अमेरिकामा अहिले बेरोजगारी पछिल्लो ५० वर्षकै सबभन्दा कम छ। काम गर्न चाहने ९६ प्रतिशत मानिस रोजगार छन् भने ४ प्रतिशत मात्र बेरोजगार। अमेरिकी अर्थतन्त्र पनि अहिले विकसित देशहरूमध्ये सबभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ।
कोरोनाले संसारभर आपूर्तिमा ल्याएको समस्या र युक्रेन युद्धका कारण अघिल्लो वर्ष ९ प्रतिशत पुगेको मूल्यवृद्धि लगातार घटेर अहिले ३.२ प्रतिशतमा झरेको छ। श्रमिकहरूको औसत ज्याला र मानिसहरूको औसत आय बढेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दुवै दल रिपब्लिकन र डेमोक्र्याटहरूको सहमतिमा दुई वर्षअघि हाउसबाट पूर्वाधार विकास र रोजगारीका लागि १२ सय अर्ब डलर बराबरको बजेट पास गराएका थिए। अमेरिकाको पछिल्लो ६० वर्षको इतिहासमा यो सबभन्दा ठूलो पूर्वाधार निर्माण कार्यक्रम हो। यो बजेटअन्तर्गत अहिले ६ हजारवटा परियोजनामा काम भइरहेको छ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिमा उठ्दा पूर्वाधारमा ठूलो लगानी गर्ने बाचा गरेका थिए। तर उनले त्यसका लागि गम्भीर प्रयास नै गरेनन्। बाइडेनले सन् २०२० मा राष्ट्रपति निर्वाचित भएपछि त्यही काम फत्ते गरे।
यति भएपछि राष्ट्रपति बाइडेनलाई जनताले अर्थतन्त्र राम्ररी चलाइरहेको श्रेय दिनुपर्ने हो। तर अमेरिकामा भइरहेको छ त्यसको ठीक उल्टो।
पछिल्लोपटक 'द न्यूयोर्क टाइम्स' ले गरेको सर्वेक्षणमा २ प्रतिशत अमेरिकीले मात्र अर्थतन्त्र राम्रो रहेको बताए। बहुसंख्यक अमेरिकीहरूले अर्थतन्त्र राम्रो छैन भनेका छन्। परम्परागत रूपमा बाइडेनको डेमोक्र्याटिक पार्टीका समर्थक रहेका युवा र अफ्रिकी-अमेरिकीहरूले पनि अर्थतन्त्र खराब छ भनेका छन्। अनि बहुसंख्यक मतदाताले अर्थतन्त्रको सवालमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई धेरै विश्वास गर्ने बताएका छन्।
अमेरिकामा राष्ट्रपति निर्वाचन आउन ११ महिना बाँकी छ। अर्थतन्त्रको सवालमा अमेरिकीहरूको धारणा यथार्थभन्दा विपरीत भएपछि राष्ट्रपति बाइडेन र डेमोक्र्याटिक पार्टीका नेताहरू पिरोलिएका छन्।
अमेरिकामा मतदाताहरू अर्थतन्त्रको सवालमा मात्र होइन, अनेक सवालमा किन यथार्थभन्दा टाढा छन्? के कारण मानिसहरू तथ्य बुझिरहेका छैनन् वा बुझ्न चाहिरहेका छैनन्? के कारणले यथार्थ र मानिसहरूका धारणाबीच यति ठूलो खाडल पर्न थालेको छ?
यी विषयमा अमेरिकी समाजमा ठूलो चासो र बहस जारी छ।
दुई साताजति अगाडि द न्यूयोर्क टाइम्सले एउटा घतलाग्दो स्टोरी गरेको थियो। बाइडेनमाथि अर्थतन्त्र सुधार गर्न नसकेको गलत आरोपबारे बुझ्न टिकटकमा भाइरल बनिरहेका अर्थतन्त्रबारे कतिपय भिडिओले सहयोग पुग्छ भन्ने न्यूयोर्क टाइम्सको जिकिर छ।
अमेरिकामा पनि टिकटकको दुनियाँमा अर्थतन्त्र धेरै नै खराब रहेका भिडिओ र सूचनाहरू प्रसारित भइरहेका छन्। केही समयअघि 'साइलेन्ट डिप्रेसन' भन्ने शीर्षकमा धेरै भिडिओ क्लिप टिकटकमा भाइरल भएका छन्।
'साइलेन्ट डिप्रेसन' का कतिपय भिडिओ क्लिप युट्युबमा पनि ट्रेन्डिङ बनेका थिए। त्यस्तै, अमेरिकामा सामान्य मानिसलाई घर किन्न कठिन हुँदै जान थालेको छ भन्नेबारे जोक गरेर बनाइएका कैयन भिडिओको छुट्टै विधाजस्तै बनेको छ।
नेपालमा पनि अर्थतन्त्रबारे एउटा त्यस्तै अफवाह अहिले पनि सामाजिक सञ्जालमा जारी छ। लोकतन्त्र आएपछि नेपाल एसियाकै सबभन्दा गरिब मुलुक बन्यो भन्ने अफवाह।
हुँदाहुँदा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समेत बारम्बार भन्न थालेका छन्, 'यिनीहरूले देशलाई एसियाकै सबभन्दा गरिब राष्ट्र बनाइसके। अब के गर्न बाँकी छ र? कुरो बुझ्नुभयो नि!'
