आजभोलि गुगलमा सबै प्रश्नको उत्तर छ
तर कहिले खोज्न नपरोस्
मानवताको अस्तित्व
विभेदको अर्थ
अभावका सङ्ख्या!
सोध्न पाइयोस्- हालखबर
प्रत्येक हत्केलामा माया फुलाउनेहरूको
सुन्न पाइयोस्- सङ्घर्षकथा
पाइला पाइलामा गाँसेको चप्पल चुँडिने डर बोकेका यात्रीहरूको।
मलाई नसुन्ने देउताको आस लाग्दैन
दृष्टिविहीन कानुनको पनि भर लाग्दैन
बरु माया लागेर आउँछ
दबाइएका बुलन्द आवाजहरूको।
आस्थाको नाममा यहाँ भक्ति खरिदबिक्री हुन्छ
न्यायको नाममा यहाँ शक्ति खरिदबिक्री हुन्छ
मलाई प्रश्न भ्रमजस्तै लाग्छ
यहाँ थाहा पाउनेले
आजसम्म थाहा पाएको छैन-
परिवर्तनको प्रश्नको राँको
कुन झिल्कोबाट उत्पन्न भयो?
कम्तीमा यति थाहा होस्
झरेको फूल शिरमा कहिल्यै सजिँदैन
भमराहरू रस हुन्जेल
मात्र तपाईंलाई चुम्न आतुर हुन्छन्।