अहिले काठमाडौं लगायत देशैभरि घरजग्गाको भाउ घटेको छ। कतिपय ठाउँमा बिक्री नै ठप्प छ भने धेरै ठाउँमा मन्दीको अवस्था छ।
तपाईं घर बनाउन जग्गा किन्ने सोचमा हुनुहुन्छ भने अहिले ठिक समय हुन सक्छ। त्यसैले बसोबासका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उपलब्ध जग्गा र तिनको मूल्यबारे जानकारी दिन हामीले यो शृंखला सुरू गरेका हौं।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पुगेर त्यहाँका स्थानीय र जग्गा कारोबारमा संलग्न व्यवसायीहरूसँग हामीले कुरा गरेका छौं। ती ठाउँको विशेषता, अहिलेको बसोबास स्थिति, जग्गाको मूल्य र भविष्यको सम्भावनाबारे हामी तपाईंहरूलाई बताउने छौं।
यसअघि शृंखलाको पहिलो स्टोरीमा काठमाडौंका दुई ठाउँ मच्छेगाउँ र बुढानीलकण्ठ; दोस्रोमा ललितपुरका दुई ठाउँ खोकना र धापाखेल; तेस्रोमा तारकेश्वर र टोखा; र चौथो स्टोरीमा भक्तपुरका दुई ठाउँ चाँगुनारायणको न्यौपाने गाउँ र नगरकोटको ढुंगेफाँट मा कहाँ कहाँ बसोबासका लागि जग्गा उपलब्ध छन्, त्यहाँको अवस्थिति कस्तो छ, भाउ कति चलिरहेको छ लगायत विषयमा विश्लेषण गरेका थियौं।
यसपालि हामी पुगेका छौं ललितपुरको भैंसेपाटी।
कुनै समय भैंसेपाटी काठमाडौं उपत्यकाभित्रको एउटा डाँडो मात्र थियो। तर यसको सांस्कृतिक महत्त्व ठूलो थियो।
ललितपुरको काँठ क्षेत्रमा पर्ने यो ठाउँ रातो मच्छिन्द्रनाथको बाह्रवर्षे रथयात्राको रूटमा पर्छ। बाह्रवर्षे रथयात्रामा रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्य:लाई गृहनगर बुंगमतीबाट भैंसेपाटी हुँदै पाटन ल्याइन्छ।
बुंगमती र खोकना काठमाडौं उपत्यकाकै प्राचीन बसोबास स्थलका रूपमा चिनिन्छन्, जसको सम्बन्ध किराँत र लिच्छवि कालसँग छ। भैंसेपाटी चाहिँ प्राचीन कालदेखि नै यी दुई बस्तीलाई उपत्यकाको मध्य-सहरसँग जोड्ने बाटो मात्र रह्यो।
अब स्थिति त्यस्तो छैन। केही वर्षयता भैंसेपाटीको स्वरूप बदलिएको छ, महत्त्व बदलिएको छ, परिचय पनि बदलिएको छ।
बुंगमती-पाटन आउजाउको यो प्राचीन सांस्कृतिक मार्ग अहिले ललितपुरकै महँगो बसोबास स्थलमा परिणत भएको छ। काठमाडौं-पाटन मध्य-सहरका बासिन्दा आफ्नो पुर्ख्यौली घर बेचेर वा भाडामा लगाएर ठूलो संख्यामा भैंसेपाटी सरेका छन्। अन्य गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरू भैंसेपाटीमा बसोबास गर्ने क्रम पनि तीव्र भएको छ।
यहाँ एक-से-एक महँगा हाउजिङ तथा कोलोनीहरू बनेका छन्। विनायक कोलोनी, सिभिल होम्स, सिद्धि कोलोनी, सिजी हिल्स लगायत यहाँका प्रमुख आवासीय स्थल हुन्।
बसोबास बढ्दै जाँदा भैंसेपाटी क्षेत्र ठूलो बजारमा परिणत भएको छ। ठुल्ठूला डिपार्टमेन्ट स्टोर खुलेका छन्। घरैपिच्छे महँगा र राम्रा रेस्टुरेन्ट खुलेका छन्। बैंकका शाखाहरू थपिएका छन्। जति सुविधा थपिँदैछ, त्यति नै घर-जग्गाको भाउ अकासिँदै छ। काठमाडौं उपत्यकाभित्र महँगा जग्गाहरूको सूची बनाउने हो भने भैंसेपाटी अग्रस्थानमा पर्छ।
फैलिँदो बजार, बढ्दो सुविधा र अकासिँदो घर-जग्गाको मूल्यले भैंसेपाटीलाई 'भिआइपी क्षेत्र' को परिचय दिएको छ। पछिल्लो समय संघीय मन्त्रीदेखि सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा कार्यालय निर्माणले यो परिचयलाई थप स्थापित गर्नेछ।
-1723112035.jpg)
-1723112117.jpg)
यसै सन्दर्भमा हामीले स्थानीय बासिन्दा तथा जग्गा व्यवसायीसँग भैंसेपाटी क्षेत्रमा जग्गाको मूल्य कति छ भनेर सोधेका छौं। उनीहरूले ठाउँअनुसार आनाको ४० लाखदेखि २ करोड रूपैयाँसम्म कारोबार भइरहेको बताए।
भैंसेपाटीमा जग्गाको मूल्य बढ्न थालेको धेरै भएको छैन। करिब १२ वर्षअघि विनायक कोलोनी निर्माण हुँदा आनाको २ देखि साढे २ लाख रूपैयाँमा अधिग्रहण गरिएको स्थानीय जग्गा व्यवसायी लक्ष्मण भुजेल बताउँछन्।
'पछिल्लो १२ वर्षमा भैंसेपाटीको जग्गा छोइनसक्नु भएको छ,' उनले भने, 'मूल सडक छेउको त आनाको २ करोड रूपैयाँसम्म पर्छ। अलि भित्रको पनि ४० लाख घटी पाइँदैन।'
मन्त्री र मुख्यमन्त्रीहरूको क्वार्टर नै भैंसेपाटीमा बनेपछि यो ठाउँ झन् बढी 'भिआइपी' भएको र यसले जग्गाको भाउ अझ बढ्ने उनी बताउँछन्।
सहरी विकास मन्त्रालयले भैंसेपाटीको सैंबुमा २७ रोपनी १२ आना क्षेत्रफलको भिआइपी कोलोनी निर्माण गरेको छ। सात प्रदेशका लागि सातवटा ब्लक बनेका छन्। प्रत्येक ब्लकमा प्रदेश प्रमुख र मुख्यमन्त्री बस्ने दुइटा भवन छन्। यी १४ वटा घर बनाउन ८५ करोड रूपैयाँ खर्च भएको छ।
त्यस्तै, संघीय मन्त्रीहरूका लागि २४ वटा र प्रतिनिधि सभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष गरी थप चारवटा क्वार्टर निर्माणाधीन छन्। कुल ९६ रोपनी १० आना जग्गामा बनिरहेका यी क्वार्टरको लागत १ अर्ब ३ करोड रूपैयाँ रहेको सहरी विकास मन्त्रालयले जनाएको छ।
'यहाँको जग्गा त्यसै पनि महँगै थियो, अब त भिआइपीहरू नै बस्ने भएपछि यो ठाउँको महत्त्व झन् बढ्यो। सुविधाहरू थपिने भए, सडक सधैं राम्रो रहने भयो,' भुजेलले भने, 'यसले जग्गाको मूल्यमा प्रभाव पर्न थालिसकेको छ।'
उनका अनुसार मन्त्री क्वार्टरहरू बनेको ठाउँमा ६ वर्षअघिसम्म आनाको ४०-५० लाख रूपैयाँमा कारोबार भइरहेको थियो। क्वार्टर बन्ने टुंगोपछि तीन वर्षअघि ७०-८० लाख रूपैयाँ प्रतिआना पुग्यो। अहिले बढेर आनाकै एक करोड नाघेको छ।
उनले भैंसेपाटी क्षेत्रभित्र कुन ठाउँको जग्गा कति पर्छ भनेर वर्गीकरण पनि गरे।
पुरानो सांस्कृतिक मार्गसँग जोडिएको मुख्य भैंसेपाटी क्षेत्र र मूल सडकबाट छुट्टिएर मन्त्री क्वार्टर जाने बाटोतिर आनाको ६०-६५ देखि १ करोड ५० लाख रूपैयाँसम्म पर्छ। यही क्षेत्रमा मोहोडा मिलेको र अति पायक ठाउँको जग्गा आनाको २ करोड घटी पाइँदैन।
भैंसेपाटीमै अलि सस्तो जग्गा खोज्ने हो भने मूल सडकबाट भित्र कुनाकाप्चातिर जानुपर्छ। खासगरी मगर गाउँ आसपासको जग्गा तुलनात्मक सस्तो छ। यहाँ प्रतिआना ४० देखि ५० लाख रूपैयाँमा कारोबार भइरहेको भुजेल बताउँछन्।
पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी आएर थोरै सस्तोमा पाए पनि सामान्यतया यो मूल्यभन्दा कममा पाउन गाह्रो पर्ने उनको भनाइ छ।
'मन्दी अघिसम्म त यहाँका धेरैजसो जग्गा आनाको १ देखि २ करोड रूपैयाँमा कारोबार भइरहेको थियो,' उनले भने।
-1723112301.jpg)
-1723112201.jpg)
आवासीय स्थलका रूपमा भैंसेपाटीका केही खास विशेषता छन्।
रिङरोडबाट आधा किलोमिटर दुरीदेखि नै भैंसेपाटी क्षेत्र सुरू हुन्छ। मुख्य बजार साढे एक किलोमिटर दुरीमा पर्छ। काठमाडौंको प्रशासनिक केन्द्र सिंहदरबारबाट हिसाब गर्ने हो भने पनि जम्मा ६ किलोमिटरमा भैंसेपाटी पुगिन्छ।
मध्य-सहरबाट कम दुरीमै पुगिने र अग्लो ठाउँमा रहेको यो ठाउँ बजारको घन्चमन्चभन्दा शान्त छ। बढ्दो आबादीसँगै व्यस्तता बढे पनि मध्य-सहरजस्तो कोलाहल छैन। त्यसमाथि पहिले खेतीपाती मात्र हुने काँठ क्षेत्रलाई नयाँ बसोबास स्थलमा परिणत गरिएकाले बाटाघाटा निकै फराकिला छन्। अधिकांश जग्गा व्यवस्थित ढंगले प्लटिङ गरिएका छन्। सडक सुविधा दृष्टिले यो ठाउँ निकै पायक पर्छ।
त्यसैले बस्ती विकास हुन थालेदेखि नै कि त मध्य-सहरमा घर भएका रैथानेले भैंसेपाटीमा घर बनाए, कि अलि हुनेखाने वर्गका व्यक्ति यहाँ बस्न आए। उनीहरूको माग र आवश्यकता ध्यानमा राखेर सुरूदेखि नै यहाँ बैंकिङ, किनमेल, रेस्टुरेन्ट लगायत सेवा विस्तार भयो। यहाँ १५ वटा बैंकका शाखा कार्यालय छन्। हामीले काठमाडौंको ठमेल र ललितपुरको झम्सीखेलमा देख्नेजस्ता रेस्टुरेन्टहरू धमाधम खुलेका छन्। किनमेलका लागि यति धेरै डिपार्टमेन्ट स्टोर छन्, कुनै पनि सामान किन्न भैंसेपाटी छाडेर पाटन वा काठमाडौं छिर्नुपर्दैन।
पहिले स्वास्थ्य सुविधा दृष्टिले यो ठाउँ अपायक मानिन्थ्यो। यहाँबाट राम्रो अस्पताल टाढै पर्थ्यो। तर जब एकान्तकुनाबाट नख्खु खोला तर्नेबित्तिकै भव्य मेडिसिटी अस्पताल खुल्यो, स्वास्थ्य सुविधा दृष्टिले पनि भैंसेपाटीलाई अत्यन्तै पायक ठाउँमा गनिन थालेको छ।
विभिन्न देशका दूतावासदेखि कूटनीतिक नियोगका कार्यालयहरू पनि यहाँ थुप्रै छन्।
यसबाहेक भैंसेपाटीको अर्को ठूलो विशेषता यहीँ आसपास निर्माण भइरहेका राष्ट्रिय महत्त्वका आयोजना हुन्।
भैंसेपाटी नजिक पर्ने सिकाली मन्दिरभन्दा केही दुरीबाट काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक बाटो सुरू हुने बताइएको छ। यसले भोलिका दिनमा यो क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ। यसले पनि जग्गाको कारोबार मौलाएको व्यवसायीहरू बताउँछन्।
प्रस्तावित रक्सौल-काठमाडौं रेल्वेको अन्तिम विन्दु यही क्षेत्रलाई बनाइएको छ। त्यस्तै, प्रस्तावित बाहिरी चक्रपथले पनि यो क्षेत्र समेट्ने छ।
पहिले भैंसेपाटी क्षेत्रलाई समेत स्मार्ट सिटी बनाउने अवधारणा अघि सारिएको थियो। पछिल्लो समय स्मार्ट सिटी बनाउने योजनाबाट सरकार पछि हटेकाले कारोबार बढ्न थालेको स्थानीय व्यवसायी बताउँछन्।
-1723112440.jpg)
-1723111836.jpg)
-1723112378.jpg)
-1723112348.jpg)
-1723112466.jpg)
***
यी पनि पढ्नुहोस्: