सिस्ने हिमालको स्याँठमा हुर्किएका उनी अमेरिकी जीवनको बानी बसाल्दैछन्।
साताभरि यन्त्रवत् खटिँदा मैलिएका लुगाको उरूङ लाग्छ। त्यसैलाई धोइपखाली गर्न उनी लन्ड्री सेन्टर पुगेका रहेछन्।
'दुई मिनेट लाग्छ कोठा पुग्न, त्यहाँ पुगेपछि मज्जाले कुराकानी गर्छु है' भन्दै उनले हामीलाई अड्याएका थिए।
झन्डै पाँच मिनेटपछि उनी कुराकानीमा जोडिन आइपुगे।
शरीर अमेरिकाको धूप र भागदौडमा छ। मन त जहिल्यै कमल दहमा तैरिइरहन्छ। नेपालमा हुने स–साना घटना कमल दहको पानीमा हावाका झोक्काहरूले लहर उठाएझैं मथिंगलमा मनोवेग पैदा गर्छन्।
'विदेश जान पाऊँ भन्दा पनि सरकारले गोली ठोकेछ है,' उनले शुक्रबार दुई जनाको ज्यान गएको बालकुमारीको घटना आफ्नै बुझाइमा बताए।
दुष्कर बाटो छिचोल्दै अमेरिका पुग्नेहरूको कथा र उनीहरूले भोग्ने सास्ती खोतल्ने क्रममा हामी यो अंकका लागि रूकुम (पूर्व), सिस्ने हिमाल गाउँपालिका–५ का लक्ष्मण शर्मा दाहालको सम्पर्कमा पुगेका थियौं।
पूर्वी रूकुमको पहाडमा सपना झाँगिने उर्वर ठाउँ नभेटेपछि उनी १३ महिनाअघि मृत्युको दुर्लङ्घनीय बाटो छिचोल्दै अमेरिका हानिएका थिए। अमेरिका पुग्न भने ६ महिनाको त्रासदीपूर्ण बाटो हिँड्नुपर्यो। बारम्बार झम्टिन आइरहने मृत्युलाई हातले धकेलिरहनुपर्यो।
अमेरिका जाँदा कस्ता विघ्नबाधा आइपर्छन् भनेर हामीले अघिल्लै अंकमा प्रस्तुत गरिसकेका छौं। यो अंकमा गरिबी, अभाव र विपन्नताले छोपेको मध्यपहाडका डाँडाकाँडा दौडिरहेको अमेरिकी सपना र त्यही सपना पछ्याउँदै दुःसाध्य बाटो छिचोलेरै भए पनि अमेरिका पुगिछाड्ने युवा सपनाले कसरी उनीहरूलाई दलालको सम्पर्कमा पुर्याउँछ भन्नेबारे चर्चा गर्नेछौं।
ती दलालहरूको माकुरीजालोले कसरी उनीहरूलाई बाटोमा पर्ने बीसभन्दा बढी देशको सीमा कटाएर अमेरिका हुलिदिन्छ भनेर विस्तृतमा बताउनेछौं। यसैको खोजपड्ताल क्रममा हामी लक्ष्मण दाहालसँग जोडिएका हौं।
साविक शोभा गाविस बाहुन्ठानामा जन्मिएका लक्ष्मणले संघर्षका अनेक बाटा हिँडे। दुःखजिलोका अनेक उपायको खोजपड्ताल गरे। बाबुबाजेको खोरियामा दस नंग्रा खियाए।
२०६२ सालमा प्रवेशिका उत्तीर्ण गरेका उनले लगत्तै २०६३ देखि २०६८ सम्म गाउँकै विद्यालयमा पढाए। कालोपाटीमा चक–डस्टर घोटेर जीवनको बाटो पहिल्याउन अवस्था भने देखेनन्।
मासिक चार–पाँच हजार रूपैयाँ समेत कमाउन धौधौ हुने भएपछि 'बरू कुल्ली, दरबान नै गर्छु' भनेर उनी भारत गए। जहाँ गए पनि दुःखले पिछा गर्न के छाड्थ्यो!
