स्कुले विद्यार्थीदेखि रेखाको अल्झाइ अहिले पनि सकिएको छैन। विद्यालयमा किन रेखा पढाइएको होला? रेखा भनेपछि सरलरेखा र वक्ररेखा भनेर छुट्टाउनुको के अर्थ? सिधा रेखा बाङ्गिनु रेखाको बाध्यता होला, नियति होला। चाहना त सबै रेखाको सरल बन्नु नै हो नि। सरल हुन छोडेर बाङ्गिन कसैको पनि इच्छा हुँदैन।
गणितका गुरुले प्रश्न सोधिहाल्नु भो– सरलरेखा बिन्दु भएर जान्छ र अक्षरहरूबिचको अंशलाई सो विन्दुले समद्विभाजित गर्दा बन्ने समीकरण पत्ता लगाउनुहोस्! गणित त्यसै असजिलो, सरलरेखा सरलै थियो त्यसले अर्कोलाई विच्छेद गरेपछि त्यसपछि सिर्जना हुने जटिलताले न पाठलाई सजिलो बनायो न रेखा आफै स्वच्छ बन्यो। मनमनै गमिनुको विकल्प थिएन, कसलाई सोध्ने? सोध्दा आफै नजान्ने घोषित हुने, सोधिनेहरू फेरि सरल पनि हुँदैनन्, सबै बाङ्गिएर ठुलो बन्ने।
कक्षाभरि विजगणित, ज्यामितिमा म त्यसै पनि बोधो छु। गुरुको प्रश्नले दिमागभरि बक्ररेखा जन्मिए। रेखाले कुनै विन्दुलाई विच्छेद गरेपछि त्यसका दुवै भाग समभागमा पर्छन् र? समीकरण भनेको त बराबरी देखाउने काम गर्ने हो, रेखाले छुट्टाएको ठाउँको अज्ञात मान कसरी बराबर हुन्छ? विच्छेदक त्यति दयालु कसरी हुन्छ विच्छेद गरे पनि दुई चरलाई बराबर पार्ने? स्कु
ले जीवनका प्रारम्भिक कक्षाका प्रश्न अहिले पनि उत्तिकै जागा छन् र मेरो मनमस्तिष्क अझै सोझिन सकेको छैन।
आकार र संख्याबाट समस्या समाधान गर्ने विजगणित हामी धेरैको लागि समस्या बन्यो। एक सपाट तहमा विन्दुलाई रेखाको माध्यमबाट जोड्न सकिन्छ। एक रेखा माथिबाट सिधै तलतिर हानिएर झर्छ, अर्को रेखा सिधा फैलिन्छ। जटिल समस्यालाई सजिलो समाधान गर्ने गणितीय विधि र समीकरणलाई चुनौती दिन सकिन।
थाहा पाउँदै गएँ, विन्दु र रेखाको यो खेलबाट धेरै कुराहरू पाउन सकिन्छ। समाधानलाई समीकरणमा लेख्न सकिन्छ, आकारमा बदल्न सकिन्छ, चित्रमा कोर्न सकिन्छ। मान र अवस्थिति पत्ता लगाउन सकिन्छ। तर भुल्न सकिनँ, रेखाहरू नकाटिईकन सिधा-सिधा दौडिरहे हुने नि! त्यो दौडाई लक्ष्यको दौडाई हो। सिधा रेखा आफै लक्ष्यतर्फको रणनीति हो। कक्षा कोठाका गुरु ठिक छन्, जसरी वैज्ञानिकहरू ठिक थिए। तर त्यो ठिकले एउटा अनन्त प्रश्न छोडिदिएको छ– रेखा सधैँ सरल हुन्छ, नियति वा अरू कसैको अवरोधले मात्र बङ्ग्याइमा पुग्छ। जीवन जस्तै रेखा र रेखा जस्तै जीवन!
