'मे रहूँ या नरहूँ, मेरा आशीर्वाद सदा तुमारे पास रहेगा काजलभाइ! मै जहाँ भि रहूँ मै तुमको देखता रहुङ्गा ...(राजेन्द्र विमल)।'
गुरूपूर्णिमाको दिन सरसँग कुराकानी हुँदा सरले भन्नुभएको यो अमूल्य वाक्य, उहाँले मसँग बोलेको अन्तिम वाक्य बन्यो।
श्रद्धाञ्जली शब्दको अर्थले जे-जस्तो व्यापकता समेटे पनि हामीलाई यो शब्दसँग डर नै लाग्दो रहेछ।
यो शब्द पढ्दा मात्र पनि अनौठो संवेदनाले छोप्छ। कानमा मृत्युको डरलाग्दो आवाज गुञ्जिन्छ। हृदयबाट श्रद्धा गरेको जलले पनि पोल्दो रहेछ। मृत्युको घडीमा मात्र यो शब्द प्रयोग गर्न हामी अभ्यस्त छौँ। जीवित मान्छेप्रति जति नै श्रद्धा भए पनि हामी श्रद्धाञ्जली भन्दैनौँ।
कसैको अन्तिम बिदाइमा मात्र हृदयबाट श्रद्धाको अञ्जली अर्पण गर्छौं। म पनि दिवङ्गत आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु तर यो पटक मेरा हात थरथर काँपे श्रद्धाञ्जली शब्द लेख्न। मस्तिष्क शून्य भयो। हृदयमा एउटा अशान्ति व्याप्त भयो जब रोशन जनकपुरी दाइको फेसबुक वाल देखेँ। मेरो होस उड्यो। लाग्यो यो सब झुट होस्। असत्य होस्। राजेश खनाल दाइलाई फोन गरेँ, उठेन। अवधेश दाजुलाई गरेँ, उठेन। उत्तम दाजुलाई गरेँ। दाजुलाई त झन् थाहै रहेनछ।
सत्य चिच्याउन थाल्यो जोडजोडले। असत्य पहिलोचोटि मौनधारण गरेर बस्यो। मैले फोन घुमाएँ। कसैको पनि फोन उठेन। हतास भएर सामाजिक सञ्जालतिर दौडिएँ। निमेषभरमा राजेन्द्र विमल सरको हँसिलो तस्बिर राखेर श्रद्धाञ्जलीका भावहरू पोखिन थाले। म धागोबाट चुँडिएको मोतीजस्तै छरपस्ट भएँ। स्मृतिका अनेक खण्डमा म खण्डित हुँदै गएँ। वर्तमान-अतीत, वर्तमान-अतीतको रोटेपिङले मलाई फनफनी घुमाउन थाल्यो। आँखाबाट पीडाका ताता आँसु बर्सिन थाले।
अस्ति गुरूपूजामा करिब आधा घण्टा कुराकानी हुँदा सरले भन्नुभएको थियो, 'काजल भाइ, म दस दिनपछि काठमाडौँ आउँछु होला। अनि भेट गर्नुपर्छ।'
आशा थियो कलमका साथीहरू जम्मै मिलेर सरलाई भेट्न जानुपर्छ।
सानैदेखि सुन्दै आएकी थिएँ, 'अग्रजहरू बिस्तारै डाँडामाथिको घाम बन्ने छन्।'
आज साहित्यको एउटा तेजवान् सूर्य डाँडाबाट ओझेल परेको छ। तर मलाई विश्वास छ त्यो सूर्य डुबेको छैन। त्यो सूर्यको किरणबाट निस्किएका असङ्ख्य ज्योतिहरू पक्कै नवीन सूर्य बनेर उदाउने छन्।
राष्ट्रिय एकता, मेलमिलाप, सहयोग, सद्भावलाई जीवनको मूल्य मान्दै आएका विमल सरको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँका विचारका शक्तिशाली भावनाहरू दिक्कालसम्म गुञ्जिरहने छन्। सरका विचारहरू समृद्ध समाजका लागि श्रुतिमय बनेर नेपाली साहित्याकाशमा अनुगुञ्जित भइरहने छन्।
मलाई पूर्ण विश्वास छ सर! सरको आशीर्वादको हात मेरो शिरमा सदा रहिरहन्छ। हजुरलाई थाहा छ, मेरा अँध्यारा दिनमा हजुर सूर्य बनेर आउनुभएको थियो। म भौँतारिएको वेला उज्यालोको बाटो देखाउनुभएको थियो। असल गुरूको सान्निध्य सौभाग्यले मिल्दो रहेछ।
सर! म भाग्यमानी रहेछु। कलिलो उमेरमा नै हजुरको सान्निध्य पाएँ। हजुरको स्नेहबाट स्नेहशील हुन पाएँ। हजुर गुरु मात्र कहाँ हो र, असल साथीका रूपमा पनि त पाएँ।
थाहा छ सर! मैले उज्यालो औँसीमा त्यो पत्रको कुरा लेखेकी छु नि! तर कतिले त्यो सत्यलाई कल्पना ठाने। एउटी पन्ध्र-सोह्र वर्षकी युवतीले कुनै युवकले पठाएको प्रेमपत्र आफ्नो गुरूलाई कसले देखाउँछ! तर सत्य त सत्य नै हो नि सर! हजुरहरूले स्टाफ रूममा त्यो चिठी पढेपछि च्यातेर फालेको कुरा अपत्यारिलो लाग्न सक्छ। त्यसैले त भन्दा रहेछन्, गुरू शिष्यको साथी पनि त हुन् भनेर। यदि सर मेरो नजिक नभएको भए मैले त्यो चिठी आफूले पढ्दै नपढी सरलाई नै पढ्न दिन्थेँ होला र!
सर, मलाई अझ हजुरसँग निर्धक्क भएर आफ्ना मनका चिठीहरू खोल्न मन छ। त्यो दिन पनि हामी कति बेर गफिएका थियौँ है सर! पिपलबोटको त्यो शान्त घरमा। तर सर, हजुर त्यो दिन किन त्यसरी भक्कानिनुभयो? मलाई किन आफ्नो मनको घाउ देखाउनुभएन? मैले जसरी किन आफूभित्र लुकाएका चिठीहरू मलाई पढ्न दिनुभएन?
हजुर मेरो अभिभावक हो। पिता हो। त्यसैले आफ्ना पीडा लुकाएर मेरा पीडा मात्र सुन्नुभयो।
सर, हजुरको त्यो ऊर्जाले भरिएको बोली म पुनः पुनः सुन्न चाहन्छु। हजुर त मैले लेखोस् भनेर मैले लेखेका सामान्य लेखहरूलाई पनि कति राम्रो लेखेकी मेरी काजलभाइले भनेर मलाई फुर्क्याउनुहुन्थ्यो।
सर, एउटा कुरा सुटुक्क भन्छु— मलाई थाहा हुन्थ्यो मैले ठिकै लेखेकी छु भनेर तर हजुरको त्यो प्रिय हाँसो र आवाज सुन्न म मेरा लेखहरू हजुरलाई पठाउँथेँ।
हजुर पढेर कहिले हाँस्नुहुन्थ्यो, कहिले रूनु पनि हुन्थ्यो। प्रिय जानकी पढ्दा कति रूनुभयो। म अझ पनि फुर्किरहन चाहन्छु सर!
हजुरको प्रोत्साहन अमूल्य छ मेरा लागि र मलाई विश्वास छ हजुरले पक्कै पनि यो लेख पढ्नुहुनेछ।
थाहा छ सर! हजुरलाई म अन्तिम श्रद्धाञ्जली दिन चाहन्नँ नि! किन थाहा छ? म भन्छु किन दिन्नँ हजुरलाई अन्तिम श्रद्धाञ्जली! किनकि हजुर मसँगसँगै हुनुहुन्छ। अनि सँगै भएको मान्छेलाई म श्रद्धा गर्छु, नमन गर्छु, श्रद्धाञ्जली दिन्नँ।
हजुरले भनेको कुरा असत्य कदापि हुँदैन। हजुरले भनेको कुरा म स्मरण गराउँछु हजुरलाई। अस्ति गुरूपूर्णिमाको दिन हजुरले मलाई के भन्नुभएको थियो? मैले हजुरलाई म्यासेन्जरबाट कल गरेकी थिएँ।
'प्रणाम सर! ह्याप्पी गुरूपूर्णिमा। हजुरको सुस्वास्थ्यको कामना गर्दछु। हजुर अहिले कता हुनुहुन्छ? कुशलमङ्गल त छ नि?' हजुरको बोलीमा उही ऊर्जा ध्वनित थियो, 'अहो! काजलभाइ मलाई सम्झियौ? स्वास्थ्यलाई के भएको छ र! ठिकठाक छु। जानकी माताको आशीर्वाद छ।'
हजुरको त्यो जादुयी हाँसोले म पनि ऊर्जाशील भएकी थिएँ।
सरले बोलेको भविष्यवाणी त मेरो जीवनमा पूरा हुँदै छ। यो त झन् सरले अस्ति भर्खर मलाई दिनुभएको वचन हो। मैले भनेकी थिएँ, 'हुन्छ सर म आउँछु। अनि सर जानकी मन्दिरको पेडा पनि लिएर आउनु है।' हजुरले हुन्छ भन्नुभएको छ। बिर्सेँ भन्न पाइँदैन सर! आभास दाजुलाई भन्नू कान्छीको डिमान्ड हो भनेर।
'तिम्रो आदेश सरआँखोपर।'
हजुरले मलाई भन्नुभएको थियो, 'क्राइम एन्ड पनिसमेन्टको हिन्दी अनुवाद कहाँ किनेकी नानी?'
मैले खुसी हुँदै भनेकी थिएँ, 'कलिंग फेस्टिभलमा सर! प्लेग पनि त्यहीँ किनेकी।'
'प्लेग फेरि पढ है नानू! मैले तीस पटक पढिसकेँ। यस्ता किताब पढिरहनुपर्छ। तिमी पिपलबोट आउँदा 'क्राइम एन्ड पनिसमेन्ट' ल्याइदेऊ है! अङ्ग्रेजीबाट त पढेको छु तर हिन्दीबाट पनि पढ्न मन छ। म पढेर फिर्ता दिन्छु तिमीलाई।'
सर! मैले दराजबाट झिकेर राखेकी छु त्यो किताब पनि, अब म के गरौँ? अब म कसरी भेटौँ सर हजुरलाई?
म्यासेन्जरमा अब हजुरका कुनै नयाँ अक्षर आउँदैनन् सर। अनि ती पुराना अक्षरहरू माथि माथि सार्छु, भक्कानिन्छु ती पढेर, 'तिमीलाई संसारका कुना कुनाबाट आशीर्वादको ओइरो लाग्ने दिन आउँदैछ नानू!'
मन त्यसैत्यसै अतासिएको छ सर! फेरि पढ्छु हजुरका भावनाहरू...
'लौ, काजल भाइ! यो बूढो बाबु तिम्रो बढ्दो गौरवले दङ्गदास पर्यो। असीमित माया र मङ्गल कामना छ।'
'सरले बिपी कोइराला क्याम्पसको प्राङ्गणमा आजभन्दा पैंतीस वर्ष अगाडि भन्नुभएको थियो! मैले ती दिन भुलेकी छैन। मेरो एउटा खुबी छ सर! पुराना कुरा मरिगए भुल्दिनँ।'
'उज्यालो औँसी' पुस्तकका रूपमा आउँदै छ भन्दा सरको खुसीको सीमा थिएन। सरले लेख्नुभएको रहेछ, 'इन्द्रजाल हो प्रेमलोक र हो जादू यो प्यार, दिलदिलमा सम्वाद भयो, बिन चिट्ठी, बिन तार!'
मैले भनेकी थिएँ किताबमा हजुरको भूमिका चाहिन्छ भनेर। किन भन्नुभयो सर हजुरले—
'मेरा सन्तान र शिष्य-शिष्याहरू मेरो प्रचारमा लाग्नु अनैतिक लाग्छ। मेरो कामको मूल्याङ्कन दुनियाँले गर्नुपर्छ, आफ्नै चेलाचेलीले होइन। मैले केही गरेकै छैन, के ढोल पिट्नु नानी! मलाई खुसी लाग्ने छ, तर कुनै ठूलो लेखकको भूमिका राख्ने सल्लाह दिन्छु तथा डा. गोविन्दराज भट्टराई, डा. अभी सुवेदी, नयनराज पाण्डेय, सरूभक्त, श्रीओम श्रेष्ठ रोदन वा अन्य कुनै मदन पुरस्कारबाट सम्मानित लेखकले लेखून् काजलभाइको पहिलो पुस्तकमा। मजस्ता भारेभुरे, लुरेलारेको भूमिकाको कुनै भाउ दिँदैन कसैले। हाहाहा ... इमानदारीसित भन्देको नानी! बाइगड!'
हजुरसँग म रिसाएकी पनि थिएँ। कति दिन बोलिनँ पनि भूमिका लेख्न मान्नुभएन भनेर। मैले धेरै अनुनय गरेपछि बल्ल लेख्नुभयो...
'लौ न, तिमी त रिसायौ! मैले खै मनाही गरेको। तिमीले भनेको मैले कहिले अस्वीकार गरेको छु र! हाहाहाहा ...रिस भनेको के हो? रिसर्च गर्दैछु, हार्वर्ड युनिभर्सिटीमा पिएचडी गर्न। मेरो आशीर्वाद तिमीसँगै सधैँ रहन्छ, आवतजावत गर्दैन। नपत्याए हेर, तिम्रो आकाशमा।'
सर अब म हजुरलाई तिनै ताराहरूमा नै त खोज्ने भएँ नि!
हजुरले सम्झाएपछि हजुरको कुरा मैले बुझेकी थिएँ।
सर! अब मैले कुरा नबुझ्दा मलाई कसरी सम्झाउनुहुन्छ? कसरी बुझाउनुहुन्छ? म तर्सिएकी छु। डराएकी छु। तर पनि आशा छ हजुरका अक्षरले मलाई बाटो देखाउने छन्।
मैले 'ल्याबबाई' कथा लेखेर हजुरलाई देखाउँदा हजुरको खुसी नापेको भए थर्मोमिटर फुट्थ्यो होला।
'नमस्कार, काजल भाइ! सुन्दर कथा— लगभग युवल नोआ हरारीले Homo Deus मा कल्पना गरेजस्तो! पढेकी थियौ हरारीलाई? तिम्रो प्रगतिमा मलाई गौरव महसुस हुन्छ नानू! तिमीले मलाई फेरि एकपटक रुवायौ, काजल भाइ! तिमीलाई मेरो धेरै आशीर्वाद छ। तिमी मैले खुलेको आँखाले सपना देखेकै जस्तै बन, म आकाशबाट पनि हर्षाश्रुले टिलपिल भएका आँखाले हेरिरहन्छु! तिम्रो कलममा निहित सामर्थ्य अद्भुत छ! म गर्वोन्नत छु, गद्गद् पनि!'
सरको मप्रतिको विश्वासका वचनले मैले कथाहरू लेख्दै गएँ। आफैप्रति विश्वास बढ्दै गयो। सर, अब मेरो लेखनमा शक्ति कसरी भरिन्छ? त्यो ऊर्जा कसरी प्राप्त गरौँ? म आत्तिएकी छु सर!
सर, हजुरलाई सन्चो थिएन, मैले कल गरेर स्वास्थ्य अवस्था बुझ्दा कसरी भन्नुभएको थियो, 'नमस्कार! तिमीलाई सम्झेपछि दुःख बिर्सेर आफैआफै मुस्कुराउन पुग्छु, काजल। धरोधर्म। हिजो दिनेश अधिकारीसँग तिम्रो लेखाइले मुहुनी लगाएको कुरा गरेँ। यी अग्रजहरूको आशीर्वाद तिमीलाई सधैँ प्राप्त होस्, नानू!'
रोचक घिमिरे दाजुले पनि भन्नुभएको थियो, हजुरले मेरो बारेमा उहाँसँग गरेका कुराकानी।
म भन्थेँ, 'सर, मैले गल्ती गर्दा मलाई थप्पड लगाउने हक छ हजुरलाई, अब मेरा गल्तीहरूमा हिर्काउनुहोला।' कसरी हाँस्दै लेख्नुभएको थियो—
'थप्पड त होइन, मायाले प्याट्ट हिर्काउन सक्छु। यो उर्वर काल हो, लेख्दै जाऊ।'
मैले आरम्भमा एउटा कथा लेखेर पठाएकी थिएँ सुझावका लागि हजुरलाई। अनि म्यासेन्जरमा हजुरलाई सम्झिएर नमस्कार लेख्ने बित्तिकै लेख्नुभएको थियो—
'नमस्कार। भन न, काजल भाइ। कस्तो सुझाव? कथा त अब्बल दर्जाको लेख्दै रहिछौ। लेखनमा निरन्तरता दियौ भने ठूलै लेखिकामा गनिनेछ्यौ। त्यो चाहिँ पक्का। लेख्न छोड्यौ भने पाठकले बिर्सन बेर हुँदैन। हो, अश्लील साहित्यबाट परहेज गर्नू। अध्ययनशील बन्नू। राम्रा राम्रा पुस्तक पढ्नू। विश्वस्तरका अनुवादित कृति छान्नू। यो कथा मार्मिक र नितान्त मौलिक छ। सिंह र मजुरको यस अनौठो प्रेमकथामा प्रणय-मनोविज्ञानको दुखान्तक, मोहक र यथार्थपरक विश्लेषण भएको छ। यो प्रेम स्वैरकल्पनामा आधारित भए पनि यसले एउटा सन्देश चाहिँ अवश्य दिन्छ— देहसौन्दर्य र कलासौन्दर्यको जादुले सिंहजस्तो क्रूरलाई पनि प्रेमिल र संवेदनशील बनाउन सक्छ।'
सर, त्यसैले म हजुरलाई मेरो मन, मस्तिष्कमा सदैव जीवित राख्न चाहन्छु। अमर राख्न चाहन्छु। शिरनत गर्छु। नमन गर्छु। आदर गर्छु। सम्मान गर्छु। तर मलाई प्राध्यापक कुमार कोइराला दाजुले भन्नुभयो, 'अनिता, विमल सरलाई श्रद्धाञ्जली देऊ! तिम्रो गुरू अमर छन्। मृत्युमा मात्र श्रद्धाञ्जली दिने होइन नि! यो त हृदयबाट प्रकट भएको श्रद्धाको अञ्जली न हो!'
सर, अब म ढुक्क छु, मैले हजुरलाई दिवङ्गतमा होइन, सदासर्वदा कालजयी स्रष्टाका रूपमा श्रद्धाको अञ्जली उठाएकी छु!! सदासदा उठाइरहनेछु, आदरणीय गुरूवर!! हार्दिक श्रद्धाञ्जली!!