अमेरिकामा कार्यरत नेपाली मूलककी दन्त चिकित्सक सबिना मल्लले डेन्टल विद्यार्थीहरूको लाइसेन्स परीक्षा लिन पाउने भएकी छन्।
अमेरिकाभरका डेन्टल स्कुलका विद्यार्थीहरूको लाइसेन्स परीक्षा सञ्चालन गर्ने अमेरिकन बोर्ड अफ डेन्टल एग्जामिनरको परीक्षक समूहमा डा. मल्ल चयन भएकी हुन्।
उनको पहिलो जिम्मेवारी आगामी हप्ता अमेरिकाको न्यूयोर्क युनिभर्सिटी (एनवाइयू) कलेज अफ डेन्टिस्ट्रीमा रहनेछ। त्यहाँ उनले २० जना अनुभवी अमेरिकी दन्त चिकित्सकसँग मिलेर डेन्टल विद्यार्थीहरूको लाइसेन्स परीक्षा लिनेछन्। यो परीक्षा उत्तीर्ण गरेपछि मात्र विद्यार्थीहरूले अमेरिकामा दन्त चिकित्सकका रूपमा व्यावसायिक अभ्यास गर्न पाउने व्यवस्था छ।
उक्त परीक्षकहरूको सूचीमा उनको नाम समावेश भएको छ। यस समूहमा सहभागी हुने उनी एकमात्र नेपाली मूलककी दन्त चिकित्सक हुन्।
यस जिम्मेवारी प्राप्त गरेपछि उनले आफू अत्यन्त विनम्र र कृतज्ञ महसुस गरेको उनले बताइन्।
लामो समयको मेहनत, अनुभव र व्यावसायिक उत्कृष्टताका कारण आफूले यस्तो सम्मानजनक अवसर पाएको उनको भनाइ छ।
सन् २००६ मा अमेरिका गएकी डा. मल्लले बोस्टनमा 'मल्ल डेन्टल ग्रुप' खोलेकी छन्।