सुरुवातमै स्पष्ट पार्न चाहन्छु, म आजसम्म कुनै दलको सदस्य छैन। अर्को थप स्पष्ट पार्न चाहन्छु, कुनै समय कुनै दलमा विशिष्ट आस्था राख्ने मतदाता मात्र होइन, राजनीतिक दलका उच्च तहका पदाधिकारीहरूले समेत पार्टी परिवर्तन गरेका छन्। त्यसो हुँदैनथ्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिने को हुन्थ्यो होला र?
म एक कर्मचारी हुँ। म कहिल्यै पनि कुन पार्टीको सरकार आयो? कुन पार्टीको व्यक्ति मन्त्री, प्रधानमन्त्री, मेयर वा अध्यक्ष बन्यो? भन्ने कुरामा मतलब गर्दिनँ। जुनसुकै पार्टीको वा स्वतन्त्रबाट विजयी नै किन नहोस्, सरकारलाई सफल बनाउन दत्तचित्त भएर लाग्नु मेरो धर्म हो। आजसम्म पनि मैले त्यही गर्दै आएको छु।
अहिले पनि मन्त्रालयमा मैले पाएको जिम्मेवारी शतप्रतिशत भौतिक प्रगति सहित न्यूनतम खर्चमा कार्यसम्पादन गरेको छु। मेरो विवेक र क्षमताले भ्याएसम्म मैले पाएको जिम्मेवारीलाई पूर्ण रूपमा प्रतिबद्ध भएर मेहनतका साथ सम्पादन गर्नुपर्छ भन्ने मैले सिकेको संस्कार हो। म यसमै स्पष्ट र पूर्ण प्रतिबद्ध छु।
निजामती सेवामा काम गरेको २० वर्षको अवधिमा गोरखा, मनाङ, महोत्तरी, म्याग्दी, धादिङ, नवलपरासी, डोल्पा लगायतका जिल्लाहरूमा मैले सेवा गरिसकेको छु। म काठमाडौँ नछोड्ने दुर्गम नजाने प्रवृत्तिको कर्मचारीमा पर्दिनँ र राज्यलाई आवश्यक पर्दा नेपालको जुनसुकै भूगोलमा गएर कार्यसम्पादन गर्न सक्छु।
सरकारले दिएको विशेष घटना र अवस्थाहरूमा विशेष कार्यदल, समिति र टोलीमा बसेर विभिन्न जटिल समस्याहरू समाधान गर्न पनि मैले योगदान गरिसकेको छु र आवश्यक पर्दा सबै जिम्मेवारी बहन गर्न सक्छु भन्ने आत्मविश्वास राख्दछु।
मेरो स्वभाव नागरिकलाई खुसी बनाउने हो। बिचौलियाबाट पर बस्ने हो। जसका कारण मसँग बिचौलियासँगको सम्बन्ध कहिल्यै राम्रो भएन। त्यस्ता बिचौलिया कहिले पार्टीको कार्यकर्ताका रूपमा, कहिले पत्रकारका रूपमा, कहिले मन्त्री वा सचिवका निकटका रूपमा त कहिले कारोबारमा लाभ लिने दलालका रूपमा प्रस्तुत हुन्थे। यिनीहरूसँग राम्रो सम्बन्ध नबनाउनु भनेको मैले दुख पाउनु हो भन्ने स्पष्ट हुँदाहुँदै पनि मेरो स्वाभिमानले, मेरो आत्माले यस्ता प्रवृत्ति हुनेहरूसँग साठगाँठ गर्न कहिल्यै दिएन। यसकै कारण मैले पटक पटक अघिल्ला सरकारहरूका पालामा सरुवामा अनावश्यक दुःख पाउँदै आएको थिएँ।
