अमेरिकी सपनाले माधवलाई क्यारेबियन समुद्रमा तैर्याएको थियो।
त्यस दिन आकाश पूरै खुलेको थियो। बादलको क्लेश पनि देखिँदैन थियो। नीरले नुहाएझैं नीलो आकाश प्रतिच्छवित हुँदा समुद्रको सुन्दरतामा अझ निखारता आएको थियो।
समुद्रबाट एक बाँसमाथि आएको हुँदो हो घाम। बिहानीपखको कोमल हावाले समुद्रमा नूतन तरंग उत्पन्न गर्थ्यो। त्यसमाथि जब कलिला घामका किरण मिसिन्थे, त्यसबाट अनौठो अर्केस्ट्रा उठ्थ्यो।
पृथ्वीको उत्तरी गोलार्द्धको समुद्रमा उठिरहेको सिम्फोनीबाट आस्वादित हुँदै र समुद्रको चित्ताकर्षक नीलिमा नियाल्दै थिए माधव।
'अब डुंगाको वेग बढ्छ, आँखा चिम्म गर्,' कसैले उनको ध्यान भंग गरिदियो।
पुलुक्क पछाडि हेरे। नारायण पो रहेछन्!
दृष्यपटलमा छाएको समुद्रको सुन्दरताबाट वशीभूत हुन छाडेर नारायण दुवै आँखा चिम्म गरेर बसेका थिए।
अचानक डुंगाको वेग बढ्यो। नारायणले दुवै हातले कसिलोसँग डुंगाको बिट समाते। ओठले एकोहोरो केही भट्ट्याइरहेका थिए।
समुद्रमा उठ्ने पानीको छाल र डुंगाको कर्कश आवाजले उनको ओठले के पुकारा गर्यो, उनले बुझ्न पाएनन्। सायद सम्झिएजत्ति भगवानको नाम पुकार्दै थिए। सम्भावित विपत्ति हत्केलाले नै रोकिदिन याचना गर्दै थिए!
अघिसम्म माधवलाई समुद्र चित्ताकर्षक लागिरहेको थियो। अब त्यो डरको पोकोमा परिणत भयो।
जतिजति डुंगाको वेग बढ्थ्यो, त्यो पोकोबाट एक-एकवटा डर फुत्तफुत्त निस्कन्थ्यो। र, अरिँगालले झैं माधवलाई छोप्थ्यो। अनुहारको रोगन उड्दै जान्थ्यो। उनी कहालिँदै जान्थे।
कानमा सुइय्यँ र कल्याङमल्याङ आवाज यसरी ठोक्किन्थ्यो, मानौं त्यो बज्र हो।
अघिसम्म डुंगाले वेग मात्र समातेको थियो। समुद्रको पानीलाई वेगसँग चिर्दै दिशा समातेको थियो। डुंगाले जोडतोडले हुत्याएको पानी हुर्रिँदै आँखामा ठोक्किन आइपुग्थ्यो। बालुवा परेझैं आँखा रनन तुल्याउँथ्यो। सुइय्यँ र कल्याङमल्याङ बाहेक उनी केही ठम्याउन सक्दैन थिए।
त्यही भएर नारायणले उनलाई आँखा चिम्लिन भनेका थिए।
उनले बल्ल चाल पाए!
समुद्रको मध्य भागमा पुगेका हुँदा हुन्, एक्कासि हुरी चल्यो। नाविक आत्तिएको उनले परैबाट देखे। के भयो, कसो भयो, भेउ पाउनै सकेका थिएनन्, अचानक डुंगाले पल्टा खायो।
वेगसँग उठेको आँधीतुफानले डुंगा उभिन्डो भयो। अत्तालिँदै एक–दुईफेर माधवले डुंगाको परिधि समात्ने चेष्टा नगरेका पनि होइनन्। वेगवान हुरी र पानीको लप्काले त्यो प्रयास सफल हुन दिएन।
त्यति बेला उनको आँखामा परेको थियो — समुद्रमा एक होइन, सयौं डुंगा पल्टा खाएका थिए। ज्वारभाटा सेलाएपछिको सौम्य समुद्रमा उनीहरूको चित्कार र क्रन्दन सलहजसरी फैलिएको थियो।
परेली नपल्टाइ हेर्दा समुद्रमा मानिसको तरेली छाएको छ — अहो कस्तो वीभत्स दृश्य!
