्यो, ‘हामीहरू सबैले आफ्नो आकाश खोज्दै छौँ, ब्रो। कसैको आकाश खेतमाथि छ, कसैको बादलमाथि।’
हामी कुरा गर्दा–गर्दै गाउँको साँघुरो बाटो, हरियो–हरियो खेत, ओत लागेर बसेको गाउँ सबैले हाम्रो यात्रालाई स्वागत गर्दै थिए। घाम उष्ण हुँदै गएको थियो। भच्चेक बजार पुग्दा बजारले हामीलाई एकदमै आरामदायी शान्तिमा स्वागत गर्यो। बजार खासै ठुलो थिएन। तर त्यसको सादगी नै असलियत थियो। केही टिनका छानाहरू, केही माटोका घर, केही पुराना पसल। तर भावनाको हिसाबले त्यो बजार विशाल थियो जस्तै हाम्रो बाल्यकाल, सादगीपूर्ण तर अनमोल।
हामी सबै दंग भएर वरिपरि हेर्दै थियौँ। मान्छेको भीड खासै थिएन। हावामा गाउँको गन्ध थियो। माटो, ढुंगाको धुलो, सस्तो चियाको धुवाँ अनि स्थानीय लोकगीतको हल्का चुइँ-चुइँ। पहिलो काम चिया। हामी तीन भाइ चिया पसलमा बस्यौँ। दुई हजारको नोट जम्मा तीन चियामा टुक्रिएको दिन पनि रमाइलो दिन नै थियो।
सिजनले चियाको चुस्की लिँदै भन्यो, ‘काठमाडौँमा यस्तो चियालाई ७० पर्छ तर यहाँ २०। गाउँको प्रेम सस्तो छ।’
प्रनिसले फेरि आफ्नो क्लासिक लाइन दियो, ‘सस्तो होइन ब्रो, गाउँले कन्जुमर र प्याकेज दिन्छ।’
हामी हाँसोमा हरायौँ। त्यो चियाले हाम्रो दिमाग मात्रै होइन, दिनभरको ऊर्जा पनि खुलाइदिएको थियो। त्यसपछि हामी बजारको उचाइतिर लाग्यौँ। हामी तीन जनाले कहिलेकाहीँ बच्चाजस्तै उफ्रेर फोटो खिच्यौँ, कहिले शान्त भएर बस्दै सेल्फी। कहिले मात्र हावाको आवाज सुन्दै गफै नगरी बस्यौँ। यिनै पलहरू जसले हाम्रो यात्रा सानो देखिए पनि स्मृतिमा ठुलो बनाइरहेको थियो।
दिउँसोको घाम त्यो हिउँदतिरको खासै कडा थिएन। तर हिँड्दा भोकले लतारी सकेको थियो। त्यसैले हामी स्थानीय पसलतिर लाग्यौँ। दाल–भात–तरकारी–मासु। साधारण तर घरजस्तो स्वाद। भोजनपछि हामी एउटा ढुंगामाथि बसेर टाढासम्म देखिने पहाड हेरिरहेका थियौँ। हाम्रा कुरा जीवनका गहिरा विषयमा झर्यो।
सिजनले आफ्नो भविष्यबारे चिन्ता सुनायो, ‘कम्प्युटर त पढ्दै छु तर मन कहिलेकाहीँ भड्कन्छ। के म योग्य छु? के म सही बाटोमा छु?’
मैले उसलाई ढाडस दिएँ, ‘हामी सबैको बाटो यस्तै अलमलबाटै बनेको हुन्छ। कसैको स्पष्ट हुँदैन।’
प्रनिसले कुरा थप्यो, ‘साधारण भएर पनि ठुलो काम गर्न सकिन्छ।’
फर्किँदा आकाश सुनौलो हुँदै थियो। हामी तीन जनाले एउटा कुरा महसुस गर्यौँ; दिन छोटो थियो, तर याद असीमित। फर्किँदै गर्दा थकाइ पनि थियो तर थकाइभन्दा बढी मनमा एक किसिमको तृप्ति थियो। हामीले दिनभर केही विशेष नभएको जस्तो कुरामा चिया, हिँडाइ, गफ, फोटो यति ठुलो खुसी जम्मा गरेका थियौँ कि त्यो कुनै टाढाको पर्यटकीय ठाउँले पनि दिन नसक्ने।
सिजनले हाँस्दै भन्यो, ‘ब्रो, यो घुमाइ त काठमाडौँका क्याफे–क्लबसँग कसरी तुलना हुन्छ र?’
प्रनिसले थप्यो,’जिन्दगीभर जता गए पनि यस्तै ठाउँ सम्झिन्छु म।’
मैले भित्रैदेखि महसुस गर्दै भनेँ, ‘हामी तीन भाइ जहाँसुकै जान सक्छौँ तर हाम्रो खुसी यही हो—घर नजिकै, सादगीमा, एक–अर्कामा।’
दिन सकियो, तर त्यो दिनले बनाएको याद सकिएन। हामी तीन भाइको त्यो भच्चेक बजार यात्रा न ठुलो खर्च, न ठुलो योजना, न ठुलो गन्तव्य। तर अर्थमा अत्यन्त विशाल। कारण हामीसँग एक–अर्का थियौँ। र कहिल्यै नबिर्सने एउटा सत्य साना कुरा नै धेरै ठुलो खुसी बनिदिन्छन्, जब त्यहाँ मनले जोडिएका मान्छे हुन्छन्।