आफ्नै पारिवारिक व्यवसाय गरिरहेका रोहित अग्रवाललाई थप केही गरौँ भन्ने लाग्यो। त्यसपछि उनले चीन जाने तयारी गरे। रोहितलाई परिवारले चीन पठाउने त भयो तर बिहे गरेर मात्र। त्यसपछि रोहित खुश्बुसँग बिहे गरेर चीन आए।
सन् २००६ मा चीनको ग्वाङझाओ आएको यो जोडी अहिलेसम्म पनि यतै रमाइरहेको छ। साथै, व्यवसाय पनि विस्तार गरिरहेको छ।
'घरमा छोरो बिहे नगरिकन गयो भने विदेशमै बिहे गर्ला अनि उतै हराउला भनेर मलाई आमाले बिहे गर्न लगाउनुभयो। बिहे गरेर यता आउँदा मलाई थप सहज पनि भयो,' उनले भने, 'व्यवसाय विस्तार भइरहेको छ। छोराछोरी पढ्दै छन्।हाम्रो लागि ग्वाङझाओ दोस्रो घर जस्तै भइसक्यो।'
त्यो समयमा नयाँ ठाउँ, नयाँ परिवेश अनि विशाल देश। पहिला त भाषाकै समस्या थियो।
भाषा कसरी सिक्नुभयो त भन्ने जिज्ञासामा खुश्बुले आफूहरूसँग अरू उपाय नै नभएको बताइन्।

'हामीसँग अरू उपाय नै थिएन। अहिले त अंग्रेजी बोलेर पनि धेरथोर चल्छ। त्यो बेला असम्भव जस्तै थियो। अंग्रेजी बोल्न नमिलेकै कारण भाषा पनि चाँडै सिकियो,' उनले भनिन्, 'हाम्रो यहाँ चिनजानको मान्छे पनि कोही थिएन। हामी आफैँ आँटेर आएको हो। विस्तारै सहज हुँदै गयो। अहिले त यतै बानी परियो भन्नुपर्यो।'
जतिबेला रोहित र खुश्बु चीन आए, त्यो बेला चीनको तीव्र गति सुरू भएको थियो। त्यसमा पनि ग्वाङझाओको गति अझै तीव्र थियो। त्यो क्रम बढ्दो छ, घटेको छैन।
त्यो बेला चीनमा भाषाको समस्या थियो। सप्लायर्स र गुणस्तरीय सामान पाउन कठिन थियो। त्यसलाई रोहितले अवसरमा बदले। ग्वाङझाओबाट ट्रेडिङ बिजनेस सुरू गरे।
'हामी त व्यवसायी हौँ। जहाँ फाइदा हुन्छ त्यतै लाग्छौँ। सन् २००६ देखि अहिलेसम्म यतै छु,' उनले भने, 'मैले चीनबाट जुत्ता, कपडा, हार्डवेयर र फर्निचरका सामान पठाउँछु। सँगै पार्टनरसिपमा पाइप फिटिङ र पाइपको व्यवसाय पनि छ।'

माग बढ्दै गएपछि आफैले किन व्यवसाय नगर्ने भन्ने सोच आएकै कारण उनले चिनियाँ व्यवसायीसँग मिलेर हेबेई प्रान्तको छाङझाउ सहरमा पाइप फ्याक्ट्री सुरू गरेका छन्। उनको कारखानाबाट उत्पादित पाइप चीनभरि जान्छ। चीनमा यो पाइप इरिगेसनका लागि प्रयोग हुन्छ।
'चीनमा मेरा पार्टनरहरूले हेर्छन् भने मैले अन्तर्राष्ट्रिय बजार हेर्छु। विशेष गरेर हाम्रो बजार भारत, भुटान र नेपाल हो। अरू देशमा पनि फाट्टफुट्ट हाम्रा सामग्रीहरू जान्छन्। नेपालमा भने हाइड्रोका लागि धेरै खपत हुन्छ,' उनले भने।
उनका अनुसार पाइप फिटिङ व्यवसायमा २४ जना कामदार छन् भने पाइप फ्याक्ट्रीमा ८० जना कामदार छन्। चीनको कारोबार उनका पार्टनरहरूले हेर्छन् भने अन्तर्राष्ट्रिय बजार उनी हेर्छन्।
चीनमा रहेर व्यवसाय गर्न नेपालसँग तुलना गर्ने हो भने धेरै सजिलो रहेको उनको अनुभव छ। चिनियाँ कर्मचारीतन्त्र व्यवसायका लागि धेरै सहयोगी र व्यवहारिक रहेको उनी बताउँछन्।
'नेपालमा हुँदा जुत्ता कपडाको आयात गर्थ्यौं।काम गर्दा गल्ती हुनसक्छ सयमा सय पूर्ण कोही हुँदैन। तर नेपालमा भने केही कमजोरी हुनसाथ अनेक दुःख दिने र खेद्ने गरिन्छ,' उनले भने, 'नेपाल र चीनको तुलना गर्दा यही फरक छ। यहाँ कुनै गल्ती भयो भने यस्तो गल्ती भयो, यसरी गर्नु भनेर सम्झाउँछन्। अब यस्तो नगर्नु भनेर त्यति मात्र फरक छ।'
उनका अनुसार चीनमा रहेका नेपालीमध्ये धेरैजसो निर्यातको व्यवसायमा छन्। आधाभन्दा धेरै ग्वाङझाओमा बस्छन्। सबैको व्यवसाय गुणस्तरीय सामान निर्यात गर्ने हो।
आफूले गरेको व्यवसाय निरन्तरताको लागि चीनमै सहज रहेको भन्दै उनले अरु नयाँ योजना नरहेको बताए।
'हामी व्यवसायीहरूले जहाँ नाफा हुन्छ त्यही काम गर्ने हो। जहाँ भविष्य देखिन्छ त्यतै जाने हो। अहिले मेरा लागि यतै राम्रो छ,' उनले भने, 'मैले जुन सामग्री उत्पादन गर्छु त्यो काम नेपालमा गर्न सकिँदैन। भोलिका दिनमा नयाँ अवसर आएछ भने मौका पाउनसाथ नेपाल त गइहालिन्छ नि।'
चीनबाट नेपाल सामान पठाउँदा भने उनलाई खासै समस्या नहुने उनी बताउँछन्। भारत हुँदै पठाउँदा सहज हुने उनको भनाइ छ। तर खासा–केरूङ हुँदै सामान पठाउनेलाई समस्या हुने गरेको उनले बताए।
'मैले नेपाल पठाउँदा समस्या भोग्दिनँ। किनकि भारत हुँदै पठाउँदा केही हुँदैन। तर खासा–केरूङ हुँदै सामान पठाउनेलाई धेरै गाह्रो छ,' उनले भने, 'बाटो राम्रो भयो भने १०–१५ दिनमा पुग्ने सामान बिग्रिएको बेला २–३ महिना नै लाग्न सक्छ।'