नेपालको जैविक विविधताको चर्चा गर्दा प्रायः बाघ, गैँडा, हात्ती वा हिमचितुवा जस्ता ठुला वन्यजन्तुहरू नै संरक्षण बहसको केन्द्रमा रहने गरेका छन्। तर त्यही पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्ने, रोगको जोखिम घटाउने र प्रकृतिका सफाइकर्मी (कुचीकार) का रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँडारको संरक्षण भने अझै पनि ओझेलमा परेको छ।
हाम्रो देशले हुँडारलाई कानुनी रूपमा संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ, त्यसैले यसलाई मार्ने वा हानि पुर्याउने कुनै पनि गतिविधि कानुनअनुसार निषेधित छ। तर कानुनी संरक्षण मात्र पर्याप्त हुँदैन, जबसम्म त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने स्पष्ट संरचना र दीर्घकालीन योजना हुँदैन।
क्षेत्रीय सन्दर्भमा हेर्दा, हुँडारको वासस्थान भारतदेखि मध्यपूर्व हुँदै अफ्रिकासम्म फैलिएको भए पनि अधिकांश क्षेत्रमा यसको संख्या घट्दो क्रममा छ। भारतका धेरै भागहरूमा मानव-वन्यजन्तु द्वन्द्व, वासस्थान ह्रास तथा मानवीय दबाबका कारण यसको संख्या निरन्तर घटिरहेको देखिन्छ।
मध्यपूर्वका कतिपय देशहरू (जस्तै लेबनान, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सका केही क्षेत्र) मा यो प्रजाति स्थानीय रूपमा लोप भएको वा अत्यन्त दुर्लभ अवस्थामा पुगेको उल्लेख पाइन्छ। त्यसैगरी, बंगलादेशमा पनि विगतमा हुँडारको उपस्थिति भए तापनि अहिले यो प्रजाति स्थानीय रूपमा लोप भइसकेको मानिन्छ। यस्तो क्षेत्रीय स्तरको भौगोलिक तथा वातावरणीय अवस्थाले नेपालमा बाँकी रहेको सानो जनसंख्यालाई अझ बढी चुनौतीपूर्ण बनाएको छ।
नेपालमा यसको संख्या तथा बानी-व्यवहार सम्बन्धी अध्ययन सीमित भए पनि हालसम्मका अनुसन्धान, स्थानीय जानकारी तथा संरक्षणकर्मीहरूको अनुभवका आधारमा यसको संख्या अत्यन्त न्यून, झन्डै ५५-६५ को हाराहारीमा रहेको अनुमान गरिएको छ। यो संख्या नेपालमा पाइने बाघ, हात्ती वा गैँडाको तुलनामा निकै कम हो।
पछिल्ला केही अध्ययनहरू हेर्दा, हुँडारको यो सानो जनसंख्या पनि विभिन्न क्षेत्रमा छरिएर रहेको देखिन्छ, जुन संरक्षणको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण अवस्थाको संकेत हो। नेपालमा हुँडार पाइने प्रमुख क्षेत्रहरूमा (चितवन-पर्सा राष्ट्रिय निकुञ्ज तथा यसको छेउछाउका क्षेत्रहरू), (बाँके-बर्दिया), (दाङ तथा छेउछाउका क्षेत्रहरू), (जाजरकोट तथा मध्यपहाडी क्षेत्रहरू), (कैलाली-कञ्चनपुर), (सर्लाही-सिन्धुली क्षेत्र) तथा (उदयपुर-कोशी क्षेत्रहरू) पर्दछन्।
