नेपाल-लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन भएका छन्।
संस्थाको १३ औं वार्षिकोत्सवसँगै भएको अधिवेशनबाट आगामी कार्यकालका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा केशव भट्टराई र सचिवमा खगराज रेग्मी चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चुनिएका छन्।
कार्यक्रममा उपस्थित वक्ता तथा सहभागीहरूले लक्जम्बर्गमा छरिएर रहेका नेपालीहरूलाई एकसूत्रमा बाँध्न, आपतविपत्मा सहयोग गर्न र नेपाली कला, संस्कृति तथा पहिचानलाई परदेशमा जगेर्ना गर्न यो संस्थाले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरेका थिए।
नवनिर्वाचित अध्यक्ष युद्ध थापा लगायत सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वक्ताहरूले आगामी दिनमा संस्थालाई अझ बढी सशक्त, एकताबद्ध, सक्रिय र प्रभावकारी बनाउन नयाँ टिम सफल हुने विश्वास व्यक्त गरेका छन्।