‘फेसबुक चलाएर पनि पैसा कमाउन सकिन्छ रे!’
पछिल्लो समय यस्ता कुरा नसुन्ने सायदै कोही होला।
केही समयअघि एउटा चिया पसलमा गएको थिएँ। त्यहाँ केही मानिसहरू आपसमा कुराकानी गरिरहेका थिए।
कुराकानीको विषय पनि यही थियो।
कोही भन्दै थिए, ‘अहिले टिकटक चलाएर मात्र के गर्नु, फेसबुकमा त मज्जाले पैसा आउँछ रे। भिडिओ हाल्ने, भ्युज बढाउने अनि डलर कमाउने!’
उनीहरूको कुराकानी सुन्दा लाग्यो, फेसबुक अहिले केवल साथीभाइसँग जोडिने, फोटो राख्ने वा समय बिताउने माध्यम मात्र रहेनछ, धेरैका लागि पैसा कमाउने नयाँ सम्भावनासमेत बनेको रहेछ।
वास्तवमा अहिले सामाजिक सञ्जालको संसार निकै बदलिएको छ। हिजोसम्म आफ्ना खुसी, दुःख, अनुभव र दैनिक गतिविधि बाँड्ने माध्यमका रूपमा प्रयोग भइरहेको फेसबुक आज धेरैका लागि आम्दानीको स्रोत बन्ने सम्भावना बोकेर आएको छ।
कसैले आफ्नो प्रतिभा देखाइरहेका छन्, कसैले व्यवसाय प्रवर्द्धन गरिरहेका छन्, त कसैले ज्ञान र सूचना बाँडिरहेका छन्। तर यही भीडमा भ्युज र आम्दानीको लोभमा जे पनि सामग्री बनाउने, अरूको निजी जीवनलाई सार्वजनिक गर्ने, झुटा सूचना फैलाउने र मानवीय संवेदनासमेत बिर्सने प्रवृत्ति पनि देखिन थालेको छ।
कहिलेकाहीँ फेसबुक स्क्रोल गर्दै जाँदा एउटै प्रश्न मनमा आउँछ, हामी सामाजिक सञ्जाललाई आफ्नो क्षमता, सिर्जनशीलता र सम्भावना विस्तार गर्ने माध्यम बनाइरहेका छौँ कि भ्युज र पैसाको दौडमा यसको वास्तविक उद्देश्य नै बिर्सिरहेका छौँ? आखिर पैसा कमाउने अवसर प्राप्त हुँदैमा हामीले आफ्नो विवेक, जिम्मेवारी र मानवीय संवेदनालाई पनि बिर्सनुपर्ने हो र?
सामाजिक सञ्जालबाट आम्दानी गर्ने कुरा नयाँ होइन। युट्युबबाट भिडियो बनाएर पैसा कमाउने चलन धेरै पहिलेदेखि नै थियो। त्यसपछि टिकटक लोकप्रिय हुँदै गएसँगै धेरै मानिस आफ्नो प्रतिभा देखाउन र दर्शकमाझ पुग्न आकर्षित भए। विशेषगरी कोरोना महामारी र लकडाउनको समयमा मानिसहरू घरमै सीमित हुँदा टिकटक धेरैका लागि सिर्जनशीलता देखाउने माध्यम बन्यो।
कसैले घरमै अचार बनाएर देखाए, कसैले खाना पकाउने तरिका सिकाए, कसैले नाचगान गरे भने कसैले सामान्य दैनिक जीवनका रमाइला गतिविधि प्रस्तुत गरे। कतिपय मानिस सामान्य बोलीचाली र आफ्नै मौलिक शैलीका कारण चर्चित भए।
त्यतिबेला सामाजिक सञ्जालमा चिनिएका कतिपय व्यक्ति अहिले व्यवसाय, चलचित्र र मोडलिङ क्षेत्रमा समेत स्थापित भएका छन्। यसले सामाजिक सञ्जालको शक्ति र सम्भावना कति ठूलो छ भन्ने देखाउँछ।
फेसबुकको सामग्री मोनिटाइजेसन सुविधा नेपालमा उपलब्ध भएपछि यसबारे चर्चा झन् बढेको छ। सुरुमा धेरैलाई आफ्नो प्रोफाइल वा पेज कसरी मोनिटाइज हुन्छ, त्यसका मापदण्ड के हुन् र आम्दानी गर्न के गर्नुपर्छ भन्ने स्पष्ट जानकारी थिएन।
बिस्तारै यसबारे जानकारी दिने भिडियोहरू आउन थाले। कतिपयले फेसबुकबाट दिनमै यति कमाइ हुन्छ, महिनामा उति कमाइ हुन्छ भन्दै मानिसहरूलाई आकर्षित गर्न थाले। अरूले पैसा कमाएको देखेपछि धेरै मानिस यसतर्फ आकर्षित हुनु स्वाभाविक पनि हो।
कतिपयले मोनिटाइजेसनको प्रक्रिया बुझेर आफ्नो प्रोफाइलमा नियमित सामग्री राख्न थाले भने कतिपय अझै पनि यसको वास्तविक प्रक्रिया र सम्भावनाबारे अन्योलमा छन्।
यसका सकारात्मक पक्षलाई भने हामीले बिर्सनु हुँदैन। अहिले सामाजिक सञ्जालमा गाउँघरका मौलिक जीवनशैली झल्काउने सामग्री प्रशस्तै देख्न पाइन्छ। हुम्ला, जुम्लालगायत दुर्गम ठाउँका मानिसहरूले खेतबारीमा काम गरिरहेका, दाउराको आगोमा खाना पकाइरहेका, परम्परागत जीवनशैली अपनाइरहेका र आफ्ना दैनिक गतिविधि प्रस्तुत गरिरहेका दृश्यले धेरैको ध्यान खिचेका छन्।
सहरमा बस्ने वा विदेशमा रहेका मानिसले आफ्नै गाउँठाउँको परिवेश हेर्न र सम्झन पाएका छन्। यस्ता सामग्रीले स्थानीय संस्कृति, रहनसहन र मौलिक पहिचानलाई चिनाउन मद्दत गरेका छन्।
त्यस्तै, कसैले सूचना प्रविधिबारे सिकाइरहेका छन्, कसैले शृङ्गारका तरिका देखाइरहेका छन् भने कसैले विभिन्न ठाउँका पर्यटकीय स्थल, खानपान र विशेषताबारे जानकारी दिइरहेका छन्। गीतसङ्गीत, नृत्य, खाना पकाउने तरिका, जीवनोपयोगी सीप र शैक्षिक सामग्रीले पनि मानिसलाई नयाँ कुरा सिक्ने अवसर दिएका छन्। सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभएर ज्ञान, सूचना र अनुभव आदानप्रदान गर्ने खुला मञ्च बनेको छ।
यसले साना व्यवसायलाई समेत ठूलो बजार दिएको छ। गाउँको सानो व्यवसायले आफ्नो उत्पादन सामाजिक सञ्जालमार्फत देशविदेशसम्म पुर्याउन सक्छ। स्थानीय परिकार, हस्तकलाका सामग्री, लुगा, पर्यटन तथा विभिन्न सेवाको प्रचार गर्न पहिलेको जस्तो ठूलो लगानी आवश्यक पर्दैन। यसले रोजगारी र आम्दानीका नयाँ सम्भावना सिर्जना गरेको छ। सामाजिक सञ्जालले सामाजिक तथा राजनीतिक परिवर्तनका आवाजलाई समेत व्यापक रूपमा फैलाउन मद्दत गरेको हामीले आफ्नै देशमा देखेका छौँ। त्यसैले यसको शक्ति र महत्त्वलाई अवमूल्यन गर्न मिल्दैन।
तर, प्रश्न यसको प्रयोग कसरी भइरहेको छ भन्ने हो।
पछिल्लो समय धेरै भ्युज पाउने, सामग्री भाइरल बनाउने र आम्दानी बढाउने होडमा कतिपयले सामग्रीको गुणस्तर र सामाजिक उत्तरदायित्वलाई भन्दा दर्शकको ध्यान तान्नुलाई प्राथमिकता दिएको देखिन्छ। अरूको सामग्री काटछाँट गरेर राख्ने, एउटै कुरा पटकपटक दोहोर्याउने, कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर भ्रामक सामग्री बनाउने र क्षणिक लोकप्रियताका लागि जे पनि प्रस्तुत गर्ने प्रवृत्ति बढिरहेको छ। प्रविधिको प्रयोग आफैँमा गलत होइन। तर त्यसको प्रयोग सिर्जनशीलता बढाउन भइरहेको छ कि अरूलाई झुक्याएर भ्युज बटुल्न भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
अझ निजी जीवनका हरेक गतिविधिलाई सामग्री बनाउने प्रवृत्तिबारे पनि सोच्नुपर्ने बेला आएको छ। बिहान उठेदेखि राति सुत्ने बेलासम्मका सामान्य गतिविधि सार्वजनिक गरिन्छन्।
आफ्नो अनुभव, खुसी र रमाइला क्षण बाँड्नु स्वाभाविक हो। तर मोनिटाइजेसनको लोभमा आफ्नो निजी जीवन, पारिवारिक सम्बन्ध र व्यक्तिगत गोपनीयतासमेत सार्वजनिक गर्न थालियो भने त्यसले भविष्यमा कस्तो प्रभाव पार्ला? आफ्नो जीवन देखाउने अधिकार सबैलाई छ, तर त्यसको अर्थ जीवनका हरेक कुरा सार्वजनिक गर्नैपर्छ भन्ने होइन।
यसको सबैभन्दा संवेदनशील पक्ष भनेको अरूको दुःख र पीडालाई सामग्री बनाउनु हो। अस्पतालको शय्यामा छटपटाइरहेका बिरामी, जीवनको अन्तिम अवस्थामा रहेका व्यक्ति र शोकमा डुबेका परिवारका दृश्यसमेत सामाजिक सञ्जालमा राखिएका देखिन्छन्।
कतिपय अवस्थामा मृत्यु भएको पुष्टि नहुँदै श्रद्धाञ्जली लेख्ने हतार हुन्छ। अन्तिम संस्कार भइरहेका बेला वा घाटमा पार्थिव शरीर जलाइरहेको दृश्यसमेत सार्वजनिक गरिन्छ।
कसैको दुःखमा साथ दिनु र उसको दुःखलाई भिडियो बनाएर सार्वजनिक गर्नु एउटै कुरा होइन। शोकमा रहेको परिवारको अनुमति, मृतकको सम्मान र आफन्तको भावनाबारे सोच्नु आवश्यक छैन र?
कुनै दृश्यले धेरै भ्युज पाउँछ भन्दैमा त्यसलाई सार्वजनिक गर्नु उचित हुँदैन। कहिलेकाहीँ भिडियो नखिच्नु, पोस्ट नगर्नु र अरूको दुःखलाई निजी नै रहन दिनु पनि मानवीय संवेदनाको सम्मान हो।
सामाजिक सञ्जालमा गालीगलौज, अपमान र चरित्रहत्याको प्रवृत्ति पनि उत्तिकै चिन्ताजनक छ। राजनीतिज्ञ, मन्त्री, सांसद वा सार्वजनिक पदमा रहेका व्यक्तिको कामको आलोचना गर्नु नागरिकको अधिकार हो। उनीहरूलाई प्रश्न गर्नु र जवाफदेही बनाउन खोज्नु लोकतन्त्रको महत्त्वपूर्ण पक्ष हो। तर आलोचना गर्नु र तथानाम गाली गर्नु एउटै कुरा होइन।
पत्रकारिता क्षेत्रमा काम गर्ने केही व्यक्तिहरूसँग कुराकानी गर्दा पनि यस्तै विषय उठेको थियो। उनीहरूको भनाइमा, पहिले सार्वजनिक रूपमा बोल्दा वा सामग्री प्रस्तुत गर्दा सम्भावित प्रतिक्रियाबारे केही हदसम्म सचेत हुने गरिन्थ्यो।
अहिले भने कतिपयले गालीगलौज र उत्तेजक टिप्पणीबाट समेत दर्शकको ध्यान तान्ने र त्यसैबाट आम्दानी गर्ने प्रवृत्ति देखाउन थालेका छन्। पैसा आउँछ भन्दैमा समाजलाई उत्तेजित बनाउने, अपमानजनक भाषा प्रयोग गर्ने र मानवीय मर्यादा बिर्सने कुरालाई सामान्य मान्न सकिँदैन।
अर्कोतर्फ, हामीले विश्वसनीय ठानेका मूलधारका सञ्चारमाध्यमको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिले टिकटक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमा व्यक्तिले राखेका भिडियोहरू काटछाँट गरेर समाचार बनाउने प्रवृत्ति देखिन्छ। कतिपय अवस्थामा सन्दर्भबाट अलग गरिएको भिडियोका आधारमा व्यक्तिलाई दोषी देखाउने वा गलत बुझाइ सिर्जना गर्ने सामग्रीसमेत प्रकाशित हुन्छन्।
पछि तथ्य जाँच गर्दा समाचार गलत भएको पुष्टि भएपछि माफी माग्नुपर्ने अवस्था आउँछ। मूलधारका सञ्चारमाध्यमले नै विश्वसनीयता र तथ्य जाँचभन्दा भ्युज तथा लोकप्रियतालाई प्राथमिकता दिन थाले भने त्यसले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउँछ। सञ्चारमाध्यमको जिम्मेवारी सूचना सम्प्रेषण गर्नु मात्र होइन, सत्यता, सन्दर्भ र निष्पक्षता कायम राख्नु पनि हो।
त्यस्तै, अरूको नाम र तस्बिर प्रयोग गरेर नक्कली पेज बनाउने, प्रलोभन देखाउने र व्यक्तिगत विवरण वा पैसा ठगी गर्ने घटनाले पनि सामाजिक सञ्जालप्रतिको विश्वास कमजोर बनाएका छन्। झुटा समाचार र भ्रामक जानकारी फैलिँदा त्यसको असर एउटा व्यक्तिमा मात्र सीमित रहँदैन, समाजमा समेत भ्रम र अविश्वास सिर्जना हुन्छ। त्यसैले कुनै कुरा देख्नेबित्तिकै सत्य मानेर साझा गर्नुभन्दा त्यसको स्रोत र विश्वसनीयता जाँच गर्नु आवश्यक छ।
यद्यपि यी सबै समस्याको दोष मोनिटाइजेसनलाई मात्र दिएर समाधान खोज्न सकिँदैन। यस्ता प्रवृत्ति सामाजिक सञ्जालबाट आम्दानी गर्ने सुविधा आउनुअघि पनि थिए। मोनिटाइजेसनले कतिपय अवस्थामा छिटो लोकप्रिय हुने र धेरै आम्दानी गर्ने होडलाई बढावा दिएको हुन सक्छ। तर त्यसको पछाडि हाम्रो सोच, दर्शकको रुचि र सामाजिक जिम्मेवारीको भावना पनि जोडिएका छन्।
हामीले कस्तो सामग्री हेर्छौँ, कुन सामग्रीमा प्रतिक्रिया दिन्छौँ र केलाई साझा गर्छौँ भन्ने कुराले पनि सामग्री सिर्जना गर्ने प्रवृत्तिलाई प्रभाव पार्छ। गालीगलौज, अपमानजनक भिडियो र अरूको दुःखलाई मनोरञ्जन बनाउने सामग्रीलाई हामीले नै बारम्बार प्राथमिकता दियौँ भने त्यस्ता सामग्री बनाउनेहरू थप प्रोत्साहित हुन सक्छन्।
मानिसहरूले पैसा कमाउन चाहनु स्वाभाविक हो। तर पैसा कमाउने माध्यम धेरै छन्। कसैले व्यापार गरेर, कसैले आफ्नो सीप प्रयोग गरेर र कसैले सिर्जनशील सामग्री बनाएर आम्दानी गर्न सक्छ। फेसबुकबाट आम्दानी गर्न सकिन्छ भन्दैमा बस्नेबित्तिकै पैसा आउन थाल्छ भन्ने सोच राख्नु उचित होइन। यसका लागि समय, मेहनत, मौलिकता, निरन्तरता र दर्शकको विश्वास आवश्यक हुन्छ।
कतिपय मानिसले मोनिटाइजेसनबारे खासै जानकारी नहुँदा पनि आफ्नो मौलिक सामग्रीका कारण लोकप्रियता र आम्दानी हासिल गरेका छन् भने कतिपय दिनरात त्यसकै पछि लाग्दा पनि अपेक्षित सफलता पाउन सकेका छैनन्। यसले पैसा कमाउने होडभन्दा पनि आफूले प्रस्तुत गर्ने सामग्रीको गुणस्तर र मौलिकता महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ।
यसमा दर्शक, सामग्री निर्माता, सञ्चारमाध्यम र सम्बन्धित निकाय सबैको जिम्मेवारी छ। गलत सूचना, ठगी, मानहानि, गोपनीयता उल्लङ्घन र धम्कीपूर्ण गतिविधि नियन्त्रण गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ। साथै डिजिटल साक्षरता बढाउनु र सामाजिक सञ्जाल प्रयोग गर्दा तथ्य जाँच गर्ने, अरूको गोपनीयता सम्मान गर्ने तथा जिम्मेवार व्यवहार अपनाउने संस्कार विकास गर्नु आवश्यक छ।
अन्ततः फेसबुक मोनिटाइजेसन आफैँमा खराब होइन। यसले सिर्जनशील व्यक्तिलाई आम्दानी गर्ने, गाउँघरका मौलिक कुरा संसारभर चिनाउने, ज्ञान बाँड्ने र साना व्यवसाय विस्तार गर्ने अवसर दिएको छ। तर आम्दानीको लोभमा आफ्नो मौलिकता, मर्यादा र अरूको सम्मान गुमाउनु उचित होइन। सामाजिक सञ्जालको शक्ति ठूलो छ, तर त्यसलाई सही दिशामा प्रयोग गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो।
प्रश्न फेसबुक मोनिटाइजेसन चाहिन्छ कि चाहिँदैन भन्ने मात्र होइन; हामी त्यसको प्रयोग कसरी गरिरहेका छौँ भन्ने हो। पैसा कमाउनु सफलता हो, तर अरूको सम्मान, गोपनीयता र मानवीय संवेदना जोगाउँदै पैसा कमाउन सक्नु अझ ठूलो उपलब्धि हो। प्रविधि आधुनिक हुँदैमा मात्र समाज आधुनिक हुँदैन। त्यसलाई प्रयोग गर्ने हाम्रो सोच, चेतना र व्यवहार पनि सभ्य, जिम्मेवार र मानवीय बन्न आवश्यक छ।