बिहानै पाँच बजे सिरानीमाथि राखिएको अलार्मले निद्राबाट ब्युँझाइदियो। हतार-हतार उठेर आफ्नो नित्यकर्म सकेपछि हिजो बेलुका प्याक गरेको झोला र सुटकेसहरूलाई फेरि एकपटक चेक गरेँ। पासपोर्ट, हवाई टिकट र केही डलर पैसा कमरमा बाँधिएको पेटी-ब्यागमा राखेँ।
ल्यापटप र केही अरू महत्त्वपूर्ण कागजातहरू ह्यान्डक्यारीमा राखेपछि सबै कुरा ठिकठाक छ भन्ने कुरामा विश्वस्त भई उबरमार्फत ट्याक्सी बोलाएँ। पाँच मिनेटमै बोलाएकै ठाउँमा ट्याक्सी आइपुग्यो। ट्याक्सी चालकलाई सघाउँदै पालैपालो सबै सामानहरू ट्याक्सीमा लोड गरेँ। ढिलो नगरीकन क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हानिएँ।
मेरो घरबाट विमानस्थल पुग्न करिब एक घण्टाको समय लाग्छ। बिहानैको समय भएकोले ठुलो ट्राफिक जाम भएन भने पचास मिनेटमै पनि पुगिन्छ। दश बजेको प्लेनको बोर्डिङ गर्नका लागि करिब तीन घण्टा अगावै पुग्नुपर्ने नियम छ। सात बजेसम्म त विमानस्थल कसो नपुगिएला र?
सन् २००० मा आईएस्सी पास गरेपछि पहिलोपल्ट विद्यार्थी भिसामा अस्ट्रेलिया आएको हुँ। २६ वर्ष भइसकेछ। आएको दुई वर्षमै साह्रै अत्यास लागेर होमसिक भएपछि नेपाल गएको थिएँ। घर-परिवार र साथीभाइसँगको भेटपछि त फर्केर आउन पनि मन लागेको थिएन। तर करियरको कुरा थियो, पढाइ अधुरै थियो र सपनाहरू पनि अधुरै थिए।
दुई महिना मात्रै बसेर दशैँको भोलिपल्ट नै अस्ट्रेलिया फर्केको हुँ। बाबा-आमा र साथीभाइले अश्रुधारा बगाएर बिदाइ गरेका हुन्। ‘बेलाबेलामा आउँदै गर्नु है बाबु, तिमीबिना त हामी अधुरो हुन्छौ नि’- आमाले विमानस्थलमा बिदाइ गर्दा बोलेका ती शब्दहरूले अझै पनि मन चसक्क बनाइरहन्छन्।
एकपटक नेपाल गएर फर्केपछि भने फेरि नेपाल जाने अवसर जुरेन। पटक-पटक मनलाई मारेर सपनाहरू पूरा गर्ने ध्याउन्नमा मैले मेरो देशै बिर्सिएँ। करियर र पैसाको पछि दगुर्दा-दगुर्दै कति सपनाहरू त पूरा भए होलान्, तर मेरा सपनाहरू पूरा गराउन दिनरात भगवान्सँग पुकार गर्ने मेरा घरका जिउँदा देवताहरूलाई भने मैले बेवास्ता गरेँ।
मैले खासै सम्पर्क नगरेपछि साथीभाइहरू पनि बिस्तारै तितरबितर हुँदै गए। दैनिकजसो आउने फोन कलहरू बिस्तारै हप्ता, महिना र वर्ष हुँदै बन्दप्रायः भए। सुरुका केही वर्ष त घरमा अलिअलि पैसा पठाएको थिएँ।
एक दिन बाबाले फोन गरेर ‘पैसाको सट्टा तिमी आउन मिल्दैन र बाबु?’ भन्दा मेरो सपनामा प्रहार गरेको ठानेर बाबासँग खुब रिसाएको थिएँ। त्यसपछि बाबासँग कहिल्यै दोहोरो संवाद भएको छैन। आमाले भने मन बुझाउन नसकेरै होला, फोन गरिरहनुहुन्थ्यो; तर कहिले काममा त कहिले कलेजमा व्यस्त हुने भएकाले प्रायः आमाको फोन पनि उठाउन सक्दिनथेँ।
