नेपालबाट पढाइका लागि विदेश जाने युवाहरूको संख्या बढ्दो छ। पढाइका सिलसिलामा विदेश पुगेपछि उनीहरूलाई काम, खर्च, प्रतिस्पर्धा र आफ्नै क्षेत्रमा अवसर खोज्ने संघर्ष एकैसाथ सुरू हुन्छ।
खोटाङको खार्पाका नोबेल पोखरेल पनि अहिले बेलायतमा यस्तै संघर्षमा छन्। उनी स्ट्रक्चरल इन्जिनियरिङ पढ्न सन् २०२५ जनवरीमा बेलायत गए।
युनिभर्सिटी अफ इस्ट लन्डनमा स्नातकोत्तर पढिरहेका उनी एउटा होटलमा रिसेप्सनिस्टका रूपमा पार्टटाइम काम पनि गर्छन्।
'बेलायतमा विद्यार्थीहरूले हप्तामा २० घन्टा मात्रै काम गर्न पाउँछन्। म पनि त्यति नै काम गर्छु। मेरो काम कम्प्युटरसँग सम्बन्धित भएकाले सहज छ। म डेटा हेर्छु। चेकइन–चेकआउटको काम गर्छु,' उनले भने।
बेलायतमा पढ्दै काम गरेको कमाइले खान र बस्न मात्रै पुग्छ। पढाइको खर्च धान्दैन। सातामा २० घन्टा काम गर्दा ७ सयदेखि एक हजार पाउन्डसम्म कमाउँछन् उनी। एउटा कोठामा दुई–तीन जनासम्म बस्दा पनि भाडामा मात्रै ३ सयदेखि ४ सय पाउन्डसम्म लाग्छ। खानामा करिब २ सय र यातायातमा करिब १ सय पाउन्ड खर्च हुन्छ।
पढाइ खर्च नपुगेपछि कतिपय विद्यार्थी अवैध रूपमा थप काम गरेर खर्च जुटाउन बाध्य हुने उनले बताए। कतिपयलाई भने नेपालबाट अभिभावकले पैसा पठाउँछन्।
'कलेजमा तिर्ने पैसा नेपालबाटै व्यवस्था भयो भने केही राहत हुन्छ। प्लस–टू मात्रै सकेर आएका विद्यार्थीलाई अझ गाह्रो छ। यो कुरा अभिभावकले पनि बुझ्नुपर्ने हुन्छ,' नोबेलले थपे।
पढाइ सकेपछि आफ्नै क्षेत्रको काम पाउन फेरि अर्को संघर्ष सुरू हुन्छ।
नोबेलका अनुसार बेलायतमा पढाइपछि सम्बन्धित क्षेत्रकै कामका लागि अवसर सीमित छन्। त्यसैले कम्पनी खोज्ने, बायोडेटा पेस गर्ने तथा अन्तर्वार्ता दिने जस्ता काममा आफै सक्रिय हुनुपर्छ।
उनका केही साथीहरू बेलायतमा इन्जिनियरिङ क्षेत्रमा काम गरिरहेका छन्। उनीहरूको कमाइ पनि राम्रो छ। साथीहरूको अनुभव सुनेरै आफू पनि स्नातकोत्तर गर्न बेलायततर्फ आकर्षित भएको नोबेल बताउँछन्।

'हुन त श्रीमती यतै बस्ने भएकाले बिहेपछि म आउनैपर्ने भयो। तर म डिपेन्डेन्टमा आएको होइन। स्ट्रक्चरल इन्जिनियरिङमा राम्रो अवसर छ भनेर साथीहरूले सुनाएपछि तानिएको हुँ,' उनले भने।
उनको पढाइ आगामी फेब्रुअरीमा सकिँदैछ। पढाइपछि व्यावसायिक पेसामा प्रवेश गर्ने योजना छ। यसका लागि धेरै ठाउँमा आवेदन दिएका छन्। कतिपय कम्पनीका अन्तर्वार्तामा सहभागी भइसके त कतिपयमा बायोडेटा बुझाएका छन्।
