एकजना साथी झन्डै एक दशकदेखि प्रेम सम्बन्धमा थियो। उनीहरूले विवाह पनि गरे। तर दुई वर्षपछि उनीहरूको सम्बन्ध जर्जर बन्यो र डिभोर्स भयो।
वल्लो र पल्लो घर बस्ने, एकै आमाका सन्तानहरू हुन्। उनीहरूको पारिवारिक कुरामा झगडा भयो। अहिले बोलचाल बन्द छ। मेलापात, विवाह, व्रतबन्धमा आवतजावत हुँदैन।
बाबुले दुःखी हुँदै भने, ‘मेरो छोरा मसँग बोल्नै चाहँदैन। किन तर्केर हिँडेको होला?’
कुनै जमानामा यस्तो थियो, सिङ्गै गाउँलाई एउटै चौतारीले जोड्थ्यो। अर्मपर्म, मेलापात, गुठी, बिहे, व्रतबन्धमा सामूहिक भोज, देउसीभैलो, श्रमदान आदिले मानिसहरूको सम्बन्धलाई प्रगाढ बनाउँथ्यो। तर आज एउटै घरका मानिसहरू पनि फरक–फरक मोबाइल स्क्रिनमा हराइरहेका छन्।
यस्ता कैयौँ घटनाहरू हाम्रो वरपर छन्। कति त हामीले नै भोगिरहेका छौँ। आम मानिस होस् वा सेलिब्रेटी, गरिब होस् वा अरबपति, सम्बन्धहरू टुटेका छन्। अहिले त यस्ता घटना सामाजिक सञ्जालमा पनि बग्रेल्ती देख्न र सुन्न पाइन्छ।
किन मर्छन् सम्बन्धहरू?
सम्बन्धहरू भूकम्पले घर भत्किए जसरी एकैपटक तहसनहस हुनेचाहिँ होइनन्। साना–साना तिक्तता, संवादहीन अवस्था, अहंमता र मौनताबाट दरार सुरु हुन्छ। अनि शङ्का, अविश्वास र आलोचनाले यसलाई मलजल गर्छ। फलतः भावनात्मक दूरी बढ्छ अनि सम्बन्धहरूको पीडादायी अवसान हुन्छ।
म केन्द्रित सोच र आत्मसम्मान
‘मैले किन झुक्ने? मलाई सधैँ बुझिदिनुपर्छ। सधैँ समय दिनुपर्छ। सधैँ खुसी राख्नुपर्छ।’ अक्सर यहाँबाट धेरै सम्बन्धहरूको अवसान सुरु हुन्छ। यो सोचले क्षमा गर्न र गल्ती स्वीकार्न मानिसलाई कठिन बनाउँछ। आपसी सम्झौता र समझदारीलाई मानिसहरूले आफ्नो कमजोरी ठान्छन्। मानिसहरू यस्तो सामाजिक मनोविज्ञानमा बाँच्न थाले कि आफ्नो सानो अस्वीकारलाई पनि ठूलो अपमान सोच्न थाले।
फ्रायडका अनुसार मानिसहरू आत्मसम्मान जोगाउन आफ्नो बचावट खोज्छन् र गल्ती स्वीकार्नु, माफी माग्नु आफ्नो अहंलाई खतरा जस्तो महसुस गर्छन्। अन्ततः सम्बन्धहरूमा खडेरी सुरु हुन्छ।
मूल्य र मान्यताको संक्रमण र सम्बन्ध
दुर्खाइमका अनुसार जब समाजमा पुराना मूल्य–मान्यताहरू कमजोर हुन्छन् र नयाँ मान्यता पूर्ण रूपमा स्थापित हुँदैन, मानिसहरू मूल्यगत अन्योलमा पर्छन्। पहिले सम्बन्ध जोगाउन पुराना सामाजिक, धार्मिक वा सांस्कृतिक मान्यतालाई मानिसहरूले मान्थे। नैतिक बन्धनको रूपमा लिने गर्थे।
डिगेन्सका अनुसार अब सम्बन्धहरू परम्परागत मान्यताभन्दा पनि दुवै पक्षको सन्तुष्टिको आधारमा टिक्छन्। नत्र समाप्त हुन्छन्। अहिले मानिसहरू व्यक्तिगत सन्तुष्टिमा ध्यान दिन थालेका छन्। व्यक्तिगत स्वतन्त्रता र लाभमा बढी रमाउँछन्।
समाजशास्त्री जर्ज सि. होमन्सको ‘सामाजिक विनिमय सिद्धान्त’ अनुसार मानिसहरूले सम्बन्धमा लागत र लाभको हिसाबकिताब गर्छन्। जब सम्बन्धबाट फाइदा वा सन्तुष्टिभन्दा बढी पीडा वा हानि हुन्छ, तब मानिसहरूको सम्बन्ध कमजोर हुँदै जान्छ।
यसैमा समाजशास्त्री इरिक फ्रोम भन्छन्–‘आधुनिक मानिस प्रेम गर्नुभन्दा सफल उपभोक्ता बन्न बढी व्यस्त छन्।’ यसले मानिसमा समर्पण र त्यागका भावनाहरू कमजोर बनाउँछ र सम्बन्धहरूमा धमिरा लाग्न सुरु हुन्छ।
संवादको अभाव
मानिसहरू धेरै बोल्छन् तर सुन्दैनन्। यो संवाद होइन। या त एकआपसमा कुराकानी गर्दैनन्। दुःख लुकाउँछन्। माया व्यक्त गर्दैनन्। धन्यवाद भन्दैनन्। माफी माग्न लाज मान्छन्। भावनाहरू कुण्ठित हुँदै जान्छन् अनि मौनताको वास हुन्छ। यही मौनताबाट बिस्तारै सम्बन्धको क्षयीकरण सुरु हुन्छ। भावनात्मक दूरी बढ्छ। अन्ततः सम्बन्ध विच्छेदमा पुग्छन्।
मनोवैज्ञानिक जोन गटम्यानले लेखेका छन्–‘आलोचना, अपमान, रक्षात्मक व्यवहार र संवाद बन्द, यी चार व्यवहारहरू सम्बन्ध विच्छेदका सूचक हुन्।’ तथ्याङ्कले पनि सम्बन्धमा बढ्दो तनावको सङ्केत गर्छ। नेपालमा पछिल्लो वर्ष ४२ हजार ७३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। यद्यपि यो सङ्ख्या बढ्नुको कारण केवल संवादको कमी मात्र भने होइन।
यसका अलावा हाम्रो परिवेशमा आर्थिक दबाब, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको बढ्दो प्रयोग, घरेलु हिंसा र सम्बन्धप्रतिको बदलिँदो सामाजिक दृष्टिकोण जस्ता अनेक कारणहरू पनि छन्।
के हुन्छ सम्बन्धहरू टुट्दा?
सम्बन्ध टुट्दा मानिसहरू एक्लिन्छन् र मानसिक तनाव बढ्छ। दम्पतीको सम्बन्ध टुट्दा बालबच्चाको भविष्य अन्योलमा पर्छ। मास्लोको आवश्यकताको सिद्धान्तअनुसार ‘माया र अपनत्व’ हरेक मानिसको आधारभूत आवश्यकता हो। यसैले सम्बन्ध टुट्दा मानिसले आफ्नो पहिचान, सुरक्षा र आत्मसम्मानसमेत गुमाएको महसुस गर्छ। दुर्खाइमका अनुसार सम्बन्ध केवल निजी सम्पत्ति होइन, यो समाजलाई बाँध्ने अदृश्य धागो हो। त्यसैले जब धागाहरू चुँडिन थाल्छन्, व्यक्तिमात्र होइन, समाजको नैतिक संरचनासमेत कमजोर हुन थाल्छ।
जोन बोल्बीले आफ्नो ‘एटेचमेन्ट थ्योरी’मा लेखेका छन्– ‘सुरक्षित सम्बन्ध नै मानिसको मानसिक स्वास्थ्यको आधार हो।’ सम्बन्ध टुट्दा असुरक्षा, चिन्ता बढ्छ र आत्मविश्वास गुमाउँछ। रिस, बदला र अहंकारले मानिसहरू आपराधिक काममा सहभागी बन्छन्। सम्बन्धहरू केवल भावनात्मक बन्धन होइनन्, ती स्वस्थ व्यक्ति, सुदृढ परिवार र सभ्य समाज निर्माण गर्ने आधारशिला हुन्। त्यसैले सम्बन्धहरूको अवसान हुँदा भावना मात्रै अन्त्य होइन, स्वस्थ व्यक्ति, सामाजिक अमनचयन र एकताको जग कमजोर हुन्छ।
कसरी जीवित राख्न सकिएला सम्बन्धहरू?
मनोवैज्ञानिक कार्ल रोजर्स लेख्छन्–‘सम्बन्धहरू तर्कले होइन, संवादले बाँचिरहेका हुन्छन्।’ त्यसैले ‘संवाद संस्कृति’ सम्बन्ध जोगाउने बलियो आधार हो। यहाँ बहस, आरोप होइन, सुन्ने धैर्यताको आवश्यकता पर्दछ। समाजशास्त्रीहरू गुणस्तरीय समय व्यतीत गर्नुलाई अहिलेको आवश्यकता ठान्छन्।
मानिसहरू आज एउटै घरमा बसेर मोबाइल स्क्रिनमा व्यस्त छन्। सँगै खानु, सँगै घुम्नु, सँगै बस्नु र कुराकानी गर्नु गुणस्तरीय समय बिताउनु हो। जोन गटम्यान भन्छन्–‘सम्बन्ध प्रेमले होइन, पारस्परिक सम्मानले मात्रै बाँच्छ।’ किनकि प्रेम क्षणिक भावना हुन सक्छ तर सम्मान दीर्घकालीन सम्बन्धको आधार हो।
सम्बन्धमा अतिवाद हानिकारक छ। बुद्धको मध्यम मार्गले सम्बन्धमा पनि सन्तुलनको महत्त्व सिकाउँछ। मध्यम मार्गले न अत्यधिक अपेक्षा, न पूर्ण उदासीनता; न अत्यधिक नियन्त्रण, न पूर्ण बेवास्ता भन्ने बुझाउँछ। सम्बन्धहरू चरम आग्रहले होइन, सन्तुलित संवाद, संयम, करुणा र पारस्परिक सम्मानले दीर्घकालसम्म जीवन्त रहन्छन्।
पूर्वीय दर्शनले मानिसको आफ्नो अस्तित्व सम्बन्धमा नै रहेको बताउँछ। जस्तै कि आमा–बुबा, परिवार, साथी, समाज र प्रकृति आदिसितको सम्बन्धबाट मानिस अलग रहन सक्दैन। दर्शनले यी सम्बन्धको बाधक नै अहंकार भएको बताउँछ। यसर्थ ‘हामी छौँ’ र ‘म छु’ भन्ने सोचले सम्बन्ध जीवित राख्न मद्दत गर्छ। स्वस्थ सम्बन्धमा पनि मतभेद नहुने होइन। मतभेद हुँदा पनि सम्मान, विश्वास र संवाद कायम रहने सम्बन्ध नै दिगो रहन्छ। यद्यपि विषाक्त (टक्सिक) सम्बन्धबाट भने मुक्त हुन पनि जरुरी देखिन्छ।
उपसंहार
सम्बन्धहरू आफैँ जीवित रहँदैनन्। बिरुवा रोपेर पानी नहाल्दा बिरुवा मरेजस्तै, सम्बन्ध जोगाउन धैर्य, संवाद, विश्वास, सम्मानरूपी पानी चाहिन्छ। बुद्धले भनेका छन्–घृणाले घृणाको अन्त्य हुँदैन, प्रेम र करुणाले मात्रै हुन्छ। हार्वर्डको अध्ययनमा उल्लेख छ–दीर्घायु, मानसिक स्वास्थ्य र जीवन सन्तुष्टिको सबैभन्दा ठूलो आधार धन होइन, राम्रो सम्बन्ध हो। एकपटक विवाद वा अविश्वास गरेर सम्बन्धहरू टुटाउनुभन्दा माफ गर्ने, कुराकानी गर्ने र समझदारीमा आउँदा सम्बन्धहरूले पुनर्जीवन पाउँछन्।
आज संसारलाई जोड्ने प्रविधि छ। तर एउटा मन र अर्को मनको अधुरो संवाद जोड्ने कुनै प्रविधि छैन। त्यसैले मनहरू जोड्ने विधि भनेको संवाद, विश्वास र सम्मान नै हो। एक संवाद, एक माफी, एक धन्यवाद, एक सम्मानले वर्षौँका घनिष्ठ सम्बन्धहरू अवसान हुनबाट जोगाउन सक्छ।