विगत ३० वर्षभन्दा बढी समय गैरसरकारी संस्था अर्थात् गैससको क्षेत्रमा काम गर्ने अवसर पाएँ। पछाडि फर्केर हेर्दा लाग्छ, मैले केवल एउटा पेशा गरिनँ, एउटा लामो सामाजिक यात्रा तय गरेँ। त्यो यात्रामा कार्यालय थिए, परियोजना थिए, बैठक थिए, प्रतिवेदन थिए, दाता थिए, तालिम थिए, तर ती सबैभन्दा महत्वपूर्ण थिए, व्यक्ति, गाउँ र समुदाय।
मेरो लागि गैससको काम भनेको कार्यालयमा बसेर परियोजनाको कागज तयार गर्नु मात्र थिएन। म गाउँ गइनँ, गाउँलेसँग भेटिनँ, उनीहरूको कुरा सुनिनँ भने आफ्नो जीवनमा केही कमी भएको महसुस हुन्थ्यो।
गाउँमा पुग्दा कहिलेकाहीँ बाटो थिएन, यातायात थिएन, सञ्चारको सुविधा थिएन। तर मानिससँग कुरा गर्ने इच्छा थियो। उनीहरूसँग सिक्ने अवसर थियो। त्यही सिकाइले मेरो व्यावसायिक जीवनलाई अर्थ दियो। आज ३० वर्षभन्दा बढी समयपछि फर्केर हेर्दा म निर्धक्क भन्न सक्छु, गाउँ मेरो विश्वविद्यालय थियो र समुदाय मेरा शिक्षक थिए।
परियोजनाभन्दा पहिले मानिस
गैससमा काम गर्दा हामीले धेरैपटक लक्षित समूह, लाभग्राही, परियोजना क्षेत्र जस्ता शब्द प्रयोग गर्यौँ। तर गाउँमा पुगेपछि ती शब्दको अर्थ फरक हुन्थ्यो। कागजमा लाभग्राही भनिएको व्यक्ति वास्तवमा आफ्नै अनुभव, ज्ञान र संघर्ष भएको किसान हुन्थ्यो।
हामीले कतिपय अवस्थामा किसानलाई प्रविधि सिकाउन खोज्यौँ। तर पछि थाहा भयो, किसानलाई खेती गर्न हामीले सिकाउनुपर्ने थिएन। उनीहरूसँग त पुस्तौँदेखि खेतीको अनुभव थियो। हामीले गर्नुपर्ने काम उनीहरूको ज्ञानलाई नयाँ प्रविधि, बजार, वित्त, संस्थागत सहयोग र नीतिसँग जोड्नु थियो।
कहिलेकाहीँ हामी निकै उत्साहित भएर तालिम आयोजना गर्थ्यौँ। दुई/तीन दिनको तालिमपछि सहभागीलाई प्रमाणपत्र दिन्थ्यौँ। अनि परियोजनाको प्रतिवेदनमा लेखिन्थ्यो, ५० जना किसान प्रशिक्षित। तर मनमनै प्रश्न उठ्थ्यो, त्यसपछि के भयो?
किसानले सिकेको कुरा प्रयोग गरे कि गरेनन्? उत्पादन बढ्यो कि बढेन? आम्दानी बढ्यो कि बढेन? बजार पाए कि पाएनन्? यस्ता प्रश्नले मलाई क्रमशः परियोजनाको गतिविधिभन्दा परिणामतर्फ सोच्न सिकायो।
माछालाई पौडिन सिकाए, घोडालाई दौडिन सिकाए
गैसस क्षेत्रमा कहिलेकाहीँ हाम्रो काम देख्दा मलाई एउटा व्यंग्यात्मक उखानजस्तै लाग्थ्यो-माछालाई पौडिन सिकाए, घोडालाई दौडिन सिकाए, कुखुरालाई बास्न सिकाए। माछालाई पौडिन सिकाउन तालिम चाहिन्छ र? घोडालाई दौडिन सिकाउन दुई दिनको कार्यशाला चाहिन्छ र? कुखुरालाई बास्न सिकाउन प्रशिक्षक बोलाउनुपर्छ र? हामी कहिलेकाहीँ यस्तै काम गर्न खोजिरहेका त थिएनौँ?
