माल्टामा पासपोर्ट घुम्ती शिविरमा ढिलाइ हुदाँ सयौं नेपालीहरु समस्यामा परेका छन्।
माल्टमा काम गरिरहेका ५० भन्दा धेरै पासपोर्टको म्याद सकिए पनि उनीहरुको पासपोर्ट नविकरण हुन सकेको छैन।
पासपोर्टको म्याद सकिएसँगै त्यहाको कार्ड नबन्ने हो कि भन्ने चिन्तामा नेपालीहरु रहेको गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष रेम्स खनालले सेतोपाटीलाई बताए।
'नेपालमा सरकार परिवर्तन, राजदूत फिर्ता हुनु अनि स्पेनमा रहेको दूतावासमा कर्मचारी अभावले गर्दा पासपोर्ट घुम्ती शिविर हुन सकेको छैन। मैले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसँग भेट गरी तुरुन्तै माल्टामा घुम्ती शिविर पठाउने पहल गर्न आग्रह समेत गरेको छु,' उनले भने, 'यदि यो अवस्था लामो समय रह्यो भने पासपोर्ट बनाउन नपाउनेहरुको संख्या बढ्दै जानेछ। एकातिर उनीहरुले माल्टामा रोजगारी गुमाउनेछन भने अर्कोतिर गैरकानूनी तरिकाले बस्नेहरु बढ्नेछन्।'
माल्टामा नेपाली दूतावास छैन।स्पेनमा रहेको दूतावासले नै माल्टा हेर्ने गर्छ। तर स्पेनका लागि नेपाली राजदूत सनिल नेपाललाई सरकारले फिर्ता बोलाइसकेको छ।
अहिलेको जटिल अवस्थालाई ध्यान दिन आफुले सबै सम्बधित निकायसँग माग गरेको उनले बताए।