नेपालको उड्डयन इतिहासको सूक्ष्म अध्ययन गर्दा जोखिमको एउटा निरन्तर र दोहोरिइरहने स्वरूप देखिन्छ। देशको भूगोल र तीव्र रूपमा परिवर्तन भइरहने मौसमले चुनौतीहरू खडा गरेको कुरा नकार्न सकिँदैन। तर दुर्घटनाका अनुसन्धानहरूले पटक–पटक मानवीय, नियामक र प्रणालीगत कमजोरीहरूको संयुक्त प्रभावलाई औँल्याएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपेली उड्डयन नियामकहरू लगायतका अन्तर्राष्ट्रिय निकायहरूका निष्कर्षले नियामक प्रभावकारिता, नियमनको कार्यान्वयन र समग्र सुरक्षा व्यवस्थापन क्षमतामा रहेका कमजोरीहरूलाई लामो समयदेखि उजागर गर्दै आएका छन्।
नेपालमा उड्डयन सुरक्षाको तथ्याङ्कीय पृष्ठभूमि
संकलित उड्डयन सुरक्षा रेकर्ड र अन्तर्राष्ट्रिय तथ्याङ्कका आधारमा सन् १९५५ देखि हालसम्म नेपालमा ६८ भन्दा बढी विमान दुर्घटनाहरू भइसकेका छन्। जसमध्ये करिब ४४ वटा घातक दुर्घटनाहरू रहेका छन्, जहाँ मानवीय क्षति भएको छ। कुल मृत्यु संख्या करिब ७०० देखि ९०० को बीचमा रहेको अनुमान गरिन्छ। सन् २००० यता मात्रै करिब १९ वटा ठुला दुर्घटनाहरू हुनुले हाम्रो सुरक्षा प्रणालीमा गम्भीर प्रश्न खडा गरेको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ अन्तर्गत ‘विमान दुर्घटना’, ‘गम्भीर घटना’ र ‘घटना’ लाई छुट्टाछुट्टै परिभाषित गरिएको छ। नेपालको हकमा यी तीनै तहका घटनाहरूको दर विश्वव्यापी औसतभन्दा निकै माथि छ। स्विट्जरल्याण्ड, अस्ट्रिया र भुटान जस्ता समान पहाडी उड्डयन वातावरण भएका देशहरूको तुलनामा नेपालको दुर्घटना दर उच्च हुनुले भौगोलिक चुनौती मात्र नभई हाम्रो नियामक परिपक्वता र पूर्वाधार विकासमा रहेका खाडलहरूलाई पनि प्रतिबिम्बित गर्दछ।
नेपालको उड्डयन इतिहासले जोखिमको एउटा स्पष्ट स्वरूप देखाउँछ। चुनौतीपूर्ण वातावरण भए तापनि अनुसन्धानहरूले मानवीय त्रुटि, नियामक कमजोरी र प्रणालीगत असफलताको मिश्रणलाई दोषी देखाउँछन्। यो कुनै एउटा एक्लो असफलता नभई निरन्तर दबाबमा रहेको प्रणालीको समस्या हो। जबसम्म हामी दुर्घटनालाई ‘काबु बाहिरको परिस्थिति’ मानेर पन्छिन्छौँ, तबसम्म सुधारको वास्तविक प्रक्रिया सुरु हुन सक्दैन।
अदृश्य पहाड र प्राविधिक चुनौती
अदृश्य पहाड नेपालको हवाई दुर्घटनाको सबैभन्दा ठुलो र घातक कारक हो। यसमा विमानको इन्जिन, पखेटा वा नियन्त्रण प्रणालीमा कुनै खराबी हुँदैन, तर पनि विमान दुर्घटनामा पर्छ। विमान पूर्ण रूपमा पाइलटको नियन्त्रणमा रहँदा–रहँदै पनि चालक दललाई आफू जमिन वा पहाडको कति नजिक छु भन्ने आभास हुँदैन। विशेष गरी बादलले ढाकिएका पहाडहरूबीच उडान गर्दा यो जोखिम उच्च हुन्छ।
