पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि बुधबार फेरि एउटा अन्तर्राष्ट्रिय व्यावसायिक विमान अवतरण गर्यो।
विमानसँगै पोखराको पर्यटन क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको नियमित अन्तर्राष्ट्रिय उडानको आशा पनि फर्किएको छ।
दुबईबाट आएको फ्लाई दुबईको विमान पोखरा अवतरण गरेपछि विमानस्थलमा पोखराका जनप्रतिनिधि र व्यवसायीले भव्य स्वागत गरे। विमानका पाइलट सर्वजित यादवका लागि पनि पोखरा आउने यो अवसर बन्यो।
'सबै उडान एकदम राम्रो भयो। सबै राम्रो छ। यहाँको एयरपोर्ट पनि एकदम राम्रो लाग्यो। पहिलो पटक यहाँ आउन पाएँ। खुसी छु,' उनले भने।
यो विमानस्थल सञ्चालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखरा–चीनको ल्हासा उडान गरे पनि यात्रु अभावका कारण बन्द भएको थियो। त्यसपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको प्रतीक्षा भइरहेको थियो।
फ्लाई दुबईको विमान अवतरण गर्दा त्यो प्रतीक्षा केही समयका लागि भए पनि टुंगिएको थियो। पर्यटन व्यवसायीहरूले यसलाई पोखरा मात्र नभई समग्र नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ अवसरका रूपमा लिएका छन्।
भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेका बेला पोखराबाट सुरू भएको अन्तर्राष्ट्रिय उडानले व्यवसायीमा नयाँ आशा जगाएको हो।
नियमित व्यावसायिक उडान सञ्चालनका लागि पर्याप्त यात्रु चाहिन्छ। यात्रु अभाव भए फ्लाई दुबईको उडानले पनि निरन्तरता पाउन कठिन हुन सक्ने व्यवसायीहरू नै बताउँछन्।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पनि यस्तै समस्या छ। अन्तर्राष्ट्रिय उडान सुरू भए पनि नियमित हुन सकेन। त्यसैले पोखराका लागि अब चुनौती अन्तर्राष्ट्रिय उडान दिगो बनाउनुपर्नेछ।

बेलायत पढ्न जान लागेकी कास्कीको रूपा गाउँपालिका–३ की रेजिना कुमालका लागि बुधबारको उडानले अन्तर्राष्ट्रिय यात्रा सहज बनाइदियो।
'पोखराबाट फ्लाई दुबईमा जाँदैछु। बिहीबार बिहान ७ बजे दुबईबाट बेलायतका लागि फ्लाइट छ। घर नजिकैबाट जान पाउँदा एकदम खुसी लागेको छ,' बुधबार विमानस्थलमा भेटिएकी उनले भनिन्।
पाल्पाको पूर्वखोला गाउँपालिकाका पोमनारायण श्रेष्ठ पाँच वर्ष दुबई बसेपछि बुधबार दसैं–तिहार मनाउन घर फर्किए। उनका लागि पनि पोखरामा ओर्लिन पाउनु सुविधाभन्दा बढी खुसीको कुरा थियो।
'दुबईबाट सिधै पोखरा आउन पाउँदा एकदम राम्रो भयो। मलाई पोखराबाट पाल्पा जान नजिक हुन्छ,' उनले भने।
उडान सुरू हुने खबर पाएपछि उनले दुई महिनाअघि नै टिकट बुक गरेका थिए।
पाल्पाकै तारा सिंजाली मगर पनि पाँच वर्ष दुबई बसेर पहिलो पटक पोखरा झरेकी थिइन्। पोखराबाट आफ्नो घर पुग्न काठमाडौंभन्दा सहज हुने भएकाले उनले उडान सञ्चालन हुनेबित्तिकै टिकट बुक गरेकी थिइन्।
'पाँच वर्ष दुबई बसेर पहिलो पटक पोखरा झर्न पाउँदा एकदम खुसी लागेको छ,' उनले भनिन्।
लोकप्रिय सांगीतिक ब्यान्ड 'कन्दरा' का गायक विवेक श्रेष्ठका लागि भने यो उडान यात्राको सुविधाभन्दा ठूलो अर्थ बोकेको थियो। पोखराका स्थायी बासिन्दा उनका लागि यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरू हुनु आफ्नै सपनासँग जोडिएको कुरा हो।
'काठमाडौं जाँदै बाहिर जान असहज हुन्छ। त्यसैले यो उडानले सम्भावनाका धेरै ढोका खोलेको छ। पर्यटकलाई यहाँ हरेक हिसाबले आकर्षण गर्न सक्नुपर्छ,' उनले भने।
बुधबारको उडानका लागि आफ्नो अर्को अन्तर्राष्ट्रिय उडान नै रद्द गरेको उनले बताए।
'शब्दमा वर्णन गर्न सकिँदैन। हामीले देखेको सपना हो। आजको यो ऐतिहासिक उडानमा आउनुपर्छ भनेर अर्को रद्द गरेर आयौं,' उनले भने, 'यसलाई निरन्तरता दिन हामी सबै मिलेर प्रचार गरौं।'
कन्दराकै संगीतकार सुनिल थापाका लागि पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनु भावनात्मक क्षण थियो। उनका लागि 'घरदैलोमै झरिने' सपना पूरा भएको थियो।
'यति उत्साहित कहिल्यै थिएनौं। घरदैलोमै झरिन्छ भन्ने सपना पूरा भएको छ। यसैका लागि हामीले ट्रान्जिट (दुबई) मा १७ घन्टा बितायौं। यो धेरै खुसीको कुरा हो,' उनले भने।
पोखरा–दुबई उडान सञ्चालनका लागि लामो समयदेखि पहल गर्दै आएका पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ बुधबार दंग थिए।
उनका अनुसार फ्लाई दुबईको उडानसँगै पोखरा संसारका २५० भन्दा बढी गन्तव्यसँग जोडिएको छ।

'अब यो फ्लाइटबाट संसारको जुनसुकै कुनामा पुग्न सकिन्छ। र, जुनसुकै कुनाबाट गुणस्तरीय पर्यटक भित्र्याउन सक्ने बाटो खुलेको छ,' उनले भने।
बुधबारको उडानमा पर्यटक पनि आएको उनले बताए।
'हाम्रो धेरै पुरानो सपना पूरा भएको छ। नियमित उडान सुरू भएको छ। यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भन्ने भ्रम चिरिएको छ,' उनले भने।
उनका अनुसार पोखराबाट दुबई जाने विमानमा पनि पूर्ण क्षमतामा यात्रु छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता एवं उपनिर्देशक जशोदा रेग्मीका अनुसार फ्लाई दुबईको उडानसँगै पोखरा र संयुक्त अरब इमिरेट्सबीच प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापित भएको छ।
'अब यो सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहजीकरण हुने अपेक्षा छ,' उनले भनिन्।
आगामी दिनमा यो विमानस्थलबाट नियमित र दिगो रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन तथा विस्तारका लागि सबै सरोकारवाला निकायको निरन्तर साथ, सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे लामो समयदेखि चलेको अन्योल अन्त्य भएको बताए।
'यो खुसीको कुरा हो। हामी खुसी छौं,' उनले भने।

