सायद समाज पनि एउटा लेख जस्तै हो। मलाई लाग्छ, कुनै लेख पहिलो मस्यौदामै उत्कृष्ट बन्दैन। आत्मसमीक्षा, संशोधन र समयको कसौटी पार गर्दै केरकार कागजका पानाहरूले पहाड बनाउँदै जाँदा मात्र त्यसले परिपक्व रूप पाउँछ। समाज र परम्पराको यात्रा पनि उस्तै हो। निरन्तर समीक्षा, सुधार र नयाँ दृष्टिकोणको आलोकमा अघि बढ्दै न्यायपूर्ण, जीवन्त र अर्थपूर्ण समाज निर्माण हुन्छ।
जब हामी सानैदेखि आमाको सिउँदोमा बाबाको दीर्घायु देख्दै हुर्कियौँ। त्यसैले होला सायद ‘सिन्दूर’ भन्ने शब्द सुन्नासाथ हाम्रो मनमा सिन्दूरे जात्राको दृश्यभन्दा पहिले श्रद्धा, विश्वास, प्रेम र परम्पराले रङ्गिएको सांस्कृतिक स्मृति ताजा भएर आउँछ तर त्यही सिन्दूरबारे जान्न कहिलेकाहीँ मनको समुद्री किनारामा अनेकौँ जिज्ञासाका प्रश्नहरू छाल बनी आउँदा रहेछन् र मस्तिष्कलाई नै सिञ्चो बनाएर जाँदा रहेछन्। यो लेख त्यही एउटा सिन्दूरको प्रश्नबाट जन्मिएको आत्मसंवाद हो।
जसरी आज मेरी छ वर्षीया छोरी उत्सुकताले भरिएका अनेक प्रश्नहरू लिएर मेरो सामु उभिन्छिन्। उनी मलाई आफूभन्दा धेरै जान्ने व्यक्ति ठान्छिन्। त्यसैले बारम्बार नयाँ–नयाँ प्रश्नहरू सोध्छिन्। उनका जिज्ञासु आँखाहरूमा उत्तर खोज्ने निष्कलुष चाहना देख्दा, आफूले जानेका सत्य र सिकाइका स–साना कणहरू उनको ज्ञानको पोटलीमा राखिदिऊँ भन्ने भान मलाई पनि हुन्छ।
ठीक त्यसरी नै, आज म धर्मका ज्ञाता, शास्त्रका अध्येता र समाजका बौद्धिक व्यक्तित्वहरूसामु मेरी छोरीजत्तिकै जिज्ञासु विद्यार्थीका रूपमा आफैलाई उभ्याउन चाहन्छु। श्रद्धाले शिर निहुराउँदै ससम्मान प्रश्नहरूको भारी उहाँहरूको विज्ञताको बगैँचामा बिसाउन चाहन्छु। मेरा यी प्रश्नहरूको कुनै अनर्थ लागेमा वा कसैको आस्थामा ठेस पुग्न गएमा, हृदयदेखि नै क्षमायाचना गर्दछु।
त्यसैगरी म यो लेख्दै गर्दा मेरो उद्देश्य कुनै परम्पराको अवमूल्यन गर्दै आस्थाको खण्डन गर्नु वा विवाद सिर्जना गर्ने मनसाय कदापि होइन। यसको उद्देश्य पुरुषको जिम्मेवारीलाई कम आँक्नु वा महिलालाई मात्र पीडित देखाउनु पनि होइन। जिम्मेवारी महिला पुरुष दुवैको आ–आफ्नो ठाउँमा उत्तिकै ठूलो र महत्त्वपूर्ण हुन्छ। त्यसमा मेरो कुनै असहमति छैन। मैले उठाएको प्रश्न सामाजिक प्रतीक र सामाजिक अपेक्षाबारे मात्र हो।
त्यसैले यतिबेला म हाम्रा समाजमा देखिएका उही परम्परामै अल्झिएका साझा समस्याका प्रश्नहरूले घेरिएकी छु। हरेकपल्ट यी यावत् प्रश्नको गहिराइमा घोत्लिरहन्छु।
तर हामीले पुस्तौँदेखि श्रद्धापूर्वक मान्दै आएका परम्पराको एकोहोरोपन देख्दा शास्त्रीय आधार जान्न एकदमै उत्सुक छु। मेरो जिज्ञासा केवल यति हो कि, यदि यो नियम शास्त्रसम्मत हो भने किन यसको पालन र दायित्व एकतर्फी देखियो? यसको मूल तात्पर्य, दर्शन र शास्त्रीय प्रमाण के छ होला?