हिमाली खोँचहरूमा उडान गर्दा ‘लो–क्लाउड’ वा अचानक आउने कुहिरोले गर्दा ‘भिजुअल कन्ट्याक्ट’ टुट्छ। साँघुरो खोँचमा विमान मोडिने ठाउँ नहुँदा विमान सिधै पहाडको भित्तामा ठोक्किन पुग्छ। विमानको उचाइ र वरपरको भूगोलको सटिक दूरी मापन गर्न नसक्दा पाइलटले आफ्नो सही अवस्थितिको जानकारी गुमाउँछन् र विमान दुर्घटनामा पर्ने गरेको अध्ययनबाट देखिन्छ।
यसलाई न्यूनीकरण गर्न विमानहरूमा ‘ग्राउन्ड प्रक्सिमिटी वार्निङ सिस्टम’ लाई अनिवार्य गर्दै पाइलटहरूलाई चुनौतीपूर्ण भूगोलमा उडान भर्नुअघि अनिवार्य रूपमा ‘सिमुलेटर–बेस्ड’ तालिम दिनुपर्छ।
ककपिटमा मानवीय कारकहरू
हवाई सुरक्षामा प्रविधिभन्दा बढी पाइलटको निर्णय गर्ने क्षमता महत्त्वपूर्ण हुन्छ। चिरपरिचित पहाडी मार्गहरूमा उडाइरहेका अनुभवी पाइलटहरूले मनोवैज्ञानिक भरोसाले गर्दा सुरक्षा मापदण्ड नजरअन्दाज गरिरहेका हुन सक्छन्।
मौसम बिग्रिएपछि विमानलाई सुरक्षित स्थानमा फर्काउनुको साटो बादलको बीचबाटै बाटो खोज्दै अघि बढ्ने प्रवृत्ति निकै खतरनाक देखिएको छ। चालक दलका सदस्यहरूबीच ककपिटमा सञ्चारको कमी वा मानक सञ्चालन प्रक्रियालाई बेवास्ता गर्दा स–साना गल्तीले ठुलो दुर्घटनाको रूप लिने गरेको पाइन्छ।
मानवीय त्रुटि कम गर्न ककपिटमा ‘क्रु रिसोर्स म्यानेजमेन्ट’ लाई प्रभावकारी बनाउँदै प्रतिकूल मौसममा विमान फर्काउने पाइलटको निर्णयलाई दण्डित होइन, बरु पुरस्कृत गर्ने सुरक्षा संस्कृति विकास गर्नुपर्छ।
पूर्वाधारको सीमितता
दुर्गम विमानस्थलहरूमा रेडियो नेभिगेसन वा आधुनिक ‘इन्स्ट्रुमेन्ट फ्लाइट’ प्रक्रियाहरूको अभाव छ। ‘रियल–टाइम’ मौसम जानकारी दिने अत्याधुनिक वेदर राडार र सटिक पूर्वानुमान प्रणालीको कमी छ। पूर्वाधारमा सुधार ल्याउन सबै उडान मार्गहरूमा ‘अटोमेटेड वेदर अब्जर्भेसन सिस्टम’ जडान गर्ने र उपग्रहमा आधारित प्रक्रियाहरू लागू गरी दृश्य कम हुँदा पनि सुरक्षित अवतरण सुनिश्चित गर्नुपर्छ।
सुरक्षा संस्कृति
नेपालको उड्डयन क्षेत्रमा जब कुनै पाइलट वा प्राविधिकले गल्ती गर्छ, उसलाई तत्काल कारबाही हुने डरले गर्दा घटनाहरू लुकाउने प्रवृत्ति छ। उड्डयन सुरक्षामा त्यो संस्कृतिको अवधारणा आवश्यक छ, जहाँ मानवीय त्रुटिलाई सिक्ने अवसरका रूपमा लिइन्छ र जानाजानी गरिएको लापरबाहीलाई मात्र सजाय दिइन्छ।
साथै, बजार र व्यावसायिक दबाबले गर्दा सुरक्षामा सम्झौता हुने गरेको छ। एयरलाइन्स कम्पनीहरूले उडान संख्या बढाउने र खर्च कटौती गर्ने होडमा कर्मचारीहरूको थकान र मानसिक तनावलाई नजरअन्दाज गर्दा त्यसको प्रत्यक्ष असर सुरक्षामा परेको देखिन्छ।
