केटी मान्छेले हत्तपत्त उमेर भन्दैनन्। त्यसैले त समाजमा भन्ने गरिन्छ— 'केटाको आम्दानी र केटीको उमेर कहिल्यै नसोध्नू!' मनमा यो कुराले धेरै दिनदेखि खुल्दुली मच्चाइरह्यो। त्यसैमा घोत्लिरहेँ म!
काठमाडौं उपत्यकामा हुने-खानेहरू आफ्नै गाडीमा सरर सयर गर्छन्। सार्वजनिक यातायात भरपर्दो नहुँदा सडकमा दुई पाङ्ग्रे र निजी चार पाङ्ग्रे सवारीले ट्राफिक जाम ह्वात्तै बढाएको छ। ट्राफिक जाम घटाउने अधिकारी होइन म, भुक्तभोगी चाहिँ पक्कै हुँ! मध्यम वर्गीय परिवारको मुख्य यातायात साधन दुई पाङ्ग्रे नै हुन्। आफ्नो भने कुनै साधन नभएकाले सार्वजनिक यातायात मेरा लागि 'विकल्पहीन छनोट' हो।
आम मानिसलाई जस्तै सार्वजनिक यातायात मेरा लागि यात्राको माध्यम मात्र होइन, मानव व्यवहार, मनोविज्ञान, सामाजिक दृष्टिकोण, राजनीतिक चेत र जनमत निहाल्ने एउटा 'खुला विश्वविद्यालय' हो।
यात्राका क्रममा धेरै कुरा बुझेँ र भोगेँ मैले।
हतारो छैन भने बस वा माइक्रोबसमा चढ्नुको मज्जा छुट्टै हुन्छ। मानिसहरू देशको राजनीतिलाई आफ्नै ढङ्गले विश्लेषण गर्छन्। देशको परिवेशलाई सकारात्मक रूपमा लिन्छन्। कतिले 'विदेशीको इसारामा चलेको सरकार' भन्दै आक्रोश पोख्छन्। नेता, नेतृत्व, राज्यसत्ता, कर्मचारीतन्त्र र जनजीविकाका कुराहरू अर्थात् भुइँमान्छेका जीवन्त अनुभूतिहरू त्यहाँ प्रत्यक्ष सुन्न र साक्षात्कार गर्न पाइन्छ। बसमा छु कि संसद् भवनमा! भ्रम हुन्छ कहिलेकाहीँ मलाई।
सार्वजनिक यातायातमा पीडा र रमाइला क्षण एकसाथ भोग्न पाइन्छ। समयमा गन्तव्यमा नपुर्याउने, कोच्चिएर बस्नुपर्ने, उभिएरै यात्रा गर्नुपर्ने, पकेट मारिने, खुद्रा पैसा फिर्ता नदिने, सहचालकको कर्कश आवाज सुन्नुपर्ने साझा विशेषता यसमा पाइन्छ। अरू जस्तै त्यसमा अभ्यस्त छु म!
सार्वजनिक गाडीका चालक र सहचालकले हरेक यात्रुलाई कम्तीमा २५ रुपैयाँ ठान्छन्। अर्थात्, हरेक मान्छेलाई रुपैयाँमा गणना गर्छन्। त्यसैले त बस र माइक्रोबसमा इँटाको जस्तै मान्छेको चाङ लगाउँछन्। यात्रुको स्वरूप र उमेर अन्दाज गरी सहचालकहरू भाइ-दाइ, दिदी-बहिनी, अङ्कल-आन्टी, बा-आमा, हजुरबा-हजुरआमा भन्दै सम्बोधन गर्छन्। मानौँ, ती उमेर र नाता प्रमाणित गर्ने अधिकारी हुन्!
यदि तपाईं अरूलाई आफ्नो उमेर ढाँटिरहनुभएको छ वा लुकाइरहनुभएको छ भने अब त्यसो नगर्नुस्! सार्वजनिक बस वा माइक्रोबस चढ्दा उमेरको पोल खुल्छ। सहचालकले उमेरअनुसारको नाता-सम्बन्धले सम्बोधन गर्छन्। त्यो नै वास्तविक उमेर समूह हो।
पहिले-पहिले सहचालकको यस्तो सम्बोधनप्रति निकै रिस उठ्थ्यो। त्यसैले उसलाई घुरेर हेर्थेँ म! आखिर बुढो हुने रहर छैन! बुढ्यौलीलाई सहज रूपमा स्वीकार गर्न सक्दिनँ। किनकि म पनि आम मान्छेमध्ये एक हुँ।
यात्रा न हो, अनेक देख्न र सुन्न पाइन्छ। चालकले ठूलो स्वरमा गीत बजाउँछन्। युरोप र अमेरिकामा यसरी सार्वजनिक गाडीमा गीत-सङ्गीत घन्काएर अरूलाई डिस्टर्ब गर्न पाइँदैन, व्यक्तिगत स्वतन्त्रताको सम्मान हुन्छ। तर नेपालमा गीत बजाएर डिस्टर्ब भयो भनेर गुनासो गरेको अहिलेसम्म सुनेको छैन। बरू 'सानो स्वरमा बजाउनू' वा 'भोल्युम बढाउनू' भनेको याद छ। एक दिनको यात्रामा गाडीमा गीत बजिरह्यो! साँच्चिकै त्यो गीतले छोयो मलाई, 'माया जाँच्ने के होला ओखती ...?' सुन्दै गर्दा विगतमा माया र शारीरिक आकर्षणबीचको विभेद जाँच्न नसक्दा प्रेम असफल भएको याद झल्झली आयो। त्यही बेला सहचालक मुखको 'इन्चिटेप' ले मेरो उमेर नाप्दै थियो!
भन्छ, 'पछाडि सर्नुस् हजुरबा नभए बाटो छोडिदिनुस् अरूलाई!' एक मनले 'कसरी हजुरबा देखिस मलाई?'... भन्न मन थियो तर भनिनँ। मरोस्।
फुलेको कपालमा कालो रङ नहाली, टोपी लगाएर हिँड्दा हरेक दिन सहचालक 'हजुरबा' भन्थ्यो। झोँक चल्यो मलाई! कपालमा कालो रङ हालेर, सर्ट-पाइन्टमा सफाचट भई बसमा चढ्दा सहचालकले 'अङ्कल, अलि पछाडि सर्नुस्!' भन्न थाल्यो।
केही महिनाको शारीरिक अभ्यास (जिम) पछि भ्यात्त परेको भुँडी घटाएँ। ड्रेसअप पनि परिवर्तन गरेँ। टिसर्ट-पाइन्टमा रूचि बढ्यो। नभन्दै अर्को दिन उसले 'दाइ, भाडा दिनुस्' भन्दा खै किन हो, मन हर्षित भयो!
घर फर्कँदा पनि गाडीमा बजेको त्यो गीत र सहचालकले 'दाइ' भनेको सम्बोधन मनमा घुमिरह्यो। यसपालि चाहिँ मैले साँच्चिकै सहचालकलाई झुक्क्याइदिएँ। र, मैले बुझेँ कि— उमेरले बुढ्यौली निर्धारण गर्ने होइन रहेछ, त्यो त समाजले निर्धारण गर्ने एउटा मानक मात्र रहेछ!