अहिले काठमाडौं लगायत देशैभरि घरजग्गाको भाउ घटेको छ। कतिपय ठाउँमा बिक्री नै ठप्प छ भने धेरै ठाउँमा मन्दीको अवस्था छ।
तपाईं घर बनाउन जग्गा किन्ने सोचमा हुनुहुन्छ भने अहिले ठिक समय हुन सक्छ। त्यसैले बसोबासका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उपलब्ध जग्गा र तिनको मूल्यबारे जानकारी दिन हामीले यो शृंखला सुरू गरेका हौं।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पुगेर त्यहाँका स्थानीय र जग्गा कारोबारमा संलग्न व्यवसायीहरूसँग हामीले कुरा गरेका छौं। ती ठाउँको विशेषता, अहिलेको बसोबास स्थिति, जग्गाको मूल्य र भविष्यको सम्भावनाबारे हामी तपाईंहरूलाई बताउने छौं।
यसअघि शृंखलाको पहिलो स्टोरीमा काठमाडौंका दुई ठाउँ मच्छेगाउँ र बुढानीलकण्ठ; दोस्रो स्टोरीमा ललितपुरका दुई ठाउँ खोकना र धापाखेल; र तेस्रो स्टोरीमा तारकेश्वर र टोखामा कहाँ कहाँ बसोबासका लागि जग्गा उपलब्ध छन्, त्यहाँको अवस्थिति कस्तो छ, भाउ कति चलिरहेको छ लगायत विषयमा विश्लेषण गरेका थियौं।
यसपालि हामी पुगेका छौं भक्तपुरका दुई ठाउँ — चाँगुनारायणको न्यौपाने गाउँ र नगरकोटको ढुंगेफाँट।
काँठ पस्दैछ सहर
अरनिको राजमार्ग यात्रा गर्ने जो कसैले अनुभव गर्न सक्छ, कोटेश्वरको जाममा सँगसँगै भेटिएका गाडी सल्लाघारी नपुग्दै एकतिहाइ घटिसक्छन्।
यसबीच लोकन्थली, कौशलटार, गठ्ठाघर, सानो थिमि र राधेराधेबाट दायाँबायाँ लाग्ने गाडीहरूले 'काँठ पसेको सहर' को कथा बेलीविस्तार लगाउँछन्। भक्तपुरका यी हरेक चोक छिचोलेर अगाडि बढ्दा सवारी संख्या पातलिँदै गइरहेको आभाष हुन्छ। कुनै समय धानका बाला लहलहाउने भक्तपुरका यी फाँटहरू कसरी नयाँ सहरमा परिणत हुँदै गएका छन् भन्ने पनि यसले देखाउँछ।
मानव बस्ती बाक्लिँदै गएका यी फाँटमध्ये हामी कुरा गरौं सल्लाघारीबाट चार किलोमिटर दुरीमा रहेको न्यौपाने गाउँको।
चाँगुनारायण नगरपालिकामा पर्ने न्यौपाने गाउँसँग एउटा किम्बदन्ती जोडिएको छ।
राजा भूपतिन्द्र मल्लकहाँ हरेक दिन चाँगुनारायण मन्दिरबाट टीका-प्रसाद पुग्न थाल्यो। राजाले प्रसन्न हुँदै नित्य टीका-प्रसाद ल्याइदिने व्यक्ति को हुन् भनेर चासो राखे।
उनले थाहा पाए — सिन्धुपाल्चोकको ठोकर्पाबाट आएका बलि पाध्य (उपाध्याय) का दुई छोरा राम र लक्ष्मणले दरबारमा प्रसाद ल्याइदिने गरेका रहेछन्।
लगत्तै राम र लक्ष्मण पाध्याका नाममा दरबारबाट बोलावट आयो। उनीहरू तोकिएको समयमा राजा भूपतिन्द्र मल्लसमक्ष हाजिर भए।