कृपया यसलाई शास्त्र, तर्क र धर्मदर्शनको आलोकमा स्पष्ट गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछु। ताकि म मात्र नभई आगामी पुस्ताले पनि आस्थासँगै सत्य र ज्ञानलाई आत्मसात् गर्न सकून्। परम्पराको पुस्तान्तरणलाई विवेकपूर्ण ढंगले निरन्तरता दिन सकून्।
जब म विदेश आएको केही हप्ता भएको थियो। एकदिन छोरीलाई पार्कमा खेलाउन भनी लगेर गएँ। सोही समय, एक अन्दाजी ७६ वर्ष उमेरको एक वृद्धा बुबाले, ‘हेल्लो ह्वेयर आर यू फ्रम?’ भन्नुभयो। म आफैँ चकित परेँ। त्यसपछि केहीछिनको भलाकुसारी पश्चात् काम खोजिदिन आग्रह गरेँ। अर्को दिन ठीक ८ बजे मलाई पुनः पार्क बोलाउनु भयो।
त्यसपछि म बिहानै ठीक ८ बजे सोही पार्कमा पुगेँ। म पुग्नु १५/२० मिनेट अगावै उहाँ पार्कमा आएर बस्नु भएको रहेछ। जापानीहरू त्यसरी समयप्रति निष्ठावान् रहेको देख्दा जीवनमा आफूले पनि एउटा गतीलो पाठ सिकेको महसुस गरेँ।
शालीन, इमानदार र सहयोगी उहाँको सराहनीय गुणहरू थिए। उहाँ अहिलेसम्म ४२ बढी देशहरू घुमिसक्नु भएको रिटायर्ड पावर इन्जिनियर हुनुहुँदो रहेछ। त्यस्तै कुरा गर्दै जाँदा अचानक उहाँको नजर मेरो सिउँदोको सिन्दूरमा अडियो। त्यसपछि उहाँ अल्ली झस्किँदै सोध्नुभयो।
‘ल यो टाउकोको कपालभित्र के भयो? रगत जस्तै देखिन्छ त, कतै चोट लाग्यो कि?’
म हल्का मुस्कुराउँदै भन्न थालेँ, ‘यो कुनै रगत र चोट होइन ओतोसा, यो त सिन्दूर हो। नेपाली सनातन हिन्दु संस्कृतिमा विवाह गरेका महिलाहरूले विवाह पश्चात् श्रीमानको दीर्घायुको कामना गर्दै आफ्नो सिउँदोमा सिन्दूर लगाउने गर्छन्। तर म पनि यदाकदा लगाउने गर्छु कहर र डरले नभएर रहरले।’
मेरो जवाफ सुनेपछि उहाँ केही क्षण मौन बस्नु भयो। त्यसपछि फेरि प्रश्न गर्नुभयो।
‘अनि विवाहपछि श्रीमानले के लगाउँछन् श्रीमतीको दीर्घायुको लागि? के उनीहरूलाई श्रीमतीले लगाए जसरी गरी विवाह भएको प्रमाणित गर्न कुनै चिन्ह लगाउनु पर्दैन?’
म उहाँको प्रश्नले आफैँ नाजवाफ बनेँ। त्यसपछि बिस्तारै उत्तर दिएँ।
‘अहँ, उनीहरूले त केही लगाउँदैनन्। र मैले आजसम्म सुनेकी छैन श्रीमतीको दीर्घायुको लागि खै उनीहरूले कुन व्रत बस्छन् र के लगाउँछन्?’
मेरो उत्तर सकिनासाथ उहाँले गम्भीर स्वरमा भन्नुभयो, ‘मलाई लाग्छ, यो एउटा सामाजिक, धार्मिक र लैङ्गिक प्रश्न हो। यदि वैवाहिक सम्बन्धमा दुवै बराबर सहभागी हुन् भने, त्यसको प्रतीक किन एकतर्फी हुन्छ?’
