नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत 'ह्याप्पी माइन्ड्स' की संस्थापक श्रीया गिरी लन्डनमा आयोजित एक समारोहमा ‘वुमन अफ द फ्युचर: ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छन्।
फाइनान्सियल टाइम्स मुख्यालयमा सोमबार आयोजित समारोहमा श्रीया समेत संसारभरिबाट छानिएका ३५ वर्ष मुनिका ५० जना महिलाको नाम घोषणा गरिएको थियो।
'मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत एक नेपाली स्टार्टअप संस्थाको संस्थापकका रूपमा यो सम्मानले मलाई निकै प्रोत्साहित गरेको छ,' श्रीयाले भनिन्, 'यसले विशेष गरी हाम्रो देशले मानसिक स्वास्थ्य संकट व्यहोरिरहेको समयमा उज्यालो, माया र साहस ल्याइरहेका युवा नेपालीहरूको सामूहिक भावनालाई प्रतिबिम्बित गर्छ।'
ह्याप्पी माइन्ड्सले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न, मानसिक स्वास्थ्य सेवामा लगानी परिचालन गर्न, र सहयोगी सामुदायिक स्थानहरू सिर्जना गर्न विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
ह्याप्पी माइन्ड्स (www.happyminds.health) ले जेनजी आन्दोलनको क्रममा भएका हिंसात्मक घटनापछि खासगरी युवा, महिला तथा गर्भवतीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको बताउँदै उनीहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य परामर्श सेवा सुरू गरेको श्रीयाले बताइन्।