भारतको मजदुरीले पनि परिवारको भोकको ज्वाला शान्त गर्ने छाँट नदेखाएपछि उनले अरबको बाटो तताए।
'साउदीमा झन्डै चार वर्ष पसिना बगाएँ। शरीर निचोरेर पसिना बगाउँदा पनि अपेक्षित उपलब्धि आर्जन नभएपछि २०७४ सालमा म नेपाल नै फर्किएँ,' अरबमा पन्छाएको दुःख सम्झिएर उनी अझै पनि विस्मित हुन्छन्।
साउदीमा उनले ४०–४५ डिग्री तापमानमा हाड घोटेर मुस्किलले ८ लाख रूपैयाँ जति जोगाएका थिए। त्यही पैसा स्वदेशमै रोपेर सपना लहलहाउने उद्देश्यका साथ उनले २०७५ सालमा काठमाडौंको जोरपाटीमा हस्तकला कम्पनी खडा गरे। व्यवसाय प्रवर्द्धन गर्न त्यही कम्पनी देखाएर चीन, थाइल्यान्ड, मलेसिया, सिंगापुर आदि देशहरू फन्को मारे।
जति मेहनत गरे पनि जीवनमा पहारिलो घाम लाग्ने छाँट देखिएन।
त्यसपछि पूर्वीरूकुम नै फर्किएर कृषि विकास बैंकमा सुरक्षा गार्डको काम सुरू गरे।
बैंकमा द्वारपाल बस्दा पनि जीवनका छिद्रहरूबाट फुतुफुतु दुःख पस्न मत्थर नभएपछि पत्थरको दिल बनाएर उनी मथिंगलमा अमेरिकी सपना सिँगार्न थाले। अमेरिकी सपना सिरान हालेर सुत्न थाले।
'तिनताका पूर्वीरूकुमका पहाडमा अमेरिकी सपना खुबै फस्टाइरहेको थियो। गाउँका गाउँ अमेरिका जाने लहरमा थिए। अमेरिका नपसेको घरै भेट्न दुरूह थियो,' उनले अमेरिकी सपना पछ्याउँदाको क्षण सुनाए, 'यसै दुःख, उसै दुःख! अमेरिका नै फाल हाल्ने निधो गरेँ।'
लक्ष्मणसँगको कुराकानीबाट हामी के थाहा पाउन सक्छौं भने, त्यति बेला अन्तर्राष्ट्रिय तस्करको सञ्जाल रूकुमका खेतखलियानसम्मै पुगिसकेको थियो। दलालका सम्पर्कसूत्रहरूले सजिलैसँग अमेरिका पुग्ने बाटो देखाउँथे। उनीहरूको मधुवाणीमा युवा निस्फिक्री परिरहेका थिए, झलमल्ल बलेको बत्तीमा झ्याम्मझ्याम्म पुतली होमिएझैं।
अमेरिका पस्ने माध्यम बनेका दलालहरू (डंकर) खोज्न चारचौरास चहार्नुपर्दैन थियो। गाउँका सँधियार, आफन्त, नरनाताभित्रैकाले सम्पर्कको काम गर्ने उनले सुइँको पाए।
लक्ष्मण उनीहरूको पहुँमा पुगिहाले।
'वरिपरिका नै एजेन्ट छन्। अमेरिका पठाउन धमाधम पैसा लिइरहेका छन् भन्ने थाहा पाएँ,' उनले अमेरिका जान पासपोर्ट बुझाउँदाको क्षण सम्झिए।
साथीसंगाती तहकै सम्पर्कसूत्रबाट उनी नेपाली डंकरको सम्पर्कमा पुगे।
'मैले नेपालका खास एजेन्ट को हुन् भनेर थाहा पाइसकेको थिइनँ। चिनेजानेकै साथीका माध्यमबाट उनीहरूको सम्पर्कमा पुगेको थिएँ। आफूलाई अमेरिका जानु थियो, बाटो र उपाय थाहा नभएकाले जसले जे भने पनि पत्याउनुपर्थ्यो,' लक्ष्मणले भने।
२०७९ कात्तिक अन्तिम साता हुनुपर्छ, गते उनलाई ठ्याक्कै स्मरण छैन। शनिबारको दिन थियो। उनले काठमाडौंमा रहेका दलाललाई भेटे।
ती दलालले आफ्नो सम्पर्क सञ्जाल दाङ, रूकुम आदि जिल्लामा फैलाएका थिए। तिनै सम्पर्कसूत्रको बाटो भएर लक्ष्मण काठमाडौंका दलालको दैलोसम्म पुगेका थिए।
दलालले सुरूमै ५० लाख रूपैयाँ लाग्ने बाटो देखायो। त्यति पैसा जुटाउने क्षमता लक्ष्मणसँग थिएन। अमेरिकी सपनाले घच्घच्याइरहेकाले अन्ततः उनले ४८ लाख रूपैयाँमा कुरा मिलाए।
कुरा त मिलाए, तर पैसा जुटाउन निकै सकस भयो।
अरबको धूपबाट जोगाएर ल्याएको ८ लाख उम्रिएर सपनाको फल लाग्छ कि भनेर दसतिर छर्दा स्वाहा भइसकेको थियो। कहाँबाट जुटाउनू आधा करोड रूपैयाँ!