उहाँका शब्दमा न आलोचनाको कटुता थियो, न उपदेशको बोझ। तर ती केही वाक्यले मेरो चेतनामा एउटा नयाँ ढोका खोलिदिए। बाल्यकालदेखि श्रद्धापूर्वक स्वीकार्दै आएको एउटा परम्परालाई मैले पहिलोपटक प्रश्नको दृष्टिले हेर्न थालेँ।
त्यसपछि मेरो मनको मन्दिरमा बलेको बत्तीका लामा लामा लप्काहरूमा परम्परा र संस्कृतिको राप आउन थाल्यो।
हामीले सिन्दूरलाई प्रेम, समर्पण र सौभाग्यको प्रतीक मान्यौँ। बाल्यकालदेखि आमाको सिउँदोमा बाबाको दीर्घायु देख्यौँ। विवाहमा बेहुलीको सिउँदो भरिँदा त्यसलाई शुभताको आरम्भ ठान्यौँ। तर यदि सिन्दूर प्रेमको प्रतीक हो भने, त्यसको जिम्मेवारी किन एकतर्फी भयो? महिलाले विवाहपछि सिउँदो रङ्गाइन् तर पुरुषले के रङ्गाए? यी सवालका जवाफ सोच्ने र सोध्ने चेष्टा हामी कहिल्यै गरेनौँ।
त्यसैगरी समाजले महिलालाई विवाहपश्चात् कसैकी श्रीमती भनेर चिनाउने अनेकौँ चिनारी दियो। सिन्दूर, पोते, चुरा, मङ्गलसूत्र। तर यही समाजले पुरुषलाई कसैको श्रीमान् भनेर चिनाउने कुनै त्यस्तो चिन्ह दिन किन आवश्यक ठानेन? यसको अर्थ के विवाह महिलाको पहिचान परिवर्तन गर्ने संस्था मात्र हो?
विवाहपछि पुरुष उस्तै स्वतन्त्र रहिरहने, कुनै बाह्य बन्धन वा चिन्हको आवश्यकता नपर्ने तर महिला भने आफ्ना वैवाहिक चिनारीहरूलाई दीर्घायु र संस्कृतिको अनेक नाममा जीवनभर प्रमाणको रूपमा बोकेर हिँड्नुपर्ने? यदि प्रेम बराबरीको सम्बन्ध हो भने, त्यसको प्रतीक र जिम्मेवारी पनि बराबरीकै हुनुपर्ने होइन र? यदि होइन भने, हामीले प्रेमको नाममा कतै असमानतालाई नै संस्कारको रूप त दिएका छैनौँ?
यही प्रसङ्गले यतिबेला मलाई ४ वर्ष पहिलेको कुरा याद दिलायो, त्यो बेला साथीको घरको डाइनिङमा उनको सासूसँगै चिया पिउँदै गर्दा सासूआमाले उनलाई भन्नुभयो, ‘कस्तो रित्तो हात, एउटा चुरो भए पनि लगाउनु पर्छ। यसरी रित्तो हात खाली सिउँदो विवाहपछि राख्नु हुँदैन।’
तर उहाँले सँगै चिया पिउँदै गरेको छोरालाई विवाहपछि तिमीले यो लगाउनु त्यो नलगाउनु भनेको केही गुनासो सुन्निएन। त्यो दृश्य देख्दा हामी चुपचाप बस्यौँ।
त्यसपछि लाग्यो, अहो! अझै पनि हाम्रो समाजका कतिपय परिवारमा गलत परम्पराको पुस्तान्तरण भएको छ।
यसरी हामीले सम्पूर्ण कुरालाई चुपचाप स्वीकार्दै परम्परालाई यति श्रद्धा गर्यौँ कि त्यसभित्र लुकेका असमानताहरूलाई कहिल्यै प्रश्न गर्ने चेष्टा गरेनौँ। त्यसैले पनि लाग्छ समाजले महिलालाई सधैँ त्यागकी मूर्ति ठानिरह्यो तर आफू कहिल्यै न्यायको मूर्ति बन्न सकेन।
मैले यी यावत् प्रश्नहरू गर्दै गर्दा मलाई लाग्दैन कि यी परम्पराको विरोधको मनसायमा म लेखिरहेकी छु। यी प्रश्नहरू परम्पराभित्र लुकेको असन्तुलनमाथिका विचार र बहस हुन्।
यसैगरी उहाँ ७६ वर्षीय वृद्धालाई मैले प्रश्न गरेँ आफ्नो परम्परा बताउँदै, ‘तपाईँको देश किन कसरी यति विकसित छ हाम्रो देश अझै किन पछाडि छ?’
