अहिले काठमाडौं लगायत देशैभरि घरजग्गाको भाउ घटेको छ। कतिपय ठाउँमा बिक्री नै ठप्प छ भने धेरै ठाउँमा मन्दीको अवस्था छ।
तपाईं घर बनाउन जग्गा किन्ने सोचमा हुनुहुन्छ भने अहिले ठिक समय हुन सक्छ। त्यसैले बसोबासका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उपलब्ध जग्गा र तिनको मूल्यबारे जानकारी दिन हामीले यो शृंखला सुरू गरेका हौं।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पुगेर त्यहाँका स्थानीय र जग्गा कारोबारमा संलग्न व्यवसायीहरूसँग हामीले कुरा गरेका छौं। ती ठाउँको विशेषता, अहिलेको बसोबास स्थिति, जग्गाको मूल्य र भविष्यको सम्भावनाबारे हामी तपाईंहरूलाई बताउने छौं।
यसअघि शृंखलाको पहिलो स्टोरीमा काठमाडौंका दुई ठाउँ मच्छेगाउँ र बुढानीलकण्ठ; त्यसपछि दोस्रो स्टोरीमा ललितपुरका दुई ठाउँ खोकना र धापाखेलमा कहाँ कहाँ बसोबासका लागि जग्गा उपलब्ध छन्, त्यहाँको अवस्थिति कस्तो छ, भाउ कति चलिरहेको छ लगायत विषयमा विश्लेषण गरेका थियौं।
यसपालि हामी पुगेका छौं — तारकेश्वर र टोखा।
सांस्कृतिक महत्त्वको तारकेश्वरमा फैलिँदै नयाँ बस्ती
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार पौराणिक कालमा सतीदेवीको अंग पतन भएर तारकेश्वर महादेव उत्पन्न भयो। जुन ठाउँमा तारकेश्वर उत्पन्न भयो, अहिले त्यही ठाउँ तारकेश्वर नगरपालिकाका रूपमा चिनिन्छ।
तारकेश्वर नगरपालिका पूर्वमा टोखा, पश्चिममा नार्गाजुन, दक्षिणमा काठमाडौं महानगरपालिका र उत्तरमा नुवाकोट जिल्लासँग जोडिएको छ।
साङ्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गाविस समेटेर २०७१ सालमा तारकेश्वर नगरपालिका घोषणा गरिएको थियो। यहाँ ११ वटा वडा छन्। राजनीतिक रूपमा यो काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा पर्छ।
स्थानीय उद्धव तिमल्सिनाका अनुसार पहिले यहाँ नेवार समुदायको बाहुल्य थियो। थोरै संख्यामा बाहुन, क्षत्री र तामाङ थिए। पछिल्लो समय बस्ती विस्तारसँगै अन्य समुदायको उपस्थिति बढ्दै गएको पाइन्छ। त्यो सँगसँगै यहाँका भिरपाखामा समेत जग्गाको मूल्य बढ्ने क्रममा छ।
तारकेश्वरको बस्ती विस्तार र जग्गाको मूल्यलाई स्थानीयको जीवन निर्वाहले प्रत्यक्ष प्रभाव पारेको छ। यहाँका बासिन्दाको मुख्य पेसा कृषि थियो। खेतीपाती गरेर जीवन निर्वाह गर्ने उनीहरूसँग आर्थिक उपार्जनको अर्को स्रोत थिएन। छोराछोरीको बिहे, ब्रतबन्ध लगायतको खर्च मात्र होइन; शिक्षा, उपचार र गुजाराका लागि समेत जग्गा बेच्ने चलन थियो।
'२०६० अघिसम्म जग्गा किनबेच सामान्यतया स्थानीय बसोबासीभित्रै हुन्थ्यो। यसले बस्ती फराकिलो थिएन। बाहिरका मान्छेको उपस्थिति नगन्य थियो,' तिमल्सिनाले भने, '२०६० पछि भने बाहिरका मान्छे पनि जग्गा किन्न आउन थाले। यसले मूल्य ह्वात्तै बढाइदियो।'
तारकेश्वरमा आकर्षण बढ्नुका पछाडि चार मुख्य कारण छन् —
पहिलो कारण, सडक सञ्जाल र यातायात सुविधा।
यहाँ २०४३ सालमै बाटो पुगिसकेको स्थानीय उद्धव अधिकारी बताउँछन्। २०६३ सम्म आइपुग्दा त्यो बाटो ग्राभेल गर्ने र फराकिलो बनाउने काम भयो। यसले व्यावसायिक रूपमा घरजग्गा कारोबार बढाइदियो।
