कहिलेकाहीँ जीवनले हामीलाई त्यस्तो मोडमा ल्याइपुर्याउने रहेछ, जहाँ मनले एउटा कुरा चाहन्छ तर परिस्थितिले अर्कै निर्णय गर्न बाध्य बनाउँछ।
आमाबुबालाई बुढेसकालमा आफ्नै घरमा राखेर सेवा गर्ने इच्छा कसको हुँदैन र? इच्छा मात्र पर्याप्त हुँदैन रहेछ। समय, स्वास्थ्य, रोजगारी, परिवार, दूरी र बदलिँदो सामाजिक संरचनाले चाहनालाई पनि सीमित बनाइदिँदो रहेछ।
सुगरको समस्यासँगै बिस्तारै आमाको स्मरणशक्ति कमजोर हुने, एउटै कुरा दोहोर्याउने, रातभर नसुत्ने र सामान्य व्यवहारमा परिवर्तन आउनेजस्ता समस्या देखिन थाले। चिकित्सकीय रूपमा डिमेन्सिया वा अल्जाइमर हो कि होइन भन्ने विषय विशेषज्ञको परीक्षणको विषय हो, तर परिवारका लागि त्यो अवस्था अत्यन्त कठिन थियो। आमालाई रातभर साथ दिनुपर्ने, उहाँको सुरक्षा र औषधिको ख्याल गर्नुपर्ने अवस्था बढ्दै गयो।
दुई भाइ विदेशिएका कारण भावनात्मकताले नजिक भए पनि भौगोलिक दूरीले टाढा, हामी दुई दिदीबहिनी विवाहित, आफ्नै घर-परिवार, जागिर, पढाइलेखाइ, आफ्नै जिम्मेवारीमा। मनले आमाबुबाको छेउमा चौबीसै घण्टा बस्न खोजे पनि व्यस्तता र परिस्थितिले त्यो सम्भव बनाइरहेको थिएन।
आमाको स्वास्थ्य अवस्थाले एक दिन प्रश्न उठ्यो, अब के गर्ने?
आमाबुबालाई जन्मघरमा गएर पूर्ण समय हेरचाह गर्न नसक्ने अवस्थामा के छोरीले आफ्नै घरमा राखेर सेवा गर्न सक्दिनन्? सामाजिक मनोविज्ञानका दृष्टिले अझै सहज नभइसकेको र ‘छोरीको घरमा आमाबुबा?’ भन्ने प्रश्न समाजले उठाउला भन्ने डर आमाबुबामा थियो। संस्कार र सामाजिक धारणाले छोरीलाई आफ्ना आमाबुबाको सेवाबाट नरोके पनि नहुने व्यवहारको धारणाले अप्ठ्यारो परेको महसुस भयो।
अन्ततः हाम्रो अगाडि पारिवारिक सल्लाहबाट एउटा विकल्प आयो, केयर होम।
सुरुमा यो निर्णय सजिलो थिएन। मनमा अपराधबोध भयो। कतै हामीले आमालाई घरबाट टाढा त पठाउँदै छैनौँ? समाजले ‘छोराछोरी भएर पनि आमालाई घरबाहिर केयर होममा राखे’ भन्लान् कि? तर केही समयपछि हामीले एउटा गम्भीर प्रश्न आफैँभित्र गर्न थाल्यौँ।
आमालाई आफ्नो घरमा राख्नु मात्र माया हो कि उहाँलाई सबैभन्दा सुरक्षित, स्वस्थ र आत्मीय वातावरणमा राख्न सकिन्छ, त्यहीँ राख्नु, समयसमयमा औषधि खुवाउनु माया हो? उत्तर बिस्तारै भेटिँदै गयो। केयर होममा आमा।
२०८२ साल साउन २५ गतेको दिन मेरो जीवनको सबैभन्दा कठिन दिनमध्ये एक हो। आमालाई केयर होममा छोडेर घर फर्किएँ, मन थाम्न सकिनँ, मुटु थामिएन, भक्कानिएँ। ठूलादेखि साना सबैले सम्झाए, सबैका आँखा रसाए। आमालाई छोडेर आएको खालीपनले निराश पीडा लाग्नु स्वाभाविक थियो। आफूले आफूलाई सम्हाल्न निकै गाह्रो भयो तर परिस्थितिले मन थामेर अगाडि बढ्न विवश बनायो।
मनमा एउटै प्रश्न घुमिरह्यो, के हामीले आमालाई छोड्यौँ त? होइन, म हरेक दिन केयर होममा आमालाई भेट्न जान छोडिनँ। केही समयपछि हाम्रो प्रश्नको उत्तर व्यवहारले दिन थाल्यो। केयर होममा आमाले चौबीसै घण्टा निरन्तर हेरचाह पाउन थाल्नुभयो। समयमै खाना र औषधि, आराम, सरसफाइ, साथ र आवश्यक निगरानीसँगै आमा एक्लो हुनु भएन।
घरमा हामीले गर्ने मायामा के चौबीसै घण्टा त्यही धैर्य, समय र निरन्तर हेरचाह दिन सक्थ्यौँ? यही प्रश्नले मेरो मनलाई बिस्तारै बुझाउन थाल्यो, माया केवल आफ्नै हातले सेवा गर्नु मात्र होइन; आफूले दिन नसक्ने अवस्थामा उचित हेरचाह पाउने सुरक्षित ठाउँको व्यवस्था गर्नु माया रहेछ।