संगठनात्मक सुधारका लागि ‘गोप्य रिपोर्टिङ प्रणाली’ लागू गरी कर्मचारीहरूलाई बिना डर सुरक्षा कमजोरीहरू औँल्याउने वातावरण बनाउनुपर्छ र वैज्ञानिक ‘थकान जोखिम व्यवस्थापन प्रणाली’ मार्फत चालक दलको कार्यबोझ र मानसिक स्वास्थ्यको नियमित अनुगमन गरिनुपर्छ।
नियामक र सुशासनका चुनौतीहरू
नेपाल नागरिक उड्डयन प्राधिकरणले नियामक र सेवा प्रदायक दुवै भूमिका निर्वाह गर्दा स्वार्थको द्वन्द्व सिर्जना भएको छ। आफैँले नियम बनाउने र आफैँले विमानस्थल सञ्चालन गरेर व्यापार गर्ने संरचनाले नियामकको स्वतन्त्रता र निष्पक्षतालाई कमजोर बनाउँछ। यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको आधारभूत सिद्धान्तको समेत विरुद्ध छ।
बहु–तहको प्रशासनिक स्वीकृति र सुरक्षा सिफारिसहरूको कार्यान्वयनमा हुने ढिलासुस्तीले गर्दा समयमै हुनुपर्ने प्राविधिक सुधारहरू रोकिन्छन्। खरिद प्रक्रियामा हुने आर्थिक अनियमितता र राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिले प्राविधिक दक्षता भएका व्यक्तिहरू ओझेलमा परेका छन्।
सन् २०१३ देखि नेपाल युरोपेली संघको एयर सेफ्टी लिस्टमा रहनुको मुख्य कारण हाम्रो सुपरिवेक्षण क्षमतामा विश्वास नहुनु हो। अन्तर्राष्ट्रिय निकायहरूले पटक–पटक प्राधिकरणलाई विभाजन गर्न र सुरक्षा सुपरिवेक्षणलाई स्वायत्त बनाउन आग्रह गरे पनि यो प्रक्रिया अघि बढ्न सकेको छैन।
उड्डयन सुरक्षा सुधारका लागि प्रस्तावित मार्गचित्र
उड्डयन सुरक्षा सुधारका लागि संस्थागत र कानुनी सुधार आवश्यक छ। प्राधिकरणको नियामक र सञ्चालन कार्यलाई अलग गरिनु पर्छ। दुर्घटनापछि गठन गरिने अस्थायी आयोगको सट्टा एक स्थायी र स्वायत्त ‘हवाई दुर्घटना अनुसन्धान बोर्ड’ स्थापना गरी निष्पक्ष रूपमा प्राविधिक अनुसन्धान गर्ने व्यवस्था गरिनु पर्छ।
सबै विमान सञ्चालकहरूमा फ्लाइट डाटा मोनिटरिङ लागू गरी दैनिक उडानका तथ्याङ्कहरू विश्लेषण गर्ने र सम्भावित जोखिमको पूर्वानुमान गर्ने व्यवस्था लागू गर्नु पर्छ। सुरक्षा व्यवस्थापन प्रणालीलाई केवल कागजी प्रक्रियामा सीमित नराखी हरेक कर्मचारीको कार्यशैलीमा लागू गरिनु पर्छ।
नेपालको भूगोल सुहाउँदो ‘माउन्टेन फ्लाइङ’ सिमुलेटर तालिमलाई अनिवार्य गरिनु पर्छ। पाइलट र इन्जिनियरहरूका लागि मानवीय कमजोरी र निर्णय लिने क्षमता सम्बन्धी नियमित पुनरावृत्ति तालिम दिने व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ।
विज्ञ नेतृत्व र विशिष्ट कार्यदल
सरकारले उड्डयन क्षेत्रका अवकाशप्राप्त वरिष्ठ इन्जिनियर, अनुभवी पाइलट र कानुनी विज्ञहरू सम्मिलित एक ‘स्वतन्त्र उड्डयन सुरक्षा बोर्ड’ गठन गर्नुपर्छ। यस बोर्डलाई नीतिगत निर्णय लिन र सुरक्षा अडिट गर्न पूर्ण स्वायत्तता दिनुपर्छ। यसको नेतृत्व चयन गर्दा राजनीतिक पहुँचको सट्टा प्राविधिक योग्यता र अन्तर्राष्ट्रिय अनुभव (जस्तै एफएए, इयू वा आइसीएओसँगको कार्य अनुभव) लाई मुख्य आधार बनाउनुपर्छ।
प्राधिकरणको कानुनी विभाजन
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकले एउटै संस्थालाई नियामक र व्यापारी (विमानस्थल सञ्चालक) हुनबाट रोक्छ। दुवै निकायको बजेट, कर्मचारी र कार्यक्षेत्र पूर्णतः अलग गरी एकअर्काको कार्यमा हस्तक्षेप नहुने गरी कानुनी ढोका खोल्नुपर्छ।
स्वतन्त्र र कडा सुपरिवेक्षण
सुरक्षा निरीक्षकहरूको नियुक्ति र तालिमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुदृढ बनाउनुपर्छ। एयरलाइन्सहरूको अडिट गर्दा बाह्य वा अन्तर्राष्ट्रिय विज्ञहरूलाई समेत संलग्न गराएर थर्ड-पार्टी अडिटको व्यवस्था गर्नुपर्छ। कुनै पनि सुरक्षा उल्लंघनमा संलग्न एयरलाइन्सलाई राजनीतिक दबाब बिना तत्काल ग्राउन्डेड गर्ने वा इजाजत रद्द गर्ने अधिकार नियामक निकायलाई प्रत्यायोजन गर्नुपर्छ।
अन्तर्राष्ट्रिय मापदण्ड र कूटनीति
आइकाओको सुरक्षा मापदण्डलाई पूर्ण रूपमा सम्बोधन गर्न ‘करेन्ट एक्सन प्लान’ तयार गर्नुपर्छ। परराष्ट्र मन्त्रालय र उड्डयन मन्त्रालयले संयुक्त रूपमा युरोपेली संघ (इयू) सँग प्राविधिक वार्ता सुरु गर्नुपर्छ। नेपालले गरेका सुधारका प्रयासहरूलाई प्रत्यक्ष देखाउन इयूका विज्ञहरूलाई नेपालमै निमन्त्रणा गरी स्थलगत निरीक्षण गराउनु पर्छ।
अनिवार्य सुरक्षा नियमन
विगतका दुर्घटना प्रतिवेदनहरूका साझा सिफारिसहरूलाई एकीकृत गरी ‘अनिवार्य सुरक्षा निर्देशिका’ जारी गर्नुपर्छ। यी सिफारिसहरू लागू नगर्ने एयरलाइन्सलाई उडान अनुमति नदिने कडा नीति लिनुपर्छ। साथै, एउटा डिजिटल ‘ट्र्याकिङ सिस्टम’ बनाउनुपर्छ जहाँ हरेक सिफारिसको कार्यान्वयनको अवस्था आम सर्वसाधारणले समेत हेर्न मिल्ने गरी पारदर्शी बनाइनुपर्छ।
निष्कर्ष
नेपालको उड्डयन सुरक्षाको वर्तमान अवस्थालाई दृष्टिगत गर्दा अबको बाटो स्पष्ट हुनुपर्छ। टालटुले सुधारले मात्र नेपालको आकाश सुरक्षित बन्दैन। बलियो संस्था, प्रविधि र पारदर्शितामा आधारित प्रणालीगत रूपान्तरण नै अबको आवश्यकता हो। हामीले भौगोलिक अवस्थालाई दोष दिएर उम्किने ठाउँ छैन, बरु प्रविधि र सुशासनमार्फत त्यो भूगोललाई जितेर यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ। सुरक्षित आकाश नै समृद्ध नेपालको आधार हो।
(लेखक एयरोस्पेस इन्जिनियर, उड्डयन सुरक्षा विज्ञ हुन्। उनीसँग उड्डयन मर्मतसम्भार, एयरवर्दिनेस, प्रमाणीकरण र दुर्घटना अनुसन्धानमा २७ वर्षभन्दा बढीको विश्वव्यापी अनुभव छ।)