गत भदौमा जेनजी विद्रोहपछि पुराना राजनीतिक दलको विस्थापन र नयाँ दलको सरकार बन्यो। युवामय सरकार भएको कारण म निकै उत्साहित थिएँ। मलाई आशा थियो अब इमानदार र लगनशील कर्मचारीका दिन आउँछन्। हामीजस्ता निःस्वार्थ भावले देशको सेवामा लाग्ने, गलतलाई गलत भन्ने, सही तरिकाले राम्ररी काम गर्नेको खोजी हुन्छ, पहिचान हुन्छ र सही व्यक्ति सही ठाउँमा उचित जिम्मेवारी पाएर काम गर्छ। अब त कानुन बमोजिम सरुवा प्रणाली स्थापित हुन्छ। तथ्य र तर्कका आधारमा सरुवा, बढुवा हुन्छ। अब त स्वाभिमानी, निष्पक्ष र दत्तचित्त भएर काम गर्ने कर्मचारीले न्याय पाउँछन्।
यस्तै आशा र भरोसा जागेको थियो। ट्रेड युनियनको मनोमानी र सरुवामा उनीहरूको कब्जा तोडिएको देखेर साह्रै खुसी पनि भएँ। तर ती ट्रेड युनियनको काम ठ्याक्कै मन्त्रीज्यूका विश्वासपात्रहरूमा हस्तान्तरण भएको देख्दा मलाई डाँको छोडेर रुन मन लाग्यो। म अवाक् भएँ। भावुक भएँ। मन्त्रीज्यूका विश्वासपात्रका रूपमा कर्मचारी प्रशासनमा नयाँ नयाँ कर्मचारीहरू सरुवा र पदस्थापन हुँदै गए।
उनीहरूमा यस्तो अहमता देखियो कि, आफूभन्दा सिनियर माथिल्लो पदका कर्मचारीहरूसँग पनि मेरो त मन्त्रीज्यूसँगको निकटता छ। मैले भनेको मन्त्रीज्यूले सुनिहाल्नुहुन्छ। मसँग शक्ति छ। चाहेँ भने तँलाई त भित्तैमा पुग्ने गरी पेल्न सक्छु भन्ने भाव अनुहार र व्यवहारमा झल्किन्थ्यो। तर मेरो स्वभाव माथि नै उल्लेख गरिसकेँ कि म त्यस्तो प्रवृत्ति देखाउनेलाई राम्रो मान्दिनँ बरु बिचौलियाकै पदनाम दिन्छु। भयो पनि त्यस्तै। उनीहरूका वरिपरि घुम्ने चाकडीवाजमा माहिर कर्मचारीहरू भनेको ठाउँमा सरुवा भए वा लामो समय एकै ठाउँमा रजाइँ गरिरहे। त्यस्तो चरित्र नहुने कर्मचारीहरू पेलिन थाले, हेपिन थाले।
यस्तो देख्दा लाग्यो अब मेरो पनि पालो आउने होला। मैले युवापुस्ताको सरकारबाट सुधार पक्कै हुनेछ भन्ने आशा गरेको थिएँ। सरुवा त पहिले भन्दा झन् भद्रगोल, झन् गैरकानुनी, झन् मनोमानी, झन् प्रतिशोध पो बन्यो। मेरो आशा निराशामा परिणत भयो, मैले देखेको सपना चकनाचुर भयो।
सरुवा हुन निजामती सेवा ऐन र नियमावलीले स्पष्ट लेखेको छ, कारबाही गर्नुपर्ने अवस्थामा बाहेक कर्मचारीको सरुवा दुई वर्ष पुगेपछि मात्र हुन्छ। तर मन लागेकालाई पदस्थापन वा सरुवा भएको एक दुई महिनामै पनि भनेको ठाउँमा सरुवा गरियो। यसका थुप्रै उदाहरण मसँग छन् तर नाम उल्लेख गर्न चाहन्नँ। तेल नघस्ने, मन्त्रीज्यूको निकट हुनेहरूका वरिपरि परिक्रमा नगर्नेहरूलाई अवधि नपुगी दुख दिने नियतले सरुवा गरियो। यस्तो अवस्थाले मेरो सरुवा दुई वर्ष हुँदैन भनेर ढुक्क भएर काम गर्ने अवस्था नै बनेन।
सरुवा गर्दा कर्मचारीको इच्छा र संगठनको आवश्यकताबिच तालमेल मिल्नेसम्म मिलाएर सरुवा गरिदिने हो भने कर्मचारी कति खुसी र उत्प्रेरित भएर काम गर्लान्?
