नाति टेबुलको अघिल्तिर छ।
वेयरा! एक कप रक्तिम कफी
कमरेड अर्डर गर्छ-
डबल सट
कफीको माथिपट्टि एउटा तारा होस्
पिउँदा क्रान्तिकारी भाइव आओस्
एक सुर्पो तानेपछि
कमरेडलाई पहाडी इलाकामा पुर्यायो।
गाउँको पसल
मान्छेहरूको भिडभाड, खचाखच
व्यापारको केन्द्र थियो
कमरेडले केहीलाई भेटे, कुराकानी गरे
हेर्दा हेर्दै साहुजी ‘सामन्त’ करार भयो
त्यही रात ‘शोषक’ भौतिक कारबाहीमा पर्यो
सामन्तीले गाउँ छोड्यो।
दोस्रो सुर्पो कफी तान्यो
कमरेडलाई हरियो मधेस पुर्यायो
नयाँ फलफूल, उन्नत पशु
ज्यालामा काम गर्नेहरूको लर्को
कृषिको जानकार, फर्मको मालिक
पढाइ सकेर गाउँ फर्किएको हो
गुलजार फर्मले अण्डा कोरल्दै थियो
कमरेड आएपछि उ ‘बुर्जुवा’ करार भयो
बचेराले पखेटा नहाल्दै ‘बुर्जुवा’ले गाउँ छोड्यो
तेस्रो सुर्पो रक्तिम कफी तानेपछि
कमरेड सहर पस्यो
ठुलो ठुलो कलकारखानाहरू
श्रमिकको दोहोरो लत्तो, मेला लागे जस्तो
कमरेड छिर्यो कारखाना भित्र
श्रमिकको पीडा सुसेल्दै भित्र छिर्यो
फर्कँदा, हातमा मशाल थियो
हेर्दा हेर्दै आगो निस्कियो धुरीमा
उद्योग धनी ‘दलाल पुँजीपति’ करार भयो
‘दलाल पुँजीपति’ले पनि सहर छोड्यो।
रक्तबीज बनेर कमरेड छरियो देशभरि
शनै:शनै युवाहरूले देश छोडे
अनि बाँकीले गाउँ
टेबुलमा रक्तिम कफी लगभग सेलाइसेको छ।
कमरेडको छोरो भर्खर टेबुलमा आइपुग्यो
काँधमा झन्डा र हातमा धुवाँको कालो कस छ
उसले बुबालाई सानदारसँग सुनायो-
‘भ्रष्टाचारीको मतियारहरू’ सकिए आजदेखि
‘भ्रष्टाचारको अखडा’ सकियो जदेखि
रक्तिम कफी बिलकुल बाँकी थिएन।
कमरेडले भन्यो-
पसिनामा पनि आगो लाग्दो रहेछ!
कफीबारको तल आगो झोसिएको छ
नियतिको पोको बोकेर
फुत्त निस्कियो नाति
र
समृद्धिको गीत गाउँदै ओडार पस्यो।