मानिसको जीवनमा घर केवल बसोबास गर्ने ठाउँ मात्र हुँदैन।
घरसँग उसका बाल्यकालका सम्झना, पारिवारिक सम्बन्ध, दुःखसुख, संघर्ष, सफलता, सामाजिक प्रतिष्ठा र पहिचान जोडिएका हुन्छन्।
सिवाँको हाम्रो घर पण्डित खडानन्द बरालले विक्रम संवत् १९६४ सालमा निर्माण गर्नुभएको घरको खम्बामा उल्लेख गरेको मितिबाट थाहा हुन्छ। तत्कालीन निर्माण शैलीअनुसार लेकको चाँपको काठबाट बलिया जोर थाम, वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्ने लामालामा चिलाउनेका बिम र निदाल, ढुङ्गा माटोको गारो, खरले छाइएको छानो भएको तीनतले घर हो।
समयक्रममा बराल पण्डितका परिवारले स्थानीय मानबहादुर श्रेष्ठ (दोलखे) लाई उक्त घरजग्गा बिक्री गरेर तराईतिर बसाइँ सर्नुभयो। मानबहादुर श्रेष्ठले खरिद गरेको घर जग्गामा मेरो समेत हक लाग्ने भएकाले मलाई नसोधी बिक्री गरिएको घर जग्गामा मेरो हक कायम हुनुपर्ने दाबीसहित भिमप्रसाद बरालले मालपोत कार्यालयमा निवेदन दिएँ। जग्गा पास गर्दाको रकम मालपोत कार्यालयमा धरौटी राखेर आफ्नो हकदाबी प्रस्तुत गरेको थिएँ। त्यसपछि मालपोत कार्यालयले भीमप्रसाद बरालको हक कायम गरिदियो।
विक्रम संवत् २०३२ साल चैत १ गते राति हाम्रो परिवारका लागि अत्यन्त दुःखद् दिन बन्यो। अचानक हाम्रो घरमा आगलागी भयो। घर मात्र जलेन, जीवन निर्वाहका लागि वर्षौँदेखि बुवाआमाले दु:खका साथ थालनी गरेको दोकानका सम्पूर्ण सरसामान, अन्नपात, लत्ताकपडा, ओढ्ने–ओछ्याउने र घरायसी सामग्रीसमेत आगोको लपेटामा परे।
एकैपटक सबै गुमाउँदा हाम्रो परिवार घरबारविहीन बन्न पुग्यो। बस्ने घर थिएन, घरमा प्रयोग गर्ने सामान थिएनन् र तत्काल नयाँ घर बनाउने आर्थिक अवस्था थिएन। त्यही अप्ठ्यारो परिस्थितिमा भीमप्रसाद बरालले मानवीय सद्भाव देखाउँदै भर्खरै हक कायम गरेको आफ्नो घर खाली रहेकोले त्यहीँ आएर बस्नु भन्नुभयो। उहाँको प्रस्ताव हाम्रो परिवारका लागि ठूलो सहारा बन्यो। त्यसपछि हामी त्यही घरमा सरेर बस्यौँ। करिब चार रोपनी जग्गा सहित घरको प्रयोग गर्ने र त्यसबापत वार्षिक ३० पाथी कोदो कुत बुझाउने सहमति भयो।
हामी चैत ३ गतेदेखि नै उक्त घरमा सरेर बस्न थाल्यौं। ७ गते हाम्रो अन्तरे भाइको जन्म भयो। आगलागीमा घरका सम्पूर्ण सामान जलेर नष्ट भएकाले हामीसँग अरूले दिएका ओढ्ने–ओछ्याउने मात्र थिए। भाइ अन्तरे जन्मिएको बेला आमाले परालमाथि सुताउनु भएको रे। नवजात शिशुलाई न्यानो कपडा र ओछ्यानको व्यवस्था गर्न नसक्ने त्यो अवस्थाको सम्झना गर्दा आज पनि मन भावुक हुन्छ। एउटा परिवारका लागि सन्तानको जन्म खुसीको क्षण हुनुपर्ने हो, तर हाम्रो परिवारमा त्यो खुसीसँगै अभावले पीडा महसुस भयो।
लिङ्खिम-९ सिवाँमा रहेको: एकता, पहिचान र आश्रयको घर