झल्याँस्स भए उनी।
ब्युँझिँदा शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो। जुरूक्क उठे। पत्नीलाई फोन गर्न खोजे। कोलम्बिया र नेपालको समयान्तर झन्डै दस घन्टा ४५ मिनेटको छ। चैतको धुपमा पत्नी कामको चटारोमा होलिन् भनेर फोन गरिहाल्न सकेनन्। उनको मन झन् अधैर्य भयो।
धीरताको पर्खाल भत्किएपछि फोन गरे।
'देवी! मैले आज डरलाग्दो सपना देखेँ,' एकै सासमा भने।
'के देख्नुभयो र त्यस्तो!,' आश्चर्य मान्दै देवीले सोधिन्।
'त्यस्तो केही त होइन, क्यारेबियन सागरमा आफैं चढेको ढुंगा पल्टिएको सपना देखेँ,' उनले विस्तारमा बताए।
'मनमा अनेकथरी कुरा खेलाउनुभयो होला!,' तन्द्रामै भएका श्रीमानलाई उनले सम्झाइन्।
तराईको उष्णभूमि आफ्ना लागि बञ्जर बन्दै सपना नअंकुराएपछि माधव ६० को दशकतिर मलेसिया छिरेका थिए। तिनताक विदेश जाने लहरै चलेको थियो। स्वदेशमा सम्भावनाका क्षेत्र ठप्प भएका होइनन्।
ऋणधन गरेर स्वनिर्भरको केही उपाय लगाऔं न त भन्यो, आफन्त, नरनाता र इष्टमित्रहरूले दुई पैसा पनि ऋण पत्याउँदैनन्।
'सापटी माग्न गयो, तिर्ने आधार सोध्छन्। बन्दव्यापार गर्छु भन्यो, ए! डुब्छ, जिली नै मासिएपछि कसरी तिर्नु! भन्दै ऋण दिन आनाकानी गर्छन्। बरू विदेश जान भन्यो भने खुरूक्क पैसा दिन्छन्,' देवीले विदेश जान पर्नाको कारण खुलाउँदै भनिन्।
स्वदेशमा केही सीप नचलेपछि मलेसिया हानिएका माधवले त्यहाँ पनि सोचेअनुरूप कमाउन सकेनन्। मलेसियामा हाड घोट्दा पनि खान–लगाउनै धौधौ भएपछि नेपाल फर्किए। मलेसियाबाट फर्किँदा हातमा एक–दुई लाख रूपैयाँ नभएको होइन। त्यति पैसाले के लहराउनू!
माधवलाई विदेशको बानी परिसकेको थियो।
त्यसपछि उनी साउदी अरब हानिए। साउदीको धुपमा पसिना खन्याउँदा पनि गुजारा चलाउन मुस्किल नै भयो।
'परिवारको आकार बढ्दै गयो। आवश्यकता फिँजारिँदै गयो। त्यहाँको कमाइले के पुग्थ्यो!,' देवीले व्यथा सुनाउँदै गइन्।
साउदीले पनि जीवनमा चमक नथपेपछि उनी निरूपाय हुँदै नेपाल फर्किएका थिए। माधवले मलेसिया र साउदी गरेर झन्डै दस वर्ष बिताए। नेपाल फर्किँदा विदेशप्रतिको मोह क्षीण भइसकेको थियो। जति पसिना बगाउनुछ, स्वदेशकै माटो सिञ्चित गर्ने सोचले फर्किएका थिए।
पत्नीले सानोतिनो व्यवसाय सुरू गरिसकेकाले त्यसलाई विस्तार गरेर पारिवारिक आवश्यकता पूर्ति गर्ने लक्ष्य राखेका थिए। जति बेला उनी नेपाल फर्किएका थिए, तराई–मधेसका भूमिदेखि डाँडाकाँडासम्म अमेरिकी सपनाले हाँगा हालिसकेको थियो। पश्चिम र मध्यपश्चिमका बाटाघाटामा अमेरिकी सपनाले वेग हान्थे।
'आफन्त, साथीसंगाती, जसलाई भेटे पनि अमेरिका जान लागेको भन्ने। पहिलेपहिले त धेरै पैसा खर्च गर्न सक्ने मात्रै अमेरिका जान सक्छन् भन्ने मान्यता थियो। समय बदलिइसकेछ, गाउँका मानिसहरू दलाल भेट्दै पैसा बुझाउँदै गर्न थालिसकेछन्,' देवीले सुनाइन्।
एउटै दलालले सय जनासम्मको पासपोर्ट र पैसा बुझेको थाहा भयो। गावैं अमेरिकी सपनाको चंगुलमा परिसकेपछि उनका पति त्यसबाट भिन्न रहन सकेनन्। दलालले सजिलैसँग अमेरिका पुग्ने बाटो देखाएपछि उनी पनि अमेरिकी सपना काखी च्यापेर हिँड्न थाले। आँखाभरि अमेरिकी चमकधमक छाउन थाल्यो।
'त्यत्रो पैसा खर्च गरेर अमेरिका नजाऔं, फेरि अमेरिका पुग्ने निधो नै कहाँ छ र, बीच बाटाबाटै फर्किएर आउनुपर्यो भने त बिचल्ली हुन्छ, पैसा बुझाएको दलाल भेटिँदैन, भेटे पनि पैसा फिर्ता गर्दैन!,' देवीले पतिलाई सम्झाइन्।
तर मथिंगलमा अमेरिकी सपना घुमिरहेकाले माधवले देवीका कुरा खाएनन्।
'एजेन्ट गाउँकै भाइ हुन्। उसले नै गर्नेरहेछ सबथोक। पासपोर्ट र पैसा पनि उसैलाई बुझाउने हो। अरूलाई भन्दा दुई–चार लाख सस्तो गरिदिन्छु भनेका छन्,' उल्टै देवीलाई सम्झाए।
श्रीमानको सपनाका अगाडि देवीको केही जोड चलेन। हार खाइन्।
श्रीमानको सपनाको सारथि बनेर पैसाको जोहो गर्न लागिन्।
यो २०७७ साल पुसतिरको कुरा हो।
चारचौरास गरेर उनले २४ लाख रूपैयाँ जोहो गरिन्। अझै खोज्नुपर्ने थियो आठ–नौ लाख।
मध्यपश्चिमतिरका घर्ती थरका एजेन्टसँग माधवको सम्पर्क भएको रहेछ। एजेन्टले सबैसँग पासपोर्ट र पैसा उठाइसकेको थियो। माधवले बुझाउन बाँकी थियो।
कबोलेबमोजिम पैसा जुट्न बाँकी रहेकाले माधवले पासपोर्ट बुझाएका थिएनन्। केही आफन्तले वचन दिएपछि उनले एजेन्टको हातमा सपनावाहक पासपोर्ट बुझाए।
२०७७ माघ २५ गते उनी घरबाट निस्किए, अमेरिकी सपनाको उडान भर्न।
उनी तेस्रोपटक विदेश उड्दै थिए। उनका पाइला गह्रौं बने।
सोचे — घर छाड्दा यस्तै हुन्छ!
तर होइन। थाप्लामाथिको ऋणको बोझले उनका पाइला गह्रौं बनेका थिए।
२०७७ मध्य पुसबाट कोभिड–१९ को त्रासदी फैलिएको थियो।
'उहाँलाई सुरूमा दुबई लगेर एउटा फ्ल्याटमा राखेको थियो। त्यहाँ ५०–६० जना नेपाली भएको बताउनुहुन्थ्यो। त्यत्तिका नेपाली भएपछि म पनि ढुक्क भएँ,' देवीले भनिन्।
दुबई पुगेपछि एजेन्टले आज, भोलि भन्दै अल्झाउन लागे। अर्को देशको भिसा लगाउन तदारूकता देखाएनन्। 'नसक्ने भए नेपाल फर्काइदिनू' भन्दै त्यहाँ पुर्याएका नेपालीले एजेन्टलाई दबाब दिइरहेका थिए। झन्डै तीन महिनापछि युक्रेनको भिसा लाग्यो।
फुरूंग हुँदै माधवले नेपालमा खबर गरे।
'एजेन्टले युक्रेनको भिसा लागेको बताएको छ। त्यहाँबाट सरासर जान पाइयो भने अमेरिका पुग्ने दिन कत्ति पनि छैन,' उनले पत्नीलाई यसै भनेका थिए।
श्रीमान युक्रेन पुगेको खबर कहिले आउला भनेर देवीले मोबाइलको इनबक्सबाट आँखा छुटाउन सकेकी थिइनन्। श्रीमानको सन्देश नदेख्दासम्म निद्रै नपर्ने भइसकेको थियो। झन्डै सात घन्टापछि म्यासेन्जरमा हरियो संकेत देखियो।
'पुग्नुभयो,' पुलकित हुँदै उनले सोधिन्।
'पुगेँ,' उनले छोटै जवाफ फर्काए।
देवीका अनुसार माधव युक्रेनमा करिब एक साता बसे। त्यसपछि डंकर (एजेन्ट) ले अर्को गन्तव्यको तारतम्य मिलाउन लाग्यो।
'कोलम्बियाको भिसा लाग्यो। यहाँबाट अब हिँडेर अमेरिका जानुपर्छ,' माधवले डेरियन ग्यापको मृत्युमार्गतुल्य अप्ठ्यारो बाटो सुनाउँदै भनेका थिए, 'जंगलको बाटो हिँड्नुपर्छ। खोला तर्नुपर्छ। जंगलमा त फोन सम्पर्क पनि हुँदैन।'
कोलम्बिया पुग्दासम्म उनीहरूले कोभिड जाँच गरेका थिएनन्। कोभिड परीक्षणको कागजात नभएकाले उनीहरू कोलम्बियाको अध्यागमनमै रोकिए। परीक्षणको कागजात नभई अध्यागमनले उम्किन दिँदैन थियो। अन्तर्राष्ट्रिय मानव तस्करको माकुरी जालो भएर उनीहरू अमेरिकी सपनाको उडान भर्दै थिए। डंकर (एजेन्ट) को जालो अध्यागमनसम्मै हुने भयो।
कोभिड परीक्षण गर्ने भन्दै त्यहाँको डंकरले उनीहरूलाई अध्यागमनबाट उम्कायो। स्थानीय परीक्षण एकाइमा लगेर परीक्षण गरायो। तल्लोबाटो भएर अमेरिका जाने यात्रामा माधवका नाताले साढुदाइ पर्ने थिए। साढु पनि सँगै गएकाले देवीले ढुक्कको सास फेर्न पाएकी थिइन्।
कोरोना परीक्षण गर्दा माधवका दाजुको नेगेटिभ अर्थात् उनी संक्रमणबिहीन देखिए। कोलम्बियाभरि जहाँ जान पनि बाधा भएन।
माधवमा भने संक्रमण देखियो। रिपोर्ट नेगेटिभ नआउञ्जेल त्यहीँको आइसोलेसनमा बस्नुपर्ने भयो।
'उहाँसहित ६–७ जना नेपाली र केही बंगालीलाई संक्रमण देखिएको रहेछ, उहाँहरू त्यहीँ रोकिनुभयो,' देवीले भनिन्।
साढु दाइको यात्रा क्यारेबियन सागर हुँदै डेरियन ग्यापतिर अघि बढ्यो। कोलम्बियामा छँदा देवी दिनहुँ श्रीमानसँग कुरा गर्थिन्। कोलम्बियासम्म सजिलै पनि पुगेका थिए। यात्राले ताडना दिएको थिएन। डंकरले उनीहरूलाई होटलमा राखेका थिए। खाने–बस्ने सुविधा राम्रो थियो।
तथापि माधव बेलाबेला आत्तिएको छनक देवीले पाउँथिन्।
२०७८ जेठको उत्तरार्द्धतिरको कुरा हुनुपर्छ, माधवले क्यारेबियन सागरमा डुंगा ढलपल भएर झन्डै पल्टा नखाएको कुरा सुनाएका थिए।
'हामीसँगै आएका साथीहरूको डुंगालाई सामुद्रिक हावाहुरीले हल्लाएर ढलपल बनायो। बालबाल बचेर आयौं भनेर सुनाएका थिए,' माधवले देवीलाई भनेका थिए।
त्यसैको असर मस्तिष्कमा गढेको हुनुपर्छ। माधवले राति सपनामा आफैं चढेको डुंगा पल्टिएको देखेका थिए।
दुई सातापछि उनी लगायत कोलम्बियामा रहेका समूहकै पुनः कोभिड परीक्षण भयो। त्यति बेला चाहिँ माधवसहितको समूहको नतिजा नेगेटिभ आयो। उनीहरू अब हिँडेर अमेरिका जान योग्य भए। बाटामा कोलम्बियन प्रहरीले फेला पारे आइसोलेसनमा लैजाने भय हट्यो।
'अब हामी यहाँबाट पानामा जान्छौं। बीचमा समुद्र पर्ने हुनाले डुंगा चढेर जानुपर्छ। निकोली नपुग्दासम्म फोन, म्यासेज केही पनि सम्पर्क हुँदैन,' माधवले भनेका थिए।
त्यसपछि माधव म्यासेन्जरमा अफलाइन देखिए।
देवीले सोचिन् — डुंगा चढिसक्नुभयो होला, त्यही भएर अनलाइन देखिनुभएन!
उनले दुई दिनसम्म म्यासेन्जर हेरिनन्। श्रीमानले चार–पाँच दिनसम्म सम्पर्कमा आउँदिनँ भनेकै थिए।
तेस्रो दिन देवीकी छिमेकी काकीले माधव सम्पर्कमा आए त भनेर सोधिन्। उनको अनुहारको भाव अनौठो थियो।
देवीले खासै भेउ पाइनन् तर भनिन्, 'भर्खर तीन दिन हुँदैछ, कहिले त एक सातासम्म लाग्छ रे त्यहाँ सम्पर्कमा आउन!'