फेरि अर्को प्रश्न उब्जियो, विन्दुहरूको योग रेखा हो कि रेखा टुक्रिएर विन्दु बन्ने गर्छ? कि दुवै अलग अलग अस्तित्वका चर हुन्? स्टीव जब्सको महान् भाषणमा छरिएका विन्दुहरू उठाएर जोड्न सकियो भने त्यसले खास अर्थ दिन्छ भनेर भावुक हुँदै आफ्ना जीवनका छरिएका विन्दु र रेखाको कथा बताएका थिए। उनले छरिएका विन्दुहरू जोडेर, उनकै शब्दमा कनेक्टिङ दी डट्सबाट जीवनको अर्थ खोजेथे रे। तर भनिए जस्तो हाम्रा वरिपरि छरिएका अनन्त विन्दुहरू रेखामा जोड्न, विन्दुबाट रेखा बनाउन त्यति सजिलो छैन।
जसले सजिलो बनाए, ती सबै मथिङ्गलमा मथिएका थिए, सरल निष्कर्षमा सामर्थ्य थिए। जब्स मथिए आविष्कार बन्यो, मस्क मथिए न्युरो लिङ्कहरू बने। आडिसन, अर्कामिडिज, न्युटन, रेने बेकेट, रमन, ग्यालिलियो, आर्यभट्टहरू धेरै मथिए। देवकोटा, आसिमोभ, रस्सेल, रजनीस, कृष्णमूर्तिहरू पनि मथिए। कसैले विचार दिए, कसैले आविष्कार त कसैले यी दुवैलाई भावनाको बयेली पस्केर सिर्जनाको सुन्दर वीज रोपे। संगीतका नोटेशन, चित्रकलाका रङ्गहरू, गीत गायनका स्वर सबै रेखा र विन्दुका खेल हुन्।
अर्थशास्त्रका सूत्रचित्र सरलरेखामा समृद्धि खोज्छन्। जब सरलरेखा बाङ्गिन्छ, काटिन्छ, मागको नियम, उपयोगिताको नियम, उत्पादनको नियम अर्कै बाटो लाग्छ। भौतिक विज्ञानमा मात्र होइन, विचार व्यवहारमा पनि सरलरेखाका नियमहरू समस्याका निकास खोज्छन्। भूगोलको मात्र होइन, आकाश र अन्तरिक्षका बाटाहरू पनि सरल हुँदा समाधानमा हुन्छन्।
सानोमा गोठालो जाँदा जङ्गलमा बाटो बिराएर हराएको घटनाहरू स्मृतिभरि छन्, सिधा हिँडेको भए सजिलै जङ्गल पार गर्ने थिएँ। हतारिएर बाटो बिराएँ, यात्रा अलमलियो। अहिले सम्झँदा अचम्मको आनन्द आउँछ, आफूलाई गिज्याउँछु पनि। समयले गिज्याएको आनन्द कति पिउने? किन चेतना नआएको होला?
अगिल्तिरका स्थिर कटुस, मालिङ्गोहरू बिरुवाहरू पनि घामतिरको अचेत सिधा यात्रामा सुरलिएको थिए। जङ्गलमा हराएको मानिस होस कि समुद्रमा बाटो बिराएको डुङ्गा होस्, यात्रा छिचोल्न सिधारेखामा हिँड्नु पर्छ। सरल रेखाले यही सिकायो। सरल रेखा बिराएर हराएका भए मार्कोपोलो, भास्को डि, क्रिस्टोफर कोलम्बस, क्याप्टेन कुक, विलियम्स जाम्सजूनहरू रहस्यका भूगोल चिनाउन सक्दैन थिए, मानव भूगोल साँघुरै हुने थियो। ग्यालिलियो टेलिस्कोपदेखि तानिएका सरलरेखाले अन्तरिक्ष खोजयात्रा गरिरहेका छन्। सरलरेखा रहस्य तोड्ने तीर बनेर अनन्त यात्रा गरिरहेछ।
सरलरेखा लक्ष्यको बाटो हो, गन्तव्यको मार्ग हो र खुसीको सपाट हो। ज्ञान प्राप्त गर्न, लक्ष्य निरूपण गर्न सरल रेखामा हिँड्नुपर्छ। सिधारेखा लक्ष्य पुग्ने रणनीति हो। ज्ञान सिधा साधनाको फल हो, गन्तव्य प्राप्ति ज्ञानीले हिँडेको सिधा बाटो हो। रेखा बाङ्गिएपछि बित्यास पर्छ। आफै जान्ने भएर बाङ्गिएकाहरू रोएर भन्ने गरेको सुनिन्छ किन रोइस् मङ्गले आफ्नै ढङ्गले।