त्यसपछि अर्को प्रश्नले मलाई झन् गहिरो गरी छोयो, हामी छोराछोरी सबै एउटै घरमा भएको भए पनि के हामीले चौबीसै घण्टा आमालाई त्यति नै समय, धैर्य र माया दिन सक्थ्यौँ? सायद सक्दैनथ्यौँ। किनकि माया हुनु र निरन्तर हेरचाह गर्न सक्ने क्षमता हुनु एउटै कुरा होइन।
आज संसारभर डिमेन्सियासँग बाँचिरहेका मानिसको संख्या ठूलो छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वभर करिब ५ करोड ७० लाख मानिस डिमेन्सियासँग बाँचिरहेका थिए र हरेक वर्ष करिब १ करोड नयाँ केस थपिन्छन्। डिमेन्सिया सामान्य वृद्धावस्थाका व्यक्ति मात्र होइन, परिवार र हेरचाहकर्ताको जीवनमा पनि ठूलो प्रभाव पार्छ।
‘वृद्धाश्रम’ वा ‘केयर होम’ शब्दलाई केवल त्याग, एक्लोपन वा सन्तानको बेवास्तासँग जोडेर हेर्नु हुँदैन। राम्रो केयर होम भनेको हेरचाहको संस्थागत रूप हुन सक्छ। घरमा सम्भव नभएको निरन्तर हेरचाह, स्वास्थ्य निगरानी, सामाजिक सहभागिता र सुरक्षित वातावरण उपलब्ध हुन सक्छ।
बदलिँदो समयसँगै नेपालमा पनि संयुक्त परिवारबाट क्रमशः एकल परिवारमा रूपान्तरण हुँदैछ। सहरीकरण बढिरहेको छ। महिला र पुरुष दुवै रोजगारीमा छन्। छोराछोरी उच्च शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढेको छ। यस्तो अवस्थामा ‘बुढेसकालमा छोराछोरीले घरमै राख्नुपर्छ’ भन्ने परम्परागत अपेक्षा मात्रले समस्याको समाधान गर्न सक्दैन। यसको अर्थ सन्तानको जिम्मेवारी समाप्त भयो भन्ने होइन। जिम्मेवारीको स्वरूप परिवर्तन गर्नुपर्छ।
नेपाल सरकारले पनि यसलाई नीतिगत रूपमा बुझ्न थालेको देखिन्छ। हालै सार्वजनिक गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३ को मस्यौदाले ज्येष्ठ नागरिकका लागि आश्रयस्थल, सेवा केन्द्र र केयर होमजस्ता संरचना निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने विषय अघि सारेको छ। स्थानीय तहमा ज्येष्ठ नागरिक हेरचाह केन्द्र तथा दिवा सेवा केन्द्र सञ्चालन गर्ने अवधारणा पनि मस्यौदामा उल्लेख छ।
अब मेरो प्रश्न, विद्यालय र स्वास्थ्य चौकी प्रत्येक स्थानीय तहको आधारभूत आवश्यकता भएजस्तै व्यवस्थित ज्येष्ठ नागरिक हेरचाह केन्द्र वा केयर होम पनि आधारभूत सामाजिक पूर्वाधार बन्न सक्दैन र?
अब प्रत्येक वडा वा कम्तीमा स्थानीय तहमा सरकारी, सामुदायिक वा सार्वजनिक-निजी साझेदारीको अवधारणामा गुणस्तरीय ज्येष्ठ नागरिक सेवा केन्द्र वा केयर होम विकास गर्न आवश्यक छ। वृद्धका लागि दिवा सेवा मात्र होइन, अशक्त, एक्ला, दीर्घरोगी तथा डिमेन्सियाजस्ता अवस्थाका व्यक्तिका लागि विशेषज्ञ सेवा, स्वास्थ्य परीक्षण, पोषण, मनोरञ्जन, मनोसामाजिक सहयोग र आवश्यकताअनुसार २४ घण्टे आवासीय हेरचाहको व्यवस्था हुनुपर्छ।
अर्को महत्त्वपूर्ण कुरा, हाम्रो शिक्षा प्रणालीले नयाँ पुस्तालाई वृद्धावस्थाका बारेमा सिकाउनुपर्छ। आज पाठ्यक्रम परिवर्तनको बहस चलिरहेका बेला जीवनोपयोगी र नैतिक शिक्षाभित्र एउटा प्रश्न पनि प्रवेश गर्नुपर्छ। हामी बूढो भएपछि हाम्रो हेरचाह कसले गर्छ? आमाबुबा कमजोर हुँदा छोराछोरीको भूमिका के हुन्छ? छोरीको घर आफ्ना आमाबुबाका लागि किन पराइ मानिन्छ? छोरा र छोरीबीच हेरचाहको जिम्मेवारी किन फरक?