हुँडारलाई आवश्यक पर्ने वासस्थान क्षेत्र करिब २० वर्ग किलोमिटर जति हुने भएकाले, संख्या सानो भए पनि यसको वासस्थान क्षेत्र नेपालका धेरै जिल्लाहरूमा फैलिएको देखिन्छ। विशेष गरी पर्सा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा यसको प्रमुख संख्या रहेको संकेतहरूले भविष्यको संरक्षण प्राथमिकता निर्धारणका लागि अत्यन्त महत्त्वपूर्ण छन्।
पारिस्थितिक प्रणाली र वातावरणीय सन्तुलन कायम राख्न सबै जनावरहरूको आफ्नै भूमिका हुन्छ, तर हुँडारको भूमिका अन्य धेरै प्रजातिभन्दा फरक र विशेष मानिन्छ। हुँडारले मृत जनावरको अवशेष खाएर वातावरणलाई रोगजन्य जोखिमबाट जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ। कुहिएको मासु तथा अन्य मरेका जनावरका हड्डीसम्म पचाउन सक्ने क्षमता हुँडारमा पाइन्छ।
हुँडारको पेटमा अत्यन्त अम्लीय पाचक रस र बलियो दाँत तथा बंगाराले ठुला जनावरहरूको हड्डीसम्म चपाउन सक्ने क्षमता भएकाले उनीहरूले मृत जनावरको लगभग सबै भागबाट पोषक तत्त्व प्राप्त गर्न सक्छन्। यस्तो विशिष्ट र प्रभावकारी पाचन प्रणालीका कारण हुँडारहरूले एन्थ्राक्सजस्ता रोगजन्य तत्त्वहरूलाई पनि वातावरणबाट हटाउन सहयोग गर्छन्।
एन्थ्राक्स एक गम्भीर तर दुर्लभ संक्रामक रोग हो, जुन ब्यासिलस एन्थ्र्याक्स नामक ब्याक्टेरियाका कारण ले गर्दा हुन्छ र यसले मुख्य रूपमा पशुधन तथा वन्यजन्तुहरूलाई असर गर्ने गर्छ। यसका साथै सडेको सिनु लामो समयसम्म वातावरणमा नरहँदा बोटुलिज्म, साल्मोनेला तथा क्लोस्ट्रिडियम जस्ता जीवाणुहरूको फैलावटको सम्भावना पनि घट्न सक्छ। यसरी हुँडारले मृत जनावरलाई छिटो हटाएर रोग फैलिने जोखिम कम गर्न र वातावरण सफा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको हुँडारले प्रदान गर्ने पारिस्थितिक सेवालाई नीतिगत मान्यता दिनु हो। यदि यो प्रजाति घट्दै गयो भने मृत जनावरको प्राकृतिक व्यवस्थापन कमजोर हुनेछ, जसले रोग फैलावट र वातावरणीय असन्तुलन निम्त्याउन सक्छ।
पछिल्ला वर्षहरूमा वन तथा राष्ट्रिय निकुञ्ज छेउछाउका क्षेत्रहरूमा मानवीय गतिविधि बढ्दै गएका कारण गाईबस्तु, घरपालुवा कुकुर तथा अन्य घरेलु जनावरमार्फत मानवजन्य रोगहरू वन्यजन्तुमा सर्ने जोखिम पनि बढिरहेको छ। यस्तो अवस्थामा कुचीकार प्रजातिहरूको महत्त्व झन् बढ्दै गएको देखिन्छ, किनकि यिनले वातावरण सफा राख्न र रोगहरू न्यूनीकरण सहयोग पुर्याउँछन्।
त्यसैले संरक्षणलाई केवल वन्यजन्तु संरक्षणको विषयका रूपमा मात्र होइन, सार्वजनिक स्वास्थ्य र पारिस्थितिक सुरक्षासँग पनि जोडेर हेर्न आवश्यक छ। यति महत्त्वपूर्ण पारिस्थितिक भूमिका हुँदाहुँदै पनि यसबारे जनचेतना न्यून हुनु र संरक्षण नीतिमा पर्याप्त प्राथमिकता नपाउनु आजको सबैभन्दा ठुलो चुनौती बनेको छ।
