पहिले फेसबुकमा रिक्वेस्ट आयो।
यसो हेरेँ, सानो बच्चा उचालेको फोटो राखेकी बहिनी देखेँ, तुरून्तै स्वीकार गरेँ। मैले उनलाई साथी बनाउँदासाथ म्यासेज पठाइन्, 'दिदी तपाईं विवाहित त हो फोटोबाट थाहा पाएँ, के भन्न मिल्छ?'
'तपाईंको घरमा को को हुनुहुन्छ?'
एकैछिन त अचम्म पनि लाग्यो, भर्खर साथी बन्नासाथ उनले किन यस्तो प्रश्न गरिन् भनेर।
फेरि जबाफ फर्काएँ- 'किन बहिनी? मेरो त परिवार ठूलो छ नि।'
उनले आफ्नो विवरण सबै सुनाइन्।
मैले पनि बहिनी ठानेर दुई बच्चाको आमा भएको उनलाई सुनाएँ। फेरि प्रश्न गरिन्, 'दिदी कृपया मलाई कुनै उपाय भनिदिनुहोस् न! तपाईं कसरी सफल हुनुभयो?'
'तपाईंले कसरी पढ्नुभयो?'
'कसरी समय व्यवस्थापन गर्नुभयो?'
'म पनि लोक सेवा पढ्न चाहन्छु, प्राइभेट अफिसमा काम गर्थें, नानी जन्मेपछि जागिर छुट्यो। प्राइभेट संस्थामा जागिर खाने रहर छैन, लोक सेवा कसरी पास गर्ने हो? मेरो श्रीमान पनि प्राइभेट संस्थामै काम गर्नुहुन्छ, म जसरी पनि सरकारी जागिर खान चाहन्छु।'
सानो दुई वर्षको बच्चाकी आमाले यतिविधि आत्मबल देखाएको कुराले आफैलाई उत्साहित बनायो।
बहिनीलाई म्यासेन्जरबाटै फोन गरेँ, एकैछिन सम्झाएँ पनि।
'सबै कुरा बिस्तारै हुन्छ, पहिले धैर्यताको परीक्षा पास गर्न सक्नुपर्छ अनि मात्र लोक सेवा पास गर्न सकिन्छ' भनेँ।
मलाई यी बहिनी मात्रै होइन सयौं महिला दिदी बहिनीहरूले प्रश्न सोध्नुभएको छ।
मैले आफ्नो भोगाइ ती बहिनीलाई पनि सुनाएँ। सबै जना महिला जो घर गृहस्थीलाई देखाएर बालबच्चालाई देखाएर केही गर्न सकिएन भन्नुहुन्छ उहाँहरूको लागि सहयोगी होस् भनेर आफ्नो अनुभव साझा गर्दैछु।
सफलता कसैको निधारमा लेखिएको हुँदैन हामी सबैले आफै लेख्ने हो। सानो कुरामा असफल हुँदैमा हरेस खानु हुँदैन, एउटा विकल्पमा सफलता नभेटाउँदा कुनै विकल्पको बाटो नदेख्नु अर्को दु:खको कारण हो। म सानैदेखि संघर्ष गरेरै हुर्केकी हुँ। गाउँमा बिहान बेलुका घाँस दाउरा, मेलापातको काम गरेरै पढेकी हुँ। सहरमा हुने दु:खलाई खासै ठूलो मान्दिनँ। मेरो दैनिकी पढाइको अवधिभर बिहान चारदेखि साढे चार बजेदेखि सुरू हुन्थ्यो र राति एघार बाह्र बजेसम्म निरन्तर रहन्थ्यो। केही कुरा पाउनको लागि केही कुरा अवश्य पनि त्याग्नुपर्छ।
