निर्वाचनअघि स्याङ्जाका केही गाउँमा मतदाताबिच अर्थतन्त्र सुधार, रोजगारी, पूर्वाधार विस्तार, शिक्षाका अलावा स्वास्थ्य सेवासँग सम्बन्धी कुराकानी साटासाट भएका थिए। दुर्गमका बस्तीलगायत देशका धेरै ठाउँमा स्वास्थ्य सुधारका लागि आवाज सुनिनु अस्वाभाविक होइन।
स्वास्थ्य क्षेत्रसँग जोडिएका अधिकांश छलफल स्थानीय स्वास्थ्य केन्द्रमा डाक्टरको अभाव, सबै खाले अत्यावश्यक औषधि उपलब्ध हुनुपर्नेमा सीमित औषधि मात्र उपलब्ध हुने अवस्था र सामान्य स्वास्थ्य समस्याको उपचारका लागि निकै टाढासम्म यात्रा गर्नुपर्ने विषयमा केन्द्रित थिए। केही व्यक्तिले उपचारको समयमा ठुलो खर्च लाग्दा परिवार नै ऋणमा डुबेको तितो यथार्थ लिएर बाँचिरहेको बताएका थिए भने केहीले नजिकै आवश्यक सेवा उपलब्ध नभएकाले सामान्य उपचारका लागि पनि पोखरासम्म धाउनु परेको अनुभव सुनाएका थिए।
यी केवल चुनावी छलफलका विषय मात्र थिएनन्। यी त राष्ट्रिय स्तरमै रहेको एउटा ठुलो चुनौती उजागर गर्ने र राज्यले अब के कुरामा ध्यान दिने भन्ने झल्काउने दैनिक जीवनका वास्तविक पिडा हुन्।
राजनीतिक परिवर्तनले कहिलेकाहीँ नीतिगत सुधारका लागि अवसरको नयाँ ढोका खोलिदिन्छ। मुलुक अहिले त्यस्तै एउटा मोडमा उभिएको छ। नयाँ सरकार गठनको तयारी भइरहेका बेला देशभर स्वास्थ्य क्षेत्रका आधारभूत पक्ष प्रभावकारी ढंगले सञ्चालन हुने सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्रका लक्ष्यलाई व्यवहारिक र परिवर्तनकारी बनाउन अब सुनौलो मौका आएको छ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे देशभर वर्षौँदेखि छलफल हुँदै आएको छ तर ती बहस प्रायः सेवाको विस्तारमै केन्द्रित रहेका छन्। जस्तै थप कार्यक्रम, स्वास्थ्य बिमाको दायरा विस्तार, बढी सुविधाको व्यवस्था आदि। यसको विपरीत र धेरै नागरिकको वास्तविक चाहना निकै सामान्य छ— नजिकैको स्वास्थ्य संस्थामा भरपर्दो सेवा पाइयोस्, आवश्यक औषधि उपलब्ध होस् र आधारभूत उपचार दिन सक्ने स्वास्थ्यकर्मी उपस्थित होउन्।
यस अर्थमा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने सबैभन्दा प्रभावकारी बाटो नयाँ वाचा गर्नेबाट होइन बरु एउटा स्पष्ट राष्ट्रिय प्रतिबद्धताबाट सुरु हुन सक्छ। त्यस्तो खाले प्रतिबद्धता आजको अवस्थामा देशले वास्तविक रूपमा वित्तीय हिसाबले वहन गर्न सक्ने आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नेमा जोड दिनुपर्ने हुन्छ। आधारभूत स्वास्थ्य सेवाको आधार बलियो भएपछि मात्र स्वास्थ्य क्षेत्रको क्षमता र आर्थिक स्रोत विस्तार हुँदै जाँदा सामाजिक स्वास्थ्य बिमामार्फत अन्य सेवा विस्तार गर्न समुचित हुन्छ।
नीति र यर्थाथबिचको अन्तर
