यात्राको चौथो दिन हाम्रो पूर्वनिर्धारित तालिका अनुसार क्विन्सल्याण्ड राज्यको प्रसिद्ध गोल्ड कोस्ट प्रस्थान गर्ने कार्यक्रम थियो।
हामी भर्जिन अस्ट्रेलिया एयरलाइन्सको बिहान ९:२० बजेको उडानबाट सिड्नीबाट उडेर बिहान १०:३० बजे नै गोल्ड कोस्ट विमानस्थलमा सकुशल पुग्यौं।
विमानस्थलबाट हामीले रिजर्भ गरेको होटल करिब आधा घण्टाको दूरीमा अवस्थित थियो।
होटलमा पुगेर सामान्य चेक-इन प्रक्रिया पूरा गरी लगेजहरू कोठामा राखेर हामी लन्च खानका लागि नजिकैको एउटा रेस्टुरेन्टतिर लाग्यौं। त्यहाँ हामीले भारतीय स्वाद र मसलायुक्त मिठा खानाहरू खायौँ।
अस्ट्रेलियाको यो गोल्ड कोस्ट क्षेत्र सिड्नीको तुलनामा अलिक तातो र गर्मी मौसमयुक्त रहेछ।
गोल्ड कोस्टको मुख्य आकर्षण भनेको यो समुद्री किनारको छेउमा अवस्थित हुनु रहेछ।

यहाँको प्राकृतिक सौन्दर्य वर्णन गरिसाध्य छैन— एकातिर विशाल निलो समुद्रको छाल हान्ने पानी, किनारमा लहरै मिलेका हरिया रूखहरू, ठाउँ-ठाउँमा आरामसँग बस्न मिल्ने सफा बेन्चहरू र मानिसहरूलाई बिहान-बेलुका हिँड्नका लागि छुट्टै ट्र्याक बनाइएको रहेछ। त्यहाँ हिँड्ने मानिसहरूको सुविधाका लागि करिब हरेक २०० मिटरको दूरीमा अत्याधुनिक सफा र निःशुल्क शौचालयहरूको उत्कृष्ट व्यवस्था गरिएको मैले देखेँ।
त्यस्तै, पदमार्गको छेउ-छेउमा पिउने पानीका धाराहरू पनि जडान गरिएका थियो, जसले गर्दा हिँड्दा-हिँड्दै प्यास लागेमा जो कोहीले पनि सहजै पानी पिउन सक्दछन्। हाम्रो बस्ने होटल पनि गोल्ड कोस्टको अति प्रख्यात ठाउँ 'प्याराडाइज सर्फर' मा पर्दथ्यो।
हाम्रो यात्राको पाँचौं दिनको तालिका अनुसार विश्वप्रसिद्ध 'मुभी वर्ल्ड' घुम्ने कार्यक्रम तय गरिएको थियो।
हामी बिहान सबेरै उठेर तयारी भएर मुभी वर्ल्डतर्फ लाग्यौं। यो मनोरञ्जन पार्कमा विभिन्न प्रकारका आकर्षक लाइभ शोहरू हुने रहेछन्। त्यहाँ पर्यटकहरूका लागि थुप्रै साहसिक खेलहरू पूर्ण रूपमा निःशुल्क खेल्न पाइने व्यवस्था रहेछ। विशेष गरी उच्च गतिका रोलर कोस्टर (Roller Coaster) जस्ता डरलाग्दा र रोमाञ्चक खेलहरू धेरै संख्यामा रहेका छन्।
यसबाहेक पोखरीमा पानीको डुंगा चढ्ने सुविधा, रोमाञ्चक मोटर साइकल स्टन्ट लाइब शो, र अत्याधुनिक ४-डी मुभी आदिको मज्जा लिन सकिने रहेछ। यहाँ पनि हाम्रो पूरै दिन रमाइलोसँग बित्ने किसिमको भरपुर कार्यक्रम थियो।
त्यहाँ भएका साहसिक खेलहरूमा हाम्रा केही जोशिला साथीहरूले स्पिड कोस्टर (Speed Coaster) खेल खेले। कोस्टरबाट तल झरेपछि उनीहरूले आफ्नो अनुभव सुनाउँदै भने कि यो खेल खेल्दा एकातर्फ अत्यधिक रमाइलो भयो भने अर्कोतर्फ मुटु नै थर्किने गरी डर पनि उत्तिकै लाग्यो। त्यो रोलर कोस्टरको गति यति तीव्र र फास्ट थियो कि करिब ३० सेकेन्डको छोटो समयमै ५०० मिटरभन्दा बढी दूरीमा फन्को मार्ने गर्दथ्यो। त्यो खतरनाक कोस्टरको राइड चढेर तल ओर्लँदा मेरा ती साथीहरूको अनुहार डर र तीव्र गतिका कारण पूरै कालो र मलिन देखिएको थियो।