बारम्बार बाटो बदल्दा बा बाटोलाई बाङ्गो बनाउँदा जीवन सरलताबाट भाग्छ। जीवन सरल बनाउने सबैको अभीष्ट हो। बाटो बदल्दा लक्ष्य लक्ष्य हराउँछ। भेटिएको जस्तो क्षणिक तृष्णा मेटिएको महसुस होला, त्यो जटिलताको विन्दु हो, यात्राको भ्रम हो। भावनाहरू उदरबुदर भएर मानिस अस्तित्व र अर्थबाट हराउँछ, जीवन नै उदरबुदर बनाउन पुग्छ। छरिएका, भाँचिएका थुप्रै रेखाहरूको नमिलेको जोडाइजस्तो।
इच्छा बदल्नु सरलबाट उदरबुदर हुनु हो। आफ्नै इच्छामाथि नियन्त्रण गर्न नसक्नेहरू सरलताबाट पर पुग्छन्। नजानीकनै पर पुग्नु आफैप्रतिको बित्यास हो। बित्यासको आमन्त्रण सचेततामा गरिँदैन, विवेकमा गरिँदैन। कतिहरू त जीवन सरल बनोस् भनेरै आफूलाई अर्थ्याउने अधिकार नै रेखालाई दिन पुग्छन्। तर कैयन रेखाहरू सरल नबनी जीवनको उदरबुदर नियतिमा पुगेका छन्। नाम र नियतिको के सम्बन्ध र? सचेत कर्मले रेखा बनाउने हो। जबरजस्त बनाइएका रेखाहरू सरल नबनेर बाङ्गिएका धेरै उदाहरण छन्।
रेखाविद् इन्जिनियर अमनजी रेखा सुन्ने बित्तिकै तर्सिँदै आएका छन्। रेखाविद् रेखाबाट तर्सिनुको अर्थ सायद त्यही उदरबुदर होला। उनी रेखा नामले आफूलाई ब्यक्ताउन अधिकार दिएका रेखाहरू जीवनको सरलरेखाबाट बाहिरिन पुगे भन्दै अचम्मित हुन्छन्। रेखा नामले ती रेखाहरूलाई सधैँ लखेट्दै लगेको छ रे, जीवनलाई सरलबाट विषयान्तर बनाएको छ रे। तर मलाई त्यसो लाग्दैन, रेखाहरू सरल बन्ने बाटोमा अरूले बङ्ग्याएर नै उनीहरू सरलताबाट बाहिरिएका हुन्। सरल हुनु रेखाहरूको धर्म हो, स्वत्व हो।
बाङ्गिएका बाटाप्रति हाम्रो आफ्नो कुनै नियन्त्रण हुँदैन तर आफ्नै विचारप्रति आफू पूर्ण नियन्त्रण हुनु सरल हुनु हो, सरल रेखीय यात्रा गर्नु हो। सादा क्यान्भासमा रङ्ग भर्नु हो। सादा कागज, सपाट चित्रपट सबै नै सरलताका अपेक्षी हुन्। हाम्रो मनले कुन रङ्ग भर्छ, हाम्रा मनचाहिँ कसरी भरिन्छन् भन्ने हो। हाम्रा मनमस्तिष्कका रेखाहरू उदरबुदर भए, विचारहरू बरालिए कागज भनौँ कि चित्रपट, धरती भनौँ कि आकाश, घरपरिवार भनौँ कि शासन सत्ता सबै बाङ्गिएर जान्छन्। बाँकाटे हान्न जान्नेहरू बाङ्गा हुन्छन्, उनीहरूको विचार र व्यवहारको बाङ्गोपनले अरूहरूको जीवनलाई सरलताबाट विच्छेद गरिदिन्छ। अमन त्यसैले रेखा नामबाट तर्सिएको होला।
मानिस त्यति बेला दुखी हुन्छ जब प्राप्त हुन नसक्ने इच्छा राख्छ। नियन्त्रण बाहिरको इच्छा, सामर्थ्य परको उम्मेद राख्छ। कैयन रेखाहरू सरल नबनेर जताततै जिगज्याग उदरबुदर दुख जटिलतामा पुगेका छन्। हामीले बुझ्नु पर्छ असल बाटो सरल रेखा हो। सरलरेखा आफ्नै नियन्त्रणमा स्वाभाविक हुन्छ। आफ्नै विचारबाट हासिल गर्न सक्ने कुरा नै सच्चा स्वतन्त्रता हो। आत्मिक सरलताबाट पर पुगेको कुरा सच्चा स्वतन्त्रता होइनन्।
सरल रेखाले भन्छ मानिसहरू जीवन त्यही कर्ममा लगाऊ जुन आफैलाई स्वच्छ लाग्छ, सबैभन्दा आनन्द दिन्छ, निजत्व र स्वतन्त्रतामा रहन्छ, सिधासिधा यात्रा गर्छ। सिधारेखा, सरलरेखा जहिले पनि हुन्छ। तर सरलरेखा, सुन्दर बस्तुलाई आफ्नो बनाउन नजान्दा सरलता र सौन्दर्य हामीबाट भागिदिन्छ। सिधा रुख पहिले काटिन्छ, सुन्दर फूल सबैले टिपिदिन्छन्। र सरल मानिसलाई सबैले हिर्काउँछन्। त्यसपछि ऊ निहुरिन्छ वा विनाश हुन्छ। सरलतामा (कु) दृष्टि पर्नु समाजको सनातन रीति हो। र पनि हामी सरलता, स्वतन्त्रता र सुन्दरताका कुरा गर्छौँ। अचेल त लाइनमा होइन अनलाइनमा भन्दै मानिसहरू देखिएको सरलताबाट नदेखिएका जिगज्यागतर्फ दौडिएको छ।
रेखा विज्ञान हो, रेखा नै खुसी हो, सच्चाई हो र आनन्द हो। तर रेखीय स्वतन्त्रता, परमानन्द स्वतन्त्रताका पारखीहरूबाट नै अपहृत छ। अनि भनिन्छ स्वतन्त्रता उन्मुक्ति होइन (फ्रिडम इज नट फ्री!)। स्वतन्त्रता अपहरण गर्न बाङ्गिएर हिँड्ने सबै सरलताको दुहाइ दिन्छन् र फेरि बाङ्गो यात्राको सुरुवात गर्छन्। यो सच्चाई र सुन्दरता भुलेकाहरूबाट शासन र सभ्यता सधैँ अपहृत छ।
बाङ्गा रेखाहरू द्वेषका रेखा हुन्, सरलरेखा चाहिँ सभ्यताका। मायाको नाउँमा सरलरेखा बङ्ग्याउनेहरूले प्रेमको हत्या गरे। शासनका नाममा अमन चयन गर्छु भनेर समाजलाई अनिच्छित इच्छाहरू लाद्ने काम गरिरहे। खोला बङ्ग्याएपछि उसले देशको सिमाना पनि बदल्यो, स्वैच्छिक बहाव पनि बाँधले बन्देज गर्यो। स्वतन्त्रताको उपयोग गर्न नदीले सोझिन रौद्ररूप लिएर आफ्नै सरलतामा आइदिन्छ। त्यति बेला प्रलय आइसकेको हुन्छ। सबै पवित्र हिमनदीहरू स्वतन्त्रताका लागि बाटो छेक्ने पहाडका खिलाफमा छन्। सरलता बिथोलिँदा बिथोलिएकाहरू जुरमुराउँदा सधैँ प्रलय निम्तिएको छ। नदीहरू सरलताका लागि आन्दोलनमा छन्। यहाँसम्म कि सरलता विरुद्ध हुरीमा मडारिएर पनि रुखहरू विद्रोह गर्छन्। रुखहरू उषातर्फको यात्रामा सिधा हानिएका छन्। नदीहरू समुद्रमा समाहित हुन सिधै हानिएका छन्। बाटाहरू लमतन्न सिधासिधा यात्रामा छन्। सरलता पवित्रता हो, स्वानन्दमा छ। सरलताका पक्षपातीहरू सीमासम्म मौनक्रान्तिमा छन्, सीमा नाघेपछि रौद्ररूपले वितण्डा मच्चाउनुको विकल्प रहँदैन। सिधाहरू रिसाएपछिको रौद्ररूप प्रलयकारी हुन्छ। रेखाहरू ठडिएर जुलुस निकालेर बाङ्गाहरूको प्रतिकारमा उत्रिएको सम्झनुस् त त्यो जायज भईकन कति भयानक हुन्छ?
परम आनन्दका शब्दहरू छैनन्। परम स्वतन्त्रताको अभिव्यक्ति हुँदैन। असीम पीडाका पनि शब्द छैनन्। चेहराका रेखाहरू, रेखा बन्ने विन्दुहरू आफै ती पीडा, खुसी, परमानन्द र स्वतन्त्रतालाई बताइरहेका हुन्छन्। गहिरो कुरा, गहन काम र घनीभूत विचारको अभिव्यक्ति रेखा हो, संगीत रेखाका सहारा लिन्छ, गीतको लय रेखाको आरोह अवरोहमा भाषा बोल्छ, रेखा अस्पष्ट हुँदा ध्वनिको सहारा लिन्छ। रेखाहरू गतिवान् छन्, गति रोकिए जीवन सकिन्छ, गति मोडिए बक्ररेखा जीवनलाई सताउन पुग्छ। जीवनको चाहना सरलरेखा, गतिवान् रेखा हो। विन्दु जोडिएर बनेका रेखा लक्ष्यभेदी छन्, विन्दु टुक्राईकन विभाजकहरू गति, प्रगति पर पीडामा पुग्छन्। रेखा समय, भाव, लक्ष्य र विचार हो। रेखा ब्रह्मशक्ति हो, ब्रह्माण्ड हो। आधार, अस्तित्व र आनन्द हो।