पछिल्ला दुई दशकमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा देशले उल्लेखनीय प्रगति गरेको छ। जस्तै नयाँ स्वास्थ्य संस्था स्थापना हुनु, खोप कार्यक्रमको पहुँच बढ्नु र मातृ स्वास्थ्य सेवा विस्तार हुनु। तर नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको पछिल्लो तथ्यांकले स्वास्थ्य प्रणाली अझै पनि समान रूपमा सुदृढ छैन भन्ने प्रस्ट देखाउँछ। प्राथमिक स्वास्थ्य सेवाको स्तरमा उपलब्ध हुनुपर्ने आधारभूत सेवा जस्तै- बिरामी बालबालिकाको उपचार, शारीरिक वृद्धि जाँच, खोप, परिवार नियोजन, गर्भपूर्व जाँच तथा यौन संक्रमणको उपचार करिब तीन चौथाइ स्वास्थ्य संस्थामा मात्र पूर्ण रूपमा उपलब्ध छन्।
प्रदेशबिच पनि ठुलो अन्तर देखिन्छ। कतै करिब दुई तिहाइ संस्थामा मात्र यी सेवा उपलब्ध छन् भने कतै चारमध्ये तीन संस्थामा मात्र। यसले के देखाउँछ भने स्वास्थ्य सेवामा पहुँच अझै पनि मानिस बस्ने स्थानमा निर्भर छ।
औषधिको अवस्था अझ चिन्ताजनक छ। सार्वजनिक स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्ने १८ प्रकारका अत्यावश्यक औषधिमध्ये सबै औषधि उपलब्ध भएको संस्था करिब एक प्रतिशत मात्र भेटिएका छन्। धेरै बिरामी स्वास्थ्य संस्थाबाट औषधिको पर्चा लिएर फर्किन्छन् तर सबै औषधि भने उपलब्ध हुँदैनन्।
यी तथ्यले स्वास्थ्यमा सर्वव्यापी पहुँच केवल आर्थिक सुरक्षा वा बिमा कार्यक्रमको विषय मात्र होइन भन्ने छर्लङ्ग पर्दछ। सेवाग्राही स्वास्थ्य संस्था जाँदा आवश्यक सेवा वास्तवमै उपलब्ध हुन्छ कि हुँदैन भन्ने कुरा झन् महत्त्वपूर्ण छ। यस हिसाबले अबको पहिलो कदम भनेको स्पष्ट रूपमा परिभाषित गरिएको आधारभूत स्वास्थ्य सेवा प्याकेज प्रत्येक नागरिकले पाउने सुनिश्चित गर्नु हो। प्राथमिकता निर्धारण गर्नु भनेको सेवा कटौती गर्नु होइन। सबैभन्दा प्रभावकारी सेवालाई पहिले सुनिश्चित गरेर सबै ठाउँमा गुणस्तरीय रूपमा उपलब्ध गराउनु हो।
विश्व स्वास्थ्य संगठनले तयार गरेको स्वास्थ्यमा सर्वव्यापी पहुँच सम्बन्धी निर्देशनले पनि आधारभूत स्वास्थ्य सेवामा आधारित प्रणालीमार्फत सबैलाई अत्यावश्यक सेवा उपलब्ध गराउँदै क्षमता र स्रोतअनुसार सेवा विस्तार गर्दै लैजाने विषयलाई जोड दिन्छ। यस आधारभूत प्याकेजमा देशका सबैभन्दा मुख्य स्वास्थ्य आवश्यकता र स्वास्थ्य प्रणालीले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने तथा कम लागतमा बढी प्रभावकारिता हासिल गर्ने सेवालाई समेटिनुपर्छ। यसरी निर्धारण हुने प्याकेजको कार्यान्वयन सुनिश्चितताका लागि स्पष्ट अनुगमन तथा मूल्यांकन खाकाको आधारमा नियमित अनुगमन उत्तिकै महत्त्वपूर्ण हुन्छ।
स्वास्थ्य प्रणाली सुदृढीकरणको मार्ग
जब आधारभूत स्वास्थ्य सेवा प्याकेज भर पर्ने गरी लागू हुन्छ त्यसपछि सामाजिक स्वास्थ्य बिमामार्फत सेवा विस्तार सम्भव हुन्छ। आधारभूत प्याकेज स्वास्थ्य प्रणालीको जग हो जबकि बिमाले थप आर्थिक सुरक्षा र विशिष्टीकृत सेवामा पहुँच प्रदान गर्छ। यो हासिल गर्न स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन र सञ्चालन सुधार आवश्यक छ। धेरै कार्यक्रम, विभिन्न भुक्तानी प्रणाली समानान्तर रूपमा सञ्चालन हुँदा देशको स्वास्थ्य वित्तीय संरचना अहिले केही खण्डित देखिन्छ। यसले नागरिकमाझ अन्यौलता र सेवा प्रदायकले दिने सेवामा ढिलाइ हुने अवस्था सिर्जना गरेको छ।
