ग्लोबल नेपाली
बिधान श्रेष्ठ र आशा कार्कीको चिनजान र सम्बन्ध कुनै निश्चित समयदेखि सुरू भएको होइन। उनीहरू नर्सरीदेखि नै सँगै पढे, एउटै टोलमा हुर्किए र कक्षा १२ सम्म एउटै विद्यालयमा अध्ययन गरे। उनीहरूका शिक्षक समेत आशाकी आमा थिइन्।
उनीहरू कहिलेदेखि नजिक भए भन्ने दुवैलाई थाहा छैन। किनकि आफूलाई आफैले सम्हाल्न सक्ने उमेर नहुँदै उनीहरूको चिनजान भएको थियो। त्यही सम्बन्धका कारण कक्षा ८ मै उनीहरू प्रेममा परे। एक किसिमले भन्ने हो भने, उनीहरूले बच्चैमा ‘लभ’ गरे। प्रेमको प्रस्ताव भने बिधानले राखेका थिए। आशाले पनि त्यसलाई स्वीकारिन्। किनकि उनी पनि बिधानसँग यति नजिक भइसकेकी थिइन् कि अस्वीकार गर्ने ठाउँ नै थिएन।
कक्षा ८ देखिको प्रेमबारे यी दुईको परिवारले भने बिहे हुने बेला मात्र थाहा पाए। आशाकी आमा त एकछिन सरप्राइज नै भइन्।
‘म अलि अन्तर्मुखी स्वभावको थिएँ। त्यसैले ममीलाई यस्तो होला भन्ने लागेकै थिएन। जब मैले ब्याचलर सकेपछि ममीलाई आफ्नो कुरा सुनाएँ, उहाँले ‘त्यस्तो पनि हो र? भन्नुभयो,’ आशाले भनिन्।
बिधानले काठमाडौं इन्जिनियरिङ कलेजबाट आर्किटेक्चरमा स्नातक गरे।
सन् २०१७ मा पढाइ सकेपछि उनले करिब एक वर्ष भूकम्प पुनर्निर्माणको काम गरे। सो क्रममा उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा कार्य गर्ने अवसर पाएका थिए, जहाँ बालेन शाह प्रोजेक्ट इन्जिनियरका रूपमा कार्यरत थिए। त्यसपछि सन् २०१८ को फेब्रुअरीमा उनी विद्यार्थी भिसामा अस्ट्रेलिया पुगे। सिड्नीमा मास्टर्स अफ इन्जिनियरिङ म्यानेजमेन्ट अध्ययन गरे।
आशाले पिपुल्स क्याम्पसमा डेन्टिस्ट्री पढिन्। डेन्टल शिक्षा सकेपछि नेपालमा करिब एक वर्ष काम गरिन्। बिधानसँगै उनी पनि सन् २०१८ को भ्यालेन्टाइन डेको दिन अस्ट्रेलिया पुगिन्। उनी बिधानको डिपेन्डेन्टका रूपमा अस्ट्रेलिया गएकी थिइन्।
अस्ट्रेलिया पुगेपछि दुवैले सुरूआती संघर्ष बेहोरे। आशाले डेन्टल क्षेत्रमा काम गर्नुअघि दर्ता प्रक्रियाका लागि परीक्षा दिनुपर्थ्यो, जुन परीक्षा अस्ट्रेलियामा कठिन मानिन्छ। बिधानले भने, ‘दुई वर्षको अध्ययन पूरा गरेपछि आशाले लाइसेन्सका लागि परीक्षा दिइन् र पास पनि गरिन्।’
सन् २०२३ मा एडिलेड पुगेपछि बिधानले काउन्सिलमा सिभिल डिजाइन इन्जिनियरका रूपमा काम गर्न थाले।
‘मेरो काम सडक, फुटपाथ, सानो पुल, आकाशे पानी व्यवस्थापन र साइकल लेनको डिजाइन गर्नु हो। त्यस्तै, ट्राफिक इन्जिनियरिङ अन्तर्गत ट्राफिक लाइन, स्पिड क्यामरा र रेडलाइट क्यामरा राख्ने स्थानको डिजाइन समेत मेरो काममा पर्छ,’ उनले भने, ‘सडक डिजाइन गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा हो। सडकमा सबै प्रकारका मानिस हिँड्ने भएकाले लापरबाही गर्ने व्यक्तिलाई समेत ध्यानमा राखेर सडक बनाउनुपर्छ।’
