अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा गएर 'नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको' बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।
नेकपा एमाले नेता प्रदीप ज्ञवालीले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको भन्दै वाग्लेको टिप्पणीप्रति आपत्ति जनाएका छन्। यसअघि राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पनि वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए।
दुवैले राष्ट्रिय हितका विषयमा आवाज उठाउनुलाई भारतविरोधका रूपमा बुझ्न नहुने बताएका छन्।
ज्ञवालीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक र नेपालको स्वाभिमानमा आँच पुर्याउने खालको भनेका छन्।
उनले नेपालमा कहिल्यै 'भारतविरोधी राष्ट्रवादको युग' नभएको जिकिर गरेका छन्।
'नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,' उनले लेखेका छन्, 'कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै युग होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।'
उनले अर्थमन्त्रीलाई प्रश्न गरेका छन्, 'अर्थमन्त्रीले कुन युगको कुरा गर्नुभएको हो?'
विदेशी भूमि सरकारी पदाधिकारीले आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताबारे बोल्ने थलो नभएको पनि ज्ञवालीले बताएका छन्।
नेपाल र भारतबीच समाधान गर्नुपर्ने विभिन्न विषय रहेको उल्लेख गर्दै उनले तिनमा खुलस्त छलफल गर्नुपर्ने बताएका छन्।
उनले सीमा समस्या, सन् १९५० को सन्धिका कतिपय प्रावधान, भारतीय बजारमा नेपाली उत्पादनको पहुँचमा अवरोध र बढ्दो व्यापार घाटाको विषय उठाएका छन्। सन्धिका कतिपय प्रावधानले सुरक्षा छाताको आभास दिने र भारतको अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनले बजार प्रवेशमा झन्झट व्यहोर्नुपरेको उनको भनाइ छ।
सीमामा एकतर्फी रूपमा बनाइएका बाँधका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्ने र नेपाललाई वैकल्पिक हवाई प्रवेशमार्ग दिन आनाकानी गरिएको विषय पनि उनले उल्लेख गरेका छन्।
'घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,' उनले लेखेका छन्, 'यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन। यो नेपालको राष्ट्रिय हितको प्रश्न हो।'
यस्ता विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण गरी त्यसका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्ने ज्ञवालीको भनाइ छ।
'यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरू तिनमा आँच पुर्याउँछ,' उनले लेखेका छन्।
राप्रपाका पूर्वअध्यक्ष थापाले पनि सामाजिक सञ्जाल एक्समा वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा नटिकेको बताएका थिए।
'विदेशी मञ्चमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ,' थापाले लेखेका छन्।
सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा हेर्नु वाग्लेको पूर्वाग्रह भएको उनको आरोप छ।
थापाले नेपालको राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको बताएका छन्।
'हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौं। तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरूद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो,' उनले लेखेका छन्।
राष्ट्रहितमा उठ्ने आवाज अब असान्दर्भिक भएका हुन् भन्ने प्रश्न गर्दै थापाले वाग्लेको अभिव्यक्तिबारे सरकारको जवाफ मागेका छन्।
'जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जबाफ दिनैपर्छ। के सरकारको धारणा यही हो?' उनले प्रश्न गरेका छन्।
वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा नेपाल–भारत सम्बन्धबारे बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने समय सकिएको बताएका थिए।
उनले दुई देशको सम्बन्धमा बेला बेला समस्या देखिए पनि नेपाल र भारत गहिरोसँग जोडिएको उल्लेख गरेका थिए।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग अझ राम्रो सम्बन्ध चाहेको भन्दै उनले प्रधानमन्त्रीले चाँडै भारत भ्रमण गर्ने पनि बताएका थिए।