-1794035570.png)
-1794035570.png)
छैटौं दिन हामी गोल्ड कोस्टको सुन्दर बसाइँलाई बिट मारेर भिक्टोरिया राज्यको राजधानी मेलवर्न सहरतर्फ जाने तालिका थियो। सोही अनुरूप हाम्रो फ्लाइट बेलुकाको समयमा थियो। हामी बेलुका ५:३० बजे गोल्ड कोस्ट विमानस्थलबाट उडेर करिब दुई घण्टाको छोटो आकाशको यात्रापछि मेलवर्न विमानस्थलमा अवतरण भयौँ। जब हामी राति ८ बजेतिर मेलवर्न विमानस्थल बाहिर निस्क्यौं, तब त्यहाँ सिड्नी र गोल्ड कोस्टको तुलनामा निकै धेरै जाडो महसुस भयो। त्यतिबेला बाहिर हल्का झरी अर्थात् पानी पनि परिरहेको थियो।
मेलवर्न सहरको मौसमको विशेषता नै अचम्मको र परिवर्तनशील रहेछ— एकै क्षणमा मुसलधारे पानी पर्ने र फेरि अर्को क्षणमै टलक्क घाम लाग्ने। हाम्रो स्थानीय गाइडले हामीलाई जानकारी गराए अनुसार मेलवर्नको मौसम यस्तो अनौठो छ कि यहाँ एकै दिनभित्र चारै वटा सिजन (ऋतु) हरूको अनुभव गर्न पाइन्छ।
एकै क्षणमा घाम लाग्ने, एकै क्षणमा पानी पर्ने, फेरि आकाशमा कालो बादल मडारिने र चिसो हावा चल्ने यो यहाँको नियमित विशेषता हो।
हाम्रो यात्राको सातौं दिन मेलवर्न सहरको प्रसिद्ध सिटी टुर गर्ने कार्यतालिका थियो। सोही अनुसार हामी बिहान निर्धारित समयमै तयार भएर आरामदायी पर्यटक बसमा एकसाथ बस्यौँ।
हाम्रा टुर गाइड पनि बसभित्र आइसकेका थिए। मेलवर्नको यो सहर घुमाउने गाइड सिंगापुरका निवासी एक अनुभवी महिला थिए। उनले हामीलाई मेलवर्न सहरका अति महत्त्वपूर्ण र ऐतिहासिक स्थलहरूमा लगेर घुमाए। जस्तै कि विश्वप्रसिद्ध रोयल बोटानिक गार्डेन, कलकल बग्ने रमणीय यारा रिभर , कला र संस्कृतिको संगम राष्ट्रिय भिक्टोरिया ग्यालरी, वीर सहिदहरूको सम्झनामा बनाइएको भव्य 'श्रीन अफ रिमेम्बरेन्स' , र विश्वप्रसिद्ध ऐतिहासिक मेलवर्न क्रिकेट मैदान जस्ता स्थानहरूको हामीले नजिकबाट अवलोकन गर्यौं। मेलवर्नको व्यवस्थित वास्तुकला र सफा सडकहरूले हामी सबैको मन जित्यो।
हाम्रो यस अस्ट्रेलिया यात्राको आठौं तथा अन्तिम मुख्य दिन हामी अति प्रसिद्ध 'ग्रेट ओसियन रोड' को लामो टुरमा बिहान करिब सवा आठ बजेतिर निस्कियौं।
यो गन्तव्य हामी बसेको होटलबाट सडक मार्गद्वारा करिब ५ घण्टाको लामो दूरीमा अवस्थित थियो, जुन निकै टाढा पर्दथ्यो। बाटोमा यात्रा गरिरहँदा सडकको दुवैतर्फ पहेँलै फुलेका विशाल तोरीका बारीहरूले आँखालाई शीतलता प्रदान गरिरहेका थिए। त्यहाँको बाटो अत्यन्तै घुमाउरो र पहाडी भूभागको भिरालो तथा समुद्रको किनारै-किनार भएर जाने खालको रहेछ।