तन ट्याक्सीमै भए पनि मनको बेगले मलाई पुराना दिनहरूको सम्झनामा दौडाइरह्यो। ट्याक्सीको एक घण्टाको यात्रा कति छिटो सकिएछ, पत्तै भएन। विमानस्थल आइपुगेपछि सबै सामान एक-एक गरेर जाँच गरेँ। ट्याक्सी चालकको सहयोगमा सामानहरू ट्रलीमा राखेर बोर्डिङ पासको लागि गएँ। खासै ठुलो लाइन थिएन।
कतार एयरवेजबाट दोहा हुँदै काठमाडौँका लागि बोर्डिङ पास लिएँ। केही समयमै अध्यागमनको काम सकेर गेट नं. १७ अगाडि पुगेँ। ह्यान्डक्यारी साइडमा राखी एकछिन सुस्ताएँ। उडान समय आउन अझै सवा घण्टा जति बाँकी नै थियो। क्याफेमा गई एक ग्लास कोल्ड कफी अर्डर गरेँ। कफीको चुस्कीसँगै फेरि अतीतमा घोत्लिन थालेँ।
सन् २००४ तिर नेपाल जान खोजेको पनि थिएँ। देश माओवादी द्वन्द्वको चरम उत्कर्षमा थियो। नेपालको समाचार हेर्यो कि विरक्त लागेर आउँथ्यो। अस्ट्रेलियाको कमाइ राम्रो थियो, तर बसाइ भने ज्यादै महँगो थियो। कमाएको जति खान, बस्न, बिमाको प्रिमियम तिर्न, गाडीको किस्ता र इन्टरनेटमै सकिन्थ्यो। कोठाभाडा एकदमै महँगो भएकाले सेयरिङमा बसे मात्रै अलिअलि पैसा जोगाउन सकिन्थ्यो। म भने पैसा कत्ति पनि जोगाउन सकिरहेको थिइनँ।
एक दिन अचानक घरबाट काकाको फोन आयो। ‘आमा सिकिस्त परेर मनिपाल अस्पतालमा राखिएको छ। पैसा पनि पठाउनु पर्यो अनि छिटो टिकट मिलाएर आउनु पनि पर्यो,’ भन्नुभयो। म छाँगाबाट खसेँ। बैंकको स्टेटमेन्ट चेक गरेँ, दुई सय डलर मात्रै रहेछ। यति पैसाले त टिकट किन्न पनि पुग्दैनथ्यो।
म कोठामा डाँको छोडेर रोएँ। यताउता साथीभाइसँग सरसापट गर्न खोजेँ, तर कसैसँग पनि पैसा रहेनछ। काकालाई फोन गरेर ‘पैसा खोजखाज गरी आमाको उपचार गर्दै गर्नुस्, म मिलाएर आउँछु,’ भनेँ। आउँछु त भनेँ, तर जाने उपाय थिएन। साथीभाइमार्फत काम खोजी ओभरटाइम गर्न थालेँ।
तीन महिनापछि काकाले फेरि फोन गर्नुभयो। भर्खर कामबाट थाकेर आएको यसो निदाउन मात्रै लागेको थिएँ। फोनको घण्टीले तर्सिँदै रिसिभर उठाएँ, उताबाट काकाले भन्नुभयो, ‘पैसा पठाउनु पर्दैन बाबु, आमाको किरिया गर्न त आइज।’
म स्तब्ध भएँ। हातबाट फोनको रिसिभर खस्यो। काकाले कति बेला के भनेर फोन राख्नुभयो, पत्तै पाइनँ। म सिरानीलाई चिथोरेर बेस्सरी चिच्याएँ र डङरङ्ग बेडमा पल्टिएँ। मसँग कुनै उपाय थिएन। म लाचार भएँ। तेह्र दिनसम्म नुन नखाई कोठाभित्रै बसेँ। मैले चारैतिरबाट आफू सकिएको महसुस गरेँ। मैले छोरो हुनुको कर्तव्य निर्वाह गर्न सकिनँ।
अतीतमा घोत्लिँदै गर्दा अश्रुधारा बगेको पत्तै भएनछ। कतार एयरवेजले बोर्डिङका लागि अनाउन्स गरेपछि झसङ्ग भएँ। आँसु पुछेँ र हतार-हतार ह्यान्डक्यारी गुडाउँदै हातमा बोर्डिङ पास लिएर लाइनमा बसेँ। आवश्यक तयारी पूरा भएपछि निर्धारित समयमै प्लेन उड्यो।