'हामीले कृषि उपजको बिक्री-वितरण सहज होस् भनेर सडक खनेका थियौं। त्यही सडक ठूलो बनेपछि जग्गाको खरिद-बिक्री बढ्यो,' उनले भने, 'बिस्तारै खेतीपाती मासिँदै गयो र धान फल्ने खेतहरू आवास क्षेत्रमा परिणत हुँदै गए। बाह्रै महिना हरियो देखिने ठाउँ हेर्दाहेर्दै घरैघरले भरियो।'
उनका अनुसार २०६१ सालतिर तारकेश्वरको काभ्रेस्थलीका ३०-३५ घर मिलेर दुई सय रोपनी जग्गामा व्यावसायिक खेती गरेका थिए। उनीहरूले आफ्नो उब्जनी बजार लैजान काभ्रेस्थलीदेखि चिम्बर पोखरीसम्म बाटो बनाए। त्यही बाटो बनेपछि तारकेश्वरमा जग्गा खोज्न आउने क्रम सुरू भएको हो।
जग्गाको मागसँगै यहाँको बस्ती बाक्लिँदै गएको छ। जुन दुई सय रोपनीमा व्यावसायिक खेती गरिएको थियो, अहिले त्यहाँ घरैघर बनेको अधिकारी बताउँछन्।
सडक विस्तारसँगै यो ठाउँ यातायातका हिसाबले सुगम बनेको छ। प्राय: सबै बाटो दुई लेनका छन्। अधिकांश कालोपत्रे गरिएका छन् भने केही कच्ची पनि छन्। सबै ठाउँमा सार्वजनिक यातायात पुग्छ। स्थानीयका लागि मध्य-सहर आउजाउ गर्न रत्नपार्कसम्म जाने तारकेश्वर यातायात छ। हरेक १० देखि १५ मिनेटमा गाडी आउने हुनाले धेरै समय कुरिरहनुपर्दैन।
'यात्रा सहज होस् भनेर गाडी थपिएका थपियै छन्, तर त्यहीअनुसार मान्छे पनि बढेका बढ्यै छन्,' अधिकारीले भने।
-1712126712.jpg)
तारकेश्वरमा जग्गाको माग बढ्नुको दोस्रो कारण हो, सहरी दृश्यावलोकन र स्वच्छ हावापानी।
काठमाडौं सहरसँग नजिक रहेको तारकेश्वरमा केही ठाउँ यस्ता छन्, जहाँबाट पूरै सहर देखिन्छ। झिलिमिली काठमाडौंको अवलोकन तारकेश्वरको एउटा सुन्दर पक्ष हो।
त्यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्ज र रानीवनसँग जोडिएको यो ठाउँमा स्वच्छ हावा बहन्छ। प्रकृतिसँग नजिक रहेकाले बिहान-बेलुकी स्वच्छ हावा खाँदै घुमफिर गर्न चाहनेहरूका लागि यो उत्तम विकल्प हो।
पछिल्लो समय सार्वजनिक पार्क, ब्याडमिन्टन कोर्ट, फुटसल लगायतको निर्माण बढेको छ। बालबालिकाका लागि खेल्ने ठाउँहरू पनि बनाइएका छन्।
तेस्रो कारण हो, बसपार्क नजिकै हुनु।
यो ठाउँ गोंगबु बसपार्कबाट नजिकै पर्छ। त्यसैले काठमाडौंमा बसोबास गर्न चाहने देशभरिका मान्छेलाई यो ठाउँ पायक पर्छ। खासगरी नुवाकोट, धादिङ र गोरखाका धेरै मानिस यहाँ बसाइ सरेका छन्।
चौथो कारण, तारकेश्वर आवास र कृषि दुवैका लागि उपयुक्त छ।
साङ्ला र विष्णुमती नजिकै भएकाले सिँचाइको समस्या छैन। अहिले पनि यहाँ खेती गरेर बस्नेहरूको संख्या उल्लेख्य पाइन्छ।
यसबाहेक राजधानीका ठूला अस्पताल र नर्सिङ होमहरू यो ठाउँ नजिकै पर्छन्।
यहाँको मुख्य समस्या खानेपानी हो। सरकारी धारा नभएकाले प्राय:ले घरमा बोरिङ गरेको स्थानीय बताउँछन्। बोरिङको पानी पनि बाह्रै महिना पुग्दैन। हामीले कुराकानी गरेका धेरैजसो परिवारले ६ महिना बोरिङको पानी र बाँकी ६ महिना ट्यांकरको पानी किनेर खाइरहेको बताए।
अब कुरा गरौं, तारकेश्वरमा जग्गाको मूल्य कति छ?
पहिले बस्ती पातलो हुँदा यो ठाउँमा जग्गा निकै सस्तो पाइन्थ्यो। बस्ती सँगसँगै मूल्य पनि बढ्दै गएको छ। खासगरी २०७२ को भुइँचालोपछि यहाँ तीव्र गतिमा जग्गा बिक्री हुन थालेको र मूल्य पनि अकासिँदै गएको स्थानीय उद्धव तिमल्सिना बताउँछन्।
'भुइँचालोले धेरै स्थानीयका घर भत्के वा बस्नै नहुने गरी चर्के,' उनले भने, 'नयाँ घर बनाउन भएका जग्गा बेच्नुपर्यो। यसले जग्गाको कारोबार ह्वात्तै बढ्यो।'
पैंतीस वर्गकिलोमिटर क्षेत्रफल ओगटेको तारकेश्वरमा सबभन्दा छिटो बस्ती बढेको फुटुङ र मनमैजुमा हो। यहाँ नयाँ बसोबासी धेरै छन्। मुख्य सडक नजिक भएकाले जग्गा तुलनात्मक महँगो छ।
मुख्य सडकबाट सबभन्दा टाढा जीतपुरफेदी र साङ्ला पर्छन्। यो क्षेत्र मुख्य सडकबाट झन्डै आठदेखि साढे आठ किलोमिटर दुरीमा छ। यहाँ नयाँ बसोबासी कम छन्। काभ्रेस्थली भने मध्य भागमा पर्छ। यहाँ पनि नयाँ बस्ती बढ्दैछ।
जग्गाको मूल्य भौगोलिक दुरीअनुसार फरक पर्छ। गोरेटो बाटो पुगेको, राजमार्गले छोएको र भित्री बाटो जोडिएको जग्गाको मूल्य पनि फरक फरक छ।
हामीले कुराकानी गरेका स्थानीय र जग्गा व्यवसायीका अनुसार चक्रपथबाट टाढा पर्ने जीतपुरफेदी र साङ्लामा अरू ठाउँभन्दा सस्तो जग्गा पाइन्छ। प्रतिआना ४ लाख रूपैयाँका जग्गा पनि भेटिने उनीहरू बताउँछन्। विकसित जग्गाको मूल्य भने यहाँ पनि आनाको १८ देखि २२ लाखसम्म पर्छ।
फुटुङ, मनमैजु लगायत नयाँ बस्ती बसेका ठाउँमा आनाको ८० लाखसम्म पर्छ। राजमार्ग आसपासका जग्गा कम्तिमा ५० लाख आनामा कारोबार भइरहेको छ। यहाँ सबभन्दा सस्तो जग्गा पनि आनाको ३० देखि ४० लाख रूपैयाँ पर्छ।
तारकेश्वरको मध्यभागमा पर्ने काभ्रेस्थलीमा अविकसित जग्गा आनाको १५-१६ लाखमा कारोबार भइरहेको छ। प्लटिङ गरिएका विकसित जग्गा २२-२५ लाखदेखि ३०-४० लाख आनासम्मका पाइन्छन्।
तारकेश्वर धार्मिक र सांस्कृतिक महत्त्वको ठाउँ हो। तारकेश्वर महादेवलाई यहाँको सबभन्दा ठूलो शक्तिपिठ मानिन्छ। त्यस्तै, भारतका चारधाम तीर्थस्थलको अवधारणामा निर्माण गरिएको शान्तिधामले पनि पर्यटक संख्या बढ्दै गएको स्थानीय बताउँछन्।
यसबाहेक पुरानो गुह्येश्वरी मन्दिर, मनमैजु इन्द्रायणी, भुवनेश्वरी, सिम्लेश्वर महादेव, महांकाल, नारायण देवी, कल्पेश्वर महादेव लगायत पौराणिक महत्त्व बोकेका थुप्रै मन्दिर छन्।
सांस्कृतिक रूपमा लाखेनाच र घोडेजात्रा यहाँ धुमधाम मनाइन्छ। घोडेजात्रामा धर्मस्थलीमा पाँच दिन जात्रा हुन्छ। उक्त जात्रा हेर्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिस आउँछन्।
टोखामा खाली जग्गा भेट्नै मुस्किल
टोखामा नयाँ बस्ती फैलिँदै छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चक्रपथको सामाखुसी चोक नाघेर चार किलोमिटरसम्म बाहिर जाँदा पनि वरपर खाली ठाउँ भेटिँदैन। सडकको दुवैतर्फ दन्तलहरजस्तै टपक्क टाँसिएर घरहरू बनेका छन्। चार किलोमिटर पर विष्णुमती खोला पार गरेपछि भने सडक आसपास फाट्टफुट्ट खाली ठाउँ देखिन्छ।
हामी कुरा गर्दैछौं, टोखाको।
२०७३ सालसम्म पनि टोखामा जग्गा किनबेच नगन्य नै थियो। अहिले भने यति उच्च दरमा बढेको छ, टोखाको माथिल्लो भेग चण्डेश्वरीमा समेत पछिल्लो सात वर्षमा जग्गाको मूल्य दोब्बर भएको छ।
'कुनै बेला यहाँ टोपीको सट्टा जग्गा दिने चलन थियो रे,' चण्डेश्वरीका स्थानीय मोतीलाल श्रेष्ठले भने, 'यसरी टोपी दिने साहुहरू हुन्थे भने त्यसको सट्टा जग्गा दिनेहरू स्थानीय बासिन्दा हुन्थे। अहिले त जग्गाको भाउ छोइनसक्नु छ। घरैपिच्छे जग्गा कारोबारी छन्।'
मोतीलालले नै २०७३ मा ८ लाख रूपैयाँ आनाको दरमा चण्डेश्वरीको जग्गा बेचेका थिए। अहिले त्यही जग्गाको मूल्य प्रतिआना ३०-३५ लाख पुगेको छ। चण्डेश्वरीको जग्गा महँगो हुँदै गएपछि त्योभन्दा माथिल्लो भेग झोरसम्मै कारोबार बढ्न थालेको छ।
झोर भनेको सामाखुसी चोकबाट करिब ७ किलोमिटर दुरीमा पर्छ। यहाँ आनाको ३० देखि ३५ लाख रूपैयाँमा कारोबार भइरहेको स्थानीय व्यवसायी इन्जिनियर दिपक कुँवरले बताए।
टोखाको माथिल्लो भेगसम्म बस्ती विस्तार हुनुका विभिन्न कारण छन्।
पहिलो कारण यहाँको स्वच्छ हावापानी हो। शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले यो ठाउँमा जंगलको स्वच्छ हावा बहन्छ। जंगलकै कारण खानेपानीको समस्या छैन। यहाँ अहिलेसम्म राणाकालदेखिको पानीको स्रोत प्रयोग भइरहेको छ।
टोखा क्षेत्रमा करिब ४०-४५ हजार घर भए पनि तीमध्ये १५ हजार घरले पानीको पुरानै स्रोत प्रयोग गरिरहेका छन्। अरूले भने व्यक्तिगत रूपमा बोरिङ गरेका छन्। चक्रपथबाट एक किलोमिटर माथिसम्म बोरिङबाट निकालिएको पानी पिउनयोग्य रहेको स्थानीयको भनाइ छ।
एकभन्दा बढी सडक सञ्जालले जोडिनु यो क्षेत्रको अर्को विशेषता हो।
चक्रपथबाट टोखा पुग्ने विभिन्न बाटा चल्तीमा छन्। सामाखुसी चोकबाट सोझै टोखा पुग्ने बाटो छ। तर चोकको मुखैमा जम्मा १० मिटरको बाटो भएकाले गाडीको घन्चमन्च धेरै हुन्छ। त्यहाँबाट एक किलोमिटर परदेखि भने १८ देखि २० मिटरसम्मको फराकिलो बाटो सुरू हुन्छ।
यसबाहेक विष्णुमती पुल भएर जाने कोरिडोरले पनि टोखालाई जोडेको छ। बुढानीलकण्ठको नारायणथानबाट पनि जान सकिन्छ।
-1712126868.jpg)
टोखाबाट नुवाकोटको छहरे हुँदै चीनको केरूङ नाका जोड्ने राजमार्ग बन्ने क्रममा छ। यो बाटो अहिले नै प्रयोगमा आइसक्यो। नुवाकोट जाने सार्वजनिक यातायात धेरै चल्छन्। टोखाबाट छहरेसम्म चिनियाँ सहयोगमा सुरूङ मार्ग बन्ने पनि बताइँदै आएको छ। करिब ५० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको यो सुरूङ मार्गका लागि सरकारले चालू आर्थिक वर्ष एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। यो बाटो विस्तार हुँदा नुवाकोटसम्मको दुरी करिब ३० किलोमिटर कम हुन्छ।
टोखा क्षेत्रमा बढ्दै गएका ठुल्ठूला हाउजिङ, अपार्टमेन्ट पनि बस्ती विस्तार हुनुका कारण हुन्। यहाँ निर्माणाधीनसमेत जोड्दा ६ वटासम्म हाउजिङ र अपार्टमेन्ट छन्। ग्रान्डी भिला, हार्मोनी, शभ, वीणा हाउजिङ, कुँवर कोलोनी लगायत प्रमुख छन्। त्यस्तै, आवास कोलोनीहरू पनि निर्माणाधीन छन्।
केही समयअघिसम्म यहाँ नुवाकोटका मानिसको बसोबास धेरै थियो। पछिल्लो समय हाउजिङ र अपार्टमेन्ट बढ्ने क्रमसँगै देशभरकै मानिस बसोबास निम्ति आउन थालेका छन्।
ग्रान्डी इन्टरनेसनल अस्पतालले पनि यो ठाउँको माग बढाएको छ। यसबाहेक बैंक, रेस्टुरेन्ट र डिपार्टमेन्ट स्टोरहरू पनि थुप्रै छन्।
बढ्दो सुविधासँगै टोखा क्षेत्रमा भिआइपी बसोबास बढेको पाइन्छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेताहरू भीम रावल, ईश्वर पोखरेल लगायतको बसोबास यही क्षेत्रमा छ। त्यसबाहेक सचिवस्तरका सरकारी अधिकारी र उच्च प्रहरी अधिकृतहरू पनि यहाँ बस्छन्।
मूल्यको कुरा गर्दा सामाखुसी चोक नजिकै पर्ने टोखा क्षेत्रमा आनाको ६० देखि ६५ लाख रूपैयाँ पर्छ। जति माथिल्लो भेगतिर गयो, जग्गा उति सस्तो हुँदै जान्छ।
उदाहरणका लागि — चण्डेश्वरी, झोर लगायत ठाउँमा बाटोले छोएको जग्गा ३० देखि ३५ लाख रूपैयाँ आनामा कारोबार भइरहेको छ।
बाटोले नछोएको वा साँघुरो बाटो भएको जग्गा आनाको १५-२० लाखमै पाइन्छ।
***
यी पनि पढ्नुहोस्: