विद्यालयको एउटा कक्षामा कहिलेकाहीँ कुनै विद्यार्थी चुपचाप बसेको हुन्छ।
बाहिरबाट हेर्दा ऊ सामान्य देखिए पनि भित्रभित्रै अनेक प्रश्न, डर, असफलता, पारिवारिक तनाव, सम्बन्धका जटिलता वा भविष्यप्रतिको अन्योलसँग संघर्ष गरिरहेको हुन सक्छ।
त्यही विद्यालयमा कुनै अभिभावक आफ्ना सन्तानमा आएको परिवर्तनले चिन्तित हुनुभएको हुन्छ भने कुनै शिक्षक विद्यार्थीको व्यवहार वा सिकाइमा आएको परिवर्तनको कारण बुझ्न खोजिरहनुभएको हुन्छ।
यस्ता अनगिन्ती कथाका बीच विद्यालयमा एउटा यस्तो व्यक्ति पनि हुनुहुन्छ, जसको भूमिका सबै समस्याको उत्तर दिनु होइन, बरू मानिसलाई सुन्नु, बुझ्नु र उसलाई आफ्नै सम्भावना पहिचान गर्न साथ दिनु हो। त्यो व्यक्ति हो, विद्यालय मनोविमर्शकर्ता।
आजको संसारमा मानिससँग सूचना प्रशस्त छन्, तर आफ्ना मनका कुरा निर्धक्क भन्न मिल्ने सम्बन्ध भने दुर्लभ बन्दै गइरहेका छन्।
प्रविधिले संवादलाई सहज बनाएको छ, तर मनको कुरा सुनिदिने समय र धैर्य भने क्रमशः घट्दै गएको छ। यही कारणले मानसिक स्वास्थ्य र मनोविमर्शबारे विश्वव्यापी रूपमा चासो बढिरहेको छ।
मनोविमर्शको आवश्यकता केवल मानसिक रोग वा गम्भीर संकटका लागि मात्र होइन जीवनका सामान्य देखिने तर गहिरो प्रभाव पार्ने अन्योल, सम्बन्धका चुनौती, आत्मविश्वासको कमी, शोक, असफलता, परिवर्तन वा निर्णयका द्विविधाका बेला पनि उत्तिकै हुन्छ।
मनोविमर्श भनेको सल्लाह दिने वा कसैको जीवनको निर्णय गरिदिने प्रक्रिया होइन। यो व्यक्तिलाई आफ्ना भावना, विचार, अनुभव र सम्भावनालाई सुरक्षित वातावरणमा बुझ्न सहयोग गर्ने सहयोगात्मक प्रक्रिया हो। मनोविमर्शकर्ताले तयार उत्तर दिँदैनन् बरू व्यक्तिलाई आफ्ना अनुभवलाई व्यवस्थित रूपमा हेर्न, आफ्नै स्रोत र सामर्थ्य पहिचान गर्न तथा आफ्नै निर्णयसम्म पुग्न साथ दिन्छन्। त्यसैले मनोविमर्शको उद्देश्य समस्या हटाइदिने होइन, व्यक्तिलाई समस्यासँग सामना गर्ने क्षमता विकास गर्न सहयोग गर्नु हो।
यस प्रक्रियाको सबैभन्दा बलियो आधार प्रभावकारी संवाद हो। प्रभावकारी संवाद भनेको धेरै बोल्नु मात्र होइन ध्यानपूर्वक सुन्नु, समानुभूतिपूर्वक बुझ्नु, सम्मानपूर्ण प्रतिक्रिया दिनु र व्यक्तिलाई आफ्ना भावना व्यक्त गर्न सुरक्षित वातावरण सिर्जना गर्नु हो। सक्रिय सुनाइ, समानुभूतिपूर्ण संवाद, खुला प्रश्न गर्ने क्षमता र गैर–मौखिक संकेत बुझ्ने सीपले मनोविमर्शकर्तालाई विश्वासको सम्बन्ध निर्माण गर्न सहयोग गर्छ।
जब कुनै व्यक्तिले आफूलाई सुनिएको, बुझिएको र स्वीकार गरिएको अनुभव गर्छ, तब उसले आफ्ना चुनौतीलाई फरक दृष्टिकोणबाट हेर्न थाल्छ। परिवर्तन त्यहीँबाट सुरू हुन्छ।