यसलाई अझ रमाइलो ढंगले भन्ने हो भने, किसानलाई हलो कसरी समात्ने भनेर तालिम, गाईलाई घाँस कसरी खाने भनेर अभिमुखीकरण, कुखुरालाई बिहान कति बजे बास्ने भनेर क्षमता विकास, अनि बाख्रालाई पहाड चढ्ने व्यवहारबारे तीन दिने कार्यशाला!
व्यंग्यको कुरा भए पनि यसको पछाडि गम्भीर प्रश्न छ। हामीले समुदायसँग काम गर्दा उनीहरूलाई कमजोर, अज्ञानी र सिकाउनुपर्ने मात्र समूहका रूपमा हेर्ने कि उनीहरूसँग भएको ज्ञानलाई सम्मान गर्ने? मेरो अनुभवले दोस्रो बाटो सही हो भन्छ।
गाउँका किसानले मौसम पढ्न जान्दथे। महिलाले बीउ जोगाउने परम्परागत ज्ञान राख्थे। स्थानीय युवालाई आफ्नो गाउँको बाटो, पानीको स्रोत र बजारको जानकारी हुन्थ्यो। समुदायलाई आफ्नो समस्याको प्राथमिकता थाहा थियो। त्यसैले विकासको वास्तविक अर्थ उनीहरूलाई सबै कुरा सिकाउनु होइन; उनीहरूसँग भएको ज्ञान, सीप र अनुभवलाई नयाँ अवसरसँग जोड्नु हो।
गैसस भनेको दाताको पैसा मात्र होइन
गैससका बारेमा एउटा सामान्य धारणा छ, विदेशी दाताले पैसा दिन्छन्, गैससले परियोजना चलाउँछन् र कर्मचारीले तलब खान्छन्। यो धारणा पूर्ण सत्य होइन।
गैससको इतिहास र भूमिकालाई हेर्दा यसको मूल अर्थ सामाजिक सेवा, नागरिक सहभागिता, सामुदायिक संगठन, ज्ञान, सीप र आत्मनिर्भरता निर्माणसँग जोडिन्छ।
महात्मा गान्धीले आत्मनिर्भरता, श्रम, स्थानीय क्षमता र सामुदायिक सेवामा जोड दिएका थिए। नेपालमा तुलसी मेहर श्रेष्ठले पनि समाजसेवा, स्वावलम्बन, श्रम र सीपलाई सामाजिक परिवर्तनसँग जोड्ने महत्वपूर्ण काम गरे।
त्यसैले गैसस भनेको विकसित राष्ट्रहरूले दिएको दान रकम खर्च गर्ने माध्यम मात्र होइन। गैसस भनेको समाजमा ज्ञान र सीप प्रवर्द्धन गर्नु हो, मानिसलाई संगठित गर्नु हो, समुदायलाई एउटै सूत्रमा बाँध्नु हो, कमजोर आवाजलाई सुन्ने ठाउँ बनाउनु हो। यस अर्थमा गैससले नेपालको विकास यात्रामा महत्वपूर्ण भूमिका खेलेका छन्।
रोजगारीदेखि उद्यमसम्म
तीन दशकको यात्रामा मैले विभिन्न क्षेत्रमा गैससको योगदान देखेको छु। युवालाई सीप प्रदान गर्ने, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने, उद्यमशीलता विकास गर्ने, कृषि तथा गैरकृषि क्षेत्रमा जीविकोपार्जन सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने—यी कामले धेरै परिवारको जीवनमा परिवर्तन ल्याएका छन्।