आमा बितेपछि मलाई मुभ अन हुन निकै समय लाग्यो। साथीभाइ कसैलाई पनि यो कुरा सेयर गरिनँ। कसैले सोध्यो भने ‘हल्का बिरामी छु’ भनेर टारिरहेँ। घरमा बाबालाई फोन गर्ने हिम्मत गर्न सकिनँ।
बाबाले त मेरो आशा पहिले नै मारिसक्नुभएको थियो। आमाको निधनमा पनि म नेपाल जान नसकेपछि बाबा-छोराको दूरी अझ बढ्दै गयो। मैले त्यसपछि कहिल्यै पनि बाबासँग कुराकानी गरिनँ। बिस्तारै काममा जान थालेँ। मेरा सङ्घर्षका दिन फेरि सुरु भए।
कामकै सिलसिलामा एक दिन पूर्वी नेपालबाट आएकी कञ्चन शर्मासँग मेरो भेट भयो। एउटै देशबाट आएको हुनाले केही आत्मीयता त हुने नै भइहाल्यो। हामीबीच सामान्य कुराकानी हुन थाल्यो। फेसबुकको चलन सुरु भइसकेको थियो, त्यसैले हामी फेसबुकमा साथी भयौँ। बिस्तारै कामका कुराहरू हुँदै व्यावहारिक र घरायसी कुराहरू पनि हुन थाले।
उनी कोठामा एक्लै बस्दिरहिछिन्। नेपालबाट पढ्न आएको छ महिना मात्रै भएको रहेछ। घरायसी आर्थिक अवस्था खासै अब्बल थिएन भन्थिन्। उनी रूम सेयरिङ गर्ने साथी खोजिरहेकी रहिछन्। संवादहरू बाक्लिँदै गएपछि हामी अलि नजिक हुन थाल्यौँ। फुर्सदको समयमा राति अबेरसम्म डाउनटाउनमा घुम्थ्यौँ। दुवैको समस्या एउटै भएकाले एक दिन मैले उनलाई 'लिभिङ टुगेदर' मा बस्न अनुरोध गरेँ। उनी पनि त्यही कुरा मलाई भन्न खोज्दै रहिछन्। दुवैको कुरा मिल्यो र हामी लिभिङ टुगेदरमा बस्न थाल्यौँ।
हामी दुवैले आर्थिक राहतको श्वास फेर्यौँ। कमाइ पनि राम्रै हुँदै थियो। म थोरै-थोरै बचत पनि गर्न थालेको थिएँ। हामी दुवै निर्धारित अनुशासनमै रहेर करिब एक वर्ष सँगै बस्यौँ। उनको र मेरो काम गर्ने समय अलग-अलग भएकाले हाम्रो गफगाफ हुने गरी भेट हुने भनेकै शनिबार र आइतबार मात्र हुन्थ्यो। म अलि बढी ओभरटाइम गर्न थालेकाले प्रायः थकित नै हुन्थेँ। शनिबार र आइतबार भने हामी सँगै खाना खान्थ्यौँ।
कञ्चनसँगको सामीप्यताले म बिस्तारै लयमा फर्किएको थिएँ। आमाको निधनले निम्त्याएको पीडाको घाउ बिस्तारै पुरिँदै जान थालेको थियो। एक दिन हामीले सिड्नी घुम्न जाने सल्लाह गर्यौँ। करिब एक हप्ताको बिदा मनाउन कञ्चनसँगै घुम्न निस्किएँ। रात नै बिताउनुपर्ने गरी हामी पहिलोपटक कोठाबाट बाहिरिएका थियौँ।
घुम्ने क्रममै एक साँझ सिड्नीको समुद्री किनारामा टहलिँदै गर्दा एउटा ठुलो भोटे कुकुरले कञ्चनलाई झम्टिन खोज्यो। उनी तर्सिएर मलाई अङ्गाल्न पुगिन्। धन्न, कुकुरले टोक्न भने भ्याएन; तर उनी निकै बेरसम्म डराइन् र मेरो अङ्गालोमा कसिलो गरी बेरिइन्।
साँझको डिनरपछि होटलको बरण्डामा ग्रिन टी पिउँदै सहरको उज्यालो अवलोकन गरिरहेको बेला कञ्चनले भनिन्, ‘समीर, टुडे यु सेभ्ड माइ लाइफ। थ्याङ्क्स अ लट। यु आर सो काइन्ड टु मी।’