त्यो घरमा आश्रय लिन पुग्दा म चार वर्ष आठ महिनाको थिएँ। पाचभाइ दाजुभाइ र एक बहिनी थियौं। त्यही घरमा अर्को एकभाइ (कान्छो भाइ) को पनि जन्म भयो। घर कम्पाउण्ड फराकिलो थियो। दसैं, तिहारमा टीका लगाउन लाइन लागेर वारपार बस्न अटिन्थ्यो। परिवारका सदस्य मात्र पनि कहिलेकाहीँ घरभित्र नै नाचगान पनि गर्थ्यौं। पुरानो शैलीले निर्माण भएकोले भित्री भागमा कोठाहरू थिएनन्। कोठाहरू बनाउन घरको गारो बीच-बीचमा फुटाएर पुरानो संरचनालाई समय र आवश्यकता अनुसार परिमार्जन गर्दै ढोका खोलियो। कोठाहरू बनाएर परिवारका सदस्यहरू अलग-अलग सुत्न र बस्न मिल्ने व्यवस्था गरियो।
बुवा शिक्षक हुनुहुन्थ्यो भने आमा गृहिणी। आमाको माया, मेहनत र घरव्यवहार सञ्चालन गर्ने क्षमताले परिवारलाई एकताबद्ध राखेको थियो। अभाव र कठिनाइका बीच पनि हामी त्यही घरमा हाँसीखुसी बस्न थाल्यौँ। ठूलो आँगन छेउमा फूलबारी रहेको। गाउँ घरमा कुनै विकास निर्माण सम्बन्धी छलफल गर्नु परेमा वा कसैको झै झगडा भएमा छलफल गर्नु परेमा हाम्रै आँगनमा भेला भएर छलफल हुन थाल्यो। बैठकका कागज एवं मिलापका कागज जे लेख्नु पर्थ्यो त्यो बुवाले लेखिदिनु हुन्थ्यो। बुवा शिक्षक मात्र हैन एक सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो।
बुवा अन्यायका विरूद्ध नझुक्ने, आफ्नो अडानमा दृढ रहने र कसैको अनुचित दबाब स्वीकार नगर्ने स्वभावको व्यक्ति हुनुहुन्थ्यो। नजिकका साहु–महाजनहरूले अन्यायपूर्ण व्यवहार गर्न खोज्दा उहाँले ठाडो जबाफ दिनुहुन्थ्यो। सामान्ती सोचका एक छिमेकी बरालले दु:ख दिने नियतले एकपछि अर्को झूटा आरोप लगाएर बुवालाई विभिन्न प्रकारका मुद्दा लगाए तर ती झुटा आरोपका मुद्दा भएकोले सबै मुद्दा बुवाले नै जित्नु भयो।
बुवाले २०३२ सालमा किनेको फेसेवाको ४ मुरी धान फल्ने खेत हडपेर उपभोग गरे त्यो पनि २०४२ सालमा खोसेर लियौ। उहाँको त्यही स्वभावका कारण हाम्रो घर अन्यायका विरूद्ध आफ्नो कुरा राख्ने र आत्मसम्मानपूर्वक बाँच्ने साहसको प्रतीक बन्यो।
घर केवल हाम्रो परिवारका लागि आवास मात्र थिएन। ओलाङ्चुङगोला जाने तमोरखोला क्षेत्रको मुख्य बाटो हाम्रो घरको आँगन हुँदै जाने हुँदा त्यही बाटोबाट हिँड्ने बटुवाहरूका लागि पानी पिउने, केहीबेर थकाइ मार्ने र साँझ परेको भए बास बस्ने ठाउँसमेत बन्यो। कहिले काहीँ अपरिचित यात्रुहरू पनि आवश्यक पर्दा घरमा आइपुग्थे।
सिवाँ बजारमा इलाका स्तरका सरकारी कार्यालयहरू खुले। स्कुल पनि माध्यमिक तहसम्म चल्न थाल्यो। ती कार्यालयमा कार्यरत धेरै कर्मचारी एवं शिक्षकहरू बिहानको चिया पिउने दिउँसोको खाजा खान जमघट पनि नियमित नै बन्न पुग्यो। हिउँद महिनामा नजिकका धारा पँधेरा धेरै साना भएकोले पालो कुरेर पानि ल्याउनु पर्ने हुँदा नजिकको तमोर नदीबाट पानि ल्याएर खानेपानीको व्यवस्था गरिन्थ्यो। यसरी पानी लिन जाँदा जन्मदा परालमा सुताएको अन्तरे भाइ सर्दै गएर अगेनाको भूत भुतेमा दुवै खुट्टा हालेर पैतालामा फोका उठेका थिए।
हाम्रो आर्थिक अवस्था कमजोर थियो। छोराछोरीको पालनपोषण तथा शिक्षादिक्षाको कठिनाइ भएकोले घरको कोठा भाडामा लगाइयो। सिवाँको खाद्य डिपोका हाकिम (खरिदार) करिब दुई वर्षसम्म भाडामा बस्नुभयो। त्यसैगरी केयर नेपाल मार्फत निर्माण हुने सिवाँको झोलुङ्गे पुल निर्माण गर्न ओभरसियर रञ्जन शर्माले पनि आवास र गोदामसमेतका लागि घर भाडामा लिनुभयो।
घर भाडाले छोराछोरीको पढाइ र घरव्यवहार सञ्चालन गर्न महत्त्वपूर्ण सहयोग पुग्यो। माइलो साइलो भाइहरूले एसएलसी दिएपछि साहु महाजनहरूको खेत कुतमा लिएर खेती विस्तार पनि गरियो। अरूको घरमा आश्रय लिएर सुरू भएको हाम्रो बसाइँ क्रमशः आर्थिक आत्मनिर्भरताको आधार बन्न थाल्यो।
हामी सबै छोराछोरीले प्रारम्भिक शिक्षा त्यही घरमा बसेर प्राप्त गर्यौँ। निम्न माध्यमिक र माध्यमिक शिक्षा हासिल गर्न भने घरबाहिर गएर डेरा गरी बस्नुपर्ने अवस्था थियो। माध्यमिक विद्यालय पूरा गरेपछि विभिन्न पेसा र व्यवसायमा संलग्न भयौँ।
बुवाको शिक्षण पेशा छँदै थियो। म जेठो छोरा गणेश शिक्षक र जेठी बुहारी सविता निजामती सेवामा काम गरेकोले क्रमिक रूपमा आर्थिक अवस्था सुधार हुँदै गयो। २०४५ सालमा घडेरी खरिद गरेर २०४७ सालमा बिराटनगरमा सानो एक तलाको घर पनि बनाइयो। यही सिवाँको घरले शाखाको रूपमा विराटनगरमा अर्को घर जन्मियो। यसपछि माइलो रमेश, साइँलो महेश शिक्षण पेशामा, बहिनी शान्ता नागरिक उड्ड्यन प्राधिकरणमा र अन्तरे सुरेश गाविसको प्राविधिक पदमा रहेर काम गर्न थाले।
सबै जनाले आ-आफ्नो आम्दानी बुवालाइ बुझाउँथ्यौं। बुवाले दैनिक उपभोगबाट बचेको रकम पारिवारमा सल्लाह गरेर लगानी गर्नु हुन्थ्यो। विराटनगरको घर उच्च शिक्षाको लागि शैक्षिक हब बन्यो। सबै छोराछोरीहरूको लागि स्व अध्ययनबाट उच्च शिक्षाको कार्य नियमित अगाडि बढी रह्यो। यो घरमा बसेर परीक्षा दिनलाइ सजिलो भयो।
काइँलो दिनेश २०५४ सालमा लिङ्खिम गाविसको उपाध्यक्ष पदमा निर्वाचित भयो। निर्वाचित अध्यक्ष बलराम तबेबुङ, उपाध्यक्ष दिनेश अधिकारी वडा नं ८ र ९ का वडाध्यक्षहरु क्रमश भद्रबिर रेग्मी र ललितबहादुर लिम्बुले यही घरमा आएर बुवाआमासँग आशिर्वाद लिएर मात्र सफथ लिएका थिए। पढाइमा अब्बल कान्छो भाइ उमेश सरकारी छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि छनोट भएर चिन गयो। यसरी परिवारका सदस्यहरू शिक्षा, सरकारी सेवा, सामाजिक जिम्मेवारी र अन्य पेसागत क्षेत्रमा अघि बढ्न थाल्यौँ।
हाम्रो घरसँग हाम्रा व्यक्तिगत र पारिवारिक खुसीका अनगिन्ती सम्झनाहरू पनि जोडिएका छन्। जेठो, माइलो र साइँलोको विवाह गरी बुहारी त्यही घरमा भित्र्याइयो।
आफन्त, इष्टमित्र र छरछिमेकीहरूको जमघटले घरमा बाजागाजा, भोजभतेरले खुसीयालीको वातावरण छाउँथ्यो। तिनै भाइका दुई–दुई जना गरी छ जना नातिनातिनाको जन्म पनि त्यही घरमा भयो। छरछिमेकीहरूले पनि हाम्रो घरलाई लक्षिनको घर भन्न थाले।
उनीहरू भन्ने गर्थे, 'तिमीहरूका लागि यो साह्रै लक्षिनको घर रहेछ। यही घरमा बसेर तिमीहरूको राम्रो उन्नति र प्रगति भयो।'
उनीहरूको यस्तो भनाइ सुन्दा हामीलाई खुसी लाग्थ्यो। वास्तवमा घरको लक्षिनभन्दा पनि त्यस घरमा बसेर गरेको परिश्रम, आमाबुवाको त्याग, पारिवारिक एकता र शिक्षाप्रतिको लगावले परिवर्तन ल्याएको थियो। हाम्रो भविष्य, परिवारको इज्जत, प्रतिष्ठा र पहिचान त्यही घरसँग जोडिएको थियो। त्यसैले अब भाडामा मात्र बसिरहनुभन्दा आफ्नो स्वामित्वसमेत कायम गर्न पाए हुन्थ्यो भन्ने घरायसी कुरा भयो।
२०५३ सालमा पारिवारीक सल्लाह गरेर बुवाले भीमप्रसाद बरालसँग 'यतिका लामो अवधिसम्म हामी बसेको यो घर हामीलाइ किन्न दिनुहोस्' भनी प्रस्ताव गर्नुभयो।
उहाँले पूरै घर बेच्न आफू इच्छुक नभएको तर हाम्रो लामो समयदेखिको सम्बन्धलाई ध्यानमा राखेर आधा–आधा अर्थात् साझेदारीमा राख्न सकिने भन्नुभयो।
उहाँको भनाइ थियो, 'मैले २०३२ सालमा यो घर लिँदा जति मूल्य परेको थियो, त्यसको आधा रकमको बैंक ब्याजको हिसाबले पैसा दिनुहोस्, म तपाईंहरूलाई आधा घर पास गरिदिन्छु।' बुवाले त्यो प्रस्तावलाई हुन्छ भन्नुभयो।
त्यसपछि मालपोत कार्यालयमा गएर घरको आधा स्वामित्व हाम्रो परिवारको नाममा कायम गरियो। यसरी लामो समयसम्म आश्रयका रूपमा प्रयोग गर्दै आएको घरको आधा हिस्सा हाम्रो आधिकारिक स्वामित्व कायम हुन पुग्यो। त्यो हाम्रो परिवारका लागि अर्को ठूलो खुसीको क्षण हुनपुग्यो।
यसैबीच साइँली बुहारी गायत्रा पनि शिक्षण पेशामा सम्लग्न भइन्। माइली बुहारी शान्ताको माइती मोरङ जिल्लाको लेटाङमा थियो। उनले त्यहाँको सहकारी संस्थामा काम गर्न थालिन्। यसरी परिवारका सदस्यहरू कोही शिक्षण एवं नीजामती सेवामा, कोही सामाजिक र राजनीतिक जिम्मेवारीमा, कोही सहकारी क्षेत्रमा संलग्न भयौँ। परिवारका सबै सदस्यहरू काममा लागेपछि हाम्रो आर्थिक तथा सामाजिक अवस्था क्रमशः बलियो हुँदै गइरहेको थियो।
समय सधैँ एउटै गतिमा चल्दैन रहेछ। देशमा राजनीतिक अस्थिरता बढ्दै गयो। नेपाल कम्युनिस्ट पार्टी माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका कारण हाम्रो सिवाँगाउँ पनि नराम्ररी प्रभावित हुन थाल्यो। गाउँको सामाजिक वातावरण बदलियो। कहिले माओबादी त कहिले शाही सेनाको आगमनले मानिसहरूमा डर त्रास बढ्न थाल्यो। हाम्रो परिवार पनि त्यसको प्रभावबाट अछुतो रहन सकेन।
