राजधानीबाट पूर्व काभ्रेको लप्सेगाउँ बिहान कुहिरोभित्र जन्मिन्थ्यो। रातभरि महाभारतका पहाडहरूसँगै नागी, कमेरोखानी हुँदै भटासे र नयाँ गाउँका ससाना डाँडाले गाउँलाई सुम्सुम्याउँदै आफ्नै काखमा सुताइराख्थे।
सूर्योदयका पहेँला किरणहरूले कुहिरो चिर्दै घरका ढोकाबाट भित्र पस्दा गाउँ विस्तारै ब्युँझिन्थ्यो। रातेमाटो, कमेरो र गोबरले लिपिएका घरहरू, चिल्ला ढुंगाका पिँढी, करेसाको छेउ र आँगनभरि फुलेका चमेली र सयपत्रीका फूल, सुन्तलाका घारी अनि गोठबाट सुनिने गाईबाख्राका स्वरले गाउँलाई जीवित बनाइरहेका हुन्थे।
तीनआँख्ले कमेराखानीको डाँडामा झुल्किँदा नझुल्किँदै झिसमिसेमै आमा, ठुलीआमा, काकी र भाउजूहरू गाग्री बोकेर पँधेरा र ठाडे खोलातिर लाग्नुहुन्थ्यो। गाग्रीको ठकठक, पानीको छङ्छङ्, दिदीबहिनीको हाँसो र गफ मिसिँदा गाउँको बिहान आफ्नै लयमा बग्थ्यो। पुरुषहरू कसैले दूधको क्यान बोकेर बजारतिर लाग्थे, कसैले हलो काँधमा राखेर खेततिर।
गाउँ सानो थियो तर त्यहाँ बस्ने मानिसहरूको मन विशाल थियो। ग्रामीण परिवेश भएकाले सहरजस्ता सुविधा थिएनन् तर पारस्परिक आत्मीयता, सद्भाव र सहयोगको कुनै अभाव थिएन। प्रत्येक घरको आँगनमा हाँसो गुञ्जिन्थ्यो, गफगाफ चल्थ्यो, ऐंचोपैंचो, अर्मपर्म चल्थ्यो र दुःखसुख सबै मिलेर बाँडिन्थ्यो।
पिँढीमा बसेका बुढाबुढीहरूले आफ्ना अनुभवका कथा सुनाउँथे भने युवाहरू शिक्षाको उज्यालो पछ्याउँदै किताब र कापी काखीमा च्यापेर रातेमाटोका चिप्ला गोरेटाहरू र खेतको आलीआली हुँदै विद्यालय पुग्थे। शिक्षकहरू विद्यालयतर्फ लाग्दा गाउँलेहरूको अनुहारमा सम्मान, गौरवको अनुभूति झल्किन्थ्यो। उनीहरूलाई विश्वास थियो, परिवर्तन र विकासको आधार मेहनत र शिक्षा नै हो।
गाउँका अधिकांश मानिसहरू फुर्सदको समय खेर फाल्दैनथे। बिहान वा साँझ खेतबारी, मेलापात र सामूहिक काममा रमाउँथे। आँगनभरि केटाकेटीहरूको हाँसो गुञ्जिन्थ्यो। कहिले खर्ल्याम–खुट्टी खेल्दै, कहिले गोर्थाबारको उत्तिसका रुखबाट सुकेर झरेका सिटा बटुल्दै, त कहिले आफ्नै ससाना कल्पनाको संसारमा हराउँदै उनीहरू सुन्दर भविष्यका सपना बुन्थे।
सहरी सुविधाका अभावका बीच गाउँमा आशा थियो, श्रम थियो, आत्मीयता थियो र भोलिलाई अझ राम्रो बनाउने अटल विश्वास थियो। शिक्षालाई उज्यालो मान्ने त्यो समाजमा शिक्षक हुनु केवल पेसा होइन, प्रतिष्ठा थियो।
गाउँको अभिभावक हजुरबुबा हुनुहुन्थ्यो। उहाँ औपचारिक शिक्षाको अवसरबाट वञ्चित भए पनि हजुरबुबा जीवनका सच्चा विद्यार्थी हुनुहुन्थ्यो। विद्यालयका चार पर्खालले उहाँलाई शिक्षित बनाउन पाएनन् तर संघर्ष, श्रम, जिम्मेवारी र अनुभवले उहाँलाई असाधारण जीवनदृष्टि प्रदान गर्यो। अभावसँग जुध्दै, परिवारको दायित्व वहन गर्दै र समयका कठोर परीक्षा पार गर्दा नै उहाँ सानै उमेरदेखि परिपक्व हुनुहुन्थ्यो।
