विराटनगरका श्याम बन्जरा १६ वर्षदेखि क्यानडामा बस्दै आएका छन्। सन् २०२२ देखि उनले क्यानडाको क्यालगरीमा 'आमा नेपालिज कुजिन' सञ्चालन गर्दै आएका छन्।
त्यसअघि उनले विभिन्न अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टमा काम गरेका थिए। सन् २००३ मा नेपालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेलगत्तै उनी अस्ट्रियाको भियना गए।
त्यहाँ तीन वर्षको कुकिङ कोर्स पूरा गरेपछि उनले चार वर्ष विभिन्न रेस्टुरेन्टमा काम गरे। त्यसक्रममा हिल्टन लगायत ठूला होटल तथा रेस्टुरेन्टमा काम गरेको उनले बताए।
'अस्ट्रियामा करिब सात वर्ष बसेपछि अब अन्य देश जानुपर्छ भन्ने लाग्यो। युरोपमा मैले राम्रो करिअर देखिनँ। त्यो बेला अस्ट्रेलिया र क्यानडा जाने लहर थियो,' उनले भने, 'मेरा केही साथी क्यानडा गएका थिए। मैले पनि एक वर्षे कोर्सका लागि आवेदन दिएँ, एक हप्तामै भिसा आयो।'
सन् २०१० मा क्यानडा पुगेपछि उनले हस्पिटालिटीमा पोस्ट ग्र्याजुएट अध्ययन गरे। पढाइ सकिएपछि उनले क्यालगरीको फेयरमोन्ट प्यालिसर होटलबाट काम सुरू गरे।
त्यहाँ तीन वर्षभन्दा बढी काम गरेपछि उनी म्यारियट होटलमा गए। उक्त होटलको स्थापना चरणदेखि नै काम गरेका उनले त्यहाँ धेरै 'एक्सपोजर' पाएको उनले बताए।
म्यारियटमा काम गर्ने क्रममा उनी आबुधाबी पुगे। त्यहाँ उनले एक्जिक्युटिभ सेफको रूपमा काम गरे। तर कोभिड महामारीका कारण होटल व्यवसाय प्रभावित भएपछि उनी क्यानडा फर्किए।
सन् २०२० अन्त्यमा फर्किएपछि उनी करिब डेढ वर्ष फ्रिल्यान्स तथा कन्सल्टिङ व्यवसायमा सक्रिय रहे। त्यसपछि सन् २०२२ को मध्यदेखि उनले आफ्नै व्यवसाय सुरू गरे।
उनको विशेषज्ञता जापानी परिकार 'सुसी' मा भए पनि उनले नेपाली खानाको रेस्टुरेन्ट खोल्ने निर्णय गरे।


'मैले र श्रीमती (तारा पौडेल) मिलेर व्यवसायको योजना बनायौं। अनुसन्धान गरेर हामी नेपाली मौलिक खानाको रेस्टुरेन्ट खोल्ने निष्कर्षमा पुग्यौं,' उनले भने।
उनीहरूले 'आमा नेपालिज कुजिन' खोले। यहाँ करिब ४४ प्रकारका नेपाली परिकार पाइन्छन्। दालभात, म:म, चाउमिन, सुकुटी, सेकुवा, मिथिला खाना, तरूवा लगायत परिकार उपलब्ध छन्। याकको सुप पनि रेस्टुरेन्टको चर्चित परिकारमध्ये एक हो।
श्यामले क्यालगरीबाट २२ किलोमिटर पर ककरेनमा रेस्टुरेन्ट सञ्चालन गरेका छन्। रकिज माउन्टेन घुम्न जाने पर्यटकहरू उनका प्रमुख ग्राहक हुन्। अहिले भने खाना खानकै लागि आउने ग्राहक पनि बढ्दै गएका छन्। अधिकांश ग्राहक नियमित हुन्छन्।
रेस्टुरेन्टमा श्यामसहित सात जना काम गर्छन्। उनीहरूमध्ये चार जना नेपाली र तीन जना क्यानेडियन छन्। रेस्टुरेन्ट दिउँसो १२ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुन्छ। मंगलबार बन्द रहन्छ।
उनी बिहान १० बजे नै तयारीका लागि रेस्टुरेन्ट पुग्छन्।
'हाम्रो विशेषता परम्परागत नेपाली खाना हो। परम्परागत खानालाई आधुनिक तरिकाले प्रस्तुत गर्न सकियो भने सफल हुन सकिन्छ भन्ने मेरो अनुभव हो,' उनले भने, 'म हरेक दुई महिनामा वाइन पियरिङ गर्छु। विदेशी वाइनलाई नेपाली परिकारसँग मिलाएर ग्राहकलाई सुझाव पनि दिन्छु।'
उनका अनुसार याकको मासुसँग रेड वाइन, सुकुटीसँग बियर, आलुको अचारसँग ह्वाइट वाइन, चिकेन छोइलासँग बियर वा केही जर्मन वाइन ग्राहकले मनपराउँछन्। याकको म:म र साँधेको भटमास पनि ग्राहकको रोजाइमा पर्छ।
'नेपाली खानालाई अपस्केल गरेर बेच्दा राम्रो भएको छ। यो मेरो पढाइ र अनुभवले सिकाएको कुरा हो,' श्यामले भने, 'सामाजिक सञ्जाल प्रयोगले पनि नेपाली खानालाई विदेशीमाझ चिनाउन सजिलो भएको छ।'
४३ वर्षीय श्याम झन्डै चार वर्षदेखि रेस्टुरेन्ट सञ्चालनमा सक्रिय छन्। उनले क्यानडामा नेपाली खानाको ठूलो सम्भावना देखेका छन्। तर धेरैले अझै पनि भारतीय खानाको सहारा लिएर रेस्टुरेन्ट चलाइरहेको उनको गुनासो छ।
'नेपाली रेस्टुरेन्टहरू भारतीय खानाको सहाराबिना पनि अघि बढ्न सक्छन् भन्ने आत्मविश्वास विकास गर्न जरूरी छ,' श्यामले भने।