मैले दुई वर्ष आफ्नो तर्फबाट सकेको मिहनेत गरेँ। सात वर्षको छोरी, बाह्र वर्षको छोरा, नब्बे वर्षको हजुरआमा अनि अफिसको काम त्यसपछि साँझ साढे पाँचबजेदेखि सात बजेसम्मको क्याम्पसको पढाइ अनि त्यही समयमा लोक सेवाको जाँचको तयारी ..... । मेरो लागि सबैकुरा एकैचोटि भए र सबै कुरा पार लगाएँ पनि। आफूले आफैलाई कहिल्यै पनि कमजोर ठानिनँ, मैले नगरे कसले गर्छ र? मलाई नआउने अरूलाई पनि आउँदैन, यति त म गर्न सक्छु भन्ने हिम्मत सधैं आउँथ्यो।
मैले कहिल्यै पनि बच्चाभन्दा टाढा रहेर पढिनँ, त्यो अवसर मेरो लागि दुर्लभ जस्तै हो। बच्चालाई कहिल्यै पनि प्रगतिको बाधक ठानिनँ। मेरो २०७० सालमा नेपाल विद्युत प्राधिकरणमा चौंथो तहमा नाम निस्कँदा तीन महिनाको गर्भवती थिएँ। त्यो समयमा मेरो ३ ठाउँमा नाम निस्केको थियो। प्राधिकरण रोजेँ, नुवाकोटमा पदस्थापन भयो, एक्लै नुवाकोटमा बसेँ। बाबु जन्मिने बेलामा काठमाडौं आएँ। बाबु जन्मिसकेपछि पनि मलाई कहिल्यै भोलि म केही गर्न सक्दिनँ कि! बच्चाले डिस्टर्व गर्छन् कि भन्ने लागेन।
२०७३ सालमा बाबु हुर्काउँदै घरको अफिसको काम गरेर पाँचौं तहमा आन्तरिक र खुलातर्फ नाम निकालेँ। २०७५ सालमा छोरी जन्मिइन्, छोरी जन्मेको एक वर्षमा २०७६ सालमा छैटौं तहमा जाँच दिएँ, त्यो विज्ञापनमा मुद्दा पर्यो, रिजल्ट समयमा आएन।
२ वर्षपछि रिजल्ट आयो, संयोगवस नाम निस्क्यो। २०८१ साल पुसको ७ गते म सातौं तहको लागि फारम भर्न योग्य हुँदैथिए, पुसको ५ गते विज्ञापन भयो। संयोगले फारम भर्न पाएँ, पहिलो प्रयासमै सातौं तहमा नाम निकालेँ आन्तरिक प्रतियोगिताबाट।
सातौं तहको पढाइ र मास्टर्सको पढाइ एकैपटक थियो। एमपिएको चौथो सेमेष्टरको जाँच सकिएको एक महिनापछि लोक सेवा आयोगको परीक्षा थियो। मेरो लागि अवसर र चुनौती दुवै थियो। जसरी पनि यो पटक लोक सेवा पास गर्नुपर्छ भन्ने दृढ संकल्प थियो, मैले आफूलाई कहिल्यै कमजोर ठानिनँ, मिहनेत गरेँ, सकारात्मक सोच राखेँ। सबै कुराको संयोग मिल्यो र सफलता हात पर्यो।
मसँग समय छैन भन्छौं हामी। समय हामीसँग नभएको होइन, हामीले व्यवस्थापन गर्न मात्र नजानेको हौँ। समयलाई सही समयमा सही तरिकाले सदुपयोग गर्न जान्ने हो भने सफलता हामीबाट टाढा छैन। सामाजिक संजालमा घण्टौं बिताउन हामीसँग समय जसरी पनि मिल्छ तर पढाइ लेखाइमा समय व्यवस्थापन गर्न गाह्रो हुन्छ। हामीले चाह्यौं भने गर्न सक्छौँ। साना बच्चा छन् भने बच्चा सुतेको बेलामा पढ्न सक्छौं, बच्चालाई सँगै राख्ने, उनीहरूलाई पनि लेख्ने चिज दिने, सँगै खेल्न दिने आफू सँगै बसेर पढ्ने। बच्चालाई करियरको बाधक ठान्दाखेरी समस्या हुने हो बच्चालाई बाधक ठानेनौं भने त्यति असहज हुँदैन। कठिन परिस्थितिमा सफलता पाउन सकियो भने त्यसको महत्व बेग्लै हुन्छ।