महिलालाई समूहमा संगठित गर्ने काम आफैँमा ठूलो सामाजिक परिवर्तन थियो। हिजो घरको चार पर्खालभित्र सीमित महिला आज सहकारीको नेतृत्व गर्छिन्, व्यवसाय चलाउँछिन्, आफ्नै आम्दानी गर्छिन् र स्थानीय निर्णय प्रक्रियामा आवाज उठाउँछिन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गैससको योगदान उल्लेखनीय छ। सरसफाइ, खानेपानी, पोषण, मातृ–शिशु स्वास्थ्य, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षणजस्ता क्षेत्रमा गैससले राज्य र समुदायबीच पुलको काम गरेका छन्। त्यसैगरी, कृषिमा उत्पादकत्व बढाउने, नयाँ प्रविधि भित्र्याउने, सहकारी तथा स्थानीय संस्थालाई बलियो बनाउने, किसानलाई बजार र मूल्य शृंखलासँग जोड्ने कामले पनि धेरै ठाउँमा सकारात्मक परिणाम दिएको छ।
समुदायलाई संगठित गर्नु नै ठूलो उपलब्धि
कहिलेकाहीँ विकासको परिणामलाई सडक, भवन, तालिम वा बजेटमा मात्र मापन गरिन्छ। तर समुदाय संगठित हुनु आफैँमा ठूलो उपलब्धि हो। एउटा गाउँमा किसान समूह बनेको छ भने त्यो केवल एउटा समूह होइन। त्यो सूचना आदानप्रदान गर्ने माध्यम हो। समस्या छलफल गर्ने ठाउँ हो। सामूहिक निर्णय गर्ने अभ्यास हो। कहिलेकाहीँ बैंकसँग कुरा गर्ने शक्ति हो।
बजारसँग सामूहिक रूपमा सौदाबाजी गर्ने क्षमता हो। महिलाको समूहले बचत गर्न शुरु गर्नु केवल पैसा जम्मा गर्नु होइन। त्यो आर्थिक अनुशासन, आत्मविश्वास र सामूहिक निर्णयको अभ्यास पनि हो। युवाहरू मिलेर उद्यम शुरु गर्नु केवल व्यवसाय स्थापना गर्नु होइन। त्यो गाउँमै सम्भावना खोज्ने प्रयास हो।
तर सबै कथा सफल थिएनन्
तीन दशकको अनुभव सुनाउँदा केवल सफलता सुनाउनु पनि इमानदार हुँदैन। सबै परियोजना सफल भएनन्। सबै तालिमले रोजगारी सिर्जना गरेनन्। सबै समूह टिकेनन्। कतिपय संरचना परियोजना सकिएपछि कमजोर भए। कतिपय राम्रो देखिएका गतिविधिको दीर्घकालीन प्रभाव न्यून रह्यो। तर असफलताले पनि सिकायो।
हामीले बुझ्यौँ, समुदायको आवश्यकता नसुनी बनाइएको परियोजना टिक्दैन। स्थानीय स्वामित्व नभएको कार्यक्रम दिगो हुँदैन। बजारसँग नजोडिएको सीपले आम्दानी सिर्जना गर्दैन। सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य नभए विकासको प्रभाव सीमित हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा—समुदायलाई परियोजनाको ‘लाभग्राही’ मात्र होइन, परिवर्तनको साझेदार बनाउनुपर्छ।
मेरो सबैभन्दा ठूलो सिकाइ
तीन दशकपछि मैले बुझेको कुरा सरल छ—विकास मानिसका लागि गरिने काम मात्र होइन; मानिससँग मिलेर गरिने काम हो। गाउँलेलाई बोलाएर उनीहरूको समस्या सुन्नु एउटा कुरा हो। उनीहरूकै बीचमा बसेर उनीहरूको दृष्टिकोणबाट समस्या बुझ्नु अर्को कुरा हो। त्यसैले गाउँ जानु मेरो लागि औपचारिक फिल्ड भिजिट थिएन। त्यो सिक्ने प्रक्रिया थियो।