बेलायतमा स्ट्रक्चरल इन्जिनियरले भवन निर्माण, सडक, रेलमार्ग, पुल तथा नयाँ सहर निर्माण लगायत क्षेत्रमा काम पाउँछन्। काम सुरू गर्दाको चरणमा वार्षिक ३५ देखि ४० हजार पाउन्डसम्म कमाइ हुने नोबेलले सुनेका छन्। अनुभव हुँदै गएपछि ८० हजार पाउन्डसम्म कमाउन सकिन्छ।
इन्जिनियरिङमा राम्रो कमाइ भए पनि नोबेल अर्को काम भने गर्न चाहन्छन्। उनी कर्मकाण्ड (पुरोहितको काम) गर्ने योजनामा छन्।
उनले बेलायत जानुअघि नै वेदविद्या आश्रममा ६ महिना 'पुरोहित' पढेका थिए। बेलायत पुगेपछि चिनजान र आफन्तहरूकहाँ पूजाआजा गराए।
'बेलायतमा नेपालीको संख्या ठूलो छ र कर्मकाण्ड धेरै हुन्छ। त्यसैले यो क्षेत्रमा राम्रो सम्भावना छ। अरू पुरोहितले पनि मलाई प्रेरित गरिरहनुभएको छ,' उनी सुनाउँछन्, 'कर्मकाण्ड गर्नेहरूको आम्दानी पनि राम्रो छ। जीवन धान्ने खर्च त भइहाल्यो, घरघडेरी जोड्न समेत पुग्ने आम्दानी हुन्छ।'
इन्जिनियरिङ र कर्मकाण्डसँगै उनले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएका छन्। पुर्ख्यौली जमिन बाँझो रहने अवस्था रहेकाले त्यसको सदुपयोग गर्ने उनले सोचेका हुन्।
सँगै पढेका साथीहरू मिलेर खार्पामै बहुआयामिक कृषि गर्ने उनको उद्देश्य छ। कृषि बालीसँगै पशुपन्छी पालन गर्ने सोच बनाएका छन्। त्यस्तै, मोरिंगा, रूद्राक्ष लगायत बोटबिरूवा लगाउने योजना छ।
नोबेल जनवरीमा नेपाल फर्किँदै छन्। त्यही बेला साथीहरूसँग थप छलफल गरेर कृषि योजना अगाडि बढाउने उनको सोच छ।

विदेश जानुअघि नोबेलले नेपालमै सिभिल इन्जिनियरका रूपमा विभिन्न परियोजनामा काम गरेका थिए। रावाबेसी गाउँपालिकामा काम गरेका उनले खार्पाकै खानेपानी क्षेत्रमा पनि काम गरे। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा करार सेवामा रहेर करिब तीन वर्ष काम गरे।
'कोरोना महामारीको समयमा मैले नेपाल आयल निगममा काम सुरू गरेको थिँए। लकडाउनका कारण त्यो काम निरन्तर हुन सकेन। बिहेपछि त बेलायत पुगेँ,' उनले भने।
नेपालबाट बेलायत जानेहरूले त्यहाँ पुगेपछि बोरामा पैसा फल्छ भन्ने सोच बनाएर नजान उनको आग्रह छ। बेलायत आउनुअघि धेरै कुरा बुझेर मात्रै आउनुपर्ने उनको सुझाव छ।
नोबेल युनिभर्सिटी अफ इस्ट लन्डनको नेपाली सोसाइटीका कोषाध्यक्ष पनि हुन्। उक्त सोसाइटीमा रहेर नेपाली कला–संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाललाई विश्वसामु चिनाउन विभिन्न कार्यक्रम गरिरहेको उनले बताए।
'बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारालाई समेत हामीले विशेष जोडका साथ उठाउने गरेका छौं,' नोबेलले भने।