यात्राले समेटेको भूगोल भक्तपुरको बालकोट छ।
नजिकैको तीर्थ हेला होला भनेर, बालकोट क्षेत्रको पदयात्रालाई प्राथमिकताका साथ लिएकी छु।
केही नियम छन् पदयात्राका।
प्रत्येक महिनाको पहिलो शनिबार हुन्छ स्रष्टापदयात्रा। उपत्यका बाहिर जानुपर्दाको नियम बेग्लै छ।
हरेक यात्रामा जानु अगाडि २६ गतेभित्र नाम टिपाइसक्नुपर्छ। मैले पनि नाम टिपाएँ।
सोचेकी थिएँ प्रकृतिको काखमा हिँड्दा पो नयाँ नयाँ कुराहरू सिकिन्छ। हृदय शीतल हुन्छ। जङ्गलको संवाद सुनिन्छ। चराहरूको सङ्गीतमा सुसेलिन्छ। आफ्नै पदचापको पहिचान गरिन्छ।
असोजको काठमाडौंले गर्मीको छाल छोड्न अझ छोडेको छैन। मेरो अनुभव ताजा छ, केही वर्ष अगाडि मात्र पनि यो समयमा काठमाडौँले चिसोको बतास चलाइसक्थ्यो। तर असोजको पहिलो हप्ता तातेको छ काठमाडौं। चर्को छ घाम। सफा छ आकाश। विश्व जलवायु परिवर्तनको मारमा छ। पृथ्वी संकटमा छ।
भोटेकोसीमा आएको हिमाली सुनामीको कहर आजीवन आतङ्कित भएर बस्ने छ। वातावरणीय संकटप्रति चिन्तित छ विश्व। न्यायको पक्षमा उभिएको छ विश्व, यो सकारात्मक पक्ष हो।
मौसमबाट मन हटाएर यात्राको सार्थकतालाई समेट्छु। गुर्जुधारादेखि न्यूरोड मिलिक्कै आइपुगियो वचत भयो अमूल्य सम्पत्ति। समयको परिधि फराकिलो देखियो। नयाँ वाच्छा हुत्त आएर मेरो मनलाई चञ्चल बनायो। खाली पेट छ। पूजा प्रार्थनाको समय छ। बज्दै छ घण्टहरूको श्रुतिमधुर ध्वनी।
सुभाष सरलाई भन्छु ‘समयमा पुगिन्छ बालकोट। संकटाको दर्शन गर्दै जाऊँ न!’
शनिबारको दिन संकटालाई तीन फेरो मान्छेको मालाले घेरेको रहेछ। लाइन बसेर दर्शन गर्ने मेलो त मिलेन तर मनको श्रद्धाले घुमायो मन्दिर परिसर। संकटदेखि को मुक्त छ र! भय र संकटदेखि हामीलाई त्रास उत्पन्न हुन्छ। सबैको संकट नासियोस्। सर्वे भवन्तु सुखिनम् ... को भावमा संकटाको गजुरतिर हेरेर प्रार्थना गर्दै, भक्तपुर जाने माइक्रोतिर मोडियौँ।
अगाडिको सिटमा बसेका छौँ। ढोकामा भक्तपुर जानै आएका यात्री पहेँलो टिसर्टमा देखिए। माधव सर हुनुहुँदो रहेछ। कोटेश्वरबाट अर्की यात्री चढ्नुभयो नानीबाबा। हामी बालकोट जाने हनुमन्ते पुलमा जम्मा हुँदै गयौँ। यात्रीहरू आउनेक्रम जारी छ।
सडकमै छ फलफूल पसल। आँखा अगाडि छन् आँटीहरू सानो चुली बनाएर बसेका। कसैले सरिफा पनि भन्छन्, मेरो प्रिय बालफललाई (आटीलाई)। बाल्यकाल कानमा कराउँछ। आँखा मिच्दै आफैँलाई देख्छु र भन्छु- आमा आज आँटी पाकेन?
चामल राखेको भाँडामा गोड्याउन राखेको छ आँटी, झिकेर दिनुहुन्छ आमाले अमृतमय आँटी।
हत्केलामा नअटाउने आँटी निकै रसिलो छ।
आँटी पाक्ने मौसममा बिहानको खाजा आँटी नै हुन्थ्यो। बार्दलीको बिरेन्चीमा (बेन्च) बसेर स्वाद मानी मानी खाएको समयमा कुद्दै छु। जुरेलीहरू रमाएका छन् आँटीको बोटमा। जुरेलीहरूको सङ्गीत र नृत्य सरोबर छ। बोटमै पाकेको छ पट्ट फुटेर। जुरेली र म सँगसँगै खाँदै छौँ बोटमा पाकेको अमृत।
घरबारीमा टन्नै छन् आँटीका बोटहरू। भँगेरा, रुप्पी र जुरेली मेरा साथी छन्। मेरो जिब्रोको आनन्दमा उनिहरू रमाउँछन्, उनीहरूको आनन्दमा म!’