कहिलेकाहीँ धुलाम्मे बाटो, कहिलेकाहीँ वर्षाको हिलो, कहिलेकाहीँ लामो पैदल यात्रा—तर ती यात्राले मलाई किताबले नदिएको ज्ञान दिए। आज पनि कुनै गाउँमा पुग्दा मलाई कार्यालयको अनुभवभन्दा गाउँको अनुभव बढी सम्झना आउँछ। कुनै किसानले दिएको सल्लाह, कुनै आमाले सुनाएको जीवनकथा, कुनै युवाले व्यक्त गरेको सपना—यी नै मेरो व्यावसायिक यात्राका वास्तविक प्रमाणपत्र हुन्।
गैससमा ३० वर्षभन्दा बढी समय बिताएर मैले एउटा कुरा सिकेको छु, परिवर्तन कागजमा लेखेर आउँदैन। परिवर्तन मानिसको सोच, व्यवहार, क्षमता र सामूहिक प्रयासबाट आउँछ। त्यसैले मेरो लागि गैसस केवल जागिर थिएन। यो सामाजिक विश्वविद्यालय थियो। त्यहाँ पदभन्दा अनुभव ठूलो थियो, परियोजनाभन्दा मानिस महत्वपूर्ण थिए र प्रतिवेदनभन्दा समुदायको मुस्कान ठूलो उपलब्धि थियो। गाउँ मेरो पाठशाला थियो, समुदाय मेरा शिक्षक थिए र तीन दशकभन्दा बढीको यात्रामा मेरो जीवनकै सबैभन्दा ठूलो सिकाइ त्यहीँ थियो।
परियोजना सकियो, समस्या सकिएन
गैरसरकारी संस्था अर्थात् गैससको क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेपछि गैससको प्रशंसा मात्र गरेर बस्न पनि सकिँदैन। आलोचना सुन्नुपर्छ, आफ्नै कामलाई पनि प्रश्न गर्नुपर्छ र आफूले गरेका कमजोरी स्वीकार गर्नुपर्छ। किनभने विकासको क्षेत्रमा काम गर्ने मानिसले अरूलाई मात्र प्रश्न गर्ने अधिकार राख्दैन। उसले आफूलाई पनि प्रश्न गर्नुपर्छ।
हामीले गाउँमा गएर धेरै परियोजना सञ्चालन गर्यौँ। तालिम दियौँ, समूह बनायौँ, गोष्ठी गर्यौँ, बैठक गर्यौँ, प्रतिवेदन लेख्यौँ। कतिपय ठाउँमा राम्रो परिणाम पनि आयो। तर एउटा प्रश्नले मलाई लामो समयदेखि पछ्याइरहेको छ—परियोजना सकिएपछि समस्या पनि सकियो त? उत्तर सधैँ सकारात्मक छैन।
गतिविधि धेरै, परिणाम कति? गैससमा काम गर्दा हामीले ‘कति तालिम भयो’, ‘कति जना सहभागी भए, कति बैठक भए, कति सामग्री वितरण भयो भनेर उपलब्धि मापन गर्ने बानी बसायौँ। तर विकासको वास्तविक प्रश्न फरक छ। तालिमपछि कति जनाले रोजगारी पाए? कति जनाले व्यवसाय शुरु गरे? किसानको आम्दानी कति बढ्यो? महिलाको निर्णय गर्ने क्षमता कति बढ्यो? युवाले विदेश जानुको सट्टा गाउँमै अवसर पाए कि पाएनन्? स्थानीय संस्था परियोजना सकिएपछि पनि चल्यो कि चलेन? यी प्रश्नको उत्तर खोज्न अलि गाह्रो हुन्छ।
त्यसैले कहिलेकाहीँ गतिविधि सजिलो र परिणाम कठिन हुन्छ। प्रतिवेदनमा १०० जना प्रशिक्षित भनेर लेख्न सजिलो छ तर ती १०० जनाको जीवनमा के परिवर्तन भयो भनेर प्रमाणित गर्न कठिन छ। हामीले कहिलेकाहीँ सजिलो बाटो रोज्यौँ कि?
थोक समस्या, खुद्रा परियोजना
गाउँको समस्या तीन वर्षको हुँदैन। गरिबी पाँच वर्षको परियोजनामा समाप्त हुँदैन। बेरोजगारी १८ महिनाको परियोजनाले समाधान गर्दैन। कृषि बजार, सिंचाइ, शिक्षा, स्वास्थ्य, उद्यम र सामाजिक विभेदजस्ता समस्या दशकौँदेखि छन्। तर हाम्रो परियोजना प्रायः दुई तीन वर्षको हुन्छ।
परियोजना शुरु हुन्छ। कर्मचारी नियुक्त हुन्छन्। कार्यालय खुल्छ। बैठक हुन्छ। तालिम हुन्छ। केही उपलब्धि देखिन्छ। परियोजना समाप्त हुन्छ। कर्मचारी अन्यत्र जान्छन्। तर समुदायको समस्या त्यहीँ रहन्छ। यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ—हामीले परियोजना समाप्त गर्यौँ कि समस्या समाधान गर्यौँ? दुवै एउटै कुरा होइनन्।
दाताको प्राथमिकता र समुदायको प्राथमिकता
गैससमा अर्को चुनौती पनि छ, दाताको प्राथमिकता र समुदायको वास्तविक आवश्यकताबीचको दूरी। कहिलेकाहीँ गाउँलाई सिंचाइ चाहिएको हुन्छ, तर परियोजनाको बजेट सीप विकासमा हुन्छ। किसानलाई बजार चाहिएको हुन्छ, तर कार्यक्रम उद्यमशीलता तालिममा केन्द्रित हुन्छ। युवालाई रोजगारी चाहिएको हुन्छ, तर हामी तीन दिने उद्यमशीलता अभिमुखीकरण गराएर फर्किन्छौँ।
कागजमा सबै राम्रो देखिन्छ। तर गाउँलेको प्रश्न हुन्छ-अब काम कहाँ गर्ने? यही प्रश्नले विकासको वास्तविक अर्थ सम्झाउँछ। सीप आवश्यक छ, तर सीपसँगै रोजगारी चाहिन्छ। रोजगारी छैन भने उद्यमको अवसर चाहिन्छ। उद्यमका लागि बजार चाहिन्छ। बजारका लागि पूर्वाधार चाहिन्छ। वित्त चाहिन्छ। प्रविधि चाहिन्छ। नीति र संस्थागत सहयोग चाहिन्छ। त्यसैले एउटा तालिमले बेरोजगारी समाधान गर्दैन। एउटा परियोजनाले सबै खाले विकास गर्दैन।
युवालाई सीप मात्र होइन, अवसर चाहिन्छ
आज नेपालका गाउँमा युवाको सबैभन्दा ठूलो प्रश्न रोजगारी र भविष्यसँग जोडिएको छ। धेरै युवा गाउँ छाडिरहेका छन्। युवालाई सीप सिक भन्न सजिलो छ। तर सीप सिकेपछि उसले काम कहाँ पाउँछ?
कृषि आधुनिक बनाउने हो भने प्रविधि चाहिन्छ। प्रविधि प्रयोग गर्न ज्ञान चाहिन्छ। व्यवसाय गर्न वित्त चाहिन्छ। उत्पादन बेच्न बजार चाहिन्छ। बजारसम्म पुग्न सडक र डिजिटल पहुँच चाहिन्छ। व्यवसाय टिकाउन नीति र संस्थागत सहयोग चाहिन्छ। त्य
सैले युवा रोजगारीको समस्या समाधान गर्न गैसस, सरकार, निजी क्षेत्र, वित्तीय संस्था, सहकारी र समुदायबीच साझेदारी आवश्यक छ। केवल सीप विकासको परियोजनाले युवाको भविष्य बदल्न सक्दैन।