अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२६ का लागि अध्यक्षमा निर्वाचित भएका छन्।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा विहीबार भएको बैठकबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई यस महत्वपूर्ण भूमिकाका लागि दिएको विश्वास र समर्थनप्रति गरेकोमा सबै सदस्य राष्ट्रप्रति हार्दिक कृतज्ञता प्रकट गरे।
इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो।
उनले नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयता प्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दाबी गरे।
अध्यक्षको कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष थापाले जलवायु संकट, आर्थिक अन्योल र गहिरिँदो असमानताले बहुपक्षीय प्रणालीमाथि विश्वास घट्दै गएको भन्दै प्रविधिमा पनि अवसरसँगै चुनौतीहरू भएकाले यो बेला इकोसकको भूमिका झनै महत्वपूर्ण बनेको बताए।
'सार्वभौमिक भविष्यका लागि परिवर्तनकारी, न्यायपूर्ण, नवप्रवर्तनशील र समन्वित कार्यहरू' भने नारा रहेको २०२५–२०२६ सत्रको अध्यक्ष बनेका थापाले नेपालको अध्यक्षता डेलिभरी बेटर भन्ने आदर्शमा आधारित हुने बताए।
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तिकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो।
यसले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रसंघको विभिन्न निकायहरू, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजिओहरू) सँग मिलेर विश्वव्यापी विकासका लक्ष्यहरू प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ।
राजदुत थापा दुई वर्ष अघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्युयोर्क आएका हुन्। उनले यस अघि बेल्जिय तथा इयूका लागि राजदूतको भूमिका सफलता पूर्वक निर्वाह गरिसकेका छन्।