बालबालिकालाई सिकाउनुपर्छ, छोरा र छोरी समान हुन्। विवाहपछि छोरी पराई हुँदिनन्। आमाबुबालाई छोरीको घरमा बस्नुपर्दा लाज मान्नुपर्ने वा समाजले प्रश्न उठाउनुपर्ने कुनै कारण छैन। त्यस्तै, वृद्ध आमाबुबालाई हेरचाहको आवश्यकता पर्दा उहाँहरूलाई तनाव, अपराधबोध वा ‘हामीलाई बोझ ठाने’ भन्ने अनुभूति हुने गरी व्यवहार गर्नु हुँदैन।
भोलिको पुस्तालाई यो पनि सिकाउनुपर्छ कि आफ्ना आमाबुबालाई माया गर्नु भनेको सधैँ आफैँले मात्र सेवा गर्नु होइन; उहाँलाई आवश्यक परेको समयमा उचित सहयोग र उचित हेरचाह उपलब्ध गराउनु पनि जिम्मेवारी हो।
अन्ततः केयर होमको गुणस्तर पनि ठूलो प्रश्न हो। पैसा तिरेर राख्दैमा कर्तव्य पूरा हुँदैन। त्यहाँ मानवता, सुरक्षा, स्वास्थ्य, सम्मान, गोपनीयता, पोषण, मनोसामाजिक सहयोग र आत्मीयता हुनुपर्छ। परिवारले पनि आमाबुबालाई त्यहाँ छोडेर आफ्नो जिम्मेवारी समाप्त भएको ठान्नु हुँदैन। नियमित भेटघाट, फोन, स्वास्थ्यको जानकारी र भावनात्मक साथ निरन्तर दिनुपर्छ। डब्लुएचओले पनि डिमेन्सिया भएका व्यक्तिका परिवार तथा केयरगिभरलाई सूचना, तालिम, सामाजिक तथा मनोसामाजिक सहयोग आवश्यक हुने बताएको छ।
आज म पछाडि फर्केर हेर्छु र आमाको अनुहार सम्झन्छु। कहिलेकाहीँ मनमा प्रश्न आउँछ, ‘मैले अझ धेरै गर्न सक्थेँ कि?’ सायद सक्थेँ होला। तर म पनि आफ्नो समय, परिवार, स्वास्थ्य, काम र आफ्नो जीवनका सीमाभित्र बाँचेकी एउटी छोरी हुँ, बुहारी हुँ, आमा हुँ।
त्यसैले आज मैले अपराधबोधभन्दा एउटा सत्य स्वीकार गरेकी छु, आमालाई केयर होममा राख्नु आमाबाट टाढा हुनु होइन; आमालाई आवश्यक परेको समयमा निरन्तर हेरचाह पाउने ठाउँ खोज्नु आमाप्रतिको माया हो। बीचबीचमा आमालाई अप्ठ्यारो अवस्था आयो, कसरी बचाउने भनेर बचाउन कठिन हुँदै गएको अवस्थामा केयर होमले उहाँलाई समय, सुरक्षा, साथ र सबैभन्दा महत्त्वपूर्ण ममता दियो।
त्यसैले आज आमा आफ्नै घरमा हामीसँग बुबाको साथमा हुनुहुन्छ। पूरै ठीक नभए पनि हिँड्नुहुन्छ, खानुहुन्छ, राम्रोसँग कुरा गर्नुहुन्छ। त्यसैले त्यो घरलाई म केवल ‘केयर होम’ भनेर देख्दिनँ; मेरी आमाको अर्को जीवन दिने मायाको घर भनेर हेर्छु।
अन्त्यमा, यस्तो कठिन जिम्मेवारी बोकेर वृद्ध आमाबुबाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानका लागि दिनरात खटिने केयर होमका सञ्चालक, कर्मचारी र सहयोगी परिवारप्रति म नतमस्तक छु। बिरामी आमाबुबालाई आफ्नै परिवारसरह सम्झेर हेरचाह गर्ने त्यस्ता हातहरू साँच्चिकै भगवान्का हातजस्तै हुन्।
त्यसैले अबको समयमा, हामीले वृद्धाश्रम वा केयर होम खोज्ने मात्र होइन, सम्मानपूर्ण वृद्धजीवनको संरचना निर्माण गर्ने सोच विकास गरौँ। किनकि आज हाम्रा आमाबुबा वृद्ध हुँदै हुनुहुन्छ, भोलि हामी पनि त्यही अवस्थामा नहुँला भन्न सकिन्न।