आफन्त, नरनाता भएजत्तिको दैलो चहार्दा उनले ४८ लाखको वचनको त पाए, तर पैसा जुटिहाल्ने विश्वास थिएन।
नसोचेको भयो!
'यहीँ व्यापार–व्यवसाय गर्छु, इलम–उद्यम गर्छु भनेको भए कसले पैसा दिनु! अमेरिका जाने भनेपछि जसले पनि पैसा दिइहाल्दो रहेछ। म दिइहाल्छु नि भन्ने मानिसहरू निस्किनुभयो, तुरून्तै ४८ लाखको वचन पाएँ,' लक्ष्मणले नेपाली समाजको मनोदशा केलाउँदै भने, 'विदेश धकेलिन कति सजिलै मानिसले अरूको साथ पाउँदो रहेछ भनेर त्यसपछि पो थाहा पाएँ!'
४८ लाख जुट्ने गतिलो आधार देखेपछि उनको अमेरिका पुगिछाड्ने सपना थप मजबुत भयो।
ती दलालको हातमा उनले पाँच लाख रूपैयाँ र पासपोर्ट दिए।
'तपाईंको भिसा एक हप्ताभित्रै आउँछ। एक–दुई दिनअगाडि खबर गर्छु। तयार भएर बस्नू,' पासपोर्ट र पैसा थन्क्याउँदै दलालले उनलाई भने।
'यति चाँडो होला र!' लक्ष्मणको मनले पत्याएकै थिएन।
नभन्दै नेपाली डंकरले एक सातामै भिसा झारे। उनी विश्वासको जालमा परिहाले।
भ्रमण भिसामा उनी चीन, सिंगापुर, थाइल्यान्ड, मलेसिया आदि देशहरू पुगिसकेका थिए। त्यसैले भिसा लाग्न सहज भएको अनुमान उनले गरे।
एजेन्टले भनेझैं दुबईको भिसा आयो।
मृत्यु मार्गमाथि भ्रमको जलप लगाएर दलालले अमेरिकाको सुखद् यात्राको मोहजालमा पारेका थिए। भिसा झरेको दिन लक्ष्मण फुरूंग पर्नु स्वाभाविकै थियो।
तर उनको दुर्दिन बल्ल सुरू भएको थियो।
२०७९ मंसिर २ गते उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छाडे। दुबई पुगेपछि एक–दुई सातामै अफ्रिकाको कुनै मुलुकको भिसा लाग्ने आश्वासन पाएका थिए। काठमाडौं र दुबईको डंकर एकै भएकाले उनले सहजै पत्याए पनि। तर दुबईको भूमिमा ओर्लिनेबित्तिकै अमेरिका पस्न सोचेझैं सजिलो रहेनछ भन्ने चाल पाइहाले।
दलालले अमेरिका लैजाने दिन कुरेर दुबईमा नेपालीहरू एक वर्षदेखि बसिरहेको सुइँको उनले पाइसकेका थिए। नियतिले आफूलाई पनि त्यही बाटो देखाइरहेको छ कि भनेर उनी झसंग भए।
नभन्दै आज–भोलि भन्दाभन्दै दुबई बसाइ लम्बिन थाल्यो।
दुबई पुगेपछि नेपाली डंकरहरूले पनि मोलमोलाइ गर्दा रहेछन्। अनेक झन्झट देखाएर अत्तो थाप्दा रहेछन्। सबै पैसा त्यहीँ तिरिसक्न तीव्र दबाब दिँदा रहेछन्।
डंकरहरूले जे भन्छन्, निरूपाय भएर त्यही मान्नुको विकल्प उनीहरूसँग हुँदैनथ्यो। किनभने, अमेरिकी सपनाको लट्टाई अब उनीहरूकै हातमा थियो।
दुबईमा उनीहरूलाई एउटा अपार्टमेन्टमा राखिएको थियो। अपार्टमेन्टमा तीन-चार सय जना थिए — सबै अमेरिकी सपनाधारी।
लक्ष्मणसँगै २० जना नेपाली थिए। उनीहरू चार-पाँच जना दलालमार्फत् आएका थिए। लक्ष्मणको समूहमा एकै दलालबाट आएका पाँच जना थिए।
'अफ्रिकाको भिसा कहिले झर्छ?' उनीहरू दलाललाई अकिञ्चन प्रश्न गर्थे।
मूर्त जवाफ नभएको दलाल जवाफ फर्काउँथे, 'पख्नुस् न एक-दुई दिन। बस्न-खान पाउनुभएकै छ। परिवारसँग पनि सम्पर्क भइरहेको होला। किन आत्तिनुहुन्छ? हामी भिसा आएपछि भनिहाल्छौं नि!'
त्यसो भन्दाभन्दै तीन महिना बित्यो।
दलालले प्रतिव्यक्ति दिनको ३० दिराम (१०८० नेपाली रूपैयाँ) खर्च गरेर उनीहरूलाई अपार्टमेन्टमा राखेको थियो। त्यसको पैसा दलाल आफैंले तिर्थ्यो।
तीन महिनापछि अंगोलाको राजधानी लुवान्डाको भिसा लागेको खबर डंकरले लिएर आए।
अमेरिकी सपनाको ट्रान्जिट अब अफ्रिकी मुलुक अंगोला सर्यो।
अंगोला विमानस्थलमा ओर्लिनेबित्तिकै भीमकाय शरीर भएका दुई-तीन अनुहार देखापरे। दुबईका डंकरले ह्वाट्सएपबाट उनीहरूको फोटो पठाइसकेका रहेछन्।
लुवान्डामा ओर्लिएका उनीहरूलाई ती भीमपुरूषले पल्याकपुलुक हेरे। मोबाइलको पर्दामा देखिएको फोटो हेरेर ठम्याइहाले।
डंकरले आफ्ना मानिस पहिचान गरेपछि उनीहरूले नजिकैको होटलमा लगेर राखे। बसाइ खर्च पनि त्यहीँको डंकरले बेहोरे।
लुवान्डाका डंकरले नेपाली भाषा बुझ्दैन थिए। अंग्रेजी पनि खासै बोल्न नआउने रहेछ। उनीहरूले बोल्न खोजेको वाक्य लक्ष्मणहरूले बुझ्दैन थिए। लक्ष्मणहरूले बोलेको खण्डित वाक्य त्यहाँका डंकरले भेउ पाउँदैन थिए। भाषाको अन्योल कसरी चिर्ने?
त्यसको उपाय दुबईमा रहेका डंकरले बताइसकेका थिए। उनीहरूले दोभाषेको काम गर्ने एप्लिकेसन (एप्स) मोबाइलमा डाउनलोड गरेका थिए। त्यसैको माध्यमबाट आइपर्ने भाषिक समस्या पन्छाउँथे।
लुवान्डाबाट त्यसको सुरूआत भयो। उनीहरू 'अब हामी यहाँबाट कहिले जान्छौं?' भनेर सोध्थे। लुवान्डाका डंकरहरू 'दुई-तीन दिनमै क्यारेबियन देश क्युबाको भिसा लाग्छ' भन्दै मोबाइल एपमार्फत् अनुवाद गरेर सुनाउँथे।
'अन्तर्राष्ट्रिय मानव तस्करको गिरोह र तिनीहरूको काम गर्ने चुस्त शैली देखेर हामी तीनछक पर्थ्यौं। उनीहरूको हरेक पाइला पैसाका लागि अघि सर्थ्यो। पैसा पाएपछि उनीहरू निमेषभरमै काम फत्ते गर्थे, नपाए डेग चाल्दैन थिए,' लक्ष्मणले सुनाउँदै गए।
लुवान्डाबाट निस्किनुपूर्व क्युबाको बसाइ खर्च आफैंले बेहोर्नुपर्ने डंकरले बताएका थिए। क्युबामा उनीहरू तीन-चार दिन बसे। प्रतिव्यक्ति दैनिक सय युरो खर्च निस्किन्थ्यो। त्यो उनीहरूले नै बेहोरे।
क्युबाबाट कता भएर अमेरिकी यात्राको बाटो समात्ने हो भनेर उनीहरू असमञ्जसमा थिए।
यसको जवाफमा दक्षिणी अमेरिकी देश गुयानाको भिसा लागेको सन्देश त्यहाँको डंकरले मोबाइल एपमार्फत् अनुवाद गरेर सुनाए।
उनीहरूको मनभित्र कहिलेकाहीँ मानिस हौं कि यन्त्र हौं जस्तो प्रश्न उठ्थ्यो। शरीरका अंग–प्रत्यंग यथा हालतमा थिए। तर तिनीहरूले काम नगरेजस्तो लाग्थ्यो। सपना हो कि विपना हो भनेर पनि ठम्याउन मुस्किल हुन्थ्यो।
तीनवटा देश पार हुँदै अब उनीहरू दक्षिणी अमेरिकी मुलुक गुयाना जाँदै थिए। तर पैतालाले त्यहाँको माटो महसुस गर्न पाएको थिएन। आँखाले त्यहाँको हावापानी, भूबनोट विचरण गर्न पाएको थिएन।
उनीहरू बन्धकजस्तो बनेर एक डंकरबाट अर्को डंकर हस्तान्तरित हुँदै थिए। देश-देशबीच सुपुर्दगी भएजस्तो हविगत थियो! यत्ति हो, ती डंकरहरू इमानदार थिए। एउटा देशबाट अर्को देशको सिमानासम्म सकुशल पुर्याउन बेइमानी गर्दैन थिए। पैसा पाएपछि धोकाधडी उनीहरूको बानीमा भेटिएन।
यति मात्र होइन, बाटामा आइपर्ने विघ्नबाधा बेहोर्न, चुनौतीको सामना गर्न पनि आफूसँगै लिएर हिँडेकाहरूलाई सिकाउँथे। अमेरिका छिर्न पछि लागेकाहरूलाई सेवाग्राहीसरह व्यवहार गर्थे। झर्कोफर्को गरेको, अपशब्द बोलेको उनीहरूले कहिल्यै सुनेनन्।
यद्यपि तल्लो बाटो अमेरिका पुगेका अन्य केही नेपालीले भने एउटै लरीमा चार सय जनासम्म खाँदेर मेक्सिको सिमाना पुर्याएको र बाटामा अमानुषिक ताडनाहरू दिएको भन्दै आफ्ना डंकरको कुरा काटेका थिए।
लक्ष्मणले त्यस्तो सास्ती बेहोर्नुपरेन।
'कहिलेकाहीँ चाहिँ आफूलाई वस्तुभाउजस्तो ओसारपसार गरिरहेजस्तो लाग्थ्यो र झसंगझसंग हुन्थ्यौं,' उनले जिब्रो काढ्दै सुनाए।
दक्षिण अमेरिकी देश गुयानामा पनि उनीहरू तीन दिन नै बसे। त्यहाँ पनि डंकर इमानदार परेकाले विमानस्थलको चिसो सिँढीमा बास बस्नुपरेन। डंकर गतिलो परेन भने भ्रामरी आफ्नै थाप्लामा खनिएसरह हुने लक्ष्मणले बताए। उनका अनुसार कैयन महिना जाँचकीको आँखा छलेर विमानस्थलका शौचघर र प्रतीक्षालयमा रात बिताउनुपर्छ।
'कम्तीमा हामीले त्यसो गर्नुपरेन। जुन देश लैजान्थे, हामी पुग्नुअगावै होटलमा कोठा लिइसकेको हुन्थ्यो,' लक्ष्मणले भने।
गुयानाको होटलको पैसा भुक्तानी गरेपछि डंकरहरूले हिँड्न इसारा गरे। उनीहरूको जहाजको यात्रा सकिएको थियो। अब बसबाट बाँकी देश छिचोल्नुपर्थ्यो। यतिञ्जेल उनीहरूलाई यात्रामा काँडाले पनि कोरेको थिएन।
होटलको सँघार काटेर अघि बढ्दै गर्दा बल्ल उनीहरूले भेउ पाए, दुःखको जँघार बल्ल सुरू हुँदै थियो।
गुगलमा सर्च गर्दा गुयानाबाट ब्राजिलसम्मको दुरी तेह्र सय माइल (२ हजार ५ सय ६० किलोमिटर) देखायो। यत्रो दुरी गाडीमा यात्रा गर्न कम्तीमा साता दिन लाग्थ्यो।
रातदिन गाडीमा यात्रा गर्दा आइपर्ने दुःख सम्झेर उनीहरूका शरीरका रौं जुरूक्क उचालिए। नियतिले ललाटमा दुःख लेखिसकेपछि नबेहोरी धर थिएन। डंकरले देखाएको बसमा उनीहरू सरासर चढे। कोचाकोच गरेर बसे। बस्न नपाएकाहरू बसको डन्डीमा समातेर उभिए। त्यसो पनि गर्न नपाएकाहरू दुई जनाको बीचमा च्यापिएर हल न चल हुँदै ठिंग उभिए।
बस चढ्दा बाहिरको तापमान ३० डिग्री आसपास हुँदो हो। बसमा खाँदिनेबित्तिकै धूप दोब्बर हुन पुग्यो। उनीहरू निस्सासिन थाले।
ब्राजिल पुग्दासम्म उनीहरूको समूहमा पाँच जना मात्रै नेपाली थिए। बाँकी नेपाली तितरबितर भइसकेका थिए। बसभित्र पाकिस्तान, बंगलादेश, भारत आदि देशका नागरिक हुँदा हुन्, उनीहरूले खासै भेउ पाएनन्।
गुयानाबाट तीन दिन, तीन रातको अविच्छिन्न यात्रापछि उनीहरू ब्राजिल पुगे।
'ठाउँ ठाउँमा खाना खान रोक्थे। बसभित्रका सबै तल्लो बाटो अमेरिका जान लागेकाहरू भएकाले डंकरहरूले पहिले नै अर्डर गरिसकेका हुन्थे। डंकर राम्रो परेन भने त भोकभोकै यात्रा गर्नुपर्छ। सुरक्षाकर्मीको आँखा छल्दै हिँड्नुपर्ने भएकाले दिसापिसाब पनि च्यापेर बस्नुपर्ने हुन्छ,' लक्ष्मणले सुनाए।
अमेरिका छिर्न चौथाइ देश पनि पार भएको थिएन। कष्ट कहिले काट्ने भनेर उनीहरू अत्यास मान्न थालिसकेका थिए। त्यस्तोमा साता दिन ब्राजिलमै बस्नुपर्ने भयो।
'फेरिएका डंकरलाई भाषा बुझाउनै समस्या हुन्थ्यो। मोबाइलमा दोभाषे प्रयोग गर्न पनि चार्ज हुनुपर्यो। मोबाइल हेर्नेबित्तिकै घरको नियास्रोले सताउन थाल्थ्यो। होटलमा पुग्नेबित्तिकै परिवारसँग कुरा गर्ने बानीले यात्रामा खुब सताउँथ्यो,' उनले भने।
डंकरहरूले उनीहरूलाई ब्राजिलको ग्राम्य इलाका पुर्याए। मानव बसोबास कम भएको निर्जन इलाका जस्तो थियो त्यो। आँखाको सिमानासम्म हरित डाँडापाखा देख्दा नेपालकै झल्को नाच्थ्यो। मन फुत्त उभ्रिएर सिस्ने पुगिहाल्थ्यो।
सात दिन ब्राजिलको गाउँमा बिताएपछि उनीहरूले बोलिभियाको यात्रा तय गर्नुपर्ने भयो।
गाउँबाट सामुद्रिक तटसम्म पुग्न डंकरहरूले जिपजस्तो साधन प्रयोग गरे। ब्राजिलबाट बोलिभियासम्म जमिनको बाटो भएर पनि जान नसकिने होइन। तर सुरक्षाकर्मीको आँखा छल्न उनीहरूले दक्षिणी आन्ध्र महासागरबाट दक्षिणी प्रशान्त महासागरसम्म पानीजहाज प्रयोग गरे।
झन्डै पाँच दिनको दिनरात यात्रापछि ३ हजार ८७० माइल दुरी पार गरे।
'झन्डै तीन सय मानिस हुँदा हुन् पानीजहाजमा। मानिसका अतिरिक्त मालमत्ता पनि उत्तिकै खाँद्ने रहेछन्। धीमा गतिमा अघि बढ्दा झन्डै पाँच दिन लाग्यो,' उनले भने।
बोलिभियामा उनीहरूलाई बास बसाइएन। ओर्लिएका मात्रै थिए, अर्को डंकरले बस ठिक्क पारिराखेका रहेछन्। पूर्ववत् लयमा मोबाइलमार्फत् मान्छेको पहिचान गरे। स्वाटसुट्टै बसमा हालिहाले। बसले रफ्तार लिइहाल्यो। उनीहरू दुई घन्टामै पेरूको लिमा पुगे।
पेरू पुगेपछि बल्ल उनीहरूले पिठ्युँ अड्याउन पाए। त्यहाँका डंकरहरूले दुई दिन राखेर इक्वेडरकालाई हस्तान्तरण गरे।
इक्वेडरबाट अर्को डंकरले कोलम्बियाको निकोक्ली भन्ने स्थानमा पुर्यायो। सामुद्रिक तट चित्ताकर्षक थियो। रातविरातको यात्राले त्यहीँको तटमा शरीर बिसाउन मन नलागेको होइन। तर त्यहाँबाट कपुरगानासम्मको बाटो छिचोल्नुपर्थ्यो। त्यसका लागि डंकरहरूले नाउको प्रयोग गरे।
नेपालका बोटे समुदायजस्तै त्यहाँ नाउ खियाउने कर्णधारहरू हुँदा रहेछन्। उनीहरू उर्लिँदो सामुद्रिक छालको परवाह नगरी डुंगा हेल्थे। जसै डुंगा पानीको छालमा हुत्तिँदै पर पुग्थ्यो, उनीहरूको मन सिरिंग हुन्थ्यो।