सबै सुविधा पाएर सफलता पाएको खासै स्वादिलो हुँदैन। हामी कि त गृहस्थी धर्ममै रहनु भएन, विवाह भएपछि बच्चा हुन्छन्, घरपरिवार हुन्छन्, आफन्त ईष्टमित्र, परपाहुना सबै हुन्छन्। यी सञ्जालबाट टाढा रहेर घरव्यवहार चलाउन सकिँदैन, सबै जनाबाट एक्लिएर बस्न पनि सकिँदैन र एक्लिएर सफल हुन्छु भन्ने सोच पनि आफैमा सकारात्मक पक्कै पनि होइन।
जहाँ समस्या छ, त्यहाँ समाधानको उपाय पनि लुकेको हुन्छ। चुनौतीहरूलाई चिर्न सकियो भने बल्ल सफलताको स्वाद मिठो हुन्छ। म केही गरौँ भन्ने महिला दिदी बहिनीहरूको लागि विशेष आग्रह गर्न चाहन्छु, तपाईंहरूले नसक्ने कुनै पनि क्षेत्र छैन। गर्न सक्नुहुन्छ, सकारात्मक सोच्नुहोस्, बिहान सकेसम्म चाँडै उठ्ने प्रयास गर्नुहोस्। बिहानको समयमा पढेका कुराहरू धेरै याद हुन्छन्, बिहान दुई घण्टा पढ्ने बानी मात्र विकास गर्न सक्नुभयो भने धेरै पढ्न सक्नुहुन्छ।
पढाइलाई बोझ ठानेर पढ्नु हुँदैन, मनमा नकारात्मक भावना नराखेर पढ्नुपर्छ र जति समय मिल्छ योग, ध्यान गरेर पढ्ने बानी बसाउन सकियो भने स्मरण गर्न सजिलो हुन्छ। मसँग समय हुँदैन थियो, सबै काम सकाएर रातिको समयमा मात्रै अध्ययन गरेकी हुँ मैले। हरेक राति ९ बजेदेखि १२ बजेसम्म अध्ययन गरेँ। एमपिए र लोक सेवा सँगै उत्तीर्ण गरेँ। मैले अध्ययन अवधिभर निद्रा माया मारेको हो, आफूले जे त्याग्न सकिन्छ, त्यो त्याग गर्न सकियो भने सफलता टाढा छैन जस्तो लाग्छ।
पत्रपत्रिकाहरू नियमित रूपमा अध्ययन गर्ने, जर्नलहरू अध्ययन गर्ने, लेख्दै पढ्ने बानी बसाउने, आफ्नो पाठ्यक्रमसँग मिल्ने सम्बन्धित संस्थाको वार्षिक प्रतिवेदन, विभिन्न निर्णय तथा परिपत्रहरू, स्वत: प्रकाशनका अंकहरू, सविधान, चालु आवधिक योजना, बजेट, नीति तथा कार्यक्रमहरू नियमित रूपमा अध्ययन गर्ने बानी विकास गर्नुपर्छ, यी कुराहरू सबै निकायको जाँचको लागि मिल्छन्। म श्रीमती भएर, आमा भएर, बुहारी भएर, कार्यालयको कर्मचारी भएर, कलेजमा विद्यार्थी भएर , समाजमा सामाजिक व्यक्ति भएर बाँकी भएको समयलाई सकेसम्म व्यवस्थापन गरेकी हुँ।
मैले हजुरआमा छोराछोरी साथमै राखेर पढेकी हुँ, बेग्लै कोठामा चुकुल लगाएर अहिलेसम्म पढेकी छैन।
परिस्थिति जस्तो छ सोही अनुसार आफू चल्न सक्नुपर्छ। पढाइलाई बोझ नठानौं, करियरका बाधक परिवारलाई नठानौँ, सफलता हाम्रै समिपमा छ। मिहनेतको लागि तत्पर रहनुभएका तमाम दिदी बहिनीहरूलाई सफलताको शुभकामना।