हाम्रो देशमा हुँडारले सामना गरिरहेका समस्याहरू कुनै एक कारणबाट मात्र उत्पन्न भएका होइनन्, बरु विभिन्न कारणहरूले संयुक्त रूपमा यस प्रजातिलाई असर गरिरहेका छन्। मुख्य रूपमा वासस्थान ह्रास, तराई तथा चुरे क्षेत्रमा वन अतिक्रमण र आहाराका रूपमा प्रयोग हुने प्रजातिहरूको कमी जस्ता कारणहरूले यसको अस्तित्वमा दबाब सिर्जना गरिरहेका छन्। तर अहिलेको सन्दर्भमा विष प्रयोग यसको अस्तित्वकै लागि सबैभन्दा ठुलो खतरामध्ये एक बनेको छ।
धेरैजसो अवस्थामा किसान वा पशुपालकले अन्य सिकारी जनावरलाई लक्षित गरेर राखेको विषले अन्ततः हुँडार, गिद्ध वा स्याल जस्ता कुचीकार प्रजातिहरूलाई मार्ने गर्छ। कहिलेकाहीँ विषयुक्त सिनु (मृत जनावर) खाँदा पनि हुँडार तथा अन्य कुचीकार प्रजातिहरू मरेका घटनाहरू देखिएका छन्। यस्ता गतिविधिहरूले एकै पटक पारिस्थितिक प्रणालीका धेरै वन्यजन्तुहरूलाई असर पुर्याउँछन्।
त्यस्तै, अव्यवस्थित विकास, सडक विस्तार, खानी उत्खनन तथा वन क्षेत्रमा बढ्दो मानवीय गतिविधिले हुँडारको वासस्थानलाई टुक्र्याउँदै लगेको छ। अझ महत्त्वपूर्ण कुरा, हुँडारबारे समाजमा रहेका मिथक र गलत धारणाले पनि यसको संरक्षण प्रयासलाई कमजोर बनाएको छ। धेरै मानिसहरूले यसलाई हानिकारक वा डर लाग्दो प्राणीका रूपमा हेर्ने गर्छन्, जबकि वैज्ञानिक तथ्यहरूले यसलाई वातावरण सफा राख्ने र रोग फैलावट कम गर्ने उपयोगी प्रजातिका रूपमा चिनाएका छन्।
संरक्षणको अर्को प्रमुख चुनौती भनेको अध्ययनको अभाव हो। नेपालमा अझै पनि यसको प्रजनन दर, आनिबानी तथा मानवसँगको अन्तरक्रिया सम्बन्धी पर्याप्त अनुसन्धान भएको छैन। यस्तो अवस्थामा संरक्षण नीति अनुमानमा आधारित हुन पुग्छ, जुन दीर्घकालीन रूपमा प्रभावकारी हुँदैन। त्यसैले अनुसन्धान, समुदायको सहभागिता र व्यवहार परिवर्तनलाई सँगै अघि बढाउनु आजको आवश्यकता हो।
नेपालमा हुँडारको अनुमानित संख्या अत्यन्त न्यून रहेकाले यसको संरक्षणलाई सामान्य वन्यजन्तु व्यवस्थापनको विषयका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यति सानो जनसंख्या भएका प्रजातिका लागि दीर्घकालीन संरक्षण रणनीति आवश्यक हुन्छ। त्यसका लागि नेपाल सरकारले हुँडार पाइने प्रमुख भू-परिदृश्यलाई समेटेर हुँडार संरक्षण वा विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे अध्ययन तथा नीतिगत पहल गर्नुपर्ने समय आएको छ।
यस्तो संरक्षण अवधारणाले नयाँ राष्ट्रिय निकुञ्ज घोषणा गर्नुपर्ने आवश्यक पर्दैन; बरु विद्यमान वन, सामुदायिक वन, संरक्षित क्षेत्र र जैविक मार्गलाई एउटै संरक्षण ढाँचामा जोडेर प्रजातिको वासस्थान, आवतजावत मार्ग र दीर्घकालीन अस्तित्व सुरक्षित गर्न सहयोग पुर्याउन सक्छ।
विश्वका धेरै देशहरूले संकटमा परेका वन्यजन्तुको संरक्षणका लागि प्रजाति-केन्द्रित संरक्षण कार्यक्रम सञ्चालन गरेका छन्। उदाहरणका रूपमा, भारतले 'प्रोजेक्ट एलिफेन्ट' अन्तर्गत १४ वटा राज्यमा ३३ वटा एलिफेन्ट रिजर्भ स्थापना गरी हात्तीका वासस्थान, जैविक मार्ग तथा मानव-हात्ती द्वन्द्व व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएको छ।
त्यस्तै बाघ, गैँडा, गोरिल्ला, ओराङउटान तथा अन्य संकटापन्न प्रजातिका लागि पनि विभिन्न देशहरूले विशेष संरक्षण क्षेत्र, संरक्षण परिदृश्य वा प्रजाति–केन्द्रित व्यवस्थापन कार्यक्रम लागू गरेका छन्। यस्ता अभ्यासहरूले देखाउँछन् कि दुर्लभ प्रजातिको संरक्षण केवल कानुनी सूचीमा सीमित राखेर सम्भव हुँदैन; त्यसका लागि स्पष्ट भौगोलिक प्राथमिकता, नियमित अनुगमन र दीर्घकालीन व्यवस्थापन आवश्यक पर्छ।
नेपालमा हुँडारको महत्त्व यसको दुर्लभतामा मात्र सीमित छैन। यो प्रजाति नेपालका तराई, चुरे र मध्यपहाडी क्षेत्रलाई जोड्ने पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सदस्य हो। यसको उपस्थिति स्वस्थ वन, पर्याप्त आहार स्रोत तथा सन्तुलित वन्यजन्तु समुदायको संकेतका रूपमा पनि लिन सकिन्छ। कुनै क्षेत्रमा हुँडार नियमित रूपमा देखिनु त्यहाँको पारिस्थितिक प्रणाली अझै कार्यशील रहेको संकेत हुन सक्छ। त्यसैले हुँडारको संरक्षण गर्नु भनेको एउटा प्रजातिलाई मात्र जोगाउनु होइन, सम्पूर्ण पारिस्थितिक सञ्जालको स्वास्थ्य सुरक्षित गर्नु पनि हो।
यसका साथै, नेपाल जैविक विविधताका दृष्टिले विश्वका महत्त्वपूर्ण देशमध्ये एक हो। झन्डै २१३ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने नेपालमा हुँडारजस्ता दुर्लभ प्रजातिको संरक्षणले केवल एउटा वन्यजन्तुको अस्तित्व जोगाउने मात्र होइन, देशको समग्र जैविक विविधता संरक्षणप्रतिको प्रतिबद्धतालाई पनि अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउँछ।
यदि नेपालले वैज्ञानिक अनुसन्धान, स्थानीय समुदायको सक्रिय सहभागिता, विष नियन्त्रण, वासस्थान संरक्षण तथा नियमित अनुगमनलाई समेटेर हुँडार संरक्षणका लागि छुट्टै कार्ययोजना वा संरक्षण परिदृश्य विकास गर्न सके, दक्षिण एसियामा दुर्लभ कुचीकार प्रजातिको संरक्षणका लागि नेपाल एउटा उदाहरणीय मोडेलका रूपमा स्थापित हुन सक्छ। समयमै यस्ता पहल गर्न सकिएमा नेपालले एउटा दुर्लभ प्रजातिलाई मात्र सुरक्षित गर्ने होइन, भविष्यका पुस्ताका लागि स्वस्थ, सन्तुलित र दिगो पारिस्थितिक प्रणाली निर्माण गर्ने अवसरसमेत सिर्जना गर्नेछ।
पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापमार्फत अभिलेख गरिएको हुँडार। तस्बिर: डा शिविश भण्डारी, हरिप्रसाद शर्मा तथा सहकर्मीहरूको अनुसन्धान टोलीद्वारा संकलित।
राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापमार्फत अभिलेख गरिएको हुँडार। तस्बिर: डा हरिप्रसाद शर्मा तथा सहकर्मीहरूको अनुसन्धान टोलीद्वारा संकलित।