पोखराकी अरूणा गुरूङ पछिल्लो डेढ वर्षयता हङकङ जिल्ला परिषद सदस्य छिन्।
हङकङका १८ जिल्लामा कुल ४७० जना जिल्ला परिषद सदस्य छन्। उनी सदस्य रहेको उचिमौ जिल्लामा २० जना सदस्य छन्।
'डिस्ट्रिक्ट अफिसर नै डिस्ट्रिक्ट काउन्सिलको प्रमुख हुने व्यवस्था छ,' उनले भनिन्।
उनका बुबा दीपकबहादुर गुरूङ नेपाली कांग्रेसका तर्फबाट नेपालमा सांसद पनि बनेका थिए। ब्रिटिसका पूर्वसेना उनी तीन कार्यकाल भूपू सैनिक संघको अध्यक्ष पनि बने।
यसैको प्रभाव अरूणामा पर्यो।
'राजनीतिक परिवारबाट आएकाले पनि होला, मलाई सामाजिक काममा सक्रिय हुन मनपर्छ,' अरूणाले भनिन्, 'हङकङमा नेपाली समुदाय अल्पसंख्यक र पछाडि परेको समुदायमा पर्छ। त्यही समुदायका तर्फबाट मैले जिल्ला परिषदमा अवसर पाएकी हुँ। यस्तो अवसर पाउने म पहिलो नेपाली हुँ।'
अरूणा मलेसियामा जन्मिएकी हुन्। पछि परिवारै हङकङ सर्यो। अरूणाको विद्यालय शिक्षा पनि त्यहीँ भयो।

सन् १९८३ मा उनी नेपाल आइन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र प्रवीणता तह उत्तीर्ण गरिन्। त्यसपछि काठमाडौंको पद्मकन्या क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक सकिन्।
त्यसपछि उनी फेरि हङकङ गइन्।
'बुबाको जागिर सकिने बेला भएको थियो। त्यसैले म उतै गएँ। हङकङ बसुन्जेल केही काम गर्छु भन्ने सोच आयो,' उनले भनिन्, 'त्यही बेला ड्रागन एयरले कर्मचारी मागेको थियो। त्यहाँ काम पाएँ।'
उनले काम गर्न थालेका बेला ड्रागन एयर सानो कम्पनी थियो। दुई वटा मात्र जहाज थिए। केही वर्षपछि ड्रागन एयर क्याथे प्यासिफिक एयरलाइन्समा गाभियो। त्यसपछि कम्पनी निकै ठूलो बन्यो।
सन् २०२० मा अवकाश लिँदासम्म कम्पनीसँग एक सयभन्दा बढी जहाज थिए।
एयरलाइन्सको सामान्य कर्मचारीका रूपमा काम सुरू गरेकी अरुणा पछि इन–फ्लाइट सर्भिस म्यानेजर बनिन्।
उनको महिनामा १३–१४ दिन बिदा हुन्थ्यो। त्यो समयमा उनी सामाजिक तथा अन्य गतिविधिमा पनि सक्रिय भइन्।
सन् १९९७ मा उनको बिहे भयो। श्रीमान कुलप्रसाद गुरूङ पनि हङकङ नै बस्न थाले।

उनीहरूले १० वर्षसम्म नेपाली पोस्ट म्यागजिन चलाए।
'मलाई चिनियाँ भाषा आउँथ्यो। त्यसैले मैले नेपालीहरूका लागि सजिलो गरफ चिनियाँ भाषा सिकाउने बुकलेट निकालेँ। त्यो नेपाल सरकारले पाँच हजारभन्दा बढी प्रति छापेर वितरण गरेको थियो।'
सामान्य शिष्टाचार र बोलचालका शब्दहरू समेटिएको उक्त किताब हङकङमा काम गर्न जाने नेपालीहरूका लागि उपयोगी बनेको उनले बताइन्।
पुस्तकसँगै अडियो क्यासेट पनि निकालिएको थियो। उनका अनुसार हङकङमा काम गर्ने नेपाली मजदुरहरू उक्त सामग्री वाकम्यानमा सुन्थे।
३२ वर्ष काम गरेर अवकाश लिएपछि उनी पूर्ण रूपमा समाजसेवामा केन्द्रित भइन्।
अरूणाका अनुसार हङकङमा ३० हजार हाराहारी नेपाली छन्। कामका सिलसिलामा वा अन्य माध्यमबाट पुगेकाको भने आधिकारिक तथ्यांक छैन।
नेपाली समुदायमा वृद्ध जनसंख्या बढ्दै गएको छ। उपचारका लागि अस्पताल जाँदा भाषाको समस्या हुने भएकाले उनले उठाएको एजेन्डाका आधारमा त्यस्ता व्यक्तिहरूका लागि अस्पतालमा दोभाषेको व्यवस्था गरिएको छ।
हङकङ निर्माणमा आफ्ना पुर्खाहरूको योगदान रहेको भन्दै त्यसको लाभ लिनुपर्ने उनको तर्क छ।

'नेपाली समुदायमा भाषाको समस्याका कारण धेरै चुनौती छन्। अहिले बेरोजगारी दर पनि बढिरहेको छ,' उनले भनिन्, 'अहिले हरेक महिना रोजगार मेला लाग्छ। अन्य समस्याबारे पनि मैले जानकारी गराएकी छु। हामीले पाएको पहिलो अवसर सदुपयोग गर्नुपर्छ।'
नेपालीहरूले भाषा सिक्न पर्याप्त चासो नदेखाउँदा पनि समस्या भएको उनले बताइन्।
उनका अनुसार नेपालीहरू होटल, रेस्टुरेन्ट, सुरक्षा कम्पनी, निर्माण क्षेत्र, ग्रोसरी पसल व्यवसाय लगायत क्षेत्रमा धेरै अगाडि छन्।
पछिल्लो पुस्ता भने वकिल, डाक्टर, प्रहरी लगायत विभिन्न सरकारी सेवामा प्रवेश गर्न थालेको छ।