बसमा करिब ३ घण्टा जति निरन्तर यात्रा गरेपछि हामी 'अपोलो बे' नामक सुन्दर तटीय ठाउँमा पुग्यौं। हाम्रो टुर प्याकेजअनुसार त्यहीँ अपोलो बे मा हाम्रो लन्च को बुकिङ गरिएको थियो। रेस्टुरेन्टमा पुगेपछि हाम्रो लागि तात्तातो र स्वादिष्ट पिज्जाको परिकार तयार थियो। हामी सबैले ती स्वादिला पिज्जाको आनन्द लिँदै भोक मेटायौं।

त्यो ठाउँको मौसम असाध्यै चिसो थियो, जसले गर्दा हाम्रा केही साथीहरूले शरीरलाई न्यानो बनाउन र जाडो भगाउनका लागि केही न्यानो पेयपदार्थ तथा ड्रिंक्सको प्रबन्ध गरे। बसका चालक (ड्राइभर) ले चाल नपाउने र देख्न नपाउने गरी उनीहरूले बसभित्रै सावधानीपूर्वक ड्रिंक्स लिँदै रमाइलो गर्दै यात्रालाई निरन्तरता दिए। अपोलो बे बाट थप दुई घण्टाको लामो रमाइलो यात्रा पार गरेपछि अन्ततः हामी आफ्नो मुख्य अन्तिम गन्तव्यमा पुग्यौं।
त्यहाँ पुगेपछि हामीले प्रख्यात '१२ अपोस्टल्स' को अवलोकन गर्यौं, जुन यो ग्रेट ओसियन रोड टुरको सबैभन्दा मुख्य र प्रमुख आकर्षण हो। यहाँ पुग्दा त हामीले सोचेभन्दा पनि कैयौं गुणा बढी जाडो महसुस भयो। यति धेरै अत्यधिक जाडो हुनुको मुख्य वैज्ञानिक कारण के रहेछ भने, यो ठाउँबाट दक्षिणी ध्रुवमा रहेको र चारैतिर हिउँले मात्र ढाकिएको विशाल अन्टार्कटिका महादेश सिधै २७०० किलोमिटर मात्र टाढा पर्दथ्र्यो। समुद्रको बीचमा अन्य कुनै पनि ठूला डाँडाकाँडा वा छेकवार नभएका कारण अन्टार्कटिकाबाट आउने सिरेटो चिसो हावा सिधै यहाँ ठोक्किन आइपुग्दो रहेछ, त्यसैले यहाँ हावाको गति तीव्र हुनुका साथै अत्यधिक जाडो हुँदो रहेछ।
त्यो कडा जाडो र चिसो सिरेटोका बाबजुद पनि हामीले ती अद्भुत प्राकृतिक ढुंगाका खम्बा रूपी '१२ अपोस्टल्स' का सुन्दर तस्बिरहरू आफ्नो क्यामेरामा कैद गर्यौं। यो ठाउँ अस्ट्रेलियाभरिका विभिन्न पर्यटकीय गन्तव्यहरूमध्ये सबैभन्दा प्रमुख र मुख्य आकर्षणको सूचीमा पर्दो रहेछ। यहाँ हामी जस्तै संसारका विभिन्न मुलुकबाट आएका हजारौं अन्तर्राष्ट्रिय पर्यटकहरूको बाक्लो भिड त थियो नै, साथसाथै थुप्रै स्थानीय अस्ट्रेलियन पर्यटकहरू पनि यहाँ घुम्न आएको देखिन्थ्यो।
ती विशाल समुद्री छालहरूले वर्षौंदेखि कुँदेर बनाएका चट्टानहरूको कलात्मक रूप हेर्दा अचम्म लाग्थ्यो। त्यहाँ करिब आधा घण्टा जति समय बिताएर हामीले त्यो प्रकृतिको अनुपम सौन्दर्यलाई आत्मसात गर्दै त्यहाँबाट सकुशल फर्कियौं। यसरी अस्ट्रेलियाका विभिन्न सहरहरू सिड्नी, गोल्ड कोस्ट र मेलवर्नका विविध ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूको अवलोकन गर्दै हाम्रो यो व्यापारिक तथा भ्रमण टोलीको यात्रा अत्यन्तै रमाइलो, ज्ञानवर्द्धक र जीवनभर सम्झिरहने खालको एक सुवर्ण अवसरको रूपमा सम्पन्न भयो।