अतीतको स्वाद वर्तमानमा सरर पानी बनेर सल्बलाउँछ। बालकोटको फलफूल पसलमा ओर्लिन्छु। पाकेको आँटी किनेर भिमानको स्वाद समेट्छु।
पसलमा बज्दै छ राम भजन। पसलकी बहिनी भर्खरै भोटेकोसी प्रलयबाट जोगिएर आएकी रहिछन्।
भन्छिन्, ‘दिदी धन्न बाँचियो। दुप्चेश्वरतिरबाट गएका थियौँ, गोसाइँकुण्ड। दुवै छोरीहरू साथमा थिए।’
मेरो मुटु ढक्क फुल्यो। मधुर स्वरमा बज्दै छ हनुमान चालिसा। शान्ता म्याम पनि रमाउनु भएको छ आँटीको स्वादमा। जीवन साँचेर भोग्ने सौभाग्य कदापि होइन रहेछ। पलपल प्रतिपल बाँच्दै जाने समयको अमूल्य उपहार रहेछ जीवन। योजनाको समय नभोगिन सकिन्छ, भोगेको समय मात्र सुरक्षित रहेछ।
पदयात्रा आरम्भ भएको छ। घडी हेर्छु बिहानको ८ बजिसकेको छ। शैक्षिक प्रेरणा समूह र बालकोट सहकारीले प्रेम, श्रद्धा, रातो टीका, फूल र ब्यानरका साथ स्वागत गरेका छन्। हनुमन्ते करिडोर, खड्का गाउँ हुँदै यात्रा अगाडि बढेको छ। देखिएका छन् घर, नदी, मन्दिर र स्थानीयहरू।
गोदावरी खोला करिडोरमा पुग्दा विश्वनाथ मन्दिर परिसरले मोहित तुल्यायो। पुष्प वर्षा सहित स्थानीयहरूले स्वागत् गर्दा अक्षरको यात्रालाई नमन गर्दैछु।
गर्मीमा अमृत बनेर मोहीले स्वागत गर्दा हृदय आनन्दित भएको छ। विश्वनाथ मन्दिर परिसरमा राजन खड्काको स्वागत मन्तव्यले मधुरिएका छौँ। साना भाइ संयम शर्माले हनुमान चालिसा र केही वैदिक मन्त्र वाचन गर्दा हृदय मुस्कुराएको छ।
कलमको खेती साँच्चै साधारण कर्म हैन रहेछ, भन्ने भावले भिजेकी छु ...।
नजिकैबाट अनौठो आवाज आएको भ्रान्ति हुन्छ। आवाज आएतिर हेर्दै टोलाएकी छु। देख्छु बग्दै गरेकी गोदावरीको कालो अनुहार। नीलो आकाश पौडिएको छैन पानीमा। प्लास्टिकका भारी बोकेर बडो सकसले मलाई हेर्दैछिन् गोदावरी! लाग्छ उनी आफ्नो उकुसमुकुस सुनाउँदै छिन्। अनुरोधको हात जोड्दैछिन्।
गोदावरी मलाई देख्ने बित्तिकै भन्छिन्, ‘ उः माथि हेर त मान्छेको विवेकको सीमा। म छेकिएकी छु, जमेकी छु, दुर्गन्धित भएकी छु। स्वच्छता सहरले निलेको हैन, सहर उसै बदमान छ। सहर बनाउनेहरूको सोच सडेको छ। सहर भोग्नेको विवेक निदाएको छ। सादगी, सरलता र सन्तुलित जीवन वातावरणीय सन्तुलनको आधार हो तर अतृप्तिको नथामिने आँधी उठाएर हिँडेको सेपियन्सहरूले हाम्रो अस्तित्वमाथि प्रहार गरेका हुन्।
अव्यवस्थित, अविवेकी र अवैज्ञानिक सोचले पृथ्वीको स्वच्छता निलेको हो। नदी, माटो र जङ्गलको सभ्यता र सुरक्षा पुर्दै हिँडेको हो। गल्ती सुधार्न पनि सकिन्छ। आशा छ विवेकपूर्ण कर्मको। यति बुझे हुन्थ्यो विवेकी मान्छेले, आफ्नो अनुहारमा प्लाष्टिक बेरेर, बाँची त हेरून्। अनि बुझ्ने छन् माटोको पीडा।
