रोमानिया सरकारले विदेशी कामदार भर्ना गर्ने प्रक्रिया व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन 'वर्क इन रोमानिया' (WorkinRomania.gov.ro) नामको एकीकृत सरकारी पोर्टल सञ्चालनमा ल्याएको छ।
केही समय अवरुद्ध भएको पोर्टल आगामी नोभेम्बर १५ देखि पुनः सञ्चालनमा आउने भएको हो।
रोमानियाको आन्तरिक मन्त्रालयले सन् २०२६ अगस्ट ६ मा पोर्टल सञ्चालनमा ल्याएको घोषणा गरेको थियो।
यो पोर्टल युरोपेली संघ (इयू) बाहिरका देशबाट कामदार भर्ना गर्ने रोजगारदाता, वैदेशिक रोजगारसम्बन्धी एजेन्सी र सरकारी निकायका लागि तयार गरिएको हो।
नयाँ प्रणालीमार्फत विदेशी कामदार भर्नासम्बन्धी विभिन्न प्रशासनिक प्रक्रिया एउटै डिजिटल माध्यमबाट अघि बढाउन सकिने व्यवस्था गरिएको छ।
रोजगारदाताले आफ्नो दर्ता तथा अनुमति लिने, वैदेशिक कामदार पठाउने एजेन्सीले अनुमति लिने वा नवीकरण गर्ने, आवश्यक कागजात अनलाइन पेस गर्ने र आवेदनको अवस्थाबारे जानकारी लिने सुविधा पोर्टलमा राखिएको छ।
त्यस्तै, विदेशी कामदारको लामो अवधिको रोजगार भिसा र कामका आधारमा बसोबास अनुमति लिने प्रक्रियालाई पनि एउटै प्रणालीमा जोड्ने सरकारको योजना छ।
यसका लागि रोजगारदाता वा अनुमति प्राप्त एजेन्सीले कामदारका तर्फबाट एकीकृत आवेदन पेस गर्ने व्यवस्था गरिएको छ। कामदारले भने आफैँले आवेदन पेस गर्ने व्यवस्था छैन।
रोमानियाको आन्तरिक मन्त्रालयका अनुसार पोर्टलमार्फत रोजगारदाता र एजेन्सीको विवरण सरकारी निकायले जाँच गर्न, आवश्यक कागजात अनलाइन आदानप्रदान गर्न तथा आवेदनको अवस्थाबारे जानकारी लिन सक्नेछन्।
आवेदनमा थप कागजात आवश्यक परे वा निर्णय भए प्रयोगकर्ताको खातामै सूचना पठाइनेछ।
पोर्टलमा विदेशी कामदारका लागि पनि छुट्टै जानकारी राखिएको छ।
यसबाट रोमानियामा काम गर्न आवश्यक कानुनी प्रक्रिया, रोजगारीका सर्त, तलब, आवास तथा कामदारका अधिकारबारे जानकारी लिन सकिनेछ।
त्यस्तै, अनुमति प्राप्त वैदेशिक रोजगार एजेन्सीको विवरण हेर्न र शोषण वा दुर्व्यवहारका घटनाबारे उजुरी गर्न सकिने व्यवस्था पनि छ।
पोर्टल सञ्चालनमा आएको केही समयपछि यसको केही महत्त्वपूर्ण सेवा अवरुद्ध भएका थिए।
रोमानियाको बुखारेस्ट पुनरावेदन अदालतले विदेशी कामदार अभाव भएका पेसाको सूची स्वीकृत गर्ने श्रम मन्त्रालयको आदेश नम्बर १०७३/२०२६ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सेप्टेम्बरमा पोर्टलका केही सेवा निष्क्रिय गरिएका थिए।
यसका कारण रोजगारदाता दर्ता, रोजगारदातालाई अनुमति दिने र दीर्घकालीन रोजगार भिसाका लागि एकीकृत आवेदन पेस गर्ने प्रक्रिया रोकिएको थियो।
यसले नयाँ कामदार भर्ना गर्ने प्रक्रियासँगै रोमानियामा पहिलेदेखि काम गरिरहेका केही विदेशी नागरिकको बसोबास अनुमति नवीकरण तथा रोजगारदाता परिवर्तनसम्बन्धी प्रक्रियामा समेत असर पारेको थियो।
रोमानियाको सरकारी प्रसारण संस्था रेडियो रोमानिया इन्टरनेसनलले अक्टोबर १४ मा प्रकाशित समाचारमा पोर्टल अवरुद्ध हुँदा सयौँदेखि हजारौँ विदेशी कामदारको बसोबास अधिकार प्रभावित हुन सक्ने उल्लेख गरेको थियो।
तर नोभेम्बर २ मा प्रकाशित रोमानियाको सञ्चारमाध्यम डिजी २४ को समाचारअनुसार करिब दुई महिनादेखि अवरुद्ध प्रक्रिया नोभेम्बर १५ देखि पुनः सुरू गर्ने तयारी गरिएको छ।
त्यसपछि रोजगारदाताले नयाँ कामदार भर्नासम्बन्धी प्रक्रिया अघि बढाउन र रोमानियामा रहेका विदेशी कामदारले आफ्नो बसोबास अनुमति नवीकरण तथा रोजगारदाता परिवर्तन सम्बन्धी प्रक्रिया अघि बढाउन सक्नेछन्।
डिजी२४ का अनुसार रोमानियामा अहिले इयू बाहिरका करिब दुई लाख विदेशी कामदार कार्यरत छन्। सरकारले सन् २०२६ मा ९० हजार नयाँ विदेशी कामदार भर्ना गर्ने कोटा निर्धारण गरेको छ।
रोमानियाको श्रम बजारमा निर्माण, होटल तथा रेस्टुरेन्ट, उत्पादन, यातायात र सेवा क्षेत्रका कामदारको माग रहेको छ।
सरकारले विदेशी कामदार भर्ना प्रक्रियालाई व्यवस्थित गर्न र रोजगारदाता तथा एजेन्सीको गतिविधिमाथि निगरानी बढाउन नयाँ प्रणाली ल्याएको उल्लेख छ।
रोमानिया नेपाली श्रमिकहरूको समेत आकर्षक गन्तव्य बनिरहेको छ। व्यक्तिगत तथा म्यानपावरमार्फत नेपालीहरू रोमानिया गइरहेका छन्।