नयाँ आर्थिक वर्ष २०८३–८४ सुरू भएसँगै मालपोत कार्यालयहरूले जग्गाको नयाँ न्यूनतम मूल्य सार्वजनिक गरेको छ।
अहिले काठमाडौंमै जग्गाको सबभन्दा धेरै महॅंगो दर हुनेमा माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग र कमलादी क्षेत्रमा मूलबाटोमा रहेका जग्गाहरू छन्।
त्यस्तै, केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल, क्षेत्रपाटी चोक, हनुमानढोका, इन्द्रचोक, असन जमल राष्ट्रिय नाचघर र विश्वज्योति हलदेखि तीनधारा पाठशालासम्म मूलबाटोसॅंग जोडिएका जग्गा छन्।
यिनको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रूपैयाँ तोकिएको छ। गत वर्ष भने यी क्षेत्रको सरकारी मूल्य प्रतिआना ७२ लाख ६० हजार रूपैयाँ तोकिएको थियो।
सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रूपैयाँ तोकिएको अन्य स्थानमा रत्नपार्क, पुरानो बसपार्क सहिद गेट लगायत छन्।
पुतली सडक आसपासका जग्गाको मूल्य प्रतिआना ५६ लाख रूपैयाँ तोकिएको छ। यसअघि यहाँका लागि प्रतिआना ५३ लाख २४ हजार तोकिएको थियो।
यी क्षेत्रमा कच्ची र गोरेटो बाटोले छोएको जग्गाका लागि भने २२ लाख देखि ३७ लाख रूपैयाँसम्म तोकिएको छ।
यसअघि भने २१ लाख ७८ हजारदेखि ३३ लाख ८८ हजार रूपैयाँसम्म तोकिएको थियो। यी क्षेत्र डिल्ली बजार मालपोत अन्तर्गत पर्छन्।
वास्तविक कारोबार भने सोभन्दा धेरै मूल्यमा हुने गरेको घरजग्गा व्यवसायीहरू बताउँछन्।
चाबहिल मालपोत कार्यालयले हेर्ने क्षेत्रहरूमा भने गौशालादेखि धोबीखोलाका चक्रपथसँग जोडिएका जग्गाको मूल्य सबैभन्दा धेरै छ।
यो क्षेत्रमा जग्गाको भाउ प्रतिआना ६२ लाख ७० हजार रूपैयाँ तोकिएको छ। यसअघि यी जग्गाको भाउ प्रतिआना ५७ लाख रूपैयाँ प्रतिआना तोकिएको थियो।
चाबहिल मालपोत अन्तर्गतका जग्गाहरूको मूल्य प्रति आना ७० हजारदेखि पाँच लाख रूपैयाँसम्म बढेको छ।
मालपोत कार्यालय कलंकी अन्तर्गतका जग्गाहरूको सरकारी मूल्य पनि वृद्धि गरिएको छ।
यसअघि बल्खुदेखि वनस्थलीका चक्रपथसँग जोडिएका क्षेत्रको प्रतिआना मूल्य ४७ लाख रूपैयाँ तोकिएकोमा अहिले वृद्धि गरिएको हो।
अब यो क्षेत्रको जग्गाको मूल्य प्रति आना ४९ लाख ३५ हजार रूपैयाँ तोकिएको छ।
कालीमाटी, विष्णुखोला क्षेत्रका जग्गाको मूल्य पनि २३ लाख रूपैयाँदेखि ४३ लाख रूपैयाँ तोकिएको छ। यसअघि यी जग्गाको मूल्य २२ लाखदेखि ४१ लाख रूपैयाँ तोकिएको थियो।
गोकर्णेश्वर नगरपालिकाको साविकको बालुवा गाविसमा बाटोले नछोएको जग्गाका लागि एक लाख ४३ हजार रूपैयाँ तोकिएको छ।
वडा नम्बर १, २ १० का बल्खु खोला, दक्षिण कीर्तिपुर चक्रपथ लगायतका केही स्थानमा बाटो नपुगेको जग्गाको मूल्य १ लाख ६५ हजार तोकिएको छ।
यसरी काठमाडौं जिल्लामा जग्गाको सबभन्दा कम मूल्य प्रतिआना एक लाख ४३ हजार रूपैयाँसम्म तोकिएको छ। सबभन्दा धेरै ७६ लाख २० हजार रूपैयाँ तोकिएको छ।