सामाजिक चलनअनुसार बाल्यकालमै विवाह भयो। किशोरावस्थामै परिवारको सम्पूर्ण जिम्मेवारी उहाँको काँधमा आइपर्यो। बिहानदेखि साँझसम्मको निरन्तर श्रम नै उहाँका लागि विद्यालय बन्यो, जहाँ प्रत्येक दिन नयाँ पाठ सिक्नुपर्थ्यो। तर कहिल्यै अभावलाई आफ्नो सोचको सीमारेखा बन्न दिनुभएन। आफूले शिक्षा प्राप्त गर्न नपाएको पीडालाई उहाँले आफ्ना सन्तानको उज्ज्वल भविष्य निर्माण गर्ने अठोटमा रूपान्तरण गर्नुभयो।
परिवर्तनका पाइला चाल्दा चल्दै आधा दर्जनभन्दा बढी छोराछोरीहरूको बा उहाँको जीवनमा कठोर परीक्षा आयो। करिब ४६–४७ वर्षको उमेरमै उहाँकी जीवनसंगिनी मेरी हजुरआमाको असामयिक निधन भयो। सन्तानको भविष्य, घरपरिवारको सम्पूर्ण जिम्मेवारी एकैचोटि उहाँको काँधमा आइपर्यो।
परिवार र आफन्तहरूले दोस्रो विवाह गर्न धेरै आग्रह गरे। तर उहाँको दृढ स्वर थियो, ‘मेरो सुखभन्दा मेरा छोराछोरीको माया ठूलो छ। उनीहरूलाई आमा गुमाएको पीडामाथि अर्को पीडा थप्न म सक्दिनँ।’ यही अटल निर्णयसँगै बाँकी जीवन बाबु र आमाको दुवै भूमिका निर्वाह गर्दै बिताउनुभयो। आफ्ना आँसु लुकाएर सन्तानको अनुहारमा मुस्कान फुलाउनु नै उहाँको जीवनको उद्देश्य बन्यो, महानता बन्यो।
हजुरबुबा आफू साक्षर नभए पनि समयको मागअनुसार आफ्ना सन्तानलाई मेलापात, गाईवस्तु चराउने र खेतबारीका कठिन श्रममा अल्झिन दिनुभएन। बदलिँदो समयको आवश्यकता बुझ्दै उहाँले परम्परागत खेतीपातीमा मात्र निर्भर रहने सोच त्याग्नुभयो। परिवारको जीविकोपार्जन र छोराछोरीको शिक्षालाई निरन्तरता दिन सहरमा बसाइँ सरेर घरमै सानो व्यवसाय गर्न सफल हुनुभयो।
उहाँको स्पष्ट विश्वास थियो, ‘सम्पत्ति एक दिन सकिन सक्छ, तर शिक्षा जीवनभर साथ दिने सबैभन्दा ठूलो धन हो।’ यही दूरदर्शी सोचका कारण आफ्ना सन्तानलाई श्रमको मूल्य सिकाउँदै उनीहरूको हातमा कोदालोभन्दा किताब थमाइदिनुभयो र उज्ज्वल भविष्यतर्फ डोर्याउन निरन्तर प्रयास गरिरहनुभयो। आफूले पढ्न नपाएको पीडालाई भावी पुस्ताको उज्ज्वल भविष्यमा रूपान्तरण गर्नुभयो।
जुन समय ग्रामीण समाजमा छोरीको शिक्षालाई धेरै महत्त्व दिइँदैनथ्यो। व्यावहारिक समस्या र सामाजिक सोचका कारण जेठी, माहिली र साँहिली छोरीहरूलाई शिक्षा दिलाउन नसकेको पीडा जीवनभर मनमा बोक्नुभयो। बदलिँदो समयको आवश्यकता बुझ्दै काँहिली, ठाँहिली, कान्छी छोरी र छोराहरूलाई उच्च शिक्षा अध्ययन गराएर शिक्षण पेसामा स्थापित गर्न सफल हुनुभयो।
त्यो निर्णय केवल आफ्ना छोरीहरूको भविष्य निर्माण गर्ने प्रयास मात्र थिएन, तत्कालीन ग्रामीण समाजमा विद्यमान सोचलाई चुनौती दिने साहसिक र दूरदर्शी कदम थियो। व्यवहारबाटै प्रमाणित गरेर शिक्षाको अधिकार छोरा र छोरी दुवैको समान हो भन्ने प्रमाणित गर्नुभयो।
आफूले अक्षर नचिने पनि हरेक दिन बिहान बाहिर निस्केपछि हातमा पत्रिका बोकेर घर फर्किनुहुने हजुरबुबालाई पत्रिका पढेर सुनाउन नातिनातिनाको तँछाडमछाडको आत्मीयता अमिट छ। देशविदेशको खबरसँग चासो राख्ने हजुरबुबा राजनीतिक, सामाजिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो। गाउँमा विद्यालय स्थापना र विद्यालय सञ्चालक समितिमा बसेर शिक्षाको विस्तारमा गर्नुभएको बिसौँ बसन्तको योगदान प्रशंसनीय छ।