नदीको मर्म। पातलो प्लास्टिकको राक्षसी शक्तिले हाम्रो मात्र हैन, माटोको फोक्सो पनि टाल्दै छ। माटोमुनिको जीवित संसार चिहानघाट हुँदैछ।
हेर त थिलथिलो भएको मेरो शरीरमा सिमेन्टका गणेश ल्याएर विसर्जन गरिदिएका छन्। बिन्ती तिम्रो संस्कारलाई परिमार्जित गर। पुनः विचार गर। तत्काल प्लास्टिकको विकल्प ल्याउन नसके पनि, प्लास्टिकको उचित व्यवस्थापन गर।
प्लाष्टिकका झोला बटुल्नेलाई उच्च मूल्य दिने योजना बनाऊ। फोहरबाट प्लास्टिक बटुल्नेलाई आकर्षक पैसा देऊ। नयाँ प्लास्टिकको मूल्यभन्दा बरु बढी मूल्य देऊ। माटो र नदीमा मुछिएका प्लास्टिकहरूलाई बटुलेर पुनः उत्पादनको लागि कारखानामा लगिदेऊ।
बोतल र फलामभन्दा बढी मूल्य छरिएका प्लास्टिक बटुल्नेलाई दियौँ भने तिम्रो समुदायलाई घाटा लाग्ने छैन।
गोदावरीसँग आँखा मिलाउन सक्दिनँ। सम्झिन्छु छोरीले जर्मनीबाट ल्याएको विश्वप्रसिद्ध स्वीट्जरल्याण्डको लिन्ट (Lindt ) चक्लेट। भनेकी थिई, ‘मामू मैले त पानीको खाली बोतल जम्मा पारेर, ती बोतल बेचेको पैसाले ल्याएको चक्लेट हो।’
अहो! खाली बोतल बेचेर लिन्ट चक्लेट किन्नसक्नु साधारण कुरा हैन। सोच बदल्नसके के हुँदैन रहेछ र!
गोदावरीको अपिल सुनेर आशाको त्यात्रो देख्नथाल्छु। जर्मनी त्यसै जर्मनी भएको हैन रहेछ सोचको क्षितिज कति फराकिलो।
गोदावरीको किनारबाट क्षमाको भावमा हात जोड्दै हिँडेकी छु अगाडिको यात्रा।
स्काउटका विद्यार्थीहरूले बाजागाजासहित स्वागत गरेका छन्। हिँडैछौँ सडकको किनारबाट। बालकोटको पिपलबोटको चौतारीमा पुग्दा राम बहादुर खत्रीको असारे भाकाले पदयात्रीहरूलाई शीतल पार्दैछ छ। यात्रा जारी छ, सूर्यविनायक नगरपालिकाको वडा नम्वर दुईको कार्यालय भवन परिसरमा छौँ।
वडा अध्यक्ष प्रदीप कार्कीले वडा कार्यालयमा स्वागत गर्दै हुनुहुन्छ।
कार्यालय परिसरमा अवस्थित धर्मेश्वर मन्दिरले आशीर्वादको हात उठाएका छन्।
अब बालकोट चोकस्थित बालकोट सहकारीको आँगनमा बसेका छौँ। स्वागत, सम्मान, सङ्गीत र साहित्यको कार्यक्रम हुँदैछ। मैले पनि भोटेकोसीको बाढीलाई विषय बनाएर लेखेको पर्या चिन्तनको कविता वाचन गर्दैछु। खाजाले स्वागत गरेको छ। समीर पौडेलको र्याप गायनले घामको तेजलाई पनि जितेको छ।
यात्रा गतिशील छ। मासिँदै गएका धान खेतहरू चिहाउँछन् हरियाली। आँखा रमाउँछ सीमित क्षेत्रमा जीवन जोगाएर हाँसिरहेका उर्वर भूमि। मन दुख्छ। खेतीयोग्य जमिन मात्र हैन, नजिकैको जङ्गल फाँडेर पनि बस्ती बसाउँदैछ विवेकी मान्छे। आखिर कहिले सचेत हुन्छ मानव समुदाय। प्रलय पनि पचाउँदै पुनः पुनः अतृप्तिको यात्रामा होमिन्छ मान्छे।
अव्यवस्थित सहरीकरणबाट मन हटाएर, यात्रामा रमाउँछु। ऐतिहासिक नगरी चित्रपुरले भव्य स्वागत गर्दैछ। सांस्कृतिक बाजागाजा (धिमे) को तालमा हामी पनि छमछम नाच्दै हिँडेका छौँ।
इतिहास लिएर बसेको चित्रपुरको चित्रले हर्षित भएका छौँ। फरालिको आँगन छोडेर निर्माण गरिएका घरहरूको अगाडि मर्चा बनाउने कच्चा पदार्थ सुक्दैछन्।
चित्रपुरको रीति अनुसार तल पिपलको बोटलाई परिक्रमा गरेर पुनः चित्रपुरकै आँगनमा आएर बसेका छौँ। सगुनको अण्डामा शक्ति छ। महीले स्वागत गर्दा पुनः आँत शीतल भएको छ।
प्राचीन बस्तीको इतिहास बताउँदैछन् स्थानीय अग्रज। कला, साहित्य र सङ्गीतको आदिम कथा पनि सुनाउँदै छन्। साना नानीहरू परिचानको पहिरनमा सजिएर आएका छन्। सङ्गीतको निकै राम्रो कला प्रस्तुत गर्दैछन्।
पदयात्री डा. सावित्री श्रेष्ठले स्रष्टापदयात्राको छोट्करीमा जानकारी दिँदै स्थानीहरूसँग नेपाल भाषामा पनि आफूलाई व्यक्त गर्दै हुनुहुन्छ।
सचेत रहेछ्न् स्थानीयहरू। प्लास्टिकको गिलासमा मोही दिए पनि व्यवस्थापनमा अगाडि रहेछन्। अन्डाको बोक्रा राख्न एकजना युवा थैला लिएर उभिएका छ्न्।
स्थानीय चन्द्रप्रकाश राजथलालाई गम्छा ओडाएर केही पुस्तकहरू हस्तान्तण गरिँदै छ।
गुठी र जात्राहरूले चित्रपुरलाई जीवन्त राखेको रहेछ। मल्लकाल दाफा भजन सुन्न पाएका छौँ।
६४० वर्ष पुरानो हस्त लिखित पाण्डुलिपी आँखा अगाडि छ। मैथली र नेवारी भाषामा लेखिएका भजन छन् रे त्यहाँ।
गणेश, शिव र नवदुर्गालाई भजनमा आराधना गरिएको छ रे ! सयौँ वर्षदेखि चल्दै आएको परम्परा बोकेर बसेको चित्रपुरको राजनीतिक, आर्थिक, प्रशासनीक इतिहास पनि अनुसन्धानयोग्य रहेछ।
अब भने हामीलाई भात खाने भोक पनि लाग्दै छ। घडीले समय निलिसकेको छ। सलम्पाखा हुँदै ठिमीटार स्थित इडन गार्डेन सकुल परिसरमा पुगेका छौँ।
साँच्चै स्वर्गको बगैँचाको झलक दिएको छ यहाँको शान्त वातावरणले।
पहिलो चरणको कार्यक्रम निकै उत्साहजनक छ। आँखा अगाडि देख्दैछु मितेरी गासिँदै गरेको जीवन्त दृश्य। सहभागीहरूको मुहारमा उत्साहको सूर्यमुखी चम्किलो भएर फक्रिएको छ। म पनि मञ्चतिर फर्किएकी छु।
म गलत रहेछु। नयाँ कुरा सिक्न त कहिलेकाहीँ पुराना कुराहरूको छालले छुनुपर्ने रहेछ।
जटिल ज्ञानलेभन्दा जिज्ञासाले मान्छेलाई आलोकित पार्ने रहेछ। भूगोलभन्दा भावना महत्वपूर्ण हुनेरहेछ। विकल्प छैन सिमेन्टको जङ्गल छोडेर हिँड्न तर पनि विरोधको विचार मासिँदैन।
तर्कको तराजुमा समय र संरचना आएर बस्छन्। सिमेन्टको जङ्गलमा प्रकृतिको सुगन्ध त भेटिएन तर कला, साहित्य, संस्कृति र परम्पराको इतिहास र प्राचीन सभ्यता जङ्गलमा पनि त भेटिँदैन! हिँड्ने वेला आशङ्काका ऐँजेरूहरू नपलाएका हैनन्। तर धन्य भएकी छु इडन गार्डेन स्कुलको सभाहलभित्र। बाल्यकालको त्यो अबोधपन झलझली स्मरणमा आएको छ। कारण मित लगाउने वैदिक कर्म चल्दै छ। थाहा छ?