राजाले उनीहरूलाई स्याबासी दिए र 'के चाहिन्छ माग' भनेर सोधे।
राम र लक्ष्मणले आफूहरूसँग बसोबास र खेतीपाती गर्न जग्गा-जमिन नभएको बिन्ती बिसाएपछि राजाले उनीहरूलाई रोजेको जग्गा दिन आदेश दिए।
त्यही आदेशअनुसार राम र लक्ष्मणले बिर्तामा पाएको जग्गामा उनीहरूकै सन्तान-दर-सन्तानको आबादी बढ्दै न्यौपाने गाउँ बनेको स्थानीय शशी खनाल बताउँछन्।
यहाँका न्यापानेहरूको बाबु पुस्तासम्म आइपुग्दा धेरैको स्वामित्वमा ५० रोपनी हाराहारी जग्गा थियो। अहिले छोरा पुस्तामा आइपुग्दा पनि केहीसँग १८ देखि २० रोपनी जग्गा छ। यसबीच जग्गा प्लटिङ गरेर बेच्ने क्रम बढ्दो छ। विभिन्न ठाउँबाट बसाइ सरेर आएकाहरूले घडेरी किनेर नयाँ बसोबास थालेका छन्।
न्यौपाने गाउँको सबभन्दा ठूलो विशेषता भनेको यहाँ अहिलेसम्म बस्ती पातलो छ। बस्ती बाक्लिन नसक्नुमा विभिन्न कारण छन्। केही समय अघिसम्म यो उपत्यकाकै कम सुविधा भएको क्षेत्रमा पर्थ्यो। बाटोघाटो राम्रो थिएन। सार्वजनिक यातायातको सुविधा कम थियो। त्यसैले यहीँका मान्छे पनि काठमाडौंतिरै बसोबास गर्थे।
पछिल्लो समय भने कच्ची नै भए पनि भित्र-भित्रसम्म बाटो पुगेको छ। सुस्त गतिमै भए पनि बसोबास बढ्न थालेको छ। त्यसैले सहरी घन्चमन्चभन्दा टाढा जग्गा किनेर घर बनाउन चाहनेहरूका लागि यो ठाउँ उपयुक्त गन्तव्य हुन सक्छ।
-1713253955.jpg)
न्यौपाने गाउँको दोस्रो विशेषता यहाँको स्वच्छ र सफा हावापानी हो। वरिपरि बुट्यानसहितका स-साना जंगल छन्, जहाँ साँझ-बिहान घुमफिर गर्न निकै आनन्ददायक हुन्छ। डोल क्षेत्र धेरै भएकाले पानीको पनि खासै दु:ख छैन।
तेस्रो विशेषता, यहाँ बन्न लागेका विभिन्न आयोजना हुन्।
मन्त्रिपरिषदले यहाँ वीर अस्पताल विस्तार गर्ने भनेर २०७३ साउन ७ गते नै निर्णय गरेको थियो। त्यसै वर्ष फागुनमा वीर अस्पतालले ५७० रोपनी जग्गा पाइसकेको छ। यो आयोजना निर्माणमा अहिलेसम्म खासै प्रगति भने हुन सकेको छैन।
काठमाडौंको पेप्सीकोला-निलबाराही-नेपाल इञ्जिनियरिङ कलेज-नाटेश्वरी हुँदै तेलकोटसम्मको सडक पनि यही क्षेत्रबाट विस्तार भइरहेको छ। तेलकोटतर्फ त कालोपत्रे नै भइसकेको छ। सल्लाघारीदेखि दुवाकोट हुँदै चाँगुनारायणसम्मको पुरानो सडक पनि विस्तार क्रममा छ। चौध मिटर चौडाइको यो सडक विस्तार केही समयमै सम्पन्न हुने अनुमान छ। यही क्षेत्र नजिक भएर दोस्रो चक्रपथको चर्चा चलेको पनि धेरै वर्ष भइसक्यो।