तथ्य के हो भने, नेपाल पञ्चायत कालदेखि बहुदल कालका पछिल्ला ६० वर्षमा सधैं नै दक्षिण एसियाको सबभन्दा कम आय भएको मुलुक (युद्धग्रस्त अफगानिस्तानबाहेक) हो। तलको तालिकामा सन् १९६०, १९९१ र २०२१ मा दक्षिण एसियाली मुलुकहरूको प्रतिव्यक्ति आयको तुलना गरिएको छ।
|
प्रतिव्यक्ति आम्दानी अमेरिकी डलरमा
|
|
देश
|
सन् १९६०
|
सन् १९९१
|
सन् २०२१
|
|
नेपाल
|
५०
|
१९४
|
१२०८
|
|
भारत
|
८३
|
३०३
|
२२५६
|
|
बंगलादेश
|
८५
|
२९५
|
२४५८
|
|
भुटान
|
-
|
४२३
|
३२६६
|
|
पाकिस्तान
|
८२
|
३८३
|
१५०५
|
|
श्रीलंका
|
१४४
|
५१३
|
४०००
|
|
माल्दिभ्स
|
२५७
|
१०५३
|
१०३६६
|
अर्को तथ्य के हो भने पछिल्ला १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय इतिहासकै सबभन्दा तीव्र रफ्तारमा वृद्धि भएको छ।
तलको ग्राफमा देख्न सकिन्छ, सन् २००८ देखि नेपालको प्रतिव्यक्ति आयको ग्राफ झन्डै ठाडो भएर माथि उक्लिएको छ।

यसरी लगभग सबै समाजमा टिकटक लगायत सामाजिक सञ्जाल (सोसल मिडिया) मा यथार्थभन्दा परका सूचना र अफवाहले किन प्रमुखता पाइरहेका छन्? किन सही सूचना त्यति फैलिँदैनन्, जति गलत सूचना फैलिन्छन्? अनि किन शक्तिशाली र धनीदेखि कमजोर र गरिब मुलुकसम्म एकनास सामाजिक सञ्जालमा फैलिने अफवाह र मिथ्या सूचनाबाट प्रताडित छन्? सामाजिक सञ्जालले जसरी समाज दैनिक तरंगित हुन्छ, त्यसबाट राजनीतिज्ञहरू किन कायल छन्?
त्यसको प्रमुख कारण हो, सामाजिक सञ्जालका 'अलगोरिदम' ले काम गर्ने तरिका। मान्छेहरूले जस्ता सामग्री लाइक र सेयर गर्छन् अनि टिप्पणी गर्छन्, अलगोरिदमले तिनैलाई बढावा दिन्छ। तिनै सामग्री धेरै मानिसकहाँ पुर्याउँछ। यसले भावनात्मक रूपमा मानिसलाई तान्ने र उद्वेलित गर्ने अनि सनसनीपूर्ण सामग्रीले सामाजिक सञ्जालमा प्रश्रय पाउँछन्। सकारात्मक समाचारभन्दा नकारात्मक समाचारले बढावा पाउँछन्।
सन् २०१८ मा अमेरिकाको म्यासेचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ले गरेको एक अध्ययनअनुसार ट्विटर (एक्स) मा सहीभन्दा गलत समाचार रिट्विट हुने सम्भावना ७० प्रतिशत धेरै हुन्छ। तीन जना प्राध्यापकले दस वर्षको समयमा ३० लाख मानिसले गरेका साढे १२ करोड ट्विट अध्ययन गरेका थिए।
चार मुख्य सामाजिक सञ्जालहरू; टिकटक, युट्युब, फेसबुक र ट्विटर (एक्स) मध्ये ट्विटरको अलगोरिदम सबभन्दा कमजोर छ। ट्विटरभन्दा फेसबुकको अलगोरिदम बलियो छ। युट्युबको त्योभन्दा पनि बलियो। टिकटकको अलगोरिदम भने सबभन्दा बलियो छ। त्यसैले छोटो समयमै टिकटक संसाभर यति धेरै लोकप्रिय भएको छ।
अब विचार गर्नुहोस्, कमजोर अलगोरिदम भएको ट्विटरमै सहीभन्दा गलत समाचार रिट्विट हुने सम्भावना ७० प्रतिशत धेरै हुन्छ भने सबभन्दा शक्तिशाली अलगोरिदम भएको टिकटकमा त्यस्तो समाचार कति चाँडो फैलिन्छ होला?