मनोविमर्शको शक्ति सल्लाहमा भन्दा सम्बन्धमा हुन्छ, निर्देशनमा भन्दा विश्वासमा हुन्छ र तयार उत्तरमा भन्दा व्यक्तिको आफ्नै सम्भावनामाथिको विश्वास जगाउनमा हुन्छ। धेरै पटक मानिसलाई जीवन बदल्ने उत्तर चाहिएको हुँदैन उसलाई आफ्नो कुरा निर्धक्क भन्न मिल्ने, आलोचनारहित वातावरण र आफूलाई बुझ्ने एउटा सम्बन्ध चाहिएको हुन्छ।
यदि हरेक व्यक्तिका लागि मनोविमर्श उपयोगी हुन सक्छ भने बालबालिका र किशोरकिशोरीका लागि यसको महत्व झन् बढी हुन्छ। किनकि यही उमेरमा उनीहरूको व्यक्तित्व निर्माण भइरहेको हुन्छ, आत्मपहिचान विकसित भइरहेको हुन्छ, सम्बन्धबारे बुझाइ बनिरहेको हुन्छ र भविष्यका सपना आकार लिइरहेका हुन्छन्। विद्यालय उनीहरूले सबैभन्दा धेरै समय बिताउने सामाजिक परिवेश हो। त्यसैले विद्यालयभित्र उपलब्ध हुने मनोविमर्श सेवाले विद्यार्थीको सिकाइ, व्यवहार, सम्बन्ध र भविष्यप्रतिको दृष्टिकोणमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
यही दृष्टिकोणलाई American School Counselor Association (ASCA) को National Model ले पनि आत्मसात् गरेको छ। यसले विद्यालय मनोविमर्शलाई विद्यार्थीको समग्र विकाससँग जोड्दै तीन प्रमुख क्षेत्रमा केन्द्रित गरेको छ, व्यक्तिगत सहयोग, शैक्षिक सहयोग र करिअर सहयोग। यी तीनै पक्ष एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् र विद्यार्थीको वर्तमान तथा भविष्य दुवैलाई आकार दिन्छन्।
विद्यालय मनोविमर्शको पहिलो आधार व्यक्तिगत सहयोग हो।
विद्यार्थीको जीवनमा आउने भावनात्मक उतारचढाव, तनाव, चिन्ता, आत्मविश्वासको कमी, साथीभाइसँगको सम्बन्ध, पारिवारिक परिवर्तन वा आत्मपहिचानसँग सम्बन्धित अन्योललाई संवेदनशीलताका साथ बुझ्नु र आवश्यक साथ दिनु यसअन्तर्गत पर्छ। आजका बालबालिका र किशोरकिशोरीहरू केवल परीक्षाको दबाबसँग मात्र होइन, सामाजिक सञ्जालको प्रभाव, तुलना, प्रतिस्पर्धा र भविष्यप्रतिको अनिश्चिततासँग पनि जुधिरहेका छन्। यस्तो अवस्थामा विद्यालयमा एउटा सुरक्षित स्थान हुनु आवश्यक हुन्छ, जहाँ उनीहरूले आफ्ना भावना निसंकोच व्यक्त गर्न सकून्, आफूलाई सुनिएको र स्वीकार गरिएको अनुभूति गर्न सकून्। यही अनुभवले उनीहरूमा आत्मसम्मान, भावनात्मक सन्तुलन, स्वस्थ सम्बन्ध निर्माण गर्ने क्षमता र जीवनका चुनौतीसँग सामना गर्ने सीप विकास गर्न मद्दत गर्छ।
दोस्रो आधार शैक्षिक सहयोग हो।