उनका अनुसार काउन्सिलअन्तर्गत सडक, फुटपाथ, कार पार्किङ, ट्राफिक लाइटलगायतका संरचनाको डिजाइन र पुनर्निर्माणको काम हुन्छ।
सडक निर्माणका लागि डिजाइन तयार गरी कन्स्ट्रक्सन विभागलाई बुझाइन्छ र त्यसपछि उनीहरूले उपयुक्त ठेकेदार छनोट गरी निर्माण कार्य सम्पन्न गराउँछन्।
अस्ट्रेलियामा काम गर्ने शैली नेपालभन्दा फरक रहेको बिधानको अनुभव छ।
कामसँगै परिवारलाई समय दिन पाएकोमा उनी खुसी छन्। उनीहरू अहिले नयाँ बाबुआमा हुन्। बिधानका अनुसार अस्ट्रेलियामा कामसँगै नयाँ कुरा सिक्ने अवसर पनि पाइरहेका छन्।
आशाले भने हाल दुई वटा डेन्टल क्लिनिकमा काम गरिरहेकी छन्।
उनी इनक्रेडिबल्स स्माइल्स र बुपा डेन्टलमा कार्यरत छन्। नेपालमा धेरैजसो बिरामी दाँत दुखेपछि मात्रै उपचारका लागि आउने गरेको अनुभव सुनाउँदै उनले अस्ट्रेलियामा भने नियमित दाँत परीक्षणका लागि आउने गरेको बताइन्।
आशाले दाँत निकाल्ने, भर्ने, सफा गर्ने र रूट क्यानल लगायतका काम गर्छिन्। भविष्यमा आफ्नै डेन्टल क्लिनिक सञ्चालन गर्ने योजनासहित उनीहरूले कम्पनीसमेत दर्ता गरिसकेका छन्। उनी सानै हुँदा बुवाको निधन भएकाले कम्पनीको नाम Bijay and Daughter Pty Ltd राखेकी हुन्।
अस्ट्रेलियामा निजी संस्थामा डाक्टरले आफ्नै कम्पनीमार्फत काम गर्नुपर्ने भएकाले कम्पनी दर्ता गरेको उनको भनाइ छ।
बिधान र आशा दुवैका लागि अस्ट्रेलियाको यात्रा पढाइ र करिअर निर्माणसँगै पारिवारिक जीवनको नयाँ अध्याय पनि बनेको छ। उनीहरूको सम्बन्ध लामो समय टिक्नुमा एकअर्काप्रतिको विश्वास, साथ, सहयोग र बुझाइ मुख्य कारण रहेको आशाले सुनाइन्।
अहिले दुवै जना काममा व्यस्त छन्। बच्चाको हेरचाहमा बिधानका ममी–ड्याडीको साथ छ। बिधानका बुवाले टेलिकमबाट अवकाश लिएका छन्। अहिले उनका बुवा–आमा उनीसँगै छन्। बिधानकी एउटी दिदी नेपालमै छन्।
आशाकी आमा भने हिजोआज नेपालमै छन् भने दाइ अस्ट्रेलियामै छन्।
बिधान र आशा सन् २०१८ मा अस्ट्रेलिया गएपछि त्यहीँ बसोबास गर्दै आएका छन्। बिधान अस्ट्रेलिया आएपछि अहिलेसम्म, अर्थात् करिब ८ वर्षदेखि नेपाल फर्किएका छैनन् भने आशा सन् २०२३ मा एकपटक नेपाल गएकी थिइन्। केही समय अस्ट्रेलियामै बसेर आफ्नो करिअर अघि बढाउने सोच रहेको उनले बताए।
नर्सरीदेखि सुरू भएको बिधान र आशाको साथ अहिले अस्ट्रेलियासम्म आइपुगेको छ। एउटै टोलमा हुर्किएका उनीहरू पढाइ, प्रेम, विवाह र करिअरको यात्रामा पनि सँगसँगै अघि बढिरहेका छन्।