टिकटकमा अमेरिकी अर्थतन्त्रबारे गलत समाचार धेरै फैलिए। त्यसको प्रतिवाद टिकटकमै गर्नुपर्यो भनेर राष्ट्रपति बाइडेनको टिमले अर्थतन्त्रमा कसरी राम्रो सुधार भइरहेको छ भनेर देखाउने छोटा भिडिओहरू पनि हाल्यो। कतिपय मानिसले ती भिडिओ मन पराए र लाइक पनि गरे।
तर त्यसमा लाइक गर्ने हजार जना जति थिए भने अर्थतन्त्र खराब छ भनेर देखाउने 'साइलेन्ट डिप्रेसन' शीर्षकको भिडिओमा लाखौं लाइक थिए। टिकटकको अलगोरिदमले साँचो समाचारलाई केही हजारसम्म मात्र पुर्यायो भने झुटो समाचारलाई लाखौंकहाँ पुर्यायो। अर्थात् टिकटकमा झुटो समाचारले साँचो समाचारलाई जित्यो!
यसमा दोष टिकटक वा सामाजिक सञ्जालको मात्र छैन। सामाजिक सञ्जालले मानिसहरूले जे धेरै हेरिरहेका छन्, जेले उनीहरूको ध्यान तानिरहेको छ, त्यसैलाई धेरै देखाउँछ र धेरैकहाँ पुर्याउँछ।
आखिर किन मानिसलाई नकारात्मक र भावनात्मक हिसाबले उद्वेलित गर्ने समाचारले धेरै तान्छ? किन सकारात्मकभन्दा नकारात्मक समाचारमा मानिसको चासो धेरै हुन्छ?
यो विषय मुख्य रूपमा मानव जातिको विकासक्रममा लामो समयसम्म उसले भोगेको डर, त्रास, हिंसाको दुष्चक्रसँग जोडिन्छ।
मानिस लामो समयसम्म ठूला ठूला हिंस्रक जीवजन्तुबाट शिकार हुँदै आयो। आजको आधुनिक मानिस (होमो सेपियन्स) करिब तीन लाख वर्षअघि अफ्रिकामा उत्पत्ति भएर फैलिन थालेको हो। मानव जाति लामो समयसम्म बिनाहातहतियार र निहत्था हिँडडुल गर्दै संसारभर फैलियो। त्यस क्रममा हजारौं हजार वर्ष हिंस्रक जनावरहरूको आक्रमणमा पर्यो। ती जनावरले उनीहरूमाथि निरन्तर शिकार गरे। त्यस्ता फिरन्ते मानिसको समूह र परिवारले आफ्ना कैयन सदस्य गुमाए। हिंस्रक जनावरबाट प्रताडित भए।
करिब ३०-४० हजार वर्षअघि मात्र हो, मानिसले ढुंगाका धारिला हातहतियार बनाउन र प्रयोग गर्न सिकेको। समूहमा बसेर जंगली जनावरको प्रतिकार गर्न र उनीहरूसँग लड्न सिकेको। त्यो परिवर्तन पनि रातारात भएको होइन, हजारौं वर्ष लगाएर भएको हो।
मानिसले जंगली जनावरहरूमाथि प्रभावकारी विजय र नियन्त्रण पाएको त झन् करिब १०-१२ हजार वर्षअघि उनीहरू कृषि युगमा प्रवेश गरेर एकै ठाउँमा बस्न थालेपछि मात्र हो।
कतिपय अध्येताहरूको जिकिर छ — मानिसले जब धारिला हतियार बनाउन सिक्यो र घोडालाई आफ्नो वाहन बनाएर जोडतोडले कुदाउन सिक्यो, त्यसपछि मात्र हिंस्रक जनावरहरूमाथि जबरजस्त रूपमा विजय पाउन थाल्यो। किनभने, घोडामा सवार धारिलो हतियार बोकेको मानिससँग अब हिंस्रक जनावरका धारिला नंग्रा र तीव्र गतिलाई चुनौती दिने सामर्थ्य विकास भयो। त्यसमाथि मानिस चलाख थियो, समूहमा काम गर्न सक्थ्यो, योजना बुन्न सक्थ्यो।
हिंस्रक जनावरहरूमाथि विजय पाउनुअघि हजारौं हजार वर्षसम्म मानिस जुन डर र त्रासमा बाँच्यो, त्यसले मानिसको दिमागमा नकारात्मक सूचना ग्रहण गर्ने र त्यसलाई 'प्रोसेस' गर्ने क्षमता तीव्र विकास भयो। जसले ती खतराका सूचना र नकारात्मक सम्भावना राम्ररी आकलन र ग्रहण गर्यो, त्यस्ता सम्भावनाविरूद्ध आफूलाई तयार पार्यो, त्यो मानिस नै जंगली जनावरहरूबाट उम्किन र बाँच्न सक्यो।
अनि त्यसरी बाँचेका मानिसले आफ्नो 'जीन' मार्फत खतराका नकारात्मक सूचना छिट्टै ग्रहण गर्ने क्षमता अर्को पुस्तामा सारे।
नकारात्मक सूचना र खतरा छिट्टै प्रोसेस गर्ने त्यो क्षमतावान जीन आज पनि मानिसको शरीर र दिमागमा सक्रिय छ। त्यसैले हामी सकारात्मकभन्दा नकारात्मक सूचनाप्रति बढी तानिन्छौं।
मानिसको दिमागले सकारात्मकभन्दा नकारात्मक सूचना धेरै ग्रहण गर्ने मात्र होइन, नकारात्मक सूचना नै मानिसको दिमागमा गहिरोसँग बस्छ पनि। कसैले भनेको राम्रो कुराले हाम्रो मन त्यति प्रसन्न हुँदैन, जति कसैले भनेको नराम्रो कुराले हाम्रो चित्त दुख्छ!
अर्को पनि उदाहरण हेरौं — एकैछिन सोच्नुहोस्, तपाईंलाई एक लाखको चिठ्ठा पर्यो। तपाईंलाई त्यसले कति खुसी दिन्छ?
र, फेरि सोच्नुहोस्, तपाईंले आफूसँग भएको एक लाख रूपैयाँ कतै खसाउनुभयो, हराउनुभयो। त्यसले तपाईंलाई कति दुःखी बनाउँछ?
पैसाको मूल्य उति नै हो, एक-एक लाख। तर त्यो पैसा फोकटमा पाउँदा मानिस जति खुसी हुन्छ, त्योभन्दा कैयन गुणा दुःखी ऊ त्यति नै पैसा हराउँदा हुन्छ।
खुसीभन्दा दुःख र सकारात्मकभन्दा नकारात्मक कुरा नै मानिसको स्मरणमा गहिरोसँग र लामो समयसम्म बस्छ। किनभने, मानिसको दिमागले नकारात्मक सूचनालाई प्राथमिकताका साथ 'स्टोर' पनि गर्छ।
पक्कै पनि सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खाले समाचार आउँछन्। तर मानिसको दिमाग स्वाभाविक रूपमा सकारात्मकभन्दा नकारात्मक समाचारतिर धेरै आकर्षित हुन्छ। त्यसैलाई मानिसले लाइक, कमेन्ट र सेयर गर्न थाल्छन्। अनि सामाजिक सञ्जालको अलगोरिदमले यो समाचार पो मानिसलाई महत्त्वको रहेछ भनेर त्यसैलाई झन् धेरै मानिसकहाँ पुर्याउँछ। जसले धेरै नकारात्मक समाचारमा चासो राख्छन्, प्रतिक्रिया जनाउँछन्, उनीहरूकहाँ झनै त्यस्तै समाचार पठाउँछ।
चर्को बोल्ने, उत्तेजित कुरा गर्ने, देश सकिन लाग्यो, अमेरिकी सेना नेपाल आउने भए, अमेरिकाले देश खाने भयो, नेताले देश डुबाए भनेर विशेषगरी टिकटक र युट्युबमा दिनरात कराउने मानिसहरूका भिडिओ भाइरल हुने कारण यही हो। मानिसहरूले जति यस्ता भिडिओ हेर्छन्, सामाजिक सञ्जालले त्यति नै त्यस्ता भिडिओ उनीहरूकहाँ पठाउँछन्।
त्यसले एउटा 'एको च्याम्बर' निर्माण गर्छ जहाँ एकै खालका विचार मात्र आउँछन्। अनि ती मानिसले तिनै र त्यस्तै विचार मात्र सुन्छन्। एकै खाले विचारले मानिसलाई विषयहरूको जटिलता बुझ्न दिँदैन। बरू उनीहरूलाई त्यस्ता सूचना र विचारको साँघुरो सुरूङमा हुल्छ। अनि उनीहरूलाई अनुदार र असहिष्णु बनाउँछ।
सूचना र विचारमा फराकिलो पहुँच भएको मानिसले समाजका राजनीतिक, आर्थिक र सामाजिक जटिलताहरूको भेउ पाउँछ। अनि ऊ चाँडै निष्कर्षमा पुग्दैन। चाँडै अरूलाई दोष दिँदैन, गाली गर्दैन। उसले आफूभित्र पनि झाँक्न सिक्छ। आफैंलाई पर्गेल्न सिक्छ। अनि आफ्ना निजी असफलताहरूमा सधैं राज्य, राजनीतिज्ञ वा अरूलाई मात्र दोष दिएर दुःखी हुँदैन। आफ्ना कमजोरी र असफलताबारे आफूसँग पनि जवाफदेहिता खोज्छ।
कुनै एउटा खास विचार सुनेपछि वा हेरेपछि सामाजिक सञ्जालको अलगोरिदमले त्यसको 'काउन्टर' विचार पनि ती पाठक वा दर्शकसामु पुर्याउने भए यस्तो 'एको च्याम्बर' फुट्थ्यो। मानिसहरू धैरै सन्तुलित र फराकिलो सोच्ने हुन्थे।
सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण सूचनाको बाढी लाग्नुको अर्को कारण बुझेका मानिस चुप बस्ने र नबुझेका मानिस चर्को स्वरमा धेरै कराउनाले पनि हो। त्यसै पनि कुनै विषयमा बुझेकाभन्दा नबुझेका मानिसहरूको बहुमत हुन्छ। अनि बुझेका मानिस प्रायः चुप बस्छन्, अल्पज्ञान भएकाहरू सबभन्दा पहिले अघि सरेर आफ्नो ज्ञान बाँड्छन्।
धेरै विषयका 'ब्ल्याक एन्ड ह्वाइट' उत्तर हुँदैनन्। अधिकांश विषयका 'ग्रे एरिया' हुन्छन्। अनि बुझेका मानिसलाई यस्ता विषयमा हत्तपत्त बोलिहाल्न कठिन हुन्छ।
उदाहरणका लागि — अहिले नेपालको अर्थतन्त्रमा भइरहेको के हो र अबको ६ महिना वा एक वर्षमा नेपाली अर्थतन्त्र कस्तो हुन्छ भन्ने प्रश्नको सजिलो वा प्रस्ट उत्तर कोहीसँग हुँदैन। सबैको आ-आफ्नो विश्लेषण होला। तर कसको विश्लेषण कति मिल्छ, थाहा छैन।
खासमा अर्थतन्त्र यति जटिल कुरा हो, यो कता जाँदैछ, के संकट आउँदैछ, कहिले अर्थतन्त्रले ठीक गति समात्छ भन्ने यकिनका साथ कसैलाई थाहा हुँदैन। थाहा हुने भए संसारभर यति धेरै आर्थिक, वित्तीय र मौद्रिक संकटहरू आइरहने थिएनन्।
सन् १९२९ मा अमेरिकामा सुरू भएर संसारलाई नै तहसनहस पारेको 'ग्रेट डिप्रेसन', सन् २००८ मा अमेरिकामा आएको वित्तीय संकट वा सन् १९९७ को पूर्वी एसियाको मौद्रिक संकट, यी कुनै पनि संकट आउँदै छन् भनेर कसैले थाहा पाएनन्। एकाध अर्थशास्त्रीले यस्तो हुँदैछ वा हुन सक्छ भनेर सचेत नगराएका होइनन्, तर संकट आउँदैछ भन्नेमा मतैक्य थिएन। भएको भए रोक्ने प्रयासहरू भइहाल्थे।
चाहे समाज होस्, राजनीति वा अर्थतन्त्र; तिनका आआफ्नै जटिलता छन्। सबैले यी जटिलता बुझ्नुपर्छ भन्ने छैन। त्यो सम्भव पनि छैन। फेरि कसले बुझेको ठीक, कसले बुझेको बेठीक भन्ने आफैंमा जटिल विषय हो।
सामाजिक सञ्जालमा भने यी जटिल विषयमा अति नै सतही बुझाइ र टिप्पणी नै बहुमत र 'मेनस्ट्रिम' हुन्। आज नेपाल, अमेरिका वा युरोपको अर्थतन्त्रबारे कुरा नबुझी ठोकुवा गर्ने मानिसहरूकै प्रचुर बहुमत सामाजिक सञ्जालमा छ।
अनि सामाजिक सञ्जालको अलगोरिदमले धेरैजसो तिनै सतही वा पूरै गलत, उग्र र नकारात्मक कुराहरूलाई टिप्छ र फैलाउँछ। यही गलत सूचना र अफवाहको बाढीले अहिले संसारभर मानिसहरू आक्रान्त छन्। र, उनीहरूमा एक किसिमको चिड्चिडाहट छ। राज्य, मिडिया र राजनीतिज्ञप्रति एकनासको अविश्वास र असन्तुष्टि छ।
विशेषगरी राजनीतिज्ञहरूप्रतिको असन्तुष्टि र आक्रोश सर्वव्यापी छ। चाहे त्यो धनी मुलुक होस् वा गरिब। चाहे त्यो वयस्क लोकतन्त्र होस् वा भर्खरै बामे सर्दै गरेको।
सामाजिक सञ्जालमा असन्तोषको यो भेल जारी रहेका बेला अमेरिकासहित विकसित देशका सरकार र राजनीतिज्ञहरू कति अलोकप्रिय बनेका छन्, केही उदाहरण हेरौं।
सन् १९८० र ९० को दशकमा अमेरिकामा पनि इन्टरनेटको उपलब्धता एकदमै कम थियो। त्यो बेला अहिलेका सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्विटर केही पनि थिएनन्। मिडिया, मुख्य गरी पत्रपत्रिका र टिभी भने सशक्त थिए। तर त्यो बेला राज्य, मिडिया, राजनीतिज्ञप्रतिको विश्वास धेरै थियो। मानिसको असन्तुष्टि कम थियो।
बहुसंख्यक अमेरिकी जनताले सन् १९८० देखि २००० सम्ममा राष्ट्रपति रहेका रोनाल्ड रेगन, जर्ज बुस सिनियर र बिल क्लिन्टनले ठीक काम गरेका छन् भन्थे। राष्ट्रपति कार्यकालको झन्डै तीनचौथाइ समय उनीहरू लोकप्रिय रहे।
जो बाइडेनसहित पछिल्ला तीन राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा हुँदाको बहुसंख्यक समय अलोकप्रिय रहे। उनीहरू आफ्नो कार्यकालको झन्डै तीनचौथाइ समय नै अलोकप्रिय रहे।
अमेरिकामा मात्र होइन, संसारभर नै राष्ट्रपति वा प्रधानमन्त्रीहरू अलोकप्रिय हुने र राजनीतिप्रति मानिसहरूको अविश्वास र असन्तोष बढ्ने क्रम जारी छ।
केही समयअघिको तथ्यांकअनुसार, बेलायतका प्रधानमन्त्री ऋषि सुनकको 'अप्रुभल रेटिङ' जम्मा २८ प्रतिशत छ। अर्थात् २८ प्रतिशत बेलायती जनताले मात्रै सुनकले ठीक काम गरेको भन्छन्। त्यस्तै, फ्रान्सका राष्ट्रपति मांक्रोको अप्रुभल रेटिङ २३ प्रतिशत, जर्मनीका चान्सलर ओलाफ सोल्जको २९ प्रतिशत, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको ३६ प्रतिशत, जापानका प्रधानमन्त्री फमियो किसिडाको २३ प्रतिशत र दक्षिण कोरियाका राष्ट्रपति योन सक योलको जम्मा २१ प्रतिशत छ। प्रमुख लोकतान्त्रिक मुलुकहरूमध्ये तीव्र रूपमा ध्रुवीकृत हुँदै गएको भारतमा मात्र प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रुभल रेटिङ उच्च छ।
त्यसो भए के सामाजिक सञ्जालले राजनीति र समाज नसङ्लिने गरी भाँड्छ त? लोकतन्त्र र खुला समाजलाई विकृत बनाएर छाड्छ त?
मानव जातिको लामो इतिहास हेर्यो भने त्यस्तो निष्कर्ष गलत हुन सक्छ। मानिस हरेक चुनौती झेल्दै, त्यसको समाधान खोज्दै यहाँसम्म आइपुगेको हो। मानिसको दिमागले तत्काल र दीर्घकालमा जसरी काम गर्छ, त्यसलाई हेर्ने हो भने पनि त्यस्तो निष्कर्ष निकाल्नु हतारो हुन्छ।
मानिसको मन र मष्तिस्कले नकारात्मक कुरा, चुनौती वा खतरा यसकारण चाँडै टिप्छ, किनभने ऊ त्यसलाई बुझ्न चाहन्छ, त्यसबाट बच्न चाहन्छ। आफ्नो उत्पत्तिदेखि आजसम्म मानिसको ध्येय नै आफू जोगिनु र अघि बढ्नु हो। त्यसैले मान्छे आज यहाँसम्म आइपुगेको छ। र, उसको अगाडिको यात्रा जारी छ।
सामाजिक सञ्जालमा गलत सूचना धेरै प्रवाह हुँदा रहेछन्, तिनमा सत्य र तथ्यको अंश कम हुँदो रहेछ भन्ने बुझ्दै गएपछि, यसको लत खराब छ भन्ने दिमागमा बस्दै गएपछि मानिसले त्यसमा भर गर्न छाड्छ। त्यसबाट बाहिर निस्किन प्रयत्न गर्छ।
मानिसको दिमागले कसरी काम गर्छ भन्ने मनोविज्ञानमा 'डुअल प्रोसेस थ्योरी' भन्ने एउटा महत्त्वपूर्ण सिद्धान्त छ।
कुनै पनि घटना वा विषयबारे सोच्न र बुझ्न मानिसको दिमागमा दुइटा प्रणाली (सिस्टम-१ र सिस्टम-२) सक्रिय हुन्छन्। कसैले केही भन्यो वा कुनै घटना भयो भने त्यसलाई बुझ्न र प्रतिक्रिया दिन सबभन्दा पहिले सिस्टम-१ सक्रिय हुन्छ।
सिस्टम-१ ले चाँडो सोच्छ र यो एक हिसाबले स्वचालित हुन्छ। यो भावना र 'इन्ट्युसन' (सहज बोध) मा धेरै आधारित हुन्छ। यसले दिमागको सर्ट-कट प्रयोग गरेर चाँडो सोच्छ, चाँडो निष्कर्षमा पुग्छ र चाँडो प्रतिक्रिया दिन्छ।
मानिसको दिमागको सिस्टम-२ ले भने बिस्तारै सोच्छ। यो स्वचालित हुँदैन, नियन्त्रित हुन्छ र सुविचारित निर्णय गर्छ। यसले सिस्टम-१ ले गरेका गल्तीहरू पनि सच्याउँछ।
हामी कतिले आवेशमा कसैलाई गाली गर्यौं होला, सामाजिक सञ्जालमा नराम्रो लेख्यौं होला अनि केही बेरपछि त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्यो होला! यसरी मानिसले आफूले गरेका हरेक कामको आफैं 'अडिट' पनि गर्छ। ठीक र बेठीक तौलिन्छ।
मलाई लाग्छ, सामाजिक सञ्जालमा मानिसहरूले दिने धेरै प्रतिक्रियाहरू हाम्रो दिमागको सिस्टम-१ को उपज हो। अलिपछि हामीले सामाजिक सञ्जालमा लेखेका कुरा वा दिएका प्रतिक्रिया ठीक भए वा भएनन् भनेर सिस्टम-२ ले विचार गर्छ र आवश्यक परे सच्याउँछ।
अनि सबभन्दा महत्त्वपूर्ण, मानिसले अलि लामो समय लगाएर धेरै कुरा तौलिन्छ, धेरै मानिसलाई तौलिन्छ, दलहरूलाई तौलिन्छ अनि ती ठीक रहेछन् वा बेठीक भनेर आफैं निष्कर्षमा पुग्छ।
सामाजिक सञ्जालमा आएर दिनानुदिन चर्का स्वरमा गालीगलौज गर्ने, जुनसुकै कुरामा 'ब्ल्याक एन्ड ह्वाइट' मा ज्ञान छर्ने मानिसबारे पनि शंका गर्न थाल्छ। यो मान्छे ठीक हो कि होइन, यसले भनेको ठीक हो कि होइन भनेर सोच्न थाल्छ।
मेरी ठूली दिदी ७४ वर्ष पुग्नुभयो। जोरपाटीमा बस्नुहुन्छ। उहाँ धेरै पहिलेदेखि नै रेडियो, टिभीमा समाचार सुन्नुहुन्छ। केही समय अघिदेखि युट्युब हेर्ने लत बसेको छ।
युट्युबमा आउने हरेक थरीका विश्लेषकहरूले भनेका कुरा सुनाएर मलाई उनीहरूले भनेको ठीक हो कि होइन भनेर कहिलेकाहीँ सोध्नुहुन्छ। केही समयअघि भने उहाँले रोचक कुरा भन्नुभयो — अब त म ठुल्ठूलो स्वरमा कराउने कसैको पनि कुरा सुन्न छाडेँ।
उहाँले कराइकराइ भाषण गर्ने धेरै राजनीतिज्ञदेखि टेलिभिजनमा कराउने विश्लेषकहरूका नाम लिनुभयो।
मैले 'किन दिदी' भनेर सोधेँ।
'धेरै कराएर वाक्क लगाए। उनीहरूले भनेको कुरा हो जस्तो पनि लागेन। धेरै कुरा मिलेनन्,' उहाँले भन्नुभयो।
सामाजिक सञ्जाल तताएका कतिपय उत्तेजित कुरा सधैं टिक्दैनन् भन्ने नेपालकै एउटा राम्रो उदाहरण 'एमसिसी' पनि हो।
एउटा समय यस्तो थियो, अमेरिकी सहायता परियोजना एमसिसीबारे सामाजिक सञ्जाल उग्र थियो। राजनीतिज्ञदेखि विश्लेषक र गाउँका सामान्य मानिससम्म एमसिसी पास भए देशमा आगो बल्ने चेतावनी दिन्थे। एमसिसी आए अमेरिकी सेना आउने र देशको कानुन, संविधानभन्दा अमेरिकी कानुन लागू हुने भनाइले मानिस आक्रोशित थिए। एमसिसी पास गरे नेताहरूलाई गाउँ छिर्न नदिने र लखेट्ने चेतावनी कति आए कति!
कुनै समय यस्तो लाग्थ्यो, एमसिसी पास भयो भने मुलुक साँच्चै ठूलो झमेलामा फस्नेछ, गृहयुद्ध नै हुन बेर छैन! वा कम्तीमा पनि एमसिसी पास गर्ने दलहरू चुनावमा सोत्तर हुनेछन्।
सुरूमा त्यति धेरै सशंकित र उत्तेजित भएका नागरिकहरूले बिस्तारै सोचविचार गरे। सायद सुरूमा उनीहरूको मनमा भएका आशंका र त्रास जायज रहेनछन् भन्ने दिमागको सिस्टम-२ ले केही समयपछि बुझ्यो। सिस्टम-१ ले गरेको त्रुटि सच्यायो।
निर्वाचनमा एमसिसीको मुद्दा नै उठेन भने पनि हुन्छ, स्थानीय र संघीय दुवैमा। न त जनताले गाउँगाउँबाट नेता खेदे, न एमसिसीको पक्षमा भोट हाल्ने दलहरू निर्वाचनमा सोत्तर भए।
त्यही हुनाले मलाई लाग्छ — सामाजिक सञ्जालले उत्पन्न गरेका कतिपय क्रिया, प्रतिक्रिया र आवेगको आयु सधैं धेरै लामो हुँदैन। आवेगमा दिएका प्रतिक्रियाबारे मानिसले आफैं गम्छ र सच्याउँदै जान्छ। मानिसको मूल चरित्र त्यही हो।
तर सतर्क केमा हुन जरूरी छ भने, यी आक्रोश कति तात्कालिक हुन् र कति समाजमा लामो समयदेखि जमेर बसेका विकृति र बेथितिका कारण मानिसमा जन्मिएका जायज असन्तोष हुन्?
तीस वर्षदेखि सत्ताको केन्द्रमा देखिएका उही नेताप्रतिको असन्तोष तात्कालिक हो वा दीर्घकालीन? भ्रष्टाचार, कुशासन र राज्यका हरेक अंगमा देखिने चरम राजनीतीकरणले जनता जसरी आजित छन्, त्यो उनीहरूको दिमागको सिस्टम-१ ले तात्कालिक रूपमा पोखेको भडास हो, वा उनीहरूले सुविचारित ढंगले निकालेको निष्कर्ष हो? अब नेता र दल सुध्रिँदैनन् भनेर जसरी धेरैभन्दा मानिसले भन्न थालेका छन्, त्यो तात्कालिक आवेग मात्र हो त?
मलाई लाग्छ — मानिसहरूले आजित भएर, वाक्क भएर निकालेको निष्कर्ष हो त्यो। त्यसैले राजनीतिक दलले तिनका कार्यशैली नफेरी, शासनमा व्यापक सुधार नगरी र सके पुराना नेता नपन्छाई मानिसमा अहिले देखिएको दिक्दारी फेरिने छैन।
अर्कोतिर, राजनीतिक दलभित्र दशकौंदेखि थाती सुधारका काम अघि बढ्नेबित्तिकै, शासनसत्तामा सुधार बढाउनासाथ, राज्यका अंगमा भएका चरम राजनीतीकरणको अन्त्य हुने प्रक्रिया अघि बढाउनासाथ त्यसले नयाँ आशा र नयाँ बहस सिर्जना गर्नेछ।
अहिले सामाजिक सञ्जालमा पोखिने निराशालाई त्यस्तो सकारात्मक बहसले बिस्तारै विस्थापित गर्दै लैजाने छ। शरीरमा राम्रो कोलेस्टेरोल प्रवाह भएपछि खराब कोलेस्टेरोल आफैं सन्तुलनमा आएजस्तै, हाम्रा बहसहरू सन्तुलित र आशावान् हुन थाल्ने छन्।
यस्तो सुधार राजनीतिमा मात्र जरूरी छैन। व्यवसाय, पत्रकारितामा पनि यो सुधार उत्तिकै चाहिएको छ।
यति कुरा त अब प्रस्टै छ — अहिले राजनीति, व्यवसाय र पत्रकारिता जस्तो अवस्थामा छन् र तिनको चरित्र जस्तो छ, तिनले नेपाली समाजलाई यहाँबाट अघि लैजान सक्ने छैनन्।
म आगामी केही समय यिनै विषयमा लेख्नेछु। यिनै विषयमा बहस अगाडि बढाउन प्रयत्न गर्नेछु।
के हामी यी सबै क्षेत्रमा अत्यावश्यक बनेको त्यो व्यापक सुधारका लागि तयार छौं?
(अमित ढकालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)