काकी हुन त हो भनेर बाटो लागिन्।
देवीको मनमा प्रश्न मडारिन खोज्यो — कहिल्यै यसरी नबोल्ने मानिसले एक्कासि किन यसरी सोधेको?
उत्सुकता लागेर होला भनेर आफूभित्र उब्जिएको प्रश्न शान्त पारिन्।
श्रीमान अनलाइन आएका छन् कि भनेर मोबाइल हेरिन्। श्रीमान अनलाइन थिएनन्। बरू एजेन्टले तीन–चारपटक फोन गरेका रहेछन्।
उनीहरूले ३३ लाख रूपैयाँ बुझाउँछु भनेर कबोल गरेका थिए। कोलम्बिया पुग्दासम्म २५ लाख दिइसकेका थिए। बाँकी कोस्टारिका पुग्दा दिने वचन दिएका थिए। तर युक्रेन पुग्दै एजेन्टले बाँकी रकमका लागि ताकेता गर्न थालिसकेका थिए। त्यही रकमका लागि तारन्तार फोन गरेका हुन सक्छन् भनेर देवीले फोन फर्काइनन्।
'ऋण गरेर सबै पैसा जुटाइसकेको थिएँ। कोस्टारिका पुगेपछि पैसा हालिदिउँला भनेकाले त्यति बेला फोन फर्काउन मन लागेन,' उनले भनिन्।
त्यसको दुई–तीन दिनपछि तिनै काकी भेटिइन्।
यसपटक चाहिँ मुख फोरेरै भनिन्, 'घर्ती बाबुले तिमीलाई फोन गरेका रहेछन्। फोन उठेन रे! एकपटक फोन फर्काउनु भन्दै थिए।'
उनी यतिमै रोकिइनन्, अगाडि भनिन्, 'सरसँग कुनै सम्पर्क भयो त?'
'छैन, अब होला नि!,' देवीले भनिन्।
'त्यही त दुइटा डुंगा थियो रे! एउटा पल्टियो भनेर घर्ती बाबुले सुनाउँदै थिए। माधव बाबु कुनमा थिए!,' उनले भनिन्।
देवीको थाप्लामा भ्रामरी खनिएझैं भयो। ओठ, तालु खंग्रङ्ग सुक्यो।
काकी नपल्टिएको डुंगाको खबर सुनाउन आएकी थिइनन्। पल्टिएको डुंगाको खबर सुनाउन आएकी थिइन्। त्यसमा माधव रहेको कुरा छुटाइन् र संशय पैदा गरिदिइन् भन्ने उनलाई लाग्यो। उनी छाती पिटीपिटी रून थालिन्।
देवीको चिच्याहट सुनेर वरिवरिका मानिस भेला भए। वातावरणमा आर्तनाद छायो। टाढाटाढाका मानिस पनि देवी भएतिर आउन थाले। त्यसपछि के भयो उनी अहिले बताउन सक्दिनन्।
होस खुल्दा उनका श्रीमान बेपत्ता भएको पाँच दिन भइसकेको थियो। परिवारका सदस्यहरूले एजेन्टलाई तारन्तार सम्पर्क गरिरहेका थिए। माधव कहाँ छन् भनेर सोधिरहेका थिए।
'तपाईंहरू किन आत्तिनुहुन्छ, मैले डुंगा पल्टिएर उनीसहित सात जना नेपाली हराइरहेको कुरा पो गरेको हुँ, मरेको त भनेको छैन नि! भेटिन पनि त सक्छ। कति जना दुई-तीन वर्षपछि पनि भेटिएका छन्,' एजेन्ट भनिरहेका थिए।
यस्तै गलफतीबीच देवीको होस खुल्यो। त्यसपछि किन बेहोसीबाट ब्युँझिएँ भनेर देवीले आफैंलाई धिक्कार्न थालिन्। भर्खर किशोर वयमा पाइला राखेकी छोरी सुँक्सुकाइरहेकी थिइन्। वर्ष दिनका काखे शिशु छ। उसले बाबुको अनुहारसम्म राम्ररी चिनेको छैन। नियतिले उसलाई 'बेपत्ता बाबुको टुहुरो छोरो' बनाइदिएको छ।
छोराछोरीको अनुहार देखेपछि झन् उनले आफूलाई सम्हाल्न सकिनन्।
२०७८ असार ५ गते उनका पति माधव क्यारेबियन सागरमा बेपत्ता भए। माधवसहित नौ जना सामुद्रिक ज्वारभाटामा अलप भएका थिए। दुई दिनपछि एक जना बंगलादेशी र एक जना नेपाली जीवितै फेला परे भन्ने सुनियो। फेला परेका नेपाली म्याग्दीतिरका हुन् भन्नेसम्म देवीले सुनेकी छन्। त्यसको धेरै खोजिनिती उनले गरिनन्।
उनको दिमाग जबजब खोजिनीतितर्फ अग्रसर हुन्थ्यो, हातगोडा लगलग काम्न थाल्थे। अनि उनका पाइला निरूत्साहित हुन्थे।
म्याग्दीका ती युवाजसरी माधव पनि फेला पर्लान् कि भनेर उनी प्रत्येक रात अनिँदो बसिन्।
'एजेन्टले कहिल्यै साँचो कुरा गरेन। अहिलेसम्म पनि आउनुहुन्छ, आउनुहुन्छ भनिरहन्छ। यत्तिका वर्ष भयो, न सासको टुंगो लाग्यो, न लास नै फेला पर्यो,' देवीले विलौना गरिन्।
पतिका सपना क्यारेबियन सागरमा तैरिएपछि उनलाई प्रत्येक रात ऐँठन हुन थाल्यो। गाउँमा डढेलोजसरी अमेरिकी सपना फैलिइरहेको थियो। छिमेकीहरू अमेरिकामा रहेका छोरीज्वाइँ, भाइभतिजासँग कुरा गर्थे। देवीका निम्ति भने अमेरिका पीडाको दुस्कर पहाड थियो। त्यसैले थिचिएर उनी हल न चल भएकी थिइन्। उनी अमेरिका भनेको सुन्न पनि सक्दिन थिइन्।
'कसैले अमेरिकाको कुरा गर्दा आँखाअगाडि उहाँ आउनुहुन्थ्यो। म होसहवास गुमाउन पुगिहाल्थेँ। नियन्त्रण नै गर्न सक्दिनथेँ,' उनले भनिन्।
पालैपालो चाडबाड आउँछन् तर श्रीमान आउँदैनन्। अरूको घरमा पर्वको खुसीयाली छाउँछ, उनको घर सधैं बरखी बारेझैं सुनसान छ। फुंग उडेको छ।
अमेरिका देवीको हृदयमा यसरी पिलो बन्यो, त्यसलाई शमन तुल्याउन उनले अमेरिकामा रहेका नाताले भिनाजु पर्नेलाई साथीको सूचीबाट नै हटाइन्।
'उहाँसँगै जानुभएको थियो मेरो श्रीमान। उहाँलाई देख्नासाथ श्रीमानको झझल्को आइहाल्थ्यो। आफूलाई सम्हाल्नै सक्दिनथेँ। केही सीप नलागेर उहाँलाई अनफ्रेन्ड गरेँ,' उनले कारण सुनाइन्।
उनका श्रीमानसँगै सात जना युवा क्यारेबियन सागरमा बेपत्ता भए। कसैको पनि सास र लासको टुंगो लागेन। बेपत्ताहरू फर्किने आश मारेकाहरूले एजेन्टविरूद्ध प्रहरीमा जाहेरी दिए। प्रहरीले उसलाई पक्राउ गरेर मुद्दा पनि चलायो। तर मुद्दाको आधार कमजोर बनाइएकाले एजेन्ट ६ महिना पनि जेल बसेन।
'श्रीमानको वियोगले थलिएकी थिएँ। मैले जाहेरी दिन पनि सकिनँ,' देवीले भनिन्।
एजेन्टलाई २५ लाख रूपैयाँ बुझाएकी थिइन्। वियोगको घाउ बल्झिने भयले उनले त्यो पैसा माग्न समेत सकिनन्। बालबच्चाको अनुहारमा फैलिएका हाँसोका तरेली र तिनका परेलीबाट उदाउँदै गरेको खुसीमा आफ्ना पीडा भुलाउँदै लगिन्।
परिवारले निकै ताकेता गरेपछि एजेन्टले आधाभन्दा केही बढी रकम फिर्ता गरेको उनले बताइन्।
देवीको अहिले पनि सपनामा श्रीमानसँग संवाद हुन्छ। श्रीमानलाई सपनामा देखेको दिन उनी आउने आशाले अरू बढी हाँगा हाल्छ। आइ पो हाल्नुहुन्छ कि भनेर आफूलाई चनाखो बनाउँछिन्। जागै राख्छिन्।
बिहानीका घामजस्ता सन्तानको हाँसो, परिवारका सदस्यहरू हुँदा पीडा भुल्न सजिलो हुँदो रहेछ! जब एक्ली हुन्छिन्, आफैंलाई 'अनाथ' र 'बेसहारा' महसुस गर्छिन्।
उनले सोचेकी थिइन् — मेरो सात पुस्ता अमेरिका नजाओस्! अमेरिका जाने होइन, अमेरिकाको नामसमेत नलेओस्!
अमेरिकी सपनाले थमाएको पीडाले आहत भएर अन्तस्करणबाट निस्किएको ध्वनि थियो त्यो। समयक्रममा सन्तानको उमेर थपिँदै गयो। देवीको मुटु टन्किन पनि शनैःशनैः मत्थर हुँदै गयो।
उनले अनुभूत गर्न थालिन् — जीवनलाई सधैं यसरी सोचेर पनि त भएन!
हिँड्दिनँ भनेकै बाटो हिँडेर गन्तव्यमा पुग्नुपर्ने विवशता पनि आइलाग्न सक्छ!
नभन्दै त्यस्तै भयो!
वियोगको घाउ खाटा बस्न के थालेको थियो, साहूहरूको बुहार्तन सुरू भयो। साँवा र ब्याजका लागि ताकेता गर्न थाले।
'साहूहरूको चरित्र नै पिराहा हुन्छ, आसामी दुःखमा छ भनेर उनीहरूले कहाँ बुझ्छन् र!,' देवीले सुनाइन्।
ऋण र त्यसको ब्याजले घाँटी अँठ्याइसकेको थियो। अर्कोतिर घर–गृहस्थी र सन्तानको लालनपालन, शिक्षादीक्षाको बोझ एक्लो थाप्लामा आएको थियो। छोराछोरी र आफ्नै भविष्यसमेत अँध्यारो सुरूङतिर गइरहकेको आभास भइरहेको थियो। औंसीपक्षको रातजस्तो अँध्यारो बन्दै गएको क्षितिजमा एकाएक अमेरिकी सपनाको सूर्य पो उदायो!
'जुन ठाउँले अपूरणीय चोट दिएको थियो, त्यो घाउ त्यहीँ पुगेर निको पार्ने सोच पो दिमागमा आयो!,' उनी आफैं आश्चर्यचकित हुन्छिन्।
अमेरिकाले दिएको घाउ अमेरिका पुगेरै निको पार्ने सोच्न थालिन् उनी।
सुरूमा उनले घरपरिवारलाई सुनाइन्। ज्वाइँ बेपत्ता भएदेखि घरको बत्ती निभेसरह छ। चुह्लोमा पाकेका खानेकुराको स्वाद भेटिँदैन। छोरीले समेत अमेरिकाको सपना देख्न थालेपछि उनीहरूले कुरै पर्न दिएनन्। देवीले जिद्दी नछाडेपछि उनीहरूले पनि 'लौ जेसुकै गर्' भनेर वचनको तगारो उघारो गरिदिए।
ऋण गलपासो बन्दै गएपछि उन्मुक्तिका लागि अमेरिका जाने बाटो खोज्दै थिइन्। एजेन्ट चिनेकी थिइनन्। पहिलेको एजेन्ट भरसिलो नबनेपछि अर्को खोज्नुपर्थ्यो।
भन्नेबित्तिकै कहाँ भेटिनु!
चारचौरास गरेर उनले पत्ता लगाइन्।
'अहिले रेट एकदमै बढेको छ। तपाईंले तिर्न सक्नुहुन्छ त?,' एजेन्टले सुरूमै यसो भने।
एजेन्टले ७५ लाख रूपैयाँ लाग्ने बताए। पहिलो गाँसमा ढुंगा लागेसरह भयो। हिँडेर जाँदा ४५ लाखमै पुगिने पनि एजेन्टले बताएका थिए। तर पति क्यारेबियन सागरमा बेपत्ता बनेको घाउ मुटुमा आलै थियो। त्यो घाउ पुर्नु थियो।
'वियोगको घाउ बोकेर बाँचिरहेको छु। एकपटक दुस्साहस गर्छु,' उनी ७५ लाख रूपैयाँ तिर्न राजी भइन्।
श्रीमानलाई अमेरिका पठाउँदैको ऋण बाँकी थियो। थप ७५ लाख खोज्न कस्सिइन्।
'अहिले सम्झिँदा कत्रो दुस्साहस गरेछु जस्तो लाग्छ,' बल्ल हाँसिन् देवी।
अमेरिका जाने सपना सुनाएपछि कतिले तत्कालै सहयोग गरे। कतिले वचनको आश्वासन दिए। ७५ लाख उठ्ने छाँटकाँट देखेपछि उनले पासपोर्ट बनाइन्। एक महिनाभित्रै पासपोर्ट र केही रकम दलालको हातमा राखिदिइन्।
'त्यसदिन दलालको हत्केलामा पैसा र पासपोर्ट मात्र होइन, जीवन नै राखिदिएजस्तो भयो। झसंग भयो मुटु!,' उनले बताइन्।
उनको घरबाट अमेरिकी सपनाले दोस्रो उडान भर्यो। पहिलो उडान क्यारेबियन सागरमा दुर्घटनाग्रस्त बनेको थियो। परीक्षामा थिइन् उनी। अमेरिकी सपनाको परीक्षा होइन, जीवनकै परीक्षा थियो त्यो। त्यो परीक्षामा उत्तीर्ण हुनुको विकल्प थिएन। किशोर छोरीको रेखदेखमा बालख छोरालाई छाडेर उनले अमेरिकी सपनाको उडान भरेकी थिइन्।
उनको सपनाको उडान भारतको मुम्बईबाट सुरू भयो।
२०८० भदौ ४ गते घरबाट निस्किएकी उनी झन्डै एक महिना मुम्बई बसिन्। त्यसपछि डंकरले मलेसियाको भिसा लगाइदिए। मलेसियाबाट उडानमार्फत् नै उनी छिमेकी देश चीन आइपुगिन्। त्यहाँबाट स्पेनको भिसा लाग्यो। स्पेनमा चार दिन बसेपछि देवी उडानमार्फत् नै मेक्सिको अर्थात् अमेरिकी सपनाको नजिक आइपुगिन्।
'यी सबै देशहरूमा म एक साताभन्दा बढी बस्नुपरेन। अमेरिकी सपनाले पाउनु दुःख यसअघि नै पाइसकेकाले यात्रा सहज भयो भन्ने पनि सोचेँ,' उनले भनिन्।
मेक्सिकोबाट पनि उनलाई गाडीमार्फत् नै अमेरिकी सीमासम्म पुर्याइयो। त्यहाँ पनि उनले सहज प्रवेश पाइन्।
'अमेरिकी सीमा प्रवेश गरेपछि एकैछिनमा प्रहरीहरू आएर सोधीखोजी गरे। आप्रवासी भएको बताएपछि सिधै अध्यागमनमा लिएर गए। केही दुर्व्यवहार गरेनन्। फलफूल, बिस्कुटहरू दिए। पानी दिए,' उनले बताउँदै गइन्।
अध्यागमनको आप्रवासी राख्ने कक्षमा नेपाली उल्लेख्य थिए। जता हेर्दा पनि नेपाली देखेपछि उनलाई देशै अमेरिका आइरहेजस्तो लाग्यो।
स्पेन, मेक्सिको आदि देशमा पनि तीन महिनादेखि विमानस्थलमै बसेका नेपालीहरू भेटिन्थे। उनीहरूको कारूणिक अनुहारमा उनी आफ्नै पीडा भेट्टाउँथिन्। अध्यागमनभित्र नेपाली नै नेपाली अनुहार देखेपछि झन् उद्वेलित भइन्।
'भाग्य भनौं कि संयोग! अध्यागमनको कक्षमा पनि म धेरै दिन बस्नुपरेन। दुई–तीन दिनमै त्यहाँबाट निस्किन अनुमति पाएँ,' उनले भनिन्।
स्नातकसम्म पढेकी छन् उनले, अंग्रेजी बोलीचाली सामान्य थियो। अध्यागमनका अधिकारी समक्ष दुःख बिसाएपछि सहजै अमेरिकी संसारमा प्रवेश पाएको अनुमान उनले गरेकी छिन्।
हिरा काट्ने हिरैमा राखेर!
दुःख काट्ने दुःखैमा हाँसेर!!
बाल्यकालमा यो गीत उनी खुब सुन्थिन्।
अहिले सोच्छिन् — यो गीत त मेरै लागि पो बनेको रहेछ!
हो, अहिले उनी अमेरिकी सपनाले दिएको चोटको खाडल अमेरिका नै पुगेर पुर्दैछिन्।
माधवको सास र लासको टुंगो लागेको छैन। तर उनको सपनाले ठेगाना भेटेको छ!
उनकी पत्नी देवी अमेरिका पुगेकी छिन्।
(पात्रहरूको नाम परिवर्तन गरिएको हो)
यी पनि:
२० देश कटाएर अमेरिका पुर्याउने डंकर!
'अमेरिका हेर्दा सुख, भोग्दा दुःखै दुःख पो रहेछ दाइ!'
चीनसँगको नाका बन्द भएपछि अमेरिका हिँडेको सिन्धुपाल्चोकको गाउँ
'नाम किन भन्नु, उसै गरिखान दिएका छैनन्'