शिक्षाले मात्र समाज परिवर्तन हुन्छ भन्ने विश्वास व्यवहारमै प्रमाणित गर्नुहुने उहाँको जीवनले एउटा अमूल्य सन्देश दिन्छ, औपचारिक शिक्षा नभए पनि दूरदृष्टि, इमानदारी, श्रम र सन्तानप्रतिको समर्पणले एउटा साधारण मानिसलाई असाधारण बनाउँछ। उहाँले धनको होइन, शिक्षाको विरासत छोड्नुभयो। यही विरासत आज पनि उहाँका सन्तान र भावी पुस्ताका लागि प्रेरणाको स्रोत र उज्ज्वल मार्ग बनेको छ।
गतिशील समयसँगै गाउँमा सडक पुग्यो। यातायात, सञ्चार र आधुनिक सुविधाको विस्तारसँगै सहरको आकर्षण पनि बढ्दै गयो। उच्च शिक्षा, रोजगारी र सहज जीवनको खोजीमा गाउँका छोरा नातिहरू बिस्तारै सपरिवार सहरतिर बसाइँ सर्न थाले। एकएक गर्दै घरका ढोकाहरू बन्द भए। गोठहरू रित्तिँदै गए। गाईवस्तु दान गरिए त कति बेचिए र वर्षौंदेखि जीवन धानेका गोठ मौन हुन पुगे।
आँगनमा फुलेका फूलहरू ओइलाउन थाले, बारीका गराहरू झारपातले ढाकिए र कुनै समय हाँसोले गुञ्जिने घरहरू सुनसान बन्दै गए। गाउँको मुटु मानिने फलैँचाको चहलपहल पनि दिनप्रतिदिन पातलिँदै गयो। कहिल्यै खाली नहुने पिँढीहरू अब प्रायः रित्तै देखिन्थे। रुमालले बेरिएको पुरानो रेडियोबाट समाचार उस्तै गरी बज्थ्यो, तर त्यसलाई ध्यान दिएर सुन्न, छलफल गर्न र विचार साटासाट गर्न भेला हुने कानहरू भने क्रमशः कम हुँदै गए। समयसँगै गाउँको स्वरूप मात्र होइन, त्यसको आत्मीयता र सामुदायिक जीवनशैली पनि बिस्तारै स्मृतिमा सीमित हुँदै गयो।
एक दिन हजुरबा बिरामी पर्नुभयो। उहाँलाई अस्पताल लगियो। अस्पतालका कोठा आफन्त र शुभेच्छुकहरूले भरिए। सबैको मनमा एउटै प्रार्थना थियो, हाम्रा बा फेरि घर फर्किऊन्। तर प्रकृतिको नियम कसैले बदल्न सक्दैन। अन्ततः सबैका बा एक दिन सबैलाई रुवाएर अनन्त यात्रामा लाग्नुभयो।
पहिले भरिभराउ हुने जमघट अब सानो कोठामा सीमित हुन थाल्यो। आँगन, पिँढी र झ्यालबाट हेर्दै आउने बाको प्रतीक्षामा रहने आँखाहरू बन्द भए। सल्लाह लिने स्वर मौन भए। आज पनि लप्सेगाउँ उही ठाउँमा छ। महाभारतका पहाडहरू उस्तै अडिग छन्, तर रातेमाटोले लिपिएका आँगनहरू हराउँदै गएका छन्। गैरापाटाका मुला, सुन्तला र चुकका बारीहरू सुकेका छन्। फलैँचा सुनसान छ। रेडियो बोलिरहेकै छ, तर त्यसका शब्दसँग जीवन गाँस्ने कानहरू विरलै भेटिन्छन्।
मेरो लप्सेगाउँ आज केवल एउटा भूगोल होइन; त्यो सम्झनाको एउटा जीवित संसार हो। त्यो संसार, जहाँ सबैका बा हुनुहुन्थ्यो। जहाँ एक जनाको उपस्थिति नै गाउँको आत्मा थियो, आँट थियो, भरोसा थियो। उहाँसँगै एउटा पुस्ता, एउटा संस्कृति र आत्मीयताको एउटा युग बिस्तारै स्मृतिमा रूपान्तरण भयो। तर जबसम्म हामी उहाँका मूल्य, संघर्ष र शिक्षालाई सम्झिरहन्छौँ, अनुकरण गरिरहन्छौँ, तबसम्म हजुरबुबाको आदर्श र मेरो लप्सेगाउँ कहिल्यै हराउने छैन।