'दन्त्यकथामा राक्षसहरूले समुद्रमा फेरी चलाएजस्तो लाग्थ्यो। त्यो क्षण सम्झँदा अहिले पनि मन आत्तिन्छ। शरीरका रौं ठाडा हुन्छन्, पैसाका लागि प्राण हत्केलामा राखेर हिँडेका डंकरहरू पनि त्यही डुंगामा भएकाले उनीहरूलाई देख्दा मनभित्र डरको बोझ केही हलुँगो भएझैं हुन्थ्यो!' लक्ष्मणले त्यो क्षण सम्झिए।
उनीहरूको दुःख अझै सकिएको थिएन।
दिनमा उर्लिँदो छालमा डुंगा हेले पनि कपुरगाना पुगिएको थिएन। चार-पाँच घन्टा रातको पनि यात्रा गर्नुपर्ने भयो।
'त्यो क्षण चाहिँ बाँचिदैन भन्ने लागेको थियो। मरिन्छ भनेर सम्झिएजत्ति भगवानको नाम पुकारेका पनि थियौं हामीले,' कालको मुखबाट उम्किएको खुसी उनको अनुहारमा देखियो।
कपुरगाना पुगेपछि राति नै उनीहरू कोको तट पुर्याइए। सौम्य समुद्रको किनार। ठाउँठाउँमा देखिने अग्ला नरिवलका रूखहरू। ठाउँ जति सुन्दर, सुमनोहर थियो, उत्तिनै डरलाग्दो थियो त्यहाँको कथा।
चारैतिर सुरक्षाकर्मी तैनाथ हुने इलाका भएकाले सतर्क रहन डंकरहरूले भन्थे।
'यहाँ कतै रातो बत्ती बल्यो भने जान्नु अब सुरक्षाकर्मीले गोली हान्यो!' यस्तो भन्दै उनीहरू सावधानी अपनाउन भन्थे।
यात्रामा जति दुःख भोग्न बाँकी थियो, अहिलेसम्म रौं बराबर पनि घटेको थिएन।
विश्वकै मृत्युमार्ग भनेर चिनिने डेरियन ग्याप, अर्थात् पानामाको जंगल छिचोल्न बाँकी नै थियो।
सदाबहार पानी परिरहने। चारकोसे झाडीतुल्य सघन जंगल छिचोल्न साता दिनसम्म लाग्छ। त्यो कहर काट्न बाँकी नै भएकाले उनीहरूको दुःख सिंगै बाँकी थियो।
'हिलाम्य बाटो छिचोल्न उनीहरूले प्लास्टिकका लामा-लामा बुट लगाए। घुँडा-घुँडासम्म आउने बुट लगाएर हामी पानामाको जंगल हिँड्न थाल्यौं। डंकरहरू साथै भएकाले त्यति असहज भएन। डंकर नहुनेहरू त लुटपाटमा पर्दा रहेछन्,' उनले त्यहाँको त्रासदी सुनाउँदै भने, 'बाटाभरि कंकाल भेटिने हुनाले कसैकसैले त्यसलाई शमसानघाट पनि भन्दा रहेछन्!'
संयोग नै भनौं, उनले चिहानमा बिसाइएका अमेरिकी सपनासँग साक्षात्कार हुनुपरेन। अमेरिका छिर्ने हुलमा मिसिएर जंगलमै बेवारिसे मरण बेहोरेकाहरूको कंकाल देख्नुपरेन।
डेरियन ग्यापको मृत्यु छलेर उनीहरू पानामा सिटी पुर्याइए। त्यहाँ पुगेपछि फेरि डंकर फेरिए।
'घरबाट निस्किएपछि उनीहरूकै इशारामा हिँडेर होला, हामीलाई डंकर निकै भरसिला लाग्थ्यो,' लक्ष्मणले अचानक बीचमै रोकिएर भने।
नलागोस् पनि किन? उनीहरूको अमेरिकाको सपनाको सारथि उनै त थिए।
पानामा कहर काटेर उनीहरू कोस्टारिका पुर्याइए। पानामा सिटीबाट पुनः बसबाटै यात्रा सुरू भइसकेको थियो। छिचोल्नुपर्ने देशको संख्या अझै आधा दर्जन थियो।
'झन्डै छ महिने यात्राको दौरानमा कतिवटा देश हिँड्यौंसम्म याद हुँदैन थियो। बास बसेको होटल, आराम गरेको जग्गा कसरी सम्झन सक्नु!' यति भन्दै फेरि हाँसे लक्ष्मण।