यस सवालमा उहाँले भन्नुभयो, ‘तपाईँको देश अझै पनि उही पुरातनवादी सोचाइ र गराइमा अडिग रहेछ, मुख्य समस्या यही हो।
हाम्रो जापान पनि पहिले कुनै समय परम्परा र सामाजिक बन्धनमा बाँधिएको समाज थियो। विवाह, परिवार, महिलाको भूमिका, पेसा छनोटजस्ता धेरै विषयमा व्यक्तिको भन्दा समाजको निर्णयलाई बढी महत्त्व दिइन्थ्यो। तर नयाँ पुस्ताले आफ्ना संस्कृति र मूल्यलाई पूर्ण रूपमा अस्वीकार गरेनन् तर समयअनुकूल परिमार्जन गर्दै अगाडि बढे।
महिलाको शिक्षा र रोजगारीलाई प्रोत्साहन दिन थाले, विवाहलाई बाध्यता नबनाएर व्यक्तिगत रोजाइका रूपमा स्वीकार गरे, समानताको भावना बलियो बनाए, र वैज्ञानिक सोच तथा व्यवहारलाई प्राथमिकता दिए। अनुशासन, इमानदारी, परिश्रम र आपसी सम्मानजस्ता मौलिक मूल्यलाई भने जोगाइराखे यही कारणले जापानले आफ्नो पहिचान कायम राख्दै आधुनिक र विकसित राष्ट्रको यात्रा तय गर्न सफल भयो।’
त्यसपछि मलाई उहाँको यो सब सुन्दै गर्दा लाग्यो, अहो! हाम्रो नेपालमा त हाम्रो कुरा कहाँ सुन्नु र!
कतिपय ठाउँहरूमा अझै पनि महिलाको संस्कारमाथि नै एउटा ठूलो पहाड थोपारिन्छ। विवाह भयो कि भएन भन्ने कुरा महिलाको पहिरन, सिन्दूर र चुराले देखाउनुपर्ने हुन्छ। अझ श्रीमान्को मृत्यु भएपछि महिलामाथि थोपरिने सामाजिक व्यवहार झन् पीडादायी छ। सिन्दूर पुछ्न बाध्य पारिन्छ, चुरा फुटाइन्छ र त्यसपछि यदि कुनै दिन उनले ती चिन्हहरू लगाएको देखिए भने त्यही समाजले प्रश्न गर्छ, ‘तिम्रो श्रीमान् बितेको हैन र? किन रातो लगाएको? किन सिन्दूर लगाएको? ‘किन चुरा लगायौ?’
यसरी पीडामाथि पीडा थप्ने काम त्यही समाजका मानिसले गर्छन्। र श्रीमान् भएकी महिलालाई ठीक यही प्रश्न गर्छन्- ‘तिमीले किन नलगाएको, तिम्रो श्रीमान् छैन र?’ यी यस्ता प्रश्नहरूले पनि बुझाउँछ की अहो! हाम्रो नेपाल अझै कति हिलोमा गाजिएको छ लैङ्गिक धार्मिक सामाजिक मुद्दाको हिलाम्मे आलीमा।
यही असमान व्यवहारले मेरो मनमा अर्को प्रश्न जन्मायो- के हाम्रो मूल्याङ्कन व्यक्तिको आस्था र व्यवहारका आधारमा हुन्छ कि उसले धारण गरेका बाह्य चिन्हका आधारमा?
अझ विडम्बना त के छ भने, यिनै प्रश्नहरू पुरुषलाई भने कहिल्यै सोधिँदैनन्। यहीँबाट पनि हाम्रो समाजमा रहेको असमानताको रेखा प्रस्ट रूपमा देखिन्छ।
मैले यति भनिरहँदा धेरैले भन्न सक्लान्, ‘सिन्दूर त प्रेम र वैवाहिक सम्बन्धको प्रतीक हो, त्यसलाई किन यति सारो विभेदको दृष्टिले हेरेको? म भन्छु, धेरै महिलाले सिन्दूर प्रेम र मायाको प्रतीकका रूपमा लगाउँछन्, ठिक छ। म पनि कहिलेकाहीँ आफ्नो इच्छाले लगाउँछु। तर मेरो लेखाइको समस्या सिन्दूरमा होइन कि त्यसलाई हेर्ने सामाजिक दृष्टिकोणमा छ।
मैले आफ्नै थुप्रै साथीहरूलाई देखेकी छु। कतिपयले घरबाट निस्कँदा सिन्दूर टीका लगाउँछन् तर कलेज वा कार्यस्थल पुग्नेबित्तिकै पुछिदिन्छन्। किन? किनकि उनीहरूलाई समाजको नजरमा अनावश्यक प्रश्न र टिप्पणीको डर हुन्छ। यसबाट पनि बुझिन्छ, सिन्दूर कुनै व्यक्तिगत छनोट होइन रहेछ। बरु सामाजिक दबाबको परिणाम बनेछ।
यदि कुनै महिलाले हिन्दु धर्म मान्छिन्, पुजापाठ जप ध्यान सब गर्छिन् तर सिन्दूर नलगाउने निर्णय गर्छिन् भने समाजले किन प्रश्न गर्छ? किन उनको व्यक्तित्वमाथि चरित्रहत्या गर्छ?
वर्षौँदेखि हामी युवापुस्ता धेरै सामाजिक विकृतिविरुद्ध आवाज उठाइरहेका छौँ। तर यस्ता सामान्य देखिने व्यवहारभित्र लुकेका असमानताबारे भने अझै पर्याप्त बहस गर्न सकेका छैनौँ। कहिलेकाहीँ बाहिरबाट आएका मानिसहरूले नै हाम्रो समाजमा रहेका ती कुराहरू देखाइदिन्छन्, जसलाई हामीले सामान्य ठानेर स्वीकार गर्नु र त्यो कुराबारे अनुसन्धान र विचार बोध नगर्नु हाम्रो अझै ठूलो कमजोरी हो जस्तो मलाई लाग्छ।
आज विश्वभरका महिलाहरू आफ्नो आत्मअधिकार, समानता र स्वतन्त्रताका लागि आवाज उठाइरहेका छन्। उनीहरूले पुराना मान्यताहरूलाई विवेकहीन रूपमा अस्वीकार गरेर होइन तर तीभित्र रहेका असमान पक्षहरूमाथि प्रश्न उठाएका छन्।
नेपालमा पनि आज धेरै शिक्षित महिलाहरू यिनै प्रश्नहरू उठाउन थालेका छन्। त्यसैले अब छोरीहरूलाई केवल परम्परा पालना गर् मात्र नभनेर विवेकपूर्ण प्रश्न गर्न सिक भनेर सिकाऔँ। संस्कृतिको सम्मान गर तर आवश्यक पर्दा त्यसलाई आत्मालोचनाको दृष्टिले हेर्ने साहस राख भनौँ। किनकि समयसँग संवाद गर्न नसक्ने परम्परा अन्ततः रूढि मात्र बन्न पुग्छ। र त्यसको नतिजा छोरीपुस्ता बोक्न बाध्य बन्छन्।
यसरी त्यो दिन घर फर्किएपछि म धेरै बेर आफ्नै सिउँदोमा सजिएको सिन्दूरलाई ऐनाअगाडि निहालीरहेँ। त्यो रातो रेखामा प्रेम, विश्वास, समर्पण र अपनत्वका सूक्ष्म परागहरू फैलाइरहेको अनुभूति गरेँ। तर त्यही रेखाभित्र फेरि कतिपय महिलाका लागि मौन पीडा, अदृश्य दबाब, असमान अपेक्षा र जीवनभरि बोक्नुपर्ने जिम्मेवारीका गह्रौँ तहहरू पनि लुकेका देखेँ।
त्यसैले यदि विवाह वास्तवमै दुई आत्माको समान यात्राको पवित्र बन्धन हो भने, त्यसका प्रतीकहरू पनि दुवैका लागि समान हुनुपर्छ। तबमात्र समानताको सुन्दरता त्यहीँबाट आरम्भ हुन्छ, जहाँ परम्पराले अधिकार र दायित्वलाई लिङ्गका आधारमा होइन, मानवताको आधारमा बाँड्न सिक्छ। तबमात्र हाम्रो समाज परम्पराको संरक्षण गर्ने मात्र नभएर न्याय, सम्मान र समानताको वास्तविक मूल्यलाई पनि आत्मसात् गरेको सभ्य समाज बन्न सक्नेछ।
अन्ततः मलाई लाग्छ, प्रश्न गर्नु कुनै विद्रोह जन्माउनु कदापि होइन। उत्तर खोज्ने साहस भएका समाजले नै सभ्यताको नयाँ इतिहास लेख्छन्। त्यसैले परम्परालाई बचाउने सबैभन्दा राम्रो उपाय, त्यसलाई समयसँग संवाद गर्न सक्षम बनाउनु हो।
आज म आफैँसँग एउटा प्रश्न गरिरहेकी छु, हामी वास्तवमै संस्कृतिलाई जोगाइरहेका छौँ कि असमानतालाई निरन्तरता दिइरहेका छौँ?