एक दिन अचानक माओबादीबाट हाम्रो परिवारसँग चन्दा माग्ने प्रस्ताव आयो। बुवाले परिस्थितिलाई सहज बनाई अनावश्यक तनावबाट बच्न केही रकम दिनु पर्ने भयो भन्नु भयो। सुरूमा कुरा सुन्दा त दु:ख गरेर कमाएको रकम किन दिने भन्ने पनि लागेको थियो तर देश भरी आतङ्क जस्तै भएकोले ठिकैछ त भन्यौ।
बुवाले किस्ताबन्दी रूपमा दिनेगरी समझदारी गरेर केही रकम दिनु भयो। तर त्यसको तीन दिनपछि फेरि माओबादी साथिहरू क-कस्को उक्साहटमा हो हामीले धान्नै नसक्ने गरी ठूलो रकम चन्दाको प्रस्ताब गरेर आए। हाम्रो आर्थिक अवस्थाले त्यति ठूलो रकम दिन सक्ने सम्भव नै थिएन। परिस्थितिले हामीलाई फेरी अत्यन्त अप्ठ्यारो मोडमा पुर्यायो। भरखर दुखजिलो गरेर दुईछाक खान थालेको हाम्रो परिवारले माग पूरा गर्न सक्ने कुनै सम्भावना नै थिएन। उनीहरूले ७ दिन भित्र तोकिएको रकम दिनु पर्ने नदिए जे पनि हुन सक्छ भनेर अल्टिमेटम समेत दिए।
बुवा बिरामी भएर उपचारको क्रममा बिराटनगर हुनुहुन्थ्यो। घरमा आमा र माध्यमिक तह अध्ययन गर्दै गरेकी सानिमाकी छोरी (बहिनी) मात्र। चन्दाको लागि पुन: थप दबाब आयो परिस्थिति झन् असहज बन्यो।
अन्ततः घर छोडेर हिड्नुको विकल्प रहेन। घर छोडेर हिड्ने निर्णय हाम्रो परिवारका लागि सामान्य थिएन। आफूले दुःख गरेर जोडेको घर, वर्षौँदेखि प्रयोग गर्दै आएको घरायसी सामग्री र दैनिक जीवनका आवश्यक वस्तुहरू त्यहीँ छोडेर आमा घरबाट निस्कनु भयो।
घरबाट निस्कँदा पनि घाँस काट्न गएको जस्तो देखाएर पटुकामा हसिया भिरेर नाम्लो डोरी बोकेर हिँड्नु भयो। आमाले भन्नु हुन्थ्यो 'घरबाट निस्के पछि दिबुङको गौतम चौताराबाट घरतिर फर्केर केही समय हेरे आसु बगाउदै घरसँग बिदा मागेर बाटो लागे'।
अन्ततः जीवन रक्षाका लागि आमाले घर र साइलो भाइ महेश र बुहारी गायत्राले शिक्षण पेशालाइ छोडेर फुङ्लिङमा रहेको डेरामा आउनु भयो।
आज सम्झँदा लाग्छ, त्यो घर ढुङ्गा, माटो, काठ र खरले बनेको संरचना मात्र थिएन। त्यो हाम्रो बाल्यकाल थियो, परिवारको पसिना एवं भविष्य थियो। आज हाम्रो परिवार जहाँ छ, जुन अवस्थामा छ, त्यहाँ पुग्नमा त्यो घरको ठूलो योगदान छ। आगलागीपछि भीमप्रसाद बरालले हामीलाइ आश्रय दिएको सद्भावको प्रतिक थियो।
अहिले हामी त्यो घरमा त छैनौ तर हरेक चडपर्वमा त्यो घरमा हुदाँको रमाइलो सम्झन्छौं। विदेश गएका हुन् वा जिल्ला बाहिर भएकाहरू हुन् ताप्लेजुङ जाँदा सिवाँको हाम्रो घर भनेर त्यहा पुगेर नमस्कार गर्ने नित्य कर्म जस्तै भएको छ।
हाम्रो संघर्षको इतिहास, सफलताको आधार र पारिवारिक पहिचानको अमूल्य धरोहरको रुपमा मौन साक्षी बनेर सिवाँको हाम्रो घर अहिलेसम्म ठिङ्ग उभिएको छ। सम्झनामा जन्म घर।