कोस्टारिकामा उनीहरू दुई-तीन दिन राखिए। त्यहाँबाट झन्डै दस घन्टाको बस यात्रमार्फत् निकारागुआ पुर्याइए। त्यहाँबाट पुनः होन्डुरस लगियो।
यी सबै ठाउँमा डंकर त्यसैगरी फेरिए।
मोबाइलमा फोटो पहिचान गर्दै उनीहरूलाई एउटाबाट अर्कोको जिम्मामा बुझाइँदै गयो, जसरी उनीहरू दुबई, अंगोला, गुयानाबाट हस्तान्तरित हुँदै आएका थिए।
'होन्डुरसमा दुई-तीन दिन बसेपछि ग्वाटेमाला भन्ने देश पुग्यौं। ग्वाटेमालाबाट मेक्सिकोको तापाचुलासम्म पनि बसकै यात्रा भयो। त्यहाँबाट मेक्सिको सिटी लगेर चार-पाँच दिन राखियो। मेक्सिको सिटी पुगेपछि डंकरहरूले सबै पैसा असुल गर्दा रहेछन्। मैले होन्डुरसमा आइपुग्दा बाँकी आठ लाख रूपैयाँ पनि बुझाइसकेको थिएँ। थप दुई लाख रूपैयाँ पो माग्न थाले। नदिई सुखै पाइनँ,' लक्ष्मणले सुनाए।
मेक्सिको सिटीबाट अर्को गन्तव्य मेक्सिकाली भन्ने ठाउँ रहेछ। त्यहाँ मेक्सिकाली पुर्याएपछि पनि तुरून्तै अमेरिकाको सिमानासम्म पुर्याइँदैन। अमेरिका छिर्न चाहनेहरूको घुइँचो बढेका बेला त्यहीँ एक महिना बस्नुपर्ने हुन्छ। उनले पनि झन्डै १५ दिन बस्नुपर्यो।
'त्यहाँबाट उनीहरूले हामीलाई एरिजोना राज्यको सीमावर्ती इलाकामा पुर्याए। त्यहाँबाट अमेरिका छिराइँदो रहेछ,' उनले भने।
मेक्सिको-अमेरिकी सीमा पुगेपछि उनी झसंग भए। त्यहाँ ठूलो फलामे पर्खाल थियो। कसरी चढ्ने भनेर डंकरले सिकाएका थिए।
उनी सहजै पार भए।
'अग्लो फलामे बार भए पनि नाघ्न कठिन रहेनछ,' अमेरिका छिर्दाको खुसी उनले बाँडे।
२०७९ मंसिर २ गते घरबाट निस्किएका उनी २०८० जेठ १२ गते अमेरिका छिर्न सफल भए।
'यात्रामा ती डंकरहरूले हामीसँगै भोक, प्यास बेहोरे, कष्ट काटे। पानामाको जंगलको हिलो, वेगसँग हुँइकिएको डुंगा कतै पनि उनले हाम्रो साथ छाडेनन्,' डंकरलाई उनी अहिले पनि धन्यवाद दिन्छन्।
अमेरिकाको अध्यागमनबाट फर्काइदिए त्यही पैसामा अर्को बाटो घुमाएर पुनः अमेरिका छिराइदिने विश्वास पनि डंकरहरूले दिलाएका थिए। तर पहिलोपटक फर्काइए दोस्रो प्रयास सफल हुनेमा उनी आशावादी हुन सकेका थिएनन्। त्यही भयले उनलाई अमेरिकाको अध्यागमनसम्मै लखेटिरहेको थियो।
अन्ततः अमेरिका छिरेको १५ दिनपछि उनी अन्तर्वार्तामा उत्तीर्ण भए।
लक्ष्मणको अमेरिका बस्ने बाटो खुल्यो।
भयंकर यात्रा तय गरेर अमेरिका पुगेका लक्ष्मणको यस दौरान बीसभन्दा बढी देशका डंकरसँग चिनापर्ची भयो। फरक फरक रूप, बान्की र आनीबानी भए पनि ती सबै डंकरमा एउटै समानता थियो — तोकिएको पैसा लिने र सम्पर्कमा आएकालाई सकुशल अर्को सिमानासम्म पुर्याउने।
यसरी ६ महिना लगाएर भए पनि मेक्सिकोको सीमा नघाइदिएकामा उनी डंकरलाई धन्यवाद दिन्छन्।
***
यो शृंखलामा प्रकाशित स्टोरीहरू:
***
यी पनि पढ्नुहोस्:
यहाँ क्लिक गरेर सेतोपाटी सबस्क्राइब गर्न सक्नु हुनेछ।