कर्मचारी मेशिन होइनन्, मानिस हुन्। उनीहरूमा भावना हुन्छ, चेतना हुन्छ, हृदय पनि हुन्छ। मानिस भएपछि अलिकति पहिचान, सम्मान र धेरै तर्कसङ्गत एवम् समान व्यवहार खोज्छन्। यसरी तथ्यपरक तर्कसङ्गत र समान व्यवहारबाट कर्मचारी सरुवा गर्ने हो भने जुनसुकै कर्मचारी जहाँ पनि जान तयार मात्र होइन खुसी भएरै जान्छन्। कार्यसम्पादन र त्यसको परिणाम पनि उत्कृष्ट नै हुन्छ।
यस्तो व्यवहार मैले २० वर्ष सेवा गर्दा कहिल्यै भएन र अहिले झन् डरलाग्दो गरी अन्यायपूर्ण सरुवा प्रवृत्ति देखियो। जसले गर्दा मैले अपेक्षा गरेको न्यायपूर्ण व्यवहार र कार्यसम्पादन क्षमताका आधारमा जिम्मेवारी र सरुवा होला भन्ने आशा निराशामै परिणत भयो।
एउटा घटेकै घटनाको उदाहरण दिऊँ। श्रीमान्-श्रीमती दुवै जागिरमा छन्। बुढा भएका बिरामी बाबुआमाको हेरचाह गर्ने, अस्पताल लैजाने, बच्चाबच्चीलाई विद्यालय पठाउने र अन्य घरायसी व्यवहार र दायित्व बहन गर्नुपर्ने कर्मचारीलाई दुर्गममा खेदेपछि त्यो कर्मचारीले कसरी काम गर्ला? अझ उसकी श्रीमती समेत दुर्गममा सरुवा गरेपछि ती बालबच्चा र बुढा बाबुआमाको हालत के होला? त्यो कर्मचारीले कुन मनोबलले काम गर्ला?
मैले अघि नै उल्लेख गरिसकेँ; कर्मचारी मेशिन होइनन् उनीहरूमा हृदय हुन्छ, विवेक हुन्छ। पारिवारिक जिम्मेवारी र कर्तव्य हुन्छ। त्यसलाई पनि सम्भव भएसम्म सम्बोधन गरेर कर्मचारीको मनोबल उच्च पारेर मात्र प्रभावकारी र नतिजामुखी काम लिन सकिन्छ भनेर बुझाइदिने कसले हो?
कहिले कति बेला कहाँ सरुवा गर्ने हुन् भनेर मनमा डरत्रास र भय मात्र भरिइरह्यो। मन आतङ्कित मात्र बनिरह्यो। यसरी मनभरि डरत्रास बोकेर, अपमानित भएर, भावनारूपी मानव मस्तिष्कले कसरी काम गर्ला? जबरजस्ती अन्यायपूर्ण तरिकाले कर्मचारी लखेटेर कार्यसम्पादन राम्रो हुनै सक्दैन।
दशकौँसम्म एउटै मन्त्रालय वा कार्यालयमा बसेका, तेल घस्न र परिक्रमा गर्न माहिर कर्मचारी कार्यसम्पादनमा कमजोर भए पनि सरुवा नहुने तर त्यही मन्त्रालय वा कार्यालयको कार्यसम्पादनमा अब्बल, इमानदार र स्वाभिमानी कर्मचारीलाई एक वर्ष नपुग्दै सरुवा किन गरिन्छ?
कानुन कहाँ गयो? विवेक कहाँ गयो? कुन तर्क र कुन आधारले यस्तो विभेदपूर्ण अन्याय गरिन्छ?
सरुवा हुनुपर्छ तर तथ्य, तर्क, कानुन, विवेक र न्यायसङ्गत त हुनुपर्ला नि?
सरुवामा यस्तो आतङ्क कहिलेसम्म?