यदि वित्तीय व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन सकेको खण्डमा आधारभूत स्वास्थ्य सेवाका लागि स्रोत समन्वय गर्न सकिन्छ र स्वास्थ्य संस्थाले समयमै भुक्तानी पाउन सक्छन्। त्यसपछि सामाजिक स्वास्थ्य बिमाले अस्पताल सेवा वा विशेष परीक्षणजस्ता अतिरिक्त सेवाको वित्तीय व्यवस्थापन गर्न सक्छ। यस सँगसँगै सेवा प्रदायकलाई भुक्तानी गर्ने प्रणाली पनि महत्त्वपूर्ण छ। आधारभूत स्वास्थ्य सेवा जनसंख्यामा आधारित र अस्पताल सेवामा उपचारमा आधारित भुक्तानी व्यवस्था लागू गर्दा सेवा प्रदायकलाई गुणस्तर र परिणाममा केन्द्रित हुन प्रेरित गर्न सकिन्छ।
जब स्पष्ट रूपमा परिभाषित आधारभूत सेवा प्याकेज उपलब्ध हुन्छ तब स्वास्थ्य क्षेत्र सुधारका लागि चालिने कदम पनि स्पष्ट हुन्छन्। उदाहरणका लागि अत्यावश्यक औषधिको सूचीलाई आधारभूत सेवा प्याकेजसँग मिलाउने र सबै प्राथमिक आधारभूत स्वास्थ्य संस्थामा तीनको नियमित उपलब्धता सुनिश्चित गर्ने। हाम्रो प्राथमिकता स्पष्ट हुँदाको बखत औषधिको अभाव समाधान गर्न पनि सजिलो हुन्छ।
यी सुधार हासिल गर्न देशभित्र आवश्यक धेरै संयन्त्र पहिल्यै छन्। ती हुन् सरकारी निकाय, विश्वविद्यालय, पेसागत सञ्जाल र विकास साझेदार जसले स्वास्थ्य नीति, प्रणाली र स्वास्थ्य अर्थशास्त्रमा पर्याप्त ज्ञान र अनुभव प्रदान गर्छन्। आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय शैक्षिक निकायसँग सहकार्य गरेर स्वास्थ्य वित्त, खरिद प्रणाली र डिजिटल प्रणाली लगायतका विषयमा नवीनता ल्याउन सकिन्छ।
अन्ततः स्वास्थ्यमा सर्वव्यापी पहुँच कागजमा लेखिएका नीतिले होइन मानिसको दैनिक अनुभवले मापन हुन्छ। जस्तै स्वास्थ्य संस्थामा औषधि उपलब्ध हुनु, स्वास्थ्यकर्मीले समयमै सेवा दिनु र उपचारका कारण कुनै परिवार आर्थिक संकटमा नपर्नु।
देशले स–सानो तर प्रभावकारी आधारभूत सेवा प्याकेजलाई राम्रोसँग लागू गरेर उल्लेखनीय प्रगति गर्न सक्छ। सबै समस्या एकैपटक समाधान गर्नुपर्दैन। अहिले सबैभन्दा आवश्यक कुरा भनेको स्पष्ट अर्जुनदृष्टि हो।
भरपर्दो आधारभूत स्वास्थ्य सेवा प्याकेज सुनिश्चित, औषधि आपूर्ति प्रणाली सुदृढ र सामाजिक स्वास्थ्य बिमामार्फत सेवा विस्तार गर्दै देशले तत्काल देखिने सुधार ल्याउन सक्छ र भोलिको लागि अझ बलियो स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छ।
अन्तमा, स्वास्थ्यमा सर्वव्यापी पहुँचको सार भनेको उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका सेवाग्राहीलाई आवश्यक आधारभूत सेवाको उपलब्धता सुनिश्चित गराउनु हो।
(नर्वेको बर्गेन विश्वविद्यालयसँग आबद्ध डा. अर्याल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सघाउँदै स्वास्थ्य वित्तमा केन्द्रित स्वास्थ्य नीति र प्रणालीसम्बन्धी अनुसन्धानकर्ता हुन् भने क्षेत्री नेपालको विकास क्षेत्रमा विगत १५ वर्षदेखि आबद्ध छन्।)