मैले मुस्कुराउँदै भनेँ, ‘इट्स ओके, कञ्चन।’
मैले कञ्चनप्रति थप सामीप्यता महसुस गर्दै गएँ। उनलाई केही कुरा भनौँ जस्तो लागेको थियो, तर मभन्दा एक कदम अगाडि नै कञ्चनको मनमा प्रेमको अङ्कुरण भइसकेको रहेछ। सोही साँझ हामीले एकअर्काको हुने कसम खायौँ र क्यानबेरा फर्केर विवाह गर्ने निधो गर्यौँ।
विवाह गरेको वर्षदिनमै छोरा एलेन जन्मियो र त्यसको दुई वर्षमै छोरी कायाको जन्म भयो। हाम्रो परिवारको रथ हाँसीखुसी नै अगाडि बढ्यो। मलाई अब मेरो सबै संसार यहीँ छ भन्ने लाग्यो। हाम्रो पीआर पनि भयो। काम र कमाइ राम्रै थियो; घर, गाडी, बैंक ब्यालेन्स सबै जोडियो। लामो बिदामा पारिवारिक घुमघाम हुन थाल्यो। अन्य देशमा पनि बिदा मनाउन जाने आर्थिक हैसियत बन्दै गयो।
जहाजले उचाइ घटाउँदै लगेको महसुस भयो। विमान परिचारिकाले दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको कुराको जानकारी दिइन्। दोहामा दुई घण्टाको ट्रान्जिट छ, कसरी समय बिताउने भन्ने पिर पर्न थाल्यो। हुन त यो विमानस्थल मैले पहिलोपटक प्रयोग गर्दै थिएँ।
प्रायः अस्ट्रेलियाबाट आउजाउ गर्ने नेपालीहरूले यो विमानस्थल प्रयोग गर्दैनन्। यो विमानस्थल हुँदै यात्रा गर्दा अलि घुमाउरो र महँगो पनि पर्छ। बैङ्कक, हङकङ, मलेसिया, सिंगापुर र ग्वाङ्झाउ रुट प्रायः नेपालीहरूले प्रयोग गर्ने रुट हुन्। दोहाको विमानस्थल राम्रो छ भन्ने सुनेको थिएँ। जाबो दुई घण्टा त बितिहाल्ला नि!
म फेरि विगतमा फर्किएँ। दुई महिनाअगाडि मात्र मैले काम गर्ने कम्पनीमा केही कामदारहरू हायर गर्नुपर्ने थियो। म उक्त कम्पनीको एचआर डिपार्टमेन्टको प्रमुख भएकाले कामदार छनोटको जिम्मा मेरै थियो। अन्तर्वार्ताका लागि छनोट भएका केही कामदारहरूको कागजात परीक्षण गर्ने क्रममा एउटा नेपालीको फाइलमा आँखा पर्यो। आवेदकको नाम थियो- अजिता नेपाल। ठेगाना लेखिएको थियो- पुतलीबजार नगरपालिका वडा नं. ३, बिचारीडाँडा, स्याङ्जा, नेपाल।
मेरो मथिङ्गल हल्लियो। चारैतिर जन्मभूमिका दृश्यहरू नाच्न थाले। मेरै गाउँबाट आएकी यो केटी को होली भन्ने लाग्यो। भर्खर अठार वर्ष पूरा भई प्लस टु (+२) को परीक्षा पास गरेर विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी अजिताले कामको खोजीमा उक्त कम्पनीमा आवेदन दिएकी थिइन्। मैले उनलाई चिन्न नसकेपछि उनको सिभी (सिभी) हेरेँ। बाबुको नाम लेखिएको थियो- अजय नेपाल।
मेरै काकाको छोरा भए पनि अजय मेरो उमेरभन्दा पाँच वर्ष जति जेठो भएकाले सम्बन्धमा दाइ थिए। अजिता मेरा काकाकी नातिनी अर्थात् मेरै भतिजी रहिछिन् भन्ने निष्कर्षमा पुगेँ। उनी जन्मेपछि त म नेपाल नै गएको रहेनछु, अनि उनलाई मैले कसरी चिन्नु?
कामदार छनोटको काम सकिएको केही दिनपछि मैले अजितालाई आफ्नो क्याबिनमा बोलाएँ। दुई वटा कफी मगाएँ।
‘अजिता! मैले तिमीसँग केही कुराकानी गर्नु छ, बस,’ मैले भनेँ।
म नेपालीमा प्रस्टसँग बोलेको सुनेर अजिताले अचम्म मान्दै भनिन्, ‘सर पनि नेपाली हो? खुसी लाग्यो भेटेर।’
‘तिम्रो घरमा को-को हुनुहुन्छ?’ मैले सोधेँ।
‘बाबा, मम्मी, भाइ अनि हजुरबुवा हुनुहुन्छ।’
‘ठुला हजुरबुवा नि?’
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘ए… उहाँ? उहाँ त पहिल्यै ठुली हजुरआमा बितेपछि देवघाट जानुभएको रे! उतै आश्रममा बस्नुहुन्छ भन्ने सुनेकी छु। म सानो हुँदा एकपटक देखेको हुँ, त्यसपछि देखेकी छैन। तर हजुरबुवा चाहिँ ठुला हजुरबुवालाई भेट्न गइरहनुहुन्छ। एक्लै आश्रममा बस्नुहुन्छ रे!’
‘किन जानुभएको रहेछ आश्रममा? उहाँको कोही छैनन् र?’ मैले सोधेँ।
‘खै, सबै कुरा त मलाई पनि थाहा भएन। तर ठुली हजुरआमाको उपचार गर्न बैंकबाट ऋण लिनुभएको रे! पछि ऋण तिर्न नसकेपछि बैंकले सबै घरजग्गा लिलाम गरिदिएछ, अनि जानुभएको भन्ने सुनेकी हुँ। उहाँको एउटा छोरा समीर नेपाल यतै अस्ट्रेलियामा हुनुहुन्छ भन्ने सुनेकी छु, अरू उहाँको कोही छैन।’
‘समीर अङ्कललाई चिनेकी छौ?’ थाहा छैन भन्ने जान्दाजान्दै मैले उनलाई सोधेँ।
‘उहाँ पहिल्यै अस्ट्रेलिया आउनुभएको रे! पछि नेपाल जान छोड्नुभयो। मैले त उहाँलाई देखेकी पनि छैन।’
त्यो रात म सुत्नै सकिनँ। आँखावरिपरि बाबाको तस्बिर नाचिरह्यो। एक वचन बाबाले ‘फर्केर आइज’ भनेकै भरमा मैले बाबालाई नै शत्रुजस्तै ठानेँ। आमाको निधनले पक्कै बाबा पनि त विक्षिप्त हुनुभएको थियो होला नि! मैले बाबालाई बुझ्नै सकिनँ। यतिका वर्षसम्म बाबासँग संवाद नगरी बस्ने म अब कसरी उहाँको अगाडि जाऊँ? यत्रो दुःख गरेर कमाएको श्रीसम्पत्तिले मेरा बाबाको एउटा फाटेको दौरासमेत फेर्न सकेनछ।
जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। विमानस्थलको सबै औपचारिक प्रक्रिया सकिएपछि म ट्याक्सी लिएर सोझै चितवनको देवघाटतर्फ हानिएँ।
बाटोभरि बाबाकै याद आइरह्यो। कुन र कस्तो अवस्थामा हुनुहोला भन्ने संशयले मन भारी भएको थियो। एकातिर लामो यात्राको थकान थियो भने अर्कोतर्फ धेरै वर्षपछि बाबालाई भेट्ने उत्कट अभिलाषा!
देवघाटमा एक जना बूढी आमासँग भेट भयो। हत्तपत्त मैले उनलाई सोधेँ, ‘आमा! यहाँ कृष्णप्रसादको आश्रम कता छ?’
‘कहाँका कृष्णप्रसाद हुन्?’ अन्योलका साथ उनले सोधिन्।
‘स्याङ्जाबाट आएका, त्यस्तै सत्तरी वर्ष जतिका।’
‘ए… ए, उ त्यो परको निलो टिनको छाना भएको सानो घर हो,’ उनले हातको इशाराले देखाउँदै भनिन्।
बूढी आमाले देखाइदिएको घरतर्फ गएँ। ढोकामा चुकुल मात्र लगाएर बन्द गरिएको रहेछ। वरपर हेरेँ, तर बाबालाई कतै देखिनँ। टाढा त जानुभएको छैन होला; नत्र त चाबी पनि लगाउनुहुन्थ्यो। बाँदर नपसोस् भनेर मात्र चुकुल लगाउनुभएको होला भन्ने ठानेँ। ढोका खोल्ने आँट आएन।
सानो झ्यालमा कालो-मैलो पर्दा रहेछ। झ्यालको बाहिरबाटै हातले पर्दा सारेर भित्र हेरेँ। भित्तामा आमाको तस्बिर झुन्ड्याइएको रहेछ। आमाको याद आयो; बाबाले पनि आमालाई औधी माया गर्नुहुन्थ्यो। त्यही भएर त भित्तामा टाँगिएको आमाको तस्बिरसँगै बोलेर बाँकी जिन्दगी कटाउने प्रण गर्नुभएको होला!
धेरै बेर कुर्दा पनि बाबा नआएपछि झोला र सुटकेसहरू राख्नका लागि मैले ढोका खोलेँ। बाबाको मैलो ओछ्यानमा केही बेर सुस्ताएँ। सिरानीनजिकै एउटा टिनको बाकस रहेछ; चाबी लगाएको थिएन। उघारेर हेरेँ, सबैभन्दा माथि एउटा फोटो फ्रेम घोप्ट्याएर राखेको रहेछ। उठाएर हेरेँ— बाबा-आमाको बीचमा म भएको तस्बिर रहेछ। मलाई पहिलोपटक विमानस्थलमा बिदाइ गर्दाको तस्बिर हो यो। सायद बाबाले यो तस्बिर बारम्बार हेरिरहनुहुन्छ होला, त्यही भएर त बाकसको सबैभन्दा माथि छ; नत्र त यो बाकसको पिँधतिर हुनुपर्ने!
बाबालाई कुरेर आश्रमबाहिर टहलिइरहेका बेला परबाट पहेलो वस्त्रधारी वृद्ध मानिस आउँदै गरेको देखेँ। पक्कै बाबा नै हुनुपर्छ भन्ने लाग्यो। मुटुको धड्कन एक्कासि बढ्न थाल्यो। यस्तो डर त मलाई पहिले कहिल्यै लागेको थिएन। नजिकै आएपछि ‘बाबा!’ भनेर बोलाएँ।
‘समीर!’ बाबाले एक शब्द मात्र बोल्नुभयो र मलाई एकोहोरो हेरिरहनुभयो। बाबाको हातबाट केही सामानहरूको पोको खस्यो। पूजा सामग्रीहरू छरपस्ट भए। बाबा अचानक मेरो काखमा लड्नुभयो।
मैले पटक-पटक बाबालाई बोलाएँ, तर उहाँ बोल्नुभएन। धाराबाट अञ्जुलीमा पानी ल्याएर खुवाएँ। बाबाको शरीर चिसिँदै गएको महसुस भयो। हामी दुवैले एकअर्कालाई अन्तिम पटक हेर्यौँ। बाबाको अन्तिम श्वास मेरो प्रतीक्षाका लागि मात्र अडिएको रहेछ।