ग्लोबल नेपाली
सन् २०१३ मा एमबिबिएस पढ्न चीनको सान्दोङ गएका सुनिल कुमार साहले सन् २०१४ देखि आफ्नै सानो व्यवसाय सुरू गरे। त्यो बेला उनले नेपालबाट रूद्राक्ष लगेर सडकमै बेचेका थिए। त्यसपछि उनले चीनमा सामान लैजाने अनि चीनबाट नेपाल ल्याउने दुवै काम गरे।
एमबिबिएस पढ्दै व्यवसाय गरिरहेका सुनिलले सन् २०१८ मा चिनिया युवती लिन्डासँग बिहे गरे। लिन्डा पनि उनीसँगै एमबिबिएस पढ्दै थिइन्।
सन् २०१९ मा सुनिल र लिन्डा दुवैले एमबिबिएस सके तर उनीहरूले काम भने गरेनन्। लिन्डाका बुवा जुनले स्थापना गरेको लिहाइको एग्रिकल्चर नामको मल उद्योग दुवै जना आबद्ध भए।
'म २०१९ देखि मल उद्योगमा छु। ससुरा कृषि इन्जिनियर भएकाले उहाँले उत्पादन हेर्नुहुन्छ। मेरो श्रीमतीले चीनको व्यवसाय हेर्छिन् भने मैले निर्यातको पाटो हेर्छु,' सुनिलले भने, 'महिनामा ३५ हजार मेट्रिक टन मल उत्पादन हुन्छ। अहिले यो मल मध्यपूर्वका देशहरू लेवनान, सिरिया टर्की, जोर्डन, साउदी अरेबिया लगायतका देशमा जान्छ। दक्षिण एसियामा पनि भारत, पाकिस्तान लगायतका देशमा हाम्रो उत्पादन जान्छ।'
नेपालमा पनि यो मल ल्याउने प्रयास भइरहेको उनले बताए।
सुनिलका अनुसार सान्दोङ प्रान्तको विफाङ सिटीमा उत्पादन हुने मलले युरिया र प्राङ्गरिक दुवै मलको काम गर्छ। यसले युरिया र डियपी मललाई विस्थापित गर्छ भने बिरूवालाई चाहिने भिटामिन र मिनरल्स समेत दिन्छ। यो मल प्रयोग गरेपछि बिरूवालाई पानी मात्र दिए पुग्ने उनको दाबी छ।
परम्परागत रूपमा प्रयोग हुने मलले फलको गुणस्तर नहुने भन्दै साहले पाकिस्तानमा यही मलको प्रयोगका कारण मकै उत्पादनमा २५ प्रतिशतले वृद्धि भएको दाबी गरे।
'चीनमा यस्तै खालको मल प्रयोग हुन्छ। यो मलमा केमिकलको प्रयोग हुँदैन। नेपालमा परम्परागत मलको प्रयोग धेरै हुने भएकाले फल पनि सानो हुने हो,' उनले भने, 'नेपालमा हरेक वर्ष मलको अभाव हुन्छ। यस्तो मलको प्रयोग गरेमा एकातिर खेतीको गुणस्तर बढ्छ भने माटो पनि बिग्रिँदैन।'
उनले सम्भव भएमा भोलिका दिनमा नेपालमा मल उद्योग सुरू गर्ने सोच समेत बनाएका छन्। तर नेपालमा उद्योग स्थापनाका लागि धेरै अप्ठ्यारो रहेको उनको अनुभव छ। केही वर्ष पहिला लगानीका लागि चिनियाँ टोली ल्याउँदा अनेक अवरोध व्यहोरेका कारण आफूहरु सफल नभएको उनले बताए।
डाक्टर बन्ने सपना बोकेर चीन गएका सुनिलले डाक्टरी त पास गरे तर काम गरेनन्। डाक्टर नबनेर गल्ती त गरिनँ भनेर कहिलेकाहीँ लाग्छ कि लाग्दैन भन्ने जिज्ञासामा उनी भन्छन्, 'डाक्टर भएको भए बिरामीसँग हुन्थेँ, मल उद्योगमा भएकाले किसानका लागि काम गरिहेको छु। दुवै सेवामूलक काम हो जस्तो लाग्छ। त्यही भएर म सन्तुष्ट छु।'
(चीनको सान्दोङ प्रान्तको विफाङ सिटीमा रहेको लिहाइको एग्रिकल्चर मल उद्योगमा निर्यात हेरिरहेका सुनिल कुमार साहसँग सेतोपाटीका लागि सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)