यहाँ व्यक्ति-व्यक्ति बीचमा होइन संस्था-संस्था बीचमा मितेरी साइनो गाँसिदै छ।
स्रष्टापदयात्रा नेपाल र अनुशीलन नेपालबी। त्यो पनि दियो, कलश र गणेश अगाडि राखेर। स्रष्टापदयात्राका अध्यक्ष शीतल गिरी र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले संस्थाको प्रतिनिधित्व गर्दैहुनुहुन्छ।
म भने निधार छाम्दै छु। बाल्यकालमा मित लगाउँदा टाउको ठोकिदिन्थे मर्ने गरी। स्कुलदेखि पर थियो लिँडे खोल्सो। त्यही हुन्थ्यो मित लगाउने निर्दोषिता। पाकेका बयर, ऐँसेलु, कलम, कापी साटेर मित लगाइन्थ्यो, कहिले त सिङ्गो कापी नहुँदा पाना झिकेर पनि साटिन्थ्यो।
साथीहरूलाई तँ भने पनि मितिनीलाई तपाईँ भन्नुपर्थ्यो। झुक्किएर तँ भने मितेरी साइनो चुटिन्थ्यो अनि पुनः टाउको ठोक्दै कलम साट्नुपर्थ्यो। मित लगाए पछि नियममा बस्नुपर्थ्यो। अनुशासन पालन गर्नुपर्थ्यो।
शीतल दाइ र जीवनाथ सरको टाउको ठोक्किएको छैन। तर पक्कै अनुशासन पालन हुन्छ होला। एकले अर्को संस्थालाई साथ, सहयोग गर्दै जालान्। दुवै संस्थाको उन्नति, प्रगति हुँदैजाला। कामना गर्छु मितेरी सम्बन्ध बलियो होस्। दिगो होस्। सार्थक होस्। अरूको लागि पनि अनुकरणीय होस्। मित लगाउने कार्यलाई सफल पार्न आएका छन् एक भद्र व्यक्ति।
आँखामा उनको छवि आएर बसेको छ। कालो चश्मा, अग्लो ज्यान, हरियो कुर्ता, ढाकाको टोपी, तेजस्वी मस्तक। ऊर्जावान आलोक। पुरानो हिन्दी सिनेमाका नायक जस्ता देखिने सामाजिक व्यक्ति, काव्यकार चन्द्रप्रसाद न्यौपाने मन्त्रोच्चारण गर्दैछ्न्। मित लगाउने वैदिक संस्कृतिको बारेमा भन्दै छन्।
नौलो कार्यक्रमको आयोजक बालचन्द्र मिश्र सर मक्ख हुनुहुन्छ आफ्नो योजनाप्रति। मन्दिरा मधुश्रीको मन्तव्य खँदिलो भएर सुनिएको छ। विद्यालयका सहायक प्रधानाध्यापकले मन्तव्य व्यक्त गर्दा करिव दुई बजिसकेको छ।
अब भने भोजन ग्रहण गरेर आनन्द लिने समयमा आइपुगेका छौँ। निकै स्वादिष्ट खानाले तृप्त भएर पुनः सभाहमा बसेका छौँ। इडेन गार्डेनका भाइबहिनीहरूको आ-आफ्नो कला प्रस्तुत गरेका छन्।
धैरै साथीहरू बीच बाटैबाट हराइसक्नु भएको छ। जिम्मेवारीको एउटै हाँगा मात्र कहाँ छ र ! मान्छेसँग। यो शहरमा जीवित रहन, समाउनै पर्छ दायित्वका अनेक लहरा।
अब भने स्रष्टापदयात्रा नेपालको साधारणसभा आरम्भ भएको छ। प्रतिवेदनहरू पेश भएका छन्। योजनाहरू सर्वसहमतिले पारित भएका छन्। डा. धनप्रसाद सुवेदीले साहित्यिक सम्बोधन गर्दा सभाहल शान्त भएको छ।
अन्त्यमा पुनः पदयात्रा गर्दै ठिमी चोक पुगेर धुलिखेलदेखि चन्द्रागिरि केबलकारसम्म चल्ने महानगर यातायातबाट चन्द्रागिरिको फेदमा आइपुगेकी छु अक्षरको खेती गर्न ...।