सिकाइ केवल बौद्धिक क्षमताको परिणाम होइन त्यसमा प्रेरणा, अध्ययन बानी, समय व्यवस्थापन, भावनात्मक अवस्था, लक्ष्यप्रतिको स्पष्टता र आत्मविश्वासले पनि उत्तिकै प्रभाव पार्छ। विद्यालय मनोविमर्शकर्ताले विद्यार्थीलाई आफ्ना सिकाइका लक्ष्य निर्धारण गर्न, अध्ययनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न, परीक्षा तनाव व्यवस्थापन गर्न, सिकाइमा देखिएका कठिनाइ पहिचान गर्न तथा आफ्नो क्षमता अनुसार अघि बढ्न सहयोग गर्नुहुन्छ। यसले विद्यार्थीलाई राम्रो नतिजा मात्र होइन, प्रभावकारी रूपमा सिक्न सक्ने क्षमता पनि विकास गराउँछ।
तेस्रो आधार करिअर सहयोग हो।
करिअर मार्गदर्शन भनेको कुनै एउटा विषय वा पेशा रोज्न सुझाव दिनु मात्र होइन। यो विद्यार्थीलाई आफ्ना रुचि, क्षमता, मूल्य र सम्भावनालाई बुझ्न, विभिन्न शैक्षिक तथा व्यावसायिक अवसरबारे जानकारी प्राप्त गर्न तथा भविष्यका निर्णय सोचविचारपूर्वक गर्न सक्षम बनाउने प्रक्रिया हो। बदलिँदो विश्वमा करिअरका अवसर र चुनौती दुवै तीव्र गतिमा परिवर्तन भइरहेका छन्। त्यसैले विद्यार्थीलाई आफूलाई चिन्न, सम्भावनाको खोज गर्न र आफ्नो भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्नु विद्यालय मनोविमर्शको महत्वपूर्ण दायित्व हो।
विद्यालय मनोविमर्शका यी तीनै पक्ष व्यवहारमा विभिन्न माध्यमबाट कार्यान्वयन गरिन्छन्। विद्यालय मनोविमर्शकर्ताले आवश्यकताअनुसार व्यक्तिगत मनोविमर्श, समूह मनोविमर्श, कक्षास्तरीय मार्गदर्शन कार्यक्रम, सामाजिक–भावनात्मक सिकाइसम्बन्धी गतिविधि, संकट व्यवस्थापन, अभिभावक तथा शिक्षकसँग परामर्श र आवश्यक परे अन्य सम्बन्धित सेवासँग समन्वय गर्ने काम गर्नुहुन्छ। यसरी विद्यालय मनोविमर्श कुनै एउटा कोठामा सीमित परामर्श सेवा मात्र होइन विद्यार्थीको समग्र विकासलाई सहयोग गर्ने निरन्तर र बहुआयामिक प्रक्रिया हो।
विद्यालय मनोविमर्शको अर्को महत्वपूर्ण पक्ष सहकार्य हो। विद्यार्थीको विकास केवल मनोविमर्शकर्ताको प्रयासले मात्र सम्भव हुँदैन। विद्यालय, परिवार र समुदायबीचको सहकार्यले नै विद्यार्थीलाई आवश्यक सहयोग प्रभावकारी रूपमा उपलब्ध गराउन सक्छ। त्यसैले आवश्यकताअनुसार अभिभावक, शिक्षक, विद्यालय नेतृत्व तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिन्छ। तर यस्तो सहकार्यको आधार विद्यार्थीप्रतिको जिम्मेवारी र विश्वास हो, नियन्त्रण होइन। यही कारणले गोपनीयताको सम्मान विद्यालय मनोविमर्शको आधारभूत मूल्य मानिन्छ। विद्यार्थीको व्यक्तिगत जानकारीलाई सुरक्षित राख्दै, उसको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्र आवश्यक सूचना साझा गरिन्छ।
नेपालमा विद्यालय मनोविमर्शकर्ताको भूमिकाबारे अझै पनि केही भ्रमहरू विद्यमान छन्।
कतिपयले उहाँहरूलाई अनुशासनसम्बन्धी समस्या समाधान गर्ने, विद्यार्थीलाई सम्झाउने वा अभिभावक र शिक्षकबीच सन्देश आदानप्रदान गर्ने व्यक्तिका रूपमा मात्र बुझ्ने गर्छन्। वास्तवमा विद्यालय मनोविमर्शकर्ताको भूमिका यति सीमित छैन। उहाँहरूको काम विद्यार्थीको व्यवहारको बाहिरी पक्ष मात्र हेर्नु होइन त्यस व्यवहारभित्र रहेका भावना, आवश्यकता, अनुभव र सम्भावनालाई बुझ्नु हो। किनभने हरेक व्यवहारले कुनै न कुनै सन्देश बोकेको हुन्छ, र त्यस सन्देशलाई संवेदनशीलतापूर्वक बुझ्न सक्नु नै प्रभावकारी मनोविमर्शको सुरुआत हो।
आजका बालबालिका र किशोरकिशोरीहरूले सामना गरिरहेका चुनौतीहरू विगतका पुस्ताभन्दा फरक छन्। डिजिटल प्रविधिको तीव्र विस्तार, सामाजिक सञ्जालको प्रभाव, बढ्दो प्रतिस्पर्धा, पारिवारिक संरचनामा आएको परिवर्तन, शैक्षिक अपेक्षा, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती तथा भविष्यप्रतिको अनिश्चितताले उनीहरूको दैनिक जीवनलाई गहिरो रूपमा प्रभावित गरिरहेका छन्। यस्तो परिवेशमा विद्यालयले केवल ज्ञान प्रदान गर्ने भूमिकामा सीमित रहन सक्दैन। विद्यार्थीलाई भावनात्मक रूपमा सुरक्षित, सामाजिक रूपमा उत्तरदायी र जीवनका चुनौती सामना गर्न सक्षम बनाउनु पनि विद्यालयको उत्तिकै महत्वपूर्ण दायित्व हो। विद्यालय मनोविमर्श यही दायित्व पूरा गर्ने महत्वपूर्ण माध्यम हो।
विद्यालय मनोविमर्शकर्ताको काम कसैको जीवनको उत्तर लेखिदिनु होइन व्यक्तिलाई आफ्नै उत्तर खोज्ने साहस र क्षमता विकास गर्न साथ दिनु हो। उहाँहरू समस्याभन्दा पहिले व्यक्तिलाई देख्नुहुन्छ, कमजोरीभन्दा पहिले सम्भावना देख्नुहुन्छ र शब्दभन्दा पहिले भावनालाई सुन्नुहुन्छ। उहाँहरूका लागि प्रत्येक विद्यार्थी केवल नतिजा, व्यवहार वा उपलब्धिको सूची होइन आफ्नै कथा, आफ्नै सपना र आफ्नै सम्भावना बोकेको एउटा व्यक्ति हो।
सायद यही कारणले विद्यालय मनोविमर्शकर्तालाई सबैभन्दा सुन्दर रूपमा यसरी चिनाउन सकिन्छ, उहाँहरू उत्तर दिने व्यक्ति होइनन सुन्ने, बुझ्ने र प्रत्येक विद्यार्थीलाई आफ्नै सम्भावनासम्म पुग्ने यात्रामा साथ दिने सहयात्री हुन्।
आज विद्यालयमा यस्ता सहयात्रीहरूको उपस्थिति कुनै अतिरिक्त सुविधा होइन, समयको आवश्यकता हो। किनकि जब विद्यालयले विद्यार्थीलाई केवल पढाउन मात्र होइन, सुन्न पनि सिक्छ, तब त्यहाँ ज्ञानसँगै विश्वास हुर्कन्छ, उपलब्धिसँगै आत्मविश्वास निर्माण हुन्छ र सफल विद्यार्थी मात्र होइन, संवेदनशील, जिम्मेवार, आत्मविश्वासी तथा जीवनका चुनौती सामना गर्न सक्षम नागरिक पनि तयार हुन्छन्।
(लेखक मनोसामाजिक सहजकर्ता तथा विद्यालय मनोविमर्शदाता हुन्।)