चौथो विशेषता यो ठाउँ अरनिको राजमार्ग नजिक हुनु हो। सिन्धुली, बर्दिबास लगायत स्थान जोड्ने यही राजमार्गका कारण पछिल्लो समय भक्तपुर क्षेत्रमा बसोबास बढ्दै गएको छ। सिन्धुपाल्चोक, दोलखा, रामेछापबाट आउनेहरूले पनि यहाँ बस्ती बढाउन भूमिका खेलेका छन्।
यसबाहेक न्यौपाने गाउँको साँध भएर मनोहरा खोला बग्छ। मनोहरा पारिको काठमाडौंमा प्रतिआना ३०-३५ लाख रूपैयाँमा जग्गा कारोबार भइरहेको छ। जबकि, खोला वारिको न्यौपाने गाउँमा तुलनात्मक रूपले जग्गा सस्तो छ।
हामीले स्थानीय बासिन्दा र जग्गा व्यवसायीहरूसँग यहाँ जग्गाको मूल्य कति छ भनेर सोध्दा उनीहरूले प्लटिङ भएका क्षेत्रमा १८ देखि २० लाख रूपैयाँ आनामा कारोबार भइरहेको बताए। प्लटिङ नभएका र बाटोले नछोएका जग्गा आनाको ८ देखि १० लाख रूपैयाँमै पाइन्छ।
यो ठाउँमा समस्या नभएको भने होइन। अहिले पनि सार्वजनिक यातायात यहाँको मुख्य समस्या हो। रत्नपार्कसम्म सार्वजनिक यातायात चल्छ, तर भनेको बेला गाडी पाइँदैन। प्रत्येक १५ मिनेटमा एउटा गाडी छुट्छ भनिए पनि कार्यालय समयबाहेक अरू बेला आधा घन्टा कुर्दा पनि गाडी पाइँदैन।
केही समययता भक्तपुर व्यासीबाट चल्न थालेको ट्याम्पोले थोरै सुविस्ता भएको छ। बस्ती विस्तार हुँदै जाँदा र सडक बनिसकेपछि यो समस्या लामो समय नरहने देखिन्छ।
भक्तपुरमै सस्तो जग्गा पाइने ढुंगेफाँट
नगरकोटको उत्तरी मोहोडामा रहेको ढुंगेफाँट। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नगरकोटको उत्तरतर्फ कोल्टे परेको क्षेत्रलाई पहिले 'लामा टोल' भनिन्थ्यो, अहिले ढुंगेफाँट नामाकरण गरिएको छ।
यो परिवर्तन किन भयो भन्नेबारे स्थानीयलाई खासै जानकारी छैन। सम्भवतः एउटै क्षेत्रमा उस्तै नामका अरू गाउँहरू भएर पनि हुनसक्छ।
पहिलेको लामा टोल र अहिलेको ढुंगेफाँटमा लामा र तामाङहरूको बाहुल्य छ। उनीहरू मेलम्चीमाथिको सिन्धुकोटबाट मुहानपोखरी हुँदै यहाँ बसाइ सरेको बताउँछन्। उनीहरू आउनुअघि यो क्षेत्र पूरै वनले ढाकेको थियो।
स्थानीयका अनुसार मल्लकालमा मुहानपोखरीबाट भक्तपुर दरबारसम्म खानेपानी आपूर्ति गरिन्थ्यो। खानेपानीको स्रोत आसपास बस्ती बसेर मुहान फोहोर भएपछि त्यहाँका लामा र तामाङहरूलाई अहिलेको ठाउँमा स्थानान्तरण गरिएको भनाइ छ।
'भक्तपुरका मल्लराजाले हाम्रो बस्तीलाई मुहानपोखरीबाट यो ठाउँमा सारेको हाम्रा बाजे-बराजु सुनाउँथे,' ५८ वर्षीय स्थानीय विजय तामाङले भने, 'अहिले पनि यो ठाउँ वन कार्यालयअन्तर्गत पर्छ।'
यसरी भक्तपुर नगर नजिक रहेको बस्तीलाई मल्लराजाको आदेशमा नगरकोट डाँडाको उत्तरी मोहोडामा सारिएपछि उनीहरूको जिन्दगीमा दु:खका दिन सुरू भए। बस्ती सरेसँगै भक्तपुर नगर पुग्न लगभग दुई घन्टा लाग्ने भयो। जीविकोपार्जनको आधार खेती थियो, तर खेती गर्न सिँचाइको सुविधा थिएन। सिँचाइबिना खेती गर्न नसकेपछि उनीहरूको जीविकोपार्जनको आधार बन्यो, दाउरा बेचबिखन।
विजय तामाङले पनि दाउरा बेचेरै परिवारको गुजारा चलाए। उनी दाउरा बेच्न भक्तपुरसम्म पुग्थे। पछि उनी वन संरक्षक भए र १४ वर्ष यो क्षेत्रको वन हेरालुका रूपमा काम गरे।
२०५४-५५ सालतिर ढुंगेफाँटमा बाटो आइपुग्यो। तर त्यो बाटो पक्की हुन वर्षौं लाग्यो। नगरकोट आउने पर्यटकहरूलाई डाँडाको पश्चिमी मोहोडाले नै लोभ्याएपछि उत्तरी मोहोडाको यो बस्तीमा कसैको आँखा परेन। तामाङ र लामाहरूको बस्ती 'कुना' मै सीमित हुन पुग्यो।
चार वर्षअघि भने ढुंगेफाँटको बाटो कालोपत्रे भयो। बाटोले सुविधा विस्तार गरेपछि घरजग्गा कारोबारीहरू सल्बलाउन थाले। खेतबारीमा काम गर्नेभन्दा यहाँका आली र कान्लामा जग्गा हेर्न आउनेहरूको संख्या धेरै हुन थाल्यो।
ढुंगेफाँटमा अहिले नयाँ जग्गाधनी थपिएका छन्, तर नयाँ बासिन्दा थपिएका छैनन्। यहाँ जग्गा कारोबार त भइरहेको छ, तर धेरैले भविष्यका लागि भनेर जग्गा किन्ने गरेको पाइन्छ।
'दुबई, कतार, मलेसिया लगायत देशमा कमाएर आएकाहरूले भविष्यमा मूल्य बढ्ने आशामा यहाँ जग्गा किनेर राख्ने गरेका छन्,' सिटी भिलेजका प्रतिनिधि नेत्रबहादुर तामाङले भने।
यहाँ तुरून्तै बस्ती बढ्ने छाँट पनि छैन। किनभने, अहिले पनि ढुंगेफाँटबाट भक्तपुर पुग्न सकस हुन्छ। दिउँसो २ बजेपछि भक्तपुर जाने गाडी पाइँदैन। भक्तपुरबाट आउने गाडी साँझ ५ बजे ढुंगेफाँट पुग्छ। त्यो फर्किने भोलिपल्ट बिहान ८ बजे मात्रै हो। त्यसपछि एक-दुई घन्टाको अन्तरमा मात्र गाडी चल्छ।
शिक्षाको कुरा गर्दा यहाँ एक किलोमिटर आसपास सार्वजनिक विद्यालय छ, तर निजी विद्यालय भेट्न तीन किलोमिटर तल ओर्लिनुपर्छ।
हामीले स्थानीय र जग्गा व्यवसायीसँग मूल्यको कुरा गर्दा प्लटिङ गरिएको क्षेत्रमा ९ लाखदेखि ११ लाख रूपैयाँ आनामा पाइने बताए। प्लटिङ नभएको र बाटो नपुगेको क्षेत्रमा भने प्रतिआना साढे ४ लाखदेखि ५ लाख हाराहारीमा पाइन्छ।
ढुंगेफाँटबाट करिब एक किलोमिटरमाथि गैरीगाउँमा भने प्लटिङ भएकै वा बाटो पुगेकै जग्गा पनि साढे ५ लाख रूपैयाँ आनामा पाइने उनीहरूले बताए। बाटो नपुगेको जग्गा त साढे २ लाखदेखि ३ लाख प्रतिआनामा पाइन्छ।
अझै केही माथि बाख्री गाउँसम्म जाने हो भने बाटो नपुगेको र प्लटिङ नभएको जग्गा एक-दुई लाख रूपैयाँ आनामै पाइन्छ।
अहिले आर्थिक गतिविधि सुस्त भएकाले यहाँ जग्गा किनबेच लगभग शून्य छ। जबकि, ढुंगेफाँटभन्दा चार किलोमिटर तल छालिङमा अहिले पनि मान्छेहरू जग्गा किन्न आइरहेको स्थानीय बताउँछन्।
छालिङको हावापानी राम्रो हुनुका साथै भक्तपुर बजार नजिक पर्ने भएकाले धेरैको आकर्षणमा रहेको स्थानीय ध्रुवराज वनको भनाइ छ।
उनका अनुसार छालिङमा गोरेटो बाटोले छोएको जग्गा आनाको १० लाख रूपैयाँमा पाइन्छ। प्लटिङ गरिएको घडेरी १८ देखि २० लाख रूपैयाँ आना पर्छ।
भक्तपुरको छालिङ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
छालिङको मनकामना चोक आसपास जग्गाको किनबेच अलि बढी छ। यसको मुख्य कारण यो बस्तीसम्म आइपुगेको नयाँ बाटो हो। भक्तपुरको खरिपाटी हुँदै आउने सडकले यो भेगलाई पहिलेदेखि नै छोएको छ। अहिले काठमाडौंको पेप्सीकोलादेखि तेलकोटसम्म विस्तार भइरहेको नयाँ बाटो पनि यही क्षेत्र हुँदै जान्छ। नयाँ बाटोमा सार्वजनिक यातायात गुड्न थालेको भए पनि सडक विस्तारको कामले रोकिएको छ। तत्काललाई यहाँका बासिन्दाले खरिपाटी हुँदै सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ।
यो ठाउँको अर्को विशेषता भनेको यहाँबाट करिब तीन-चार किलोमिटर दुरीमै राम्रा कलेज र निजी विद्यालयहरू भेटिन्छन्। स्थानीयले समिति बनाएर विभिन्न मूलबाट घर-घरसम्म खानेपानी पनि लगेका छन्।
यो ठाउँको पर्यटकीय महत्त्व पनि छ। आन्तरिक तथा बाह्य पर्यटकहरू नगरकोट र चाँगुनारायण मन्दिर जान यो रूट पनि प्रयोग गर्छन्। आन्तरिक पर्यटकहरू मुहानपोखरी, बोजिनी ड्याम, मच्छेनारायण, मनकामना लगायतका धार्मिक र पर्यटकीय स्थल जान पनि यही रूट हुँदै आउँछन्।
समग्र भक्तपुर जिल्लाको कुरा गर्ने हो भने आनाको तीन लाखदेखि एक करोडसम्म मूल्य पर्ने जग्गा छन्। हलछाप, गैरीगाँउ, खोरिया गाउँमा प्लटिङ नगरिएका जग्गा ३ देखि ६ लाख रूपैयाँ आनामा पाइन्छ। प्लटिङ भएका जग्गाको मूल्य आनाको १० देखि १५ लाखसम्म पर्छ। दुवाकोट केएमसी अस्पताल क्षेत्र वरपर जग्गाको मूल्य ३० देखि ३४ लाख रूपैयाँ आनासम्म पर्छ।
त्यस्तै, अरनिको राजमार्गले छोएको कौशलटार, लोकन्थली लगायत क्षेत्रमा ४० देखि ६० लाख रूपैयाँ आनासम्ममा जग्गा किनबेच भइरहेको